यात्रुवाहक बसमा ‘डस्टविन’राख्न निर्देशन, फोहर फालेमा ७ हजारसम्म जरिवाना

<p>काठमाडौं । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो । जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको [&hellip;]</p>

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । ‘नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ,’ उनले भने ।

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताए । जथाभावीरूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक ३ हजार रुपैयाँ र दोस्रोपटक ७ हजार रुपैयाँसम्म जरिवाना गरिने उनले जानकारी गराए ।

नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो । नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य–मुख्य भागमा जथाभावी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।

व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उनले बताए । त्यस्ता व्यक्तिलाई पहिलोपटक ३ हजार जरिवाना, दोस्रोपटक सोही कसुर गरेमा ३ हजारदेखि ७ हजारसम्म जरिवाना र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुलउपर गरिने जनाइएको छ । साथै जथाभावी चोक–चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ ।

‘जथाभावीरूपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौँ । यसले गर्दा फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौँ,’ उनले भने ।

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन भने सकेको छैन । व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटे पनि उक्त प्रयास सफल हुन सकिरहेको छैन ।

व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ । यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ ।

Share News