काठमाडौं । पछिल्लो समय सरुवा रोग बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंले खाद्य स्वच्छता तथा गुणस्तर निरिक्षण अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
गर्मी मौसम तथा वर्षायामका कारण काठमाडौं उपत्यका लगायत केही स्थानमा झाडापखाला लगायत विभिन्न संक्रमित रोगहरु देखिएपछि विभागले अनुगमन गरेको थियो । एक साताको अवधिमा विभागले ३७ वटा उद्योगमा निरिक्षण गरेको हो ।
विभागले असार २५ गतेदेखि असार ३१ गतेसम्म ९६ दिनको अवधिमा दैनिक २ वटा खाद्य निरिक्षकहरुको अनुगमन टोलीहरु पठाएर बजार अनुगमन गरेको थियो । उक्त टोलीले प्रशोधित पिउने पानी तथा होटल रेष्टुरेन्ट क्यान्टिनमा बिक्री वितरण गरिने खाद्य पदार्थको निरिक्षण गरेको थियो ।
विभागको अनुगमन टोलीले २ वटा प्रशोधित पिउने पानीको उद्योग, २१ वटा होटल तथा रेष्टुरेन्ट, ५ वटा मिठाई तथा वेकरी पसल, ३ वटा दुग्ध उद्योग, १ वटा गुदपाक उद्योग, ३ वटा किराना तथा सुपरमार्ट, १ वटा दाना उद्योग, १ वटा आलु चिप्स उद्योगको निरिक्षण अनुगमन गरेको थियो ।
खाद्य ऐन नियम बमोजिम जार तथा बोटलका प्रशोधित पिउने पानीका १ थान नमुना, नौनी र घ्यूको २ थान नमुना, मक्कैको २ थान नमुना, गुदपाकको १ थान नमुना, खुल्ला दुधको १ थान नमुना र १ वटा पानीपुरिमा प्रयोग हुने पानीको नमुना संकलन गरिएको थियो । साथै १३ थान पुराना जारहरु नष्ट गरेको विभागले जनाएको छ ।
अनुगमनका क्रममा विभागको टोलीले बनेपा नगरपालिका ७ काभ्रेममा रहेको बुद्ध लण्ड मेलम्ची मिनरल वाटरको ८ वटा पुराना जार नष्ट गरी पानीको नमुना संकलन गरेको थियो । त्यस्तै, बनेपा नगरपालिका १० काभ्रेमा रहेको अक्वा फ्रेस प्रोसेस ड्रिंकिङ्ग वाटरको पनि ५ वटा पुराना जार नष्ट गर्न लगाएको छ ।
अन्य कम्पनीलाई पनि सरसफाइमा सुधार गर्न निर्देशन दिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । विभागले काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा अनुगमन निरिक्षण गरेको थियो ।