काठमाडौं । नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरु वार्षिक साधारणसभा गर्ने हतारोमा देखिएका छन् । कम्पनी कानुन अनुसार पुस मसान्तसम्ममा सबै कम्पनीले वार्षिक साधारणसभा (एजीएम) गर्नुपर्छ । पुस मसान्तसम्म साधारणसभा नगर्ने कम्पनीले पुँजीकाे अनुसार बढी कर तिर्नुपर्छ ।
पुस ९ गते मात्रै १५ वटा कम्पनीहरुले वार्षिक साधारणसभा डाकेका छन् । १५ कम्पनी मध्ये १० कम्पनीले आगामी पुस ३० गते वार्षिक साधारणसभा गर्दैछन् । अन्य पाँच कम्पनीले ३० गते अगाडि नै साधारणसभा बाेलाएका छन् ।
नेपाल दूरसञ्चार कम्पनीले पुस ३० गते आफ्नो ११औँ वार्षिक साधारणसभा टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा गर्ने भएकाे छ । सभामा सेयरधनीलाई प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्ताव छ ।
हिमालयन बैंकले पुस ३० गते माईतीघरको कार्की ब्याङ्क्वेटमा सभा राख्दैछ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेस गर्दैछ ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले पुस ३० गते लैनचौर स्थित लैनचौर व्याङ्क्वेटमा साधारणसभा बाेलाएकाे छ । सभामा बैंकले सेयरधनीलाई १.६ प्रतिशत नगद लाभांश र ३.६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।
नेपाल एसबिआई बैंकले पनि पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले बैंकको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गर्दैछ ।
त्यस्तै, मेगा बैंकले पुस ३० गते नै आठौँ वार्षिक साधारणसभाको मिति तोकेको छ । बैंकले चुक्ता पुँजीको ६.८५ प्रतिशत नगद लाभांश र १.००२३३ प्रतिशत बोनस वितरण गर्ने प्रस्तावसहित साधारणसभाको मिति तय गरेको हो । बैंकको सभा सो दिन बिहान ११ बजे राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बस्दै छ ।
त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले पुस ३० गते कालिकास्थानस्थित अमृतभोगमा आफ्नो १४औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । बैंक सेयरधनीलाई ४ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।
१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ६.४२ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा सहित नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले पनि पुस ३० गते साधारणसभा डाकेको छ । बैंककाे एजीएम बिहान ९ बजे रुपन्देहीको मणिग्रस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बस्दै छ ।
कर्जा सूचना केन्द्र लिमिटेडले ५० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्न आगामी पुस ३० गते चौथौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको आगामी एजीएम सो दिन बिहान ११ बजे दरवारमार्ग स्थित होटल अन्नपूर्णमा बस्दै छ ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले आगामी पुस ३० गते साधारणसभा गर्ने निर्णय गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बस्दै छ । सभामा कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २ करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ बराबर नगद लाभांश पारित गर्ने प्रस्ताव लैजाँदै छ । साथै, कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ ।
त्यसैगरी, नयाँ नेपाल लघुवित्तले दशौँ बार्षिक साधारणसभा पुस ३० गते धुलिखेल ट्रेनिङ सेन्टरमा गर्दैछ । पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले पुस २९ गते अल्फा हाउस ब्याङ्क्वेटमा साधारणासभा राखेकाे छ ।
त्यस्तै, जनता बैंक लिमिटेडले पनि आगामी पुस २९ गते नवौँ वार्षिक साधारणसभा डाकेको छ । उक्त सभा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्केटमा बिहान ११ बजे बस्ने भएको छ ।नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको पुस २८ गते वार्षिक साधारणसभा बस्दै छ ।
त्यस्तै, नेपाल बङ्गलादेश बैंकको २४औँ एजीएम आगामी पुस २६ गते बिहान १० बजे राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बस्दै छ । सभाले चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई पारित गर्ने छ ।
२७ वटा वाणिज्य बैंक मध्ये एनआईसी एशिया बैंक र सानिमा बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । एनआईसी एशियाले गत पुस ४ गते र सानिमा बैंकले गत मंसिर २७ गते वार्षिक साधारणसभा सम्पन्न गरेका हुन् । अन्य ७ वटा वाणिज्य बैंकहरूले माग ७ सम्म साधारणासभा गर्नेगरी बाेलाएका छन् । १२ वटा बैंक भने साधारणसभा गर्न पछाडि परेका छन् ।