
काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।
भारतमा प्याजको मूल्य अत्याधिकर बढेपछि त्यसको नियन्त्रणको लागि भन्दै निर्यातमा असाध्यै धेरै कर लगाएको हो ।
निर्यात कर बढी हुँदा भारतबाट प्याजको निकासी कम हुने र मूल्य स्थिरतमा कायम गर्न सहज हुने विश्लेषणसहित भारतको अर्थ मन्त्रालयले प्याजको निर्यातमा कर लगाएको हो ।
यसअघि भारतले प्याजको निकासीमा कर लगाएको थिएन् । बरू केही वर्षअघि भारतले प्याज निर्यातमै प्रतिबन्ध लगाएको थियो ।
भारतको अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याजमा तत्काल लागू भएको निर्यात शुल्क डिसेम्बर ३१ गतेसम्म कायम रहने बताएको छ ।
तथ्याङ्कका अनुसार अहिले भारतमा प्याजको मूल्य २० प्रतिशतले बढिसकेको छ । यसअघि, भारतमा गोलभेडाको मूल्य अत्याधिक बढेको थियो । अहिले नेपालबाट समेत भारतमा गोलभेडा निकासी भइरहेको छ ।
भारत सरकारले कम प्याज आपूर्ति हुने सिजनमा भाउ बढ्न नदिन मूल्य स्थिरता कोष (पीएसएफ) अन्तर्गत ३ लाख टन प्याजको स्टक राखेको बताएको छ ।
भारतले प्याजको निकासीमा अत्याधिक कर लगाएपछि नेपालमा त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिन्छ । नेपालले वार्षिक करीब १४ करोड रुपैयाँ बराबरको प्याज भारतबाट आयात गर्दै आएको भन्सार विभागको तथ्यांक छ ।
प्याजका लागि नेपाल भारत र चीनको बजारमा निर्भर रहने गरेको छ । भारतबाटै प्याज महङ्गो भएरआएपछि नेपाली बजारमा प्याजको मूल्य असाध्यै बढ्न सक्छ । त्यसको असर नेपालीको चुल्होसम्म पर्नेछ ।
गत जुन महिनामा मात्रै भारतले २.९२ लाख मेट्रिक टन प्याज निर्यात गरेको थियो । भारतबाट सबैभन्दा धेरै प्याज बङ्गलादेशमा निर्यात हुने गरेको छ । भारतबाट सबैभन्दा धेरै प्याज निर्यात हुनेमा नेपाल पाँचौ स्थानमा छ । अप्रिलदेखि जुनसम्ममात्रै भारतबाट नेपालमा ०.३९ लाख मेट्रिक टन प्याज निकासी भएको तथ्यांक छ ।