
काठमाडाैं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् ।
नगरपालिकाले कुल बजेटको चालुतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ छ भने वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपप्रमुख जोशीले नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरिन् । उनका अनुसार साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै, नगरपालिकाको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ । भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन गर्ने समेत घोषणा गरिएको छ । खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि १ करोड छुट्याएको जोशीले बताइन् ।
नगरपालिकाले खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड, नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ ।
नगरपालिकाले देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड रुपैयाँ छुट्याएको जोशीले जानकारी दिइन् । उनका अनुसार युवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरेको छ ।