काठमाडौं । दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।
नेपालीहरुको महान चाड बडा दशैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ ।
गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरेपनि यसवर्ष भने कम मात्रै आइरहेको उनीहरुले बताए । कोरोना महामारीपछि व्यापार व्यवासायहरु राम्रोसँग फस्टाउन सकेको छैन ।
साथै, नेपालीहरुले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् । यस वर्ष कोरोना महामारीको असर कम रहेपनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।
चाडवाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरु दिनप्रतिदित बढीरहेका छन् । जसका कारण पनि आम मानिसहरु बजारमा त्यत्ति देखिँदैनन् । साथै, चाडवाडमा नयाँ लुगा, नयाँ परिकार खानकाक लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रुपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आंकलन गर्न सकिन्छ ।
कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने बताउँछन् न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही । उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको बताए । त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन ।
सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्नपनि हम्मेहम्मे परेको उनले बताए । उनले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यसपटक भने खुला भइरहेको अनुभव गरेको उनले बताए ।
दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरु अहिले समस्यामा परेको बताए । कोरोना भाइरस र बढ्दो डेंगुका कारण पनि नागरिकहरु घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्किएका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरेपनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ ।