सहजपुर । ‘सुदूरगार्मेन्ट’ कैलालीको गोदावरी नगरपालिकामा मात्र नभई आसपासका अन्य पालिकामा पनि चर्चित नाम हो । गोदावरी नगरपालिका–६ लालपुरमा रहेको उक्त गार्मेन्टले सस्तो तथा सुलभ मूल्यमा फेन्सीका सबै सामान प्रदान गर्न थालेपछि सबैको प्रिय बनेको छ । उक्त गार्मेन्टका सञ्चालक हुन्, सोही वडामा बस्ने रमेश महता ।
विसं २०७३ मा छरछिमेकसँग सापटी लिएर कैलालीकै गोदावरी नगरपालिका–६ लालपुरमा उक्त गार्मेन्ट सञ्चालनमा ल्याएका उनले गार्मेन्टसम्बन्धी आफ्नो लामो अनुभव र श्रीमतीले पनि सिलाइसम्बन्धी काम गरेकीले व्यवसाय सञ्चालनमा सहजता आएको बताए । ‘सुरुआती चरणमा गार्मेन्ट अगाडि बढाउन केही समस्या थियो तर मैले लामो समयसम्म गार्मेन्टमा काम गरेको र श्रीमतीले पनि सिलाइकटाइसम्बन्धी सीप सिकेको हुँदा सोचे जति अप्ठ्यारो भएन’, महताले भने, ‘थोरै लगानीबाट सुरु गरेको गार्मेन्टले राम्रो प्रगति गर्दै उद्योगको रुप लिएको छ ।’
छ वर्षअगाडि पाँच लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योगको लगानी अहिले बढेर तीन करोड रुपैयाँ भन्दाबढी पुगेको छ । सुरुमा गार्मेन्टमा उत्पादन गरिएका लुगा कपडा गार्मेन्टकै अगाडि खोलेको पसलबाटै बिक्री वितरण गर्दै आएका उनले अहिले छिमेकी बजारका साथै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कपडा पठाउँदै आएका छन् । लत्ताकपडा ढुवानीका लागि अहिले उनले गाडीसमेत खरिद गरिएकोे छ ।
गार्मेन्टमा उत्पादन गरिएका कपडा मोटरसाइकलबाट ढुवानी गर्न समस्या भएपछि आफूले गाडी खरिद गरेको महताले बताए । विद्यालयका ट्र्याक सुट, जर्सी, ज्याकेट, टिसर्टलगायत अर्डरअनुसारको सबै प्रकारको कपडासमेत गारमेन्टमा उत्पादन हुन्छ । झण्डै १० वर्ष भारत, दुई वर्ष विदेश र एक वर्ष काठमाडौँमा गार्मेन्टकै क्षेत्रमा काम गरेका उनी नोकरीको सिलसिलामा विभिन्न ठाउँमा सँगालेका अनुभवलाई आफ्नै क्षेत्रमा प्रयोग गरेर मालिक बन्न सफल भएका छन् ।
घरपरिवारभन्दा बाहिर बसेर मासिक ४० हजार रुपैयाँ जति कमाउँदै आएका महताले अहिले सबै खर्च कटाएर वार्षिक १०/१२ लाख रुपैयाँ आम्दानी गर्दै आएको जानकारी दिए । उनले सञ्चालनमा ल्याएको गार्मेन्टमा अहिले स्थानीय १५ जनाले रोजगारीसमेत पाएका छन् । ‘गारमेन्टमा मैले १५ जनालाई रोजगारी दिएको छु’, महताले भने, ‘काम गर्ने कामदारहरुलाई सुरुआतमा करिब एक महिनासम्म तालिम दिएर काममा राख्ने गरेको छु, जसले गर्दा उनीहरुको पनि सीप अभिवृद्धि भइरहेको छ ।’
गार्मेन्टमा आवश्यक पर्ने कच्चापदार्थ काठमाडौं र भारतबाट ल्याउने गरेको र बाहिरबाट आएको कपडाभन्दा गार्मेन्टमा तयार पारिएको कपडा सस्तो हुने उनले बताए । गार्मेन्टबाटै महताले एउटा गाडी किन्नाका साथै सोही ठाउँमा जग्गा किनेर घर बनाउनाका साथै सोही घरमा गार्मेन्ट राखेका छन् । उनको गार्मेन्टमा हाल १२ वटा मेसिन रहेकामा समय अनुकूल भए लगानी बढाएर ३० देखि ३५ वटासम्म मेसिन सञ्चालनमा ल्याउने योजना बनाएको उनले बताए ।
स्थानीयस्तरमा हुने खेलकुदका कार्यक्रममा उल्लेखनीय योगदान दिँदै आएका महताले समाजमा हुने अन्य विकास र निर्माणका कार्यका साथै अनाथ एवम् असहायहरुलाई पनि सहयोग गर्दै आएका छन् ।
समस्याले नै बनायो गार्मेन्ट मालिक
डडेल्धुराको भागेश्वर गाउँपालिका–५, बगरकोट सिराडबाट कैलालीको गोदावरी नगरपालिका–६, भुएरामा बस्दै आएका उनको बाल्यकाल सुखद रुपमा नै बित्यो । विसं२०४३ फागुन ७ मा जन्मनु भएका महता उतिबेला कक्षा १० मा पढ्दा पढदै तत्कालीन नेकपा माओवादीको जनआन्दोलनको डरले पढाइ छाडेर साथीसँग भारतको दिल्ली पुगे । भारत पुगेपछि खानकै लागि पहिले चिया बनाएर बेच्न थाले ।
केही महिनापछि दिल्लीमै हार्नेस बनाउने कम्पनीमा काम गर्न थालेका तर यो कामबाट पनि चित्त नबुझेपछि उनी एक महिनासम्म गार्मेन्टको सीप सिकेर सोही कम्पनीमा जागिर पाए । भारतका विभिन्न गार्मेन्ट कम्पनीमा काम गरेका महताले झन्डै १० वर्ष भारतका विभिन्न गार्मेन्ट उद्योगमा काम गरेरेर उतिबेलै करिब ३५ देखि ४० हजारसम्म भारतीय रुपैयाँ कमाउने गरेको सुनाए । माओवादीको डर सकिएपछि भारतमा सिकेको सीप लिएर उनी नेपाल फर्किए ।
नेपालमा आएपछि कञ्चनपुरकी मीना महतासँग विवाह गरेका उनले परिवार पाल्नुकै लागि काठमाडौं आएर करिब एकवर्ष जति गार्मेन्टकै काम गरेपछि त्यहीँबाट मलेसिया पुगेर गार्मेन्ट कम्पनीमै करिब दुई वर्ष काम गरे । त्यहाँबाट फर्केपछि उनले आफ्नै गार्मेन्ट खोलेर बस्ने योजनाअनुसार नै सुदूर गार्मेन्टको सुरुआत भएको थियो । रासस