काठमाडौं । पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप भएको छ ।
बिहीबार जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूलाई बुधबार राति पक्राउ गरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित श्रम मन्त्रालयका कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन् ।
उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले विकासन्युजलाई बताए । उनका अनुसार काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको हो ।
मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरित गैरकानुनी रुपमा ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर तीन लाख ७० हजार ४३९ र बेलायती मुद्रा ३७ लाख १७ हजार ९०. ८० गरी एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६.७६ रुपैयाँ अपचलन गरेको आरोप छ।
सीआइबीले उनीहरूलाई थप अनुसन्धान गरिरहेको छ ।