स्रोत खुम्चिँदा घट्यो बजेट, घरजग्गा कारोबारमा गिरावट

<p>काठमाडौं । पोखरा महानगरपालिकाले चालु आवको तुलनामा आगामी आव २०८०र८१ का लागि १ अर्बभन्दा कमको बजेट प्रस्ताव गरेको छ । चालु आवमा ८ अर्ब ९९ करोड दुई लाख २९ हजार रुपैयाँको बजेट ल्याइएकामा आगामी आवका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । सङ्घ सरकारले दिने अनुदान र [&hellip;]</p>

काठमाडौं । पोखरा महानगरपालिकाले चालु आवको तुलनामा आगामी आव २०८०र८१ का लागि १ अर्बभन्दा कमको बजेट प्रस्ताव गरेको छ । चालु आवमा ८ अर्ब ९९ करोड दुई लाख २९ हजार रुपैयाँको बजेट ल्याइएकामा आगामी आवका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

सङ्घ सरकारले दिने अनुदान र आन्तरिक आय खुम्चिँदा बजेटको आकार घटेको महानगरप्रमुख धनराज आचार्यले बताए । चालु आवको बजेटमध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ३० करोड १५ लाख ५२ हजार रुपैयाँ व्यहोर्ने अनुमान गरिएकामा हालसम्म १ अर्ब १९ करोड ७१ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

घरजग्गा करबाट ८५ करोड रुपैयाँ उठाउने लक्ष्य लिइएकामा हालसम्म जम्मा ४३ करोड रुपैयाँ सङ्कलन भएको छ । अर्थतन्त्रमा देखिएको मन्दी, चुनावी वर्ष, करको दर घट्नु जस्ता कारणले आन्तरिक आय खुम्चिएको महानगरप्रमुख आचार्यले बताए । उनका अनुसार प्रदेश र सङ्घ सरकारले दिने अनुदान पनि घटेर आएको छ ।

आगामी आवको बजेटमा पनि आन्तरिक आयतर्फ २ अर्ब २७ करोड ८७ लाख रुपैयाँको अनुमान गरिएको छ । स्रोतमा आधारित रहेर बजेट ल्याइएकाले कार्यक्रम तथा बजेटको कार्यान्वयनमा समस्या नआउने महानगरप्रमुख आचार्यले उल्लेख गरे ।

‘महानगरको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको छ, यसको कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ, असान्दर्भिक देखिएका केही कार्यक्रम हटाइएको छ, राम्रा कार्यक्रमको निरन्तरता छ, केही नयाँ आएका छन्,’ उनले भने ।

महानगरको तथ्याङ्कअनुसार चालु आवको बजेट खर्च पनि न्यून देखिएको छ । यही असार ८ गतेसम्म जम्मा ३ अर्ब ९५ करोड ५५ लाख ८४ हजार रुपैयाँ खर्च भएको हो । जुन कूल बजेटको ४३.०५ प्रतिशत मात्र प्रगति हो । असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने महानगरको अनुमान छ ।

महानगरले आगामी आवको बजेटमा भौतिक पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा २ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा आर्थिक विकासतर्फ १० करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड ५० लाख रुपैयाँ र नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वडा कार्यालयतर्फ ७२ करोड ६० लाख रुपैयाँ, विभिन्न कोषहरूमा १४ करोड रुपैयाँ, सङ्घीय सःशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ६२ लाख रुपैयाँ, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख रुपैयाँ र सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार रुपैयाँ, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ ।

सङ्घीय सरकार सहरी विकास आयोजनाबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार रुपैयाँ चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोरिने जनाइएको छ ।

बजेटमा पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवद्र्धन, गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता र व्यावसायिक कृषि प्रणालीमा जोड दिइएको छ ।

Share News