काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकल्पिक सूचीमा रहेका ईन्जिनियरहरुलाई करारमा नियुक्त गर्ने भएको छ । महानगरले मंगलबार एक सूचना जारी गर्दै बैकल्पिक उम्मेदवारहरुलाई करारमा नियुक्त गर्ने जनाएको हो ।
आयागले सार्वजनिक गरेको १५ वटा विज्ञापनका अस्थायी तथा वैकल्पिक क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, इलेक्ट्रिक ईन्जिनियर, स्ट्रक्चर ईन्जिनियरलाई योग्यता क्रम अनुसार करारमा नियुक्ति गर्ने महानगरले जनाएको हो । महानगरले एक साताभित्र प्रवेशपत्रको प्रतिलिपी, निवेदन र स्नातक तहको प्रमाणपत्र महानगरमा पेश गर्न आव्हान गरेको छ ।
महानगरको कार्यपालिका वैठकहरुमा वडाध्यक्षहरुले बारम्बार इन्जिनियर नहुँदा समस्या सिर्जना भएको भन्दै आवाज उठाउँदै आएका थिए । त्यसपछि महानगरले वडा वडामा डाक्टर, इन्जिनियर र नर्स राख्ने कार्यपालिकाले निर्णय गरेको थियो ।
अहिले सामाजिक सञ्जालमा महानगरको प्रशंसा भइरहेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को यो निर्णयले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको हाे । वर्षौंदेखि लोकसेवा आयोगको तयारी गरिरहेका तर वैकल्पिकमा परेका उम्मेदवारहरुका लागि महानगरको यो निर्णयले राहत हुने धेरैको बुझाइ छ ।
