काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आकर्षक योजना ल्याएको छ । नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि केन्द्रीत गर्दै बैंकले नयाँ योजना ल्याएको हो ।
बैंकले ल्याएको नयाँ योजना अनुसार साढे ७ वर्षको मुद्दति निक्षेप राख्दा भुक्तानी अवधि पूरा भएपछि जति रकम राखिएको हो, त्यसको दोब्बर भुक्तानी रकम भुक्तानी पाइनेछ ।
बैंकले ल्याएको योजना अनुसार अहिले ५ लाख रुपैयाँ मुद्दतिमा राख्यो भने साढे ७ वर्षपछि इन्भेष्टमेन्ट बैंकले १० लाख रुपैयाँ फिर्ता दिनेछ । यो भनेको फ्याट दरमा हिसाब गर्दा वार्षिक १३.३३ प्रतिशत जति व्याज हुन आउँछ । अहिले बैंकहरुले मुद्दतिमा वार्षिक ९ प्रतिशतभन्दा बढी व्याज नदिने गरी ‘भद्र सहमति’ गरेका छन् ।
इन्भेष्टमेन्ट बैंकले ल्याएको नयाँ योजनाको चक्रीय व्याज प्रणालीअनुसार पनि वार्षिक ९.६ प्रतिशत जति व्याज पाइन्छ । प्रत्येक ३ महिनामा व्याज खाने र सो व्याज रकमलाई पनि सावाँ नै बनाएर मुद्दतिमा राख्दा हुने हिसाबले पनि ९.६ प्रतिशत व्याज हुन आउने हो ।
बैंकले ल्याएकाे नयाँ याेजनामा कम्तिमा २ हजार २० रूपैयाँ राख्न सकिने व्यवस्था गरिएकाे छ ।
यस्तै, बैंकले १०.५ प्रतिशत वार्षिक व्याजमा पर्यावरणमैत्री व्यापार व्यवसाय तथा सेवा संचालन गर्न कर्जा दिन बैंकले योजना ल्याएको छ । बैंकले १०.५ प्रतिशत व्याजमा इको लोन दिने स्कीम ल्याएको हो ।