बीबीए पढ्ने विद्यार्थी पाइन छाडे, बैंक तथा वित्तीय संस्थालाई धक्का

<p>काठमाडौं । पछिल्लो समय कलेजहरुमा ब्याच्लर अफ बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) पढ्ने विद्यार्थी पाइन छाडेका छन् । कोटा अनुसारको विद्यार्थी भर्ना हुन आउन छाडेपछि कलेजहरु समस्यामा पर्न थालेका छन् । स्नातक तह अन्तर्गतको बीबीए शैक्षिक कार्यक्रम सञ्चालनको लागि विश्वविद्यालयले उपलब्ध गराएको कोटामा विद्यार्थी पढ्न नआएपछि त्रिभुवन विश्वविद्यालयले पुनः भर्नाको विज्ञापन गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय कलेजहरुमा ब्याच्लर अफ बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) पढ्ने विद्यार्थी पाइन छाडेका छन् । कोटा अनुसारको विद्यार्थी भर्ना हुन आउन छाडेपछि कलेजहरु समस्यामा पर्न थालेका छन् । स्नातक तह अन्तर्गतको बीबीए शैक्षिक कार्यक्रम सञ्चालनको लागि विश्वविद्यालयले उपलब्ध गराएको कोटामा विद्यार्थी पढ्न नआएपछि त्रिभुवन विश्वविद्यालयले पुनः भर्नाको विज्ञापन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका काठमाडौंका ११ वटा कलेजहरुले बीबीएमा विद्यार्थी भर्नाको लागि संयुक्त रुपमा विज्ञापन क्याम्पिङ गरेका छन् । तर पनि विद्यार्थी आएका छैनन् ।

काठमाडौं, कमलपोखरीमा सञ्चालनमा रहेको किस्ट कलेजमा बीबीएको लागि छात्रवृत्तिसहित ६६ जना विद्यार्थीको कोटा रहेको छ । तर, पुनः भर्नाको प्रकृया प्रारम्भ गर्दा पनि अहिलेसम्म ७० प्रतिशत विद्यार्थी भर्ना हुन आएका छैनन् । ‘शंकरदेव, नेपाल कमर्स क्याम्पस बाहेक सबैतिर विद्यार्थी संख्यामा यस पटक कमि देखिएको छ’, किस्ट कलेज बीबीए कार्यक्रमका संयोजक राजेश कार्कीले विकासन्युजसँग भने ।

काठमाडौं थापाथलीमा रहेको द इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजका कार्यकारी निर्देशक रोशन भट्टराईले सो कलेजको कार्यक्रममा पनि कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएको बताए । ६० जनाको कोटामध्ये अहिले जम्मा ४० जना विद्यार्थीहरु मात्रै सो कार्यक्रममा पढेको उनले बताए ।

‘पहिलेको अवस्थामा विद्यार्थी धेरै भएर पढ्न नपाउने अवस्था थियो, अहिले कोटा अनुसारको विद्यार्थी पाउन गाह्रो भएको छ, हुनत पछिल्लो समयमा धेरै कलेज खुलेका छन्’, भट्टराइले भने ।

बीबीए तहमा पढ्ने विद्यार्थीको समस्या त्रिभुवन विश्वविद्यालयका कलेजहरुमा मात्रै नभएर अन्य विश्वविद्यालयबाट सञ्चालित कलेजहरुमा समेत परेको देखिन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भएको काठमाडौं स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजसँग बीबीएको लागि १ सय ४४ जनाको कोटा रहेको छ । तर, अहिलेसम्म १ सय भन्दा कम विद्यार्थी मात्रै भर्ना भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेल बताउँछन् । पढ्ने विद्यार्थीको ठूलो संख्या विदेश गएका कारण विद्यार्थी पाइन छाडेको उनले बताए ।

बेलायतको सन्डरल्यान्ड युनिभर्सिटीबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको आइएसएमटी कलेजको बीबएि कार्यक्रममा पनि विगतको तुलनामा ५० प्रतिशत विद्यार्थी कम भएको कलेजका विजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीले बताए ।

‘अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका लगायतका मुलुकमा विद्यार्थी भिसा बढेका कारण नेपालमा पढ्ने विद्यार्थी संख्यामा प्रभाव परेको छ’, उनले भने, ‘अहिले पनि ७०/८० हजार विद्यार्थीहरु विदेश जाने पाइपलाइनमा छन् भन्ने सुनेको छु ।’

स्वदेशी विश्वविद्यालय र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौंको टेक्सास इन्टरनेशनल कलेजका बिजनेस डेभलपमेन्ट अफिसर नारायण पोख्रेलले स्नातक तहका कार्यक्रममा विद्यार्थी संख्याको प्रभाव देखिन थालेको बताए ।

पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालय आफ्नै शैक्षिक क्यालेन्डर लागु गर्ने कुरामा कमजोर भएको उनले बताए । ‘कक्षा १२ को नतिजा नआउँदै बिबिएको भर्ना खुलाउने, शैक्षिक क्यालेन्डरलाई राम्रोसँग कार्यान्वयन नगर्ने जस्ता समस्याले त्रिभुवन विश्वविद्यालयको बीबीए तहमा समस्या देखिएको छ’, उनले भने ।

बीबीए पढेका अधिकांश विद्यार्थीहरु बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा काम गर्छन् । बीबीए प्रति विद्यार्थीहरुमा चाँसो कम देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा पर्ने निश्चित प्रायः छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको जागिर आकर्षक पेशाका रुपमा लिइए पनि त्यसको विकल्पका रुपमा अन्य धेरै क्षेत्रहरु बन्दै गएपछि विद्यार्थीहरुको रोजाइ ति क्षेत्रहरु बनेको हुन् कि भन्ने धेरैको बुझाइ छ । यस्तै, विद्यार्थीहरुले प्लस टु सकेर विदेश पलायन हुने परिपाटीले पनि नेपाली कलेजहरुमा पढ्ने विद्यार्थीको संख्या न्यून हुँदै गएको हो ।

 

Share News