
काठमाडाैं । कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ-आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् ।
जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् । जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् ।
भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहलपहल पनि बढ्दै गएको छ । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टिनमा राख्न थालेको छ । कोरोना भाइरसको जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टिनमा राख्न थालिएको हो ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआइसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडिकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५ र पूर्वीचौकी गाउँपालिकामा १०३ गरेर कूल दुई हजार ८७९ राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा राखिएकामा महिला ७९, पुरुष दुई हजार ७८४ र बालबालिका १६ रहेका छन् ।
त्यस्तै जिल्लामा रहेका क्वारेन्टिनको बेड (श्यया) सङ्ख्या एक हजार २८३, आइसोलेसन श्यया सङ्ख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ३६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी छ ।
जिल्लामा दुई हजार ८२ जनाको आरडिटी गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र चार जनाको मात्र पोजेटिभ आएको छ । केही दिनयतादेखि डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताए । उनले भने, ‘भारतबाट नागरिक आएको छन्, हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।’ भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका-२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर मावि बुडर, बडिकेदारको बिपीनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका-१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायत स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।
कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर दैनिक जिल्लामा भित्र्याउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताए । उनका अनुसार उद्धार गरिएकाहरुमा स-साना बालबालिकाका, महिला तथा वृद्धहरु पनि रहेको छन् । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताए ।
उनले भने, ‘सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ, तर बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।’ जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन डब्लुएचओको मान्यताअनुसार नभएका तथा क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ज्ञास, सुत्नेलगायत) समेत नभएकाले समस्या हुने स्थिति देखिएको दिपायल राजपुर-४ का टेक शाहले बताए । उनले भने, ‘कतिपय क्वारेन्टिन नाम मात्रका छन्, खानदेखि सुत्नसमेत समस्या छ, क्वारेन्टिनमा बसेकालाई समस्या भएको छ ।’ जिल्ला अस्पताल डोटीमा कोभिड-१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको छ ।
भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टिनमा राखिएका भने निकै खुशी भएका छन् । भारतमा नरकीय जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन गर्न सकिने भारतबाट काम गरी घर फर्किएका जोरायल गाउँपालिकाको कारेन्टिनमा बसेका राजकुमार भुलले बताए । उनले भने, ‘अर्काको देशमा निकै दुःख पाए, यहाँ जस्तो दुःख भए पनि सहन गरेर बस्ने छौँ, हामी सुरक्षित छौँ ।’ कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीलाई दुःख दिइने र गाली गर्ने गरिएको उनले गुनासो गरे । यहाँका क्वारेन्टिन सरकारी मापदण्डअनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयवासीको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वारेन्टिनको केही दिनभित्र अनुगमन तथा निरीक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिए । रासस