काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्मकै देशको ठूलो कृषि प्रशोधन केन्द्र निर्माण हुने भएको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानजनक पेशाका रुपमा स्थापित गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारीमा कृषि प्रशोधन केन्द्रको निर्माण गरिने बताइएको हो ।
कृषि प्रशोधन केन्द्र स्थापना गर्नका लागि गृहकार्य अगाडि बढाइएको बताइएको छ ।
फार वेस्टर्न एग्रो जाइन्ट नामक कम्पनीको स्थापना गरी कृषि प्रशोधन केन्द्र स्थापनाको गृहकार्यमा लागिएको कम्पनीका संस्थापक अध्यक्ष डा. ताराप्रसाद जोशीले बताए ।
‘सुदूरपश्चिको कृषि क्षेत्रमा व्यवसायीकता कम छ, यसलाई व्यवसायीक रुपले अगाडि बढाउने उद्देश्यले काम गर्न लागेका छौं, यो कम्पनीले देशको ग्राहस्थ उत्पादनमा पनि टेवा पुर्याउने छ’, जोशीले भने ।
सुदूरपश्चिम र कर्णली प्रदेशमा उत्पादन भएका अन्नबालीलाई एकिकृत गरी प्रशोधन केन्द्रमा प्रशोधन गरी बजारीकरण गर्ने उनले बताए । ७ सय ७७ जना सेयरधनी रहेको कम्पनीको ५० करोड रुपैयाँ पुँजी हुने उनको भनाइ छ । एक वर्ष पछि भने कम्पनीको पुँजी बढाएर एक अर्ब बनाउने उनले बताए ।
कम्पनीमा सुदूरपश्चिम प्रदेशका मन्त्री, सांसद, स्थानिय जनप्रतिनिधी र उद्योगीहरु व्यवसायीहरुको सेयर रहेको छ । कृषि व्यवसायलाई आधुनिकीकरण र सम्मानजनक पेसाका रूपमा विकास गर्न नसकेको भन्दै कृषि पेसा छाडिरहेका बेलामा ठूलो लगानीमा आधुनिक कृषि प्रशोधन केन्द्र सञ्चालनमा आउने भएको हो ।
कृषकलाई लक्षित गर्दै सुदूरपश्चिममा पहिलोपटक वैज्ञानिक ढंगको कृषि प्रशोधन केन्द्र बन्ने भएको हो । बजार सूचना, बजारीकरण सीप, व्याकवार्ड तथा फर्वाड सन्जाल विस्तार, वस्तु विकास तथा विविधीकरणमा बजार सञ्जालको रुपमा पनि केन्द्रले सहजीकरणको भूमिका खेल्ने जोशीले बताए ।
नेपालमा कृषि व्यवसायको मुख्य चुनौतीको रुपमा रहेका बजार तथा बजारीकरण, भौतिक पूर्वाधार, लगानी, प्रविधि, कच्चा पदार्थ, व्यावसायीक वातावरणका लागि इच्छुक वृद्धिउन्मुख कृषि व्यवसायीले यस केन्द्रबाट प्रदान गर्ने सेवाबाट विभिन्न फाइदा लिन सक्ने जोशीको भनाइ छ ।
किसानलाई केन्द्रित गरिएको यस केन्द्रले सुदूरपश्चिम र कर्णालीका विभिन्न क्षेत्रमा रहेका कृषकलाई केन्द्रले वित्त व्यवस्थापन तथा प्रक्षेपण सीप, लगानीमा पहुँच विस्तार गर्न, व्यावसायीक तालिम, परामर्श, सल्लाह, प्राविधिक सूचना, प्राविधिकसँग सम्बन्ध तथा पहुँच विस्तारलगायत सेवा उपलब्ध गराउने बताइएको छ ।
अबको ५/६ महिनाभित्र कृषकले उत्पादन गरेको अन्न तथा बाली प्रशोधन गरी बजारमा पठाउने तयारी भइरहेको जोशीको भनाई छ । हाल मेसिन खरिद र जग्गाको काम भइरहेको उनले बताए । कम्पनी डडेल्धुरामा स्थापना हुने उनले बताए । त्यससँगै कैलालीमा पनि यसको विस्तार गरिने छ ।
‘कृषिमा धेरै रोजगारीको सम्भावना छ, तर त्यसप्रति हामीले ध्यान दिएका छैनौ, कृषि गरिबहरुले गर्ने हो भन्ने सोच छ । यो मानसिकतालाई हटाउन र कृषिमा आधुनिकीकरण गर्नका लागि प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको हो,’ जोशीले भने ।
उनले सुदूरपश्चिममा उब्जनी हुने अन्नबालीलाई प्रशोधन केन्द्रमार्फत बजारीकरण गर्न सहज हुने बताए । यो कम्पनीको स्थापना पश्चात धेरैले रोजगारीकाे पनि अवसर पाउने छन् । बालीहरुलाई सूचिकृत गरेर काम गर्ने बताए ।
नेपालमा आयआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेका छन् । यो परिपाटी र प्रवृति रोक्न पनि कम्पनीले भूमिका खेल्ने उनको भनाइ छ ।