अब काठमाडौंका शिक्षक तथा कर्मचारी राजनीतिमा संलग्न हुन नपाउने

<p>काठमाडौं । काठमाडौंका शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनितिक दलमा नबस्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले आग्रह गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अनुसार कुनै पनि शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने भन्दै उनले सो आग्रह गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा [&hellip;]</p>

काठमाडौं । काठमाडौंका शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनितिक दलमा नबस्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले आग्रह गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अनुसार कुनै पनि शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने भन्दै उनले सो आग्रह गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ । उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ ४ गते परमादेश समेत जारी भएको बालेनले जानकारी गराएका छन् ।

यससँगै काठमाडौं महानगरको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ ।

‘उक्त कानूनी व्यवस्था तथा सम्मानीत उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबद्र्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुँदैन,’ बालेनले भने ।

साथै, काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई हाल कुनै पनि प्रकारको सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई अपिल गरेका छन् । र, उनले काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न समेत बालेनले सूचित गराएका छन् ।

यदि कुनै आवद्धता देखेमा इमेल गर्न समेत उनले सबैलाई आग्रह गरेका छन् ।

Share News