काठमाडौं । सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचारको अभियोग लागेकाहरुका पक्षमा नेपाल निर्माण व्यवसायी महासंघ र इञ्जिनियर्स एसोसियसन उभिएका छन् ।

महासंघ र एसोसियसनले सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै सिक्टा सिँचाई आयोजनाका अभियुक्तहरुका पक्षमा आफुलाई खडा गरेका हुन् ।
निर्माण व्यवसायी महासंघले पूर्व मन्त्री तथा कालिका कन्स्ट्रक्सनका अध्यक्ष बिक्रम पाण्डे विरुद्ध दायर भएको मुद्धाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै, नेपाल इञ्जिनियर्स एसोसियसनले पनि सिक्टा सिँचाई आयोजनाको मुल नहर डिजाइन तथा निर्माणमा संलग्न इञ्जिनियरहरु विरुद्ध मुद्धा दायर गरिएकोमा आपत्ति जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाईमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, आयोजनाका प्रमुख लगायत २१ जना विरुद्ध ८ अर्ब ५४ करोड विगो दावी सहित बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघले बिक्रम पाण्डे र उनको कम्पनी अब्बल रहेको दावी गरेको छ । महासंघले ड्रईङ तथा डिजाइनमै समस्या रहेको निचोड निकालेको छ । राम्रो काम गरे वापत बर्सेनी पुरस्कृत हुँदै आएको कम्पनी र त्यसका अध्यक्ष विरुद्ध मुद्धा दायर हुनु दुखद भएको पनि महासंघको निष्कर्ष छ ।
उता, नेपाल इञ्जिनियर्स एसोसियसन र सोसाइटी अफ कन्सल्टिङ, आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मसले भने विज्ञप्ति निकालेर ड्रईङ तथा डिजाइनमा कुनै समस्या नभएको दावी गरेको छ । दुबै संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गरेर प्राकृतिक कारणले सिक्टाको नहर भत्किएको दावी गरेको हो ।