काठमाडौं । काठमाडौं महानगरले विभिन्न नयाँ चार क्षेत्रलाई करको दायरामा ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत् चार नयाँ क्षेत्रलाई करको दायरामा ल्याएको हो ।
महानगरले पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत होष्टेल, मेकअप स्टुडियो, ट्याटु हाउस र फनपार्कलाई करको दायरमा ल्याएको हो । यसअघि पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत २९ वटा क्षेत्र तोकिएको भएपनि अब बढाएर ३७ सम्म क्षेत्र कायम गरिएको हो ।
अब नयाँ व्यवस्था अनुसार ५० जना सम्मको होस्टेलले तीन हजार, ५० जनाभन्दा बढी भएको पाँच हजार, मेकअप स्टुडियोका लागि तीन हजार र ट्याटु हाउसका लागि पाँच हजार रुपैयाँ राजश्व तोकेको छ ।
यस्तै, फनपार्कलाई पनि करको दायरामा ल्याइएको छ । पाँच रोपनी सम्म क्षेत्रफल भएको फनपार्कका लागि १० हजार, दश रोपनी सम्म क्षेत्रफलमा फैलिएकोका लागि २० हजार र दश रोपनी भन्दा बढी क्षोत्रफलमा फैलिएको फनपार्कका लागि ३० हजार रुपैयाँ राजश्व निर्धारण गरिएको छ ।
यस्तै, काठमाडौं महानगरले जग्गाको मूल्य र सम्पत्तिको करको दर भने स्थीर भएको छ । महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर १ हजार रुपैयाँ तोकेको छ । २ करोडसम्मको सम्पत्ति भएमा २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ भने ३ करोडसम्मको सम्पत्ति भएमा ४५ सय रुपैयाँ तोकेको छ ।
यस्तै, ४ करोडसम्मको सम्पत्ति भएा ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकामा १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकामा २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ ।
८ करोडसम्मको सम्पत्तिमा ८४ हजार ५ सय रुपैयाँ, १० करोड रुपैयाँसम्मको सम्पत्तिमा १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।