काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरेकी छन् । मंगलबार शीतल निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा राष्ट्रपतिले देशको वर्तमान अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरेकी हुन् ।
उनले बढ्दो व्यापार घाटाको सन्दर्भ उठाउँदै यसको पूर्तिका लागि मुख्य दुइटा सुझाव दिएकी छन् । उनले अब फजुल खर्च नियन्त्रण र अर्थव्यवस्थमलाई स्वावलम्बी तथा आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल फड्को मार्ने गरी कामको सुरुवात गर्नु पर्ने बताइन् ।
कोभिड–१९ महामारीले समग्र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिको माग गरेको पनि राष्ट्रपतिले बताइन् । मुलुकको आर्थिक प्रणाली शिक्षा स्वास्थ्य विदेश नीति लगायतका आधारभूत सवालहरूमा राज्यले लिनुपर्ने दिशाका बारेमा संविधानले स्पष्ट मार्गदर्शन गरेको भन्दै राष्ट्रपतिले राष्ट्रका सामु उपस्थित अहम् विषयहरूमा संविधानलाई शिरमा राखेर सबै राजनीतिक दलहरूबीच सहमति कायम हुनुपर्ने धारणा राखिन् ।