आन्तरिक गडबडले नविल बैंकको साधारणसभा भएन, अध्यक्ष भन्छन्-नियामकले रोक्यो

<p>काठमाडौं । निजी क्षेत्रको पहिलो र बैंकिङ क्षेत्रमा उदाहरणको रुपमा लिने गरिएको नविल बैंक यस वर्ष कानुनले तोकेको समयमा साधारणसभा गर्न असफल भएको छ । मंसिर १८ गते बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । कानुन सम्मत तरिकाले बैंकले पुस मसान्तभित्र नै [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको पहिलो र बैंकिङ क्षेत्रमा उदाहरणको रुपमा लिने गरिएको नविल बैंक यस वर्ष कानुनले तोकेको समयमा साधारणसभा गर्न असफल भएको छ । मंसिर १८ गते बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।

कानुन सम्मत तरिकाले बैंकले पुस मसान्तभित्र नै साधारणसभा गर्ने अनुमान सेयरधनीले गरेका थिए । तर सञ्चालक समितिले लाभांश दिने निर्णय गरेको दुई महिना बित्दा पनि साधारणसभा गर्न सकेको छैन ।

बैंकका अध्यक्ष शम्भु पौडेलले साधारणसभामा जानुपूर्व नियामक निकायबाट लिन पर्ने स्वीकृतिमा ढिलाई भएको बताए । ‘नियामकले केही कागजपत्र मागेको छ । हामी जवाफ दिँदैछाैँ’ पौडेलले विकासन्युजसँग भने । माग अनुसार कागजपत्र पेस गर्ने तयारी भईरहेको उनले बताए ।

राष्ट्र बैंकले भने नविल बैंकको वार्षिक प्रतिवेदन र लाभांश प्रस्ताव स्वीकृत भईसकेको जनाएको छ । ‘हाम्रो तर्फबाट केही रोक तोक छैन । बैंकको आन्तरिक गडबडीले साधारणसभा बोलाउन ढिला भएको हुन सक्छ’ राष्ट्र बैंकका जिम्मेवार अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

सेयरको मूल्यमा निरन्तर गिरावट

३४ प्रतिशत लाभांश घोषणा भएपछि नविल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । लाभांश घोषणा हुनुपूर्व बैंकको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँभन्दा माथि थियो । पछिल्लो समय सेयरको मूल्य घटेर ८३८ रुपैयाँ कामय भएको छ ।

हुन त नविल बैंकको सेयर मूल्य विगत दुई वर्षदेखि निरन्तर घटिरहेको छ । २०७४ माघमा प्रतिकित्ता ११०० भन्दा माथि थियो । २०७३ माघमा यस बैंकको सेयर मूल्य प्रतिकित्ता १७०० रुपैयाँ भन्दा बढी थियो ।

विगत केही वर्षयता वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश दिदै आएको नविल बैंक अहिले दोस्रो स्थानमा झरेको छ । यस वर्ष इन्भेष्टभेन्ट बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिँदा नविल बैंक ३४ प्रतिशतमा झरेको छ ।

विगतमा प्रतिस्पर्धा विनाको लिडर मानिएको नविल बैंकलाई पछिल्लो समय नेपाल इन्भेष्टभेन्ट बैंक, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक लगायत केही बैंकले टक्कर दिईरहेका छन् ।

Share News