काठमाडाैं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।
महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।
उनले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको गुनासाे गरे ।
उनले मन्त्रालयले पूर्व महाप्रबन्धकलाई पैसा दिने तर आफू आएपश्चाद् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए । ‘अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको छ तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा छैन, एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लग्न सकिन्थियाे,’ उनले भने ।
झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए । उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु हाे,’ उनले भने ।