काठमाडौं । आयात–निर्यातकर्ता व्यवसायीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले लकडाउन खुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको छ । संघले विज्ञप्ति जारी गरी लम्बिँदो लकडाउनका कारण अर्थतन्त्र र जनजीवनमा थेग्नै नसक्ने चाप परेको भन्दै यसलाई खुकुलो बनाउन माग गरेको हो ।
स्वास्थ्य क्षेत्रको पूर्वाधारमा नेपाल जस्तै कमजोर रहेको भियतनामले लामो लकडाउनबिनै पनि कोरोना भाइरसको संक्रमण विस्तार रोक्न सफल भएको परिप्रेक्ष्यमा त्यस्तै मोडल र होसियारी अपनाएर व्यापार, व्यवसाय र आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने संघको मान्यता रहेको छ । ९ करोड ७० लाख जनसंख्या रहेको भितनामले तीव्र गतिमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट उक्त भाइरसको संक्रमण नियन्त्रण गर्दै विश्व सामु प्रस्तुत गरेको उदाहरण हाम्रा लागि गतिलो शिक्षा हुन सक्छ ।
तसर्थ त्यस्तै वा अरु प्रभावकारी विकल्प खोजेर आम नेपालीका लागि कोरोना भाइरसभन्दा बढी घातक बन्न सक्ने लकडाउन खुकुलो बनाउनुपर्ने संघको माग छ । लम्बिँदो लकडाउनले ज्याला मजदुरी गर्ने लाखौंको रोजीरोटी खोसेको छ । स्वरोजगारमूलक व्यवसाय सञ्चालक तथा रोजगारीका अवसर सिर्जना र राजस्वमा ठूलो योगदान गरेका साना तथा मझौला उद्यमी टाट पल्टिने अवस्थामा पुगेको परिप्रेक्ष्यमा यसलाई अझै लम्ब्याउँदा लकडाउनको लगत्तै पछि अर्थतन्त्र र मुलुकको सामाजिक व्यवस्था अकल्पनीय दुर्घटनामा पर्ने निश्चित छ ।
तसर्थ नागरिकलाई घरमा थुनेर होइन कोरोना भाइरसका विषयमा शिक्षा र चेतना जगाउने तथा बाहिरी चहलपहल र गतिविधिलाई सुरक्षित बनाउने तथा परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्र बनाउने भियतनामको जस्तो मोडल अपनाएर लकडाउन खुकुलो पार्न संघले जोडदार माग गरेको छ ।