
काठमाडाैं । एभरेष्ट बैंक, २०५१ साल कात्तिक १ गतेदेखि सञ्चालनमा आएको हो । मुलुकमा वैदेशीक संयुक्त लगानीमा बैंकहरु सञ्चालनमा आइरहेको समयमा निरन्तर, बलियो र भरपर्दो नारा सहित यस बैंक सञ्चालनमा आएको हो ।
पञ्जाब नेशनल बैंक भारत र नेपालीहरुको संयुक्त लगानीमा सञ्चालनमा रहेको बैंकको नेतृत्व हालसम्म पनि भारतबाटै हुने गरेको छ । बैंकको प्रमूख कार्यकारी अधिकृतमा हाल पनि भारतको पञ्जाब नेशनल बैंकबाट आएका गजेन्द्र कुमार नेगी छन् ।
बैंकको ९४ शाखा र १ सय २२ वटा एटीएमबाट ग्राहकले सेवा पाइरहेका छन् । ८.४६ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ३.५० देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ ।
उपाधी
बैंकले २००६ मा लण्डनको फाइनान्सियल टाइम्स्बाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । नेपालका आर्थिक पत्रिकाहरुबाट बैंकले विभिन्न समयमा अवार्डहरु पाएको छ । बैंकले २०१३, २०१८ र २०१९ मा बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१८ मा क्यामेल रेटिङको आधारमा दोस्रो बैंकको उपाधी समेत पाएको छ ।
लगानी

बैंकमा हाल लगानीमा थोरै परिवर्तन आएको छ । गत वर्ष पञ्जाब नेशनल बैंक भारत पछि सबैभन्दा धेरै सेयर हुनेमा होटल स्नो लायन रहेकोमा हाल प्रतिमा श्रेष्ठको लगानी दोस्रो स्थानमा छ । लगानी स्वामित्वको आधारमा होटल स्नो पछि बि के श्रेष्ठ (एनबी समूह)को लगानी देखिन्छ । बिके श्रेष्ठ बैंकको अध्यक्ष समेत हुन् ।
अन्य लगानी
बैंकको सहायक कम्पनी छैन । तर, बैंकले फर्वाड कम्युनिटी माइक्रोफाइनान्समा २५ प्रतिशत (३१ करोड रुपैयाँ) सेयर लगानी गरेको छ । संस्थापक सेयर धनीको रुपमा छ । बैंकले अन्य केही लघुवित्त, होटेल लगायतमा गरेको लगानी ८५ करोड रुपैयाँ पुगेको छ । यो स्वामित्वको लागि नभई लगानी उदेश्यका आधारमा मात्र गरिएको लगानी हो ।
लाभांश
बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५ प्रतिशत दिएको छ । पाँच वर्षमा बैंकको औसत लाभांश दर ३७.९९ छ । हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ८६ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा १० प्रतिशत हो । सेयर प्रिमियम रकम समेत जोड्दा यो दर १३ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ ।
वित्तीय अवस्था
बैंकले चालु आवको दोस्रो त्रैमाशमा ५.५८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । यो रकम १ अर्ब ५० करोड रुपैयाँ छ । नाफा रकमको आधारमा बैंक नवौं स्थानमा छ ।
बैंकको अन्य आम्दानी बढ्दा र खराब कर्जाको लागि राखिने प्रावधान घट्दा समेत नाफाबढ्न सहयोग पुगेको हो । बैंकको व्याज आम्दानी १५ प्रतिशत र खुद व्याज आम्दानी करीब ९ प्रतिशतले बढेको छ । ७ अर्ब १७ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा २ अर्ब ९० करोड पुगेको छ । खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ ।
कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ८ करोड ९३ लाख रुपैयाँ प्रावधान राखेको छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ४ प्रतिशतले कमि भएर ८ अर्ब ८२ करोड रुपैयाँ छ । कोष लागत केही बढेर ६.४४ पुगेको छ ।

बैंकमा ८ सय ९३ जना कर्मचारी छन् । बैंकको कर्मचारी खर्चमा करीब ११ प्रतिशतको वृद्धि छ । निक्षेप प्राथमिक पुजीको आधारमा कर्जा लगानी अनुपात ७५.०४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात २४.८० प्रतिशत छ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ ।
रेटिङ
बैंकलाई केयर रेटिङ नेपालले एए माइनस रेटिङ दिएको छ । सो क्रममा बैंकको सामर्थ्य र कमजोरीलाई निम्न अनुसार देखाएको छ ।
- कर्जा र निक्षेपमा निरन्तरको वृद्धि
- क्षेत्रगत आधारमा निक्षेपको हिस्सा घटेर ४.५३ मा सिमित
- खुद व्याज मार्जिन घटेर ३.६४
- कम लागतका निक्षेपको हिस्सा सामान्य घट्यो (हाल ३८.९५ प्रतिशत), समग्र क्षेत्रको औसत दर (४१.७७)
- कोषल लागतभने क्षेत्रगत आधारमा कम
- खराब कर्जा दर निकै न्युन
- खुद व्याज आम्दानी लगायतमा वृद्धि
- २० प्रमूख निक्षेपकर्ताको हिस्सा ३२ प्रतिशत, २० प्रमूख ऋणीको हिस्सा २३.९१
प्रवृत्ति बुलिश
बैंकको सेयर मूल्य करिब एक वर्ष यताकै उच्च (८सय ८० रुपैयाँ) मा आएको छ । यसअघि बैंकले कप विथ ह्याण्डल आकृति बनाएर ८ सय ६० सम्म मूल्य पुग्न सक्ने देखाएको थियो । बैंकको सेयरमा दरिलो आकर्षण छ ।
७ दिने सिम्पल मुभिङ एभरेजले २१ दिने रेखा लाई काटेर माथि लागेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ ।
पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे आगामी एक महिनामा ९ सय ७० मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सयमा टेवा पाउने देखाउँछ ।

बैंकको सेयर कारोबारमा उच्च आकर्षण रहेको १४ दिने आरएसआई सुचकले संकेत गर्छ । यो ९३ स्केल मा छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।
बैंकको सेयर मूल्यले अन्तिम दिन क्रमशः सेतो मैनवत्ति आकृति बनाएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमै रहेको संकेत गर्छ । मूल्य बढ्न सक्ने संकेत कायमै देखिन्छ ।