काठमाडौं । शिव सुन्दर टोल सुधार समितिको १३ औं वार्षिक साधारण सभा शनिबार गोठाटार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारण सभाको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरे ।
विक्रम सम्बत २०६७ सालमा स्थापना भएको यस टोल समितिभित्र २०१ घरहरू आवद्ध छन् । कागेश्वरी मनोहरा नगरपालिकाको यो समिति सवैभन्दा पुरानो समिति पनि हो ।
सो अवसरमा मेयर कार्कीले स्थानीय सरकारको जनतासंग प्रत्यक्ष जोडिने युनिट भनेकै टोल सुधार समितिहरू भएकाले उनीहरूको प्राथमिकता अनुसार काम गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।
मेयर कार्कीले पिउने पानी र शहरी सुरक्षाको व्यवस्थालाई आफूले उच्च प्राथमिकता राखेर काम गरिरहेको पनि सो अवसरमा बताए । सिव सुन्दर टोल सुधार समितिभित्रका टोलवासीहरूलाई आफूले विभिन्न चरणमा गरेर पिउने पानीको दिर्घकालिन व्यवस्थाका लागि काम गरिरहेको जानकारी दिए ।
एकै पटक एउटै कार्यक्रममा पिउने पानीको प्रवन्ध गर्न नसकिएपनि हाल रहेको पूर्वाधारलाई थप विस्तार गर्दै चरणबद्धरूपमा आफनै कार्यकालमा पानी वितरण गर्ने उहांले प्रतिवद्धता जनाए ।
शहरी सुरक्षा अहिले सवैभन्दा ठूलो चुनौतीको रूपमा रहेकाले नगरभित्र सीसीटीभी जडान कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम भैरहेको बनाए । साथै उनले कागेश्वरी मनोहरा नगरलाई उज्यालो नगर बनाउने आफ्नो अभियानलाई साकार पार्ने प्रतिवद्धता पनि जनाए ।
नगरपालिकाले घर बहाल कर संकलनलाई विशेष जोड दिंने र बहाल करको दर घटाई त्यसको दायरा विस्तार गर्ने सोंच अनुसार काम भएको भन्दै सबैलाई बहाल कर तिर्न अनुरोध समेत गरे । उनले यसरी उठेको घर बहाल करको २५ प्रतिशत रकम सम्बन्धित क्षेत्रका बासिन्दाको चाहना अनुसारको विकास कार्यमा उपयोग गरिने पनि बताए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष अनिल थापाले आफूले वडावासीहरूसंग जोडिएर काम गर्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष थापाले घर भाडामा लगाउंदा हरेक घरधनीले भाडामा बस्नेसंग सम्झौता गरेर मात्र घर भाडामा लगाउने कार्यमा पनि समितिले सहयोग गर्नुपर्ने बताए । पछिल्लो पटक विभिन्न खालका घटनाहरू बढ्दै गएकाले त्यसको न्यूनिकरण र टोलवासीको सुरक्षाका लागि समेत घर वहालमा दिंदा एउटा सम्झौता गरेरमात्र दिंदा राम्रो हुने उनको सुझाव थियो ।
उनले सीसीक्यामरा टोलवासी र नगरपालिकाको वरावर लागतमा जडान गरिने योजना सुनाए । साथै, उनले टोल सुधार समितिसंग नियमित सम्पर्क छलफलमा रहेर विकास कार्यक्रम ल्याउने र त्यसमा समितिका पदाधिकारीहरूलाई पनि संगै लैजाने प्रतिवद्धता जनाए । साथै उनले टोलवासीसंग नियमित संवादको व्यवस्था आफूले गर्ने विश्वास पनि दिलाए ।
समाजका अध्यक्ष रण वहादुर कार्कीले टोल सुधार समितिहरूले जनतासंग प्रत्यक्ष जोडिएका विकास कार्यक्रम माग गर्ने हुंदा नगरपालिकाले अलि बढी ध्यान दिएर संवोधन गर्नुपर्ने सुझाव राखे । स्थानीय जनताको पहिलो प्राथमिकतानै पिउने पानी, सफा बाटो, उज्यालो र सुरक्षित टोल हुने हुंदा सोही अनुसार कार्यक्रम बन्नुपर्नेमा उनको जोड थियो ।
स्वागत मन्तव्यको क्रममा समितिका सहसचिव विदुरचन्द्र लामिछानेले नगरपालिका र वडाले टोलवासीसंग प्रत्यक्ष जोडिएर उनीहरूका गुनासाको सुनुवाई गर्नुपर्ने बताए । यसका लागि एउटा समय नै छुट्याएर नियमित संवाद छलफलको वातावरण बनाउनु पर्ने उनको सुझाव थियो ।
सो अवसरमा सिवसुन्दर टोल सुधार समाजका सदस्य ज्योति दाहालले संस्थाको आ.व. २०७९/८० लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । वार्षिक साधारण सभामा एकिकृत कांडाघारी सामाजका अध्यक्ष डोलनाथ पोखरेल, शिव सुन्दर टोल सुधार समितिका उपाध्यक्ष राजन वस्नेत, गान्धी तुलसी क्याम्पस व्यवस्थापन समितिका सदस्य उदय बहादुर कार्की, समितिका सदस्य संजिव ढकालले समिति र नगरपालिका बीचको आपसी सहकार्यका विषयमा आआफना धारणा सहित वार्षिक साधारण सभाको सफलताको शुभ–कामना व्यक्त गरेका थिए ।