
धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन् ।
यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो ।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए । पटक-पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौं तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित भए,’ उनले भने, ‘बुँदागतरूपमा उहाँहरुले हालसम्म कुनै माग पनि राख्नुभएको छैन । खै के हो ? उहाँहरुसँगै बुझ्नुस् ।’ यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक-पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन ।
यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उनले सोही कुरा दोहोर्याएर फोन राखे । यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।
कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन। उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताए । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले बताए । यसअघि उपप्रमुख मण्डलले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै जनकपुर उच्च अदालतमा उजुरी नै गरेका थिए । नगरप्रमुख विशेश्वर यादवसँग सुरुआती समयदेखि उनको मनमुटाव थियो ।
सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरु नगरप्रमुखसँग असन्तुष्ट छन् । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उहाँको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताए । योजना तर्जुमा भए पनि अन्य विषयको छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ,’ उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ सङ्केत गर्दै भने, ‘प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।’
यस्तै औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरु अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको बताए । रासस