काठमाडौं । विकासन्युज डटकमले बैंक र बीमा कम्पनीहरुमा कार्यरत महिलाहरुबीच मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गर्ने भएको छ । विकास मिडिया प्रालिद्वारा सञ्चालित विकासन्युज डटकमले हरितालिका तीजको अवसरमा शुक्रबार बैंक र बीमा कम्पनीहरुबीच मैत्रिपूर्ण फुटसल खेलको आयोजना गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा काठमाडौंको लैनचौर मैदानमा दिउसाे ३:३० बजेदेखि फुटसल खेल सुरु हुनेछ । महिलाहरूकाे महान पर्व हरितालिका तीजको अवसरमा उनीहरुसँग भएको फरक किसिमको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले फुटसल आयोजना गर्न लागिएकाे विकास मिडियाले जनाएकाे छ ।
कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रसँगै निजी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुनेछ । फुटसलमा बैंक र बीमाको दुई वटा टीम हुनेछन् । बैंकिङ क्षेत्रबाट १४ वटा वाणिज्य बैंकका महिला कर्मचारीहरुले सहभागिता रहेकाे छ भने बीमा कम्पनीहरुबाट १४ जना खेलाडीले सहभागिता जनाएका छन् ।
मैत्रीपूर्ण खेलमा सबैभन्दा बढी गाेल गर्ने खेलाडीलाई २५ हजार रुपैयाँको पुरस्कारको पनि व्यवस्था गरिएको छ । महिला बैंकर्स र बीमकबीच हुने राेमाञ्चक खेल हेर्न प्रवेश निःशुल्क गरिएकाे छ ।

बैंकिङ समूहका खेलाडी
विजया लक्ष्मी जोशी
जोशी कृषि विकास बैंकमा कार्यरत छिन् । धनगढी घर भएकी उनीसँग २१ वर्षको बैंकिङ अनुभव छ । २०५८ सालदेखि कृषि विकास बैंकमा आवद्ध उनी वरिष्ठ शाखा अधिकृतमा कार्यरत छिन् । वि.स २०४० सालदेखि फुटबल खेल्दै आएकी उनी नेपालको पहिलो महिला फुटबल टीमको खेलाडी पनि हुन् । उनले काठमाडौंको दशरथ रंगशालासँगै सुदूरपश्चिमको विभिन्न ठाउँहरुम पुगेर पनि फुटबल खेलिसकेकी छिन् । पत्रपत्रिकाहरु पढ्नु, खेलकुदमा भाग लिनु उनको रुची हो । उनले फुटबलसँगै ब्याडमिन्टन, भलिबल, क्रिकेट लगायतका खेल खेलिसकेकी छन् ।
श्रीती श्रेष्ठ
श्रीती श्रेष्ठ माछापुच्छ्रे बैंकमा कार्यरत छिन् । काठमाडौंको साँखुमा घर भएकी उनी बैंकको केन्द्रिय कार्यालयमा काम गर्छिन् । केन्द्रिय कार्यालयमा सर्भिस डिपार्टमेन्टमा काम गरिरहेकी उनीसँग ८ वर्षको बैंकिङ्ग अनुभव छ । विद्यालयस्तरी खेलकुदमा भाग लिने उनी कहिले काँही बैंकले गरेका कार्यक्रममा पनि सहभागी हुन्छिन् । खेलकुदका लागि समय नभएपनि कतैबाट प्रस्ताव आयो भने सहभागी हुने गरेको उनी सुनाउँछिन् । लामो यात्रा गर्न रुची राख्ने उनको खेलकुदमा समेत रुची छ । उनले मलेशियाको एशिया प्यासिफिक यूनिभर्सिटीबाट एमबीए गरेकी छिन् ।
सरिना श्रेष्ठ
सिद्धार्थ बैंकको कीर्तिपुुर शाखाको शाखा म्यानेजर पदमा कार्यरत श्रेष्ठ२०१३ सालदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत छिन् । साढे १० वर्षको बैंकिङ्ग क्षेत्रको अनुभव रहेको उनले क्लिन इनर्जी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेकी हुन् । बैंकहरुमा हुने प्रतिस्पर्धामा सहभागी हुने उनी धेरै दौडिन सक्थिन् । काठमाडौंको न्यूरोडमा घर भएकी हुन् ट्राभलिङमा पनि रुची राख्छिन् । स्पोर्ट पनि मन पराउने भएकाले उनले ब्याडमिन्टन पनि खेल्छिन् । उनले स्वीमिङमा पनि रुची राख्छिन् । एमबीए सम्मको शैक्षिक योग्यता हासिल गरेकी उनीसँग नेपाल समाचार पत्रमा समेत काम गरेको अनुभव छ ।
शिला कुँवर
शिला कुँवर एनआईसी एसिया बैंकको कानुन शाखामा कार्यरत छिन् । नेशनल ल कलेजबाट इन्टरनेशनल ल र कमर्सियल लमा मास्टर्स गरिरहेकी उनी नेपाल ल क्याम्पसबाट बिएएलएलबी उतिर्ण गरेकी हुन् । बैंकिङ्ग क्षेत्रमा डेढ वर्षदेखि काम गर्दै आएकी उनी विद्यालय स्तरमासक्रिय रुपमा खेलकुदमा भाग लिन्थिन् । विद्यालयमा पढ्दा एथ्लेटिक्समा सर्टफुटमा भक्तपुरबाट प्रथम भएकी थिइन् । यात्रा गर्न रुचाउने उनी खेलकुदमा पनि रुची राख्छिन् । उनी स्वीमिङ र फुटसल पनि खेल्दै आएकी छिन् । उनले क्रिकेट पनि हेर्छिन् ।
सरिना महर्जन
१३ वर्षको बैंकिङ्ग क्षेत्रको अनुभव संगालेकी महर्जन नेपाल बैंकमा ८ वर्षदेखि काम गर्दै आएकी छिन् । हात्तिगौंडा शाखामा शाखा प्रबन्धक भएर काम गरिरहेकी उनी काठमाडौंको महाराजगञ्जमा बस्छिन् । विद्यालयमा पढ्दा उस्सु खेलाडी रहेकी उनी इन्टर्सको किक्स बक्सिङमा गोल्डमेडिलिस्ट हुन् । नेपाल बैंकले २ वर्ष अघि गरेको फुटसलमा प्रथम समेत भएकी थिइन् । साहित्य पढ्न, यात्रा गर्न, पियानो बजाउन रुची राख्ने महर्जन साइकोलोजिकल काउन्सलर पनि हुन् । एमबीएससम्मको अध्ययन गरेकी उनले परामर्श मनोविज्ञानमा पोस्ट ग्रेजुएट डिप्लोमा गरेकी छिन् ।
निशा श्रेष्ठ
माछापुच्छ्रे बैंकमा ५ वर्षदेखि असिस्टेण्ट पदमा काम गर्दै आएकी श्रेष्ठ एडभेन्चर गर्न रुची राख्छिन् । अहिलेसम्म कुनै पनि प्रतियोगितामा सहभागी नभएकी उनी पहिलो पटक विकासन्युजले आयोजना गरेको मैत्रिपूर्ण फुटसल कार्यक्रममा भाग लिँदै छिन् । उनी टोखा ग्रीनल्याण्डमा बस्छिन् ।
चन्द्रिका भट्ट
ग्लोबल आईएमई बैंकमा ५ वर्षदेखि कार्यरत भट्ट फुटसल, ब्याडमिन्टन, बास्केटबल, टेनिस टेबल खेल खेल्छिन् । एमबीएसम्मको अध्ययन गरेकी उनी असिस्टेन्ट पदमा रहेर काम गर्दै आएकी छिन् । कञ्चनपुरको महेन्द्रनगरमा घर भइ हाल काठमाडौंमा बस्दै आएकी उनी फुटसल खेल्न धेरै मन पराउँछिन् ।
रोश्नी राणा
राणा ५ वर्षदेखि सानिमा बैंकको सिनियर असिस्टेन्ट पदमा कार्यरत छिन् । ललितपुर घर भएकी राणा पहिलेदेखि नै फुटबल खेल्दै आएकी छिन् । कलेज पढ्दा खेल्ने उनी महिला प्रिमियर लिग समेत खेलेकी छिन् । पछिल्लो समय कोरोना महामारीले गर्दा लिग खेल्न नपाए पनि फुटसल खेलिरहेकी छिन् । सयम भएको बेलामा उनलाई यात्रा गर्न रहर लाग्छ ।
अनु अधिकारी
नुवाकोटकी अनु अधिकारी हिमालयन बैंकमा २ वर्षदेखि जुनियर अफिसर पदमा कार्यरत छिन् । कराँतेमा सक्रिय रहेकी उनी फुटबल खेल्न र यात्रा गर्न रुचाउँछिन् । जन्मस्थल नुवाकोट भएपनि उनी हाल बालाजुमा बस्छिन् ।
उर्मिला अधिकारी
राष्ट्रिय वाणिज्य बैंकको आईटी विभागको बरिष्ठ सहायक पदमा कार्यरत अधिकारी ब्याडमिन्टन, फुटसल खेल्छिन् । दुईचोटी अन्तरसंस्थान प्रतियोगितामा समेत उनले भाग लिएकी छिन् । यात्रा गर्न रुचाउने उनी चन्द्रागिरीमा बस्छिन् ।
सुस्मिता श्रेष्ठ
एनसीसी बैंकको अफिसर लेभलमा कार्यरत श्रेष्ठ ८ वर्ष बढी समयदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध छिन् । स्नातकोत्तर पुरा गरेकी श्रेष्ठसँग माछापुच्छ्रे बैंकमा समेत काम गरेको अनुभव छ । तेक्वान्दाे र फुटसल खेल्ने उनी काठमाडाैंमा बस्छिन् । खेलकुदमा रुची राख्ने श्रेष्ठ गीत गाउन, नाच्न र यात्रा गर्न पनि रुची राख्छिन् ।
समिक्षा खड्का
सिभिल बैंकमा चार वर्षदेखि कार्यरत खड्का अप्रेशन असिस्टेन्ट पदमा छिन् । कलेज पढ्दा फुटसल खेलेकी उनले बैंकले आयोजना गरेको प्रतियोगीतामा समेत सहभागी भएकी थिइन् । बानेश्वरमा बस्ने उनीसँग स्नातक तहसम्मको योग्यता छ । उनलाई किताब पढ्ने र यात्रामा निस्किने रुची छ ।
अमिता श्रेष्ठ
एनसीसी बैंकमा कार्यरत श्रेष्ठसँग २६ वर्षको बैंकिङ्ग अनुभव छ । यस अवधिमा विभिन्न विभाग हुँदै विगत ३ वर्षदेखि चिफ मार्केटिङ्ग ह्याण्डेल गरिरहेकी छिन् । उनीसँग विद्यालय लेभलमा मात्रै खेलकुद खेलेको अनुभव छ । गीत गाउन, नाच्न, आफन्त परिवारसँग घुमघाम गर्न उनी रुचाउँछिन् । स्नातक तहसम्मको अध्ययन गरेकी उनले स्नातकोत्तर पढ्दापढ्दै बैंकमा जागिर खाएकी थिइन् । उनी ललितपुरको जावलाखेलमा बस्छिन् ।
लक्ष्मी पौडेल
९ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध पौडेल मेगा बैंकको सिनियर अफिसर पदमा कार्यरत छिन् । इण्डियाको हैद्रावादबाट एमबीएसम्मको अध्ययन गरेकी उनको रुची खेलकुदमा छ । यसअघि बैंकले आयोजना गरेको फुटसल मात्रै खेलेको अनुभव उनीसँग छ । यात्रा गर्ने, घुमघाम गर्ने, नयाँ नयाँ ठाउँ भिजिट गर्ने उनको रुची छ । उनी धापासी काठमाडौंमा बस्छिन् ।
बीमा समूहका खेलाडी
कल्पना बुढाथोकी
आईएमई लाइफ इन्स्योरेन्स ललितपुरको शाखा प्रमुख हुन् कल्पना बुढाथोकी । बीमा क्षेत्रमा मात्रै ९ वर्षको लामो अनुभव बटुलिसकेकी उनले विगत एक वर्षदेखि नै आईएमई लाइफको ललितपुर शाखामा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् । बीमा बजार मन पराउने उनी कलाकारितासँगै समाजसेवामा विशेष रुची राख्छिन् । सानैदेखि भलिबल लगायत फुटबल खेल्ने उनी विभिन्न खेल खेल्न मन पराउँछिन् ।
प्रितमी सुवेदी
सुवेदी विगत ३ वर्षदेखि युनाइटेड इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । धनगढी घर भएकी उनीसँग ९ वर्षको बीमा क्षेत्रको अनुभव छ । नेपाल इन्स्योरेन्सबाट जब करियर शुरु गरेकी उनी हाल यूनाइटेड इन्स्योरेन्समा सिनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । विभिन्न खेल खेल्न, नयाँ ठाउँ घुम्नमा रुची राख्ने उनले यसअघि फुटबल खेलिसकेकी छिन् ।
रिता डंगोल
डंगोल पनि यूनाइटेड इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । विगत दुई वर्षदेखि यस कम्पनीमा आवद्ध उनले हाल कम्पनीको प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको अपरेशन डिपार्टमेन्ट सम्हाल्दै आएकी छिन् । यसअघि सानिमा जनरल इन्स्योरेन्समा काम गरेकी उनले बीमा क्षेत्रको मात्रै ४ वर्षको अनुभव बटुलिसकेकी छिन् । खाली समयमा गीत संगीत सुन्न मन पराउने भक्तपुर संलाघारीकी डंगोल खेल खेल्नमा पनि रुचाउँछिन् । जब करियर शुरु गर्नुअघि उनले विभिन्न खेल प्रतियोगितामा भाग लिने गरेकी थिइन् ।
आशा थापा
थापा अजोड इन्स्योरेन्समा अफिसरको रुपमा कार्यरत छिन् । ग्लोबल आइएमई बैंकपछि राष्ट्रिय बीमा संस्थानबाट इन्टर्न गरेकी उनी यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स हुँदै अजोडमा आवद्ध भएकी हुन् । अजोडमा ४ वर्ष काम गरिसकेकी उनले बीमा क्षेत्रमा मात्रै करिब ८ वर्षको अनुभव बटुलिसकेकी छिन् । बुटवलकी थापाको रुची घुमघाम गर्ने र खेल खेल्ने छ । उनी स्वीमिङ गर्न पनि मन पराउँछन् भने फुटबल, क्रिकेट लगायतका खेल खेल्न पनि रुचाउँछिन् ।
आस्मा सिग्देल
सिग्देल हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । नेपाल लाइफबाटै करियर शुरु गरेकी उनले बीमा क्षेत्रमा साढे ४ वर्षको अनुभव बटुलिसकेकी छिन् । हाल उनी कम्पनीमा सिनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । कीर्तिपुरकी सिग्देल डेकोरेट गर्न, घुमघाम गर्न बढी रुची राख्छिन् । उनले फुटबल लगायतका विभिन्न खेलहरु पनि खेल्ने गरेकी छिन् ।
प्रशंसा बस्नेत
बस्नेत पनि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । विगत साढे ४ वर्षदेखि नेपाल लाइफमा आवद्ध उनी हाल सिनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । बल्खु घर भएकी उनी घुमफिरसँगै फुटबल खेल्नमा बढी रुचाउँछिन् । उनी हाल पनि कार्यालयका साथीभाईसँग विभिन्न टुर्नामेन्टमा फुटबल खेल्दै आएकी छिन् ।
प्रिम्शा चन्द
चन्द मेटलाइफ (एलिको) मा एसिस्टेन्टको रुपमा कार्यरत छिन् । आफ्नो जब करियर मेटलाइफबाट शुरु गरेकी उनले बीमा क्षेत्रमा विगत ४ वर्ष बढीकाे अनुभव बटुलिसकेकी छिन् । कञ्चनपुरकी चन्द घुम्न बढी रुचाउँछिन् । सानैदेखि खेलमा रुची राख्ने चन्दले हाल बेला मौकामा फुटसल पनि खेल्ने गरेकी छिन् ।
रोशना खनाल
ज्योति लाइफमा कार्यरत खनालले हाल सिनियर एसिस्टेन्टको जिम्मेवारी सम्हालिरहेकी छिन् । मुलपानी घर भएकी उनले एनआईबीएल क्यापिटलबाट आफ्नो जब करियर शुरु गरेकी हुन् । उनीसँग बीमा क्षेत्रमा मात्रै साढे ४ वर्षको अनुभव छ ।
निन्ना तामाङ
तामाङ नेको इन्स्योरेन्समा कार्यरत छिन् । २०७८ पुसमा नेकोमा आवद्ध उनी हाल रिसेप्सनमा कार्यरत छिन् । काभ्रे घर भएकी तामाङले आफ्नो जब करियर एभरेष्ट इनोभेटिभ कलेज (ईआईसी)बाट शुरु गरेकी हुन् । नृत्य गर्ने, पुस्तक पढ्नेसँगै खेल खेल्नमा उनको रुची छ । फुटबल र ब्याडमिन्टन खेल्न उनलाई धेरै मन पर्छ ।
प्रतिभा ढकाल
ढकाल नेशनल लाइफ इन्स्योरेन्समा कार्यरत छिन् । विगत डेढ वर्षदेखि नेशनल लाइफमा आवद्ध उनी हाल ट्रेनि असिस्टेन्टको रुपमा कार्यरत छिन् । सामाखुसी घर भएकी ढकालको विशेष रुची फुटबलमा छ ।
झरना कार्की
कार्की हाल अजोड इन्स्योरेन्समा जुनियर असिस्टेन्टको रुपमा कार्यरत छिन् । आफ्नो जब करियर नै बीमा क्षेत्रबाट शुरु गरेकी उनीसँग २ वर्षको अनुभव छ । उनको विभिन्न किताबहरु पढ्ने, घुमफीर गर्ने र खेल खेल्ने रुची छ ।
सबिना श्रेष्ठ
श्रेष्ठ राष्ट्रिय बीमा संस्थानमा कार्यरत छिन् । विगत ४ वर्षदेखि नै कम्पनीमा आवद्ध भएकी उनी हाल कम्प्युटर अपरेटरको रुपमा कार्यरत छिन् । भक्तपुरको सूर्यविनायककी उनको विभिन्न खेल खेल्ने रुची छ ।
सुमना कार्की
कार्की ज्योती लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । विगत २ वर्षदेखि ज्योति लाइफमा आवद्ध उनी हाल कम्पनीको एडमिन डिपार्टमेन्टमा छिन् । सानैदेखि खेलमा रुची राख्ने कार्की २०६१ को राष्ट्रिय खेलाडी पनि हुन् ।