काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको हाे ।
यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलाेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, म:म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीका अध्यक्ष तथा साथीमार्टका सीईओ सागर पोखरेल बताए । ।
कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीकाे संचालकमा ५ जना रहेकाे पाेखरेलले जानकारी दिए ।
७ वटा भन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन, रिटेल, टेक्नोलोजी, अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पूँजी ५० करोड र चुक्ता पूँजी हाललाई ५ करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पूँजी पुर्याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू जोड्ने लक्ष्य राखेकाे जनाएकाे छ । यसका साथै, कम्पनीले २०८०/८१ भित्र कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब ५० करोड पुर्याई आईपीओमा समेत जाने लक्ष्य रहेको जनाएको छ ।