काठमाडौं । ट्राफिक प्रहरीको विशेष चेकिङ्गले विभिन्न विद्यालयका १ सय १८ जना विधार्थी कारवाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर बिभिन्न अभियान संचालन गर्दै आईरहेको छ । सोही अभियान अन्तर्गत सोमबार विहान कलेजका विधार्थी लक्षित ट्राफिक चेकजाँच गरेको थियो ।
चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना, सवारी दर्ता किताव नभएका ३९ जना र ३ जना सवार ७ जना विधार्थी कारवाहिमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विधार्थी कारवाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क अनुसार उपत्यका भित्र १० हजार ७३३ वटा सवारी साधन दुर्घटना भएका छन् ।
जसमध्ये ८ हजार ३६४ वटा २ पांग्रे सवारी साधन रहेका छन् । सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रवक्ता भट्टले बताए ।