काठमाडौं । वाणिज्य बैंकहरुले सेयरधनीलाई प्रदान गरेको नगद लाभांश प्रतिकित्ता औसतमा १ रुपैयाँ ५४ पैसा रहेको छ । बैंकहरुले प्रदान गरेको नगद लाभांशमा पुँजीगत लाभकर कटाएर सेयरधनीले पाउने खुद रकम हेर्दा यति कम देखिएको हो ।
नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाई गरेपछि बैंकहरुको नगद लाभांश खुम्चिदै गएको हो । गत आर्थिक वर्षमा बैंकहरुले औसतमा २ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गरेका थिए । यो रकम पनि कर तिरेपछि सेयरधनीका हातमा परेको रकम हो ।
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा प्रतिकित्ता ३ रुपैयाँभन्दा बढी नगद लाभांश प्रदान गर्ने बैंकहरु जम्मा ३ वटा मत्रै छन् । बैंक अफ काठमाडू (बिओके), एभरेष्ट र हिमालयन बैंकले मात्रै प्रतिकित्ता ३ रुपैयाँभन्दा बढी नगद लाभांश दिएका छन् ।
बिओकेका सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ३० पैसा, एभरेष्टका सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ८० पैसा र हिमालयन सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ३४ पैसा खुद नगद लाभांश पाएका छन् । बैंकहरुको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेकोले उनीहरुले प्रदान गरेको प्रतिशत प्रतिकित्ताकै दरमा हिसाव गर्दा मिल्छ ।
यस्तै, संचालनमा रहेका ९ वटा वाणिज्य बैंकहरुले यसवर्ष सेयरधनीलाई एक रुपैयाँ पनि नगद लाभांश दिएनन् । यसरी नगद लाभांश नदिने बैंकहरुमा कृषि विकास, सेन्चुरी, माछापुच्छ्रे, एनसीसी, एनआईसी एसिया, प्रभु, सानिमा, सिद्धार्थ र सनराइज बैंक रहेका छन् ।
प्राइम बैंकले भने लाभांश करको लागि लाग्ने रकमको जोहो पनि गरिदिएको छैन ।

संचालनमा रहेका बैंकमध्ये १० वटा वाणिज्य बैंकले सेयरधनीलाई प्रतिकित्ता २ रुपैयाँभन्दा बढी तर ३ रुपैयाँभन्दा कम नगद लाभांश दिएका छन् ।
सेयरधनीको खल्तीमा पर्ने गरी प्रतिकित्ता २ देखि ३ रुपैयाँको बीचमा नगद लाभांश दिने बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेसनल, ग्लोबल आईएमई, कुमारी, लक्ष्मी, नबिल, नेपाल बंगालादेश (एनबी), नेपाल, इन्भेष्टमेन्ट, एनएमबी र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् ।