काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा एकता प्रक्रिया विस्तार हुँदै गए पनि राष्ट्रिय महाधिवेशनको टुंगो लाग्न सकेको छैन । पार्टीले सुरुमा आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, संगठनात्मक समायोजन र सदस्यता व्यवस्थापनको काम निर्धारित समयमा पूरा हुन नसकेपछि महाधिवेशनको कार्यतालिका स्थगित भयो ।
त्यसमाथि पछिल्लो समय अर्को कम्युनिस्ट घटकसँग समेत एकता भएपछि पार्टीको संगठनात्मक संरचना पुनः मिलाउनुपर्ने भएको छ । यसले महाधिवेशनको तयारी थप लम्बिने देखिएको छ । पार्टीका नेताहरूले स्थानीय तहको निर्वाचनअघि महाधिवेशन हुने सम्भावना कमजोर रहेको बताउन थालेका छन् ।
गत वैशाख १४ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि जेठ मसान्तभित्र केन्द्रदेखि वडा तहसम्मका पार्टी संरचना र जनवर्गीय संगठनको समायोजन गर्ने, साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार गर्ने र भदौदेखि अधिवेशन प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको थियो ।
निर्धारित कार्यतालिकाअनुसार भदौ १५ गतेसम्म वडा, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य थियो । तर, संगठनात्मक समायोजन र सदस्यता नवीकरणको काम समयमै पूरा हुन सकेन । बाढीपहिरो, चाडपर्व र अन्य सांगठनिक समस्यालाई कारण देखाउँदै पार्टीले मंसिरमा गर्ने भनिएको महाधिवेशन स्थगित गर्यो ।
महाधिवेशन स्थगित भएपछि पार्टीभित्र नेतृत्व व्यवस्थापनको विषयसमेत पेचिलो बन्दै गएको नेताहरूको बुझाइ छ । नेतृत्व चयन र विभिन्न घटकका नेताहरूको व्यवस्थापनमा सहमति जुटाउन कठिनाइ भए संयोजक पुष्पकमल दाहालले महाधिवेशनलाई थप पछाडि धकेल्न सक्ने एक नेताको दाबी छ । ती नेताले उमा भुजेल नेतृत्वको समूहसँग गरिएको पछिल्लो एकतालाई समेत नेतृत्व तथा संगठन व्यवस्थापनसँग जोडेर हेरेका छन् ।
स्थानीय निर्वाचनपछि मात्रै महाधिवेशन
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले महाधिवेशनको तयारीका लागि नयाँ कार्यतालिका तय गरेको थियो । उक्त निर्णयअनुसार आगामी पुस ११ गते वडा र माघ १५ गते पालिका अधिवेशन गर्ने कार्यक्रम छ । जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन भने स्थानीय तहको निर्वाचनपछि गर्ने गरी तयारी अघि बढाउने निर्णय भएको उनले बताए ।
तर, कात्तिक १७ गते नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच थप एकता भएपछि यसअघिको संगठनात्मक कार्यतालिका पनि प्रभावित हुने देखिएको छ । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेको १० बुँदे सहमतिमा सबै तहका पार्टी समिति तथा जनसंगठनको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सहमतिमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने उल्लेख छ । यसले पार्टीको महाधिवेशन तत्काल नहुने संकेत गरेको छ । साथै, यसअघि तय भएका वडा र पालिका अधिवेशन नयाँ एकीकृत संगठनात्मक संरचनाअनुसार कसरी सञ्चालन हुन्छन् भन्ने प्रश्नसमेत उठेको छ ।
प्रवक्ता ज्वालाले भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पुस ११ गते देशभर वडा र माघ १५ गते पालिका अधिवेशन हुने बताए । तर, पार्टी नेतृत्व महाधिवेशनको प्रक्रिया तत्काल अघि बढाउने मनस्थितिमा नरहेको नेताहरूको दाबी छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक नेताले संयोजक दाहाल स्थानीय तहको निर्वाचनअघि महाधिवेशन गर्ने पक्षमा नरहेको बताए । उनका अनुसार पार्टीभित्र नेतृत्व व्यवस्थापन र संगठनात्मक एकीकरणका विषय अझै जटिल रहेकाले महाधिवेशनको मिति तोक्न नेतृत्वले चाहेको छैन ।
एकता विस्तार भयो, संगठन अझै अधुरै
नेकपाले अहिले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको छ । अभियान मंसिर २५ गतेसम्म चल्ने पार्टीका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । उनका अनुसार अभियानमार्फत सदस्यता नवीकरण, संगठन सुदृढीकरण, भेला तथा बैठक सञ्चालन र महाधिवेशनको तयारीलाई अघि बढाइएको छ । स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारीलाई पनि अभियानसँग जोडिएको उनले बताए ।
तर, पार्टीको संगठनात्मक एकीकरणको समस्या अहिले मात्र देखिएको होइन । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाले एक वर्ष बितिसक्दा पनि संगठनका सबै तहलाई एउटै संरचनामा समेट्न सकेको छैन ।
पार्टीमा आबद्ध विभिन्न घटकका जिल्ला तथा प्रदेश संरचना र जनवर्गीय संगठनको समायोजन अझै बाँकी छ । युवा, विद्यार्थी, मजदुर, स्वास्थ्यकर्मी तथा खेलकुदलगायतका संगठनमा एकीकरण प्रक्रिया पूरा हुन सकेको छैन । २२ घटक मिलेर बनेको पार्टीमा फरक-फरक पृष्ठभूमि, नेतृत्व र सांगठनिक संरचनालाई एउटै प्रणालीमा ल्याउनु चुनौतीपूर्ण बनेको नेताहरू बताउँछन् ।
एक नेताका अनुसार पार्टीको केन्द्रीय संरचनासमेत पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन । एकताका क्रममा २ हजार ५०० भन्दा बढी नहुने गरी केन्द्रीय सदस्य बनाउने लक्ष्य राखिएको भए पनि छुट्टै ६०० सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने तयारीसमेत पूरा हुन सकेको छैन ।
‘एकताका क्रममा केन्द्रीय सदस्यको संख्या र जिम्मेवारी व्यवस्थापन गर्ने विषय नै टुंगिएको छैन । पछिल्लो एकतापछि संगठनको आकार कस्तो हुन्छ भन्ने अनुमान गर्नसमेत कठिन भएको छ,’ ती नेताले भने ।
विभिन्न घटकबीच एकता घोषणा भए पनि त्यसलाई व्यवहारमा उतार्न आवश्यक सांगठनिक काम पूरा नहुँदा पार्टीको संरचना अझै संक्रमणकालीन अवस्थामा रहेको नेताहरूको भनाइ छ । नेतृत्व व्यवस्थापन, सदस्यताको आधिकारिक अभिलेख, जनवर्गीय संगठनको एकीकरण र तल्लो तहसम्मको अधिवेशन सम्पन्न गर्नु पार्टीका लागि मुख्य चुनौती बनेको छ ।
महाधिवेशन कतिऔँ हुने भन्नेमा पनि अन्योल
नेकपाको महाधिवेशनको मिति मात्र होइन, त्यसको क्रमसंख्याबारे समेत पार्टीभित्र स्पष्ट सहमति बनिसकेको छैन । पार्टीले प्रस्तावित महाधिवेशनलाई ‘एकता राष्ट्रिय महाधिवेशन’ भन्ने गरेको छ । तर, विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नयाँ पार्टीको महाधिवेशनलाई पहिलो महाधिवेशन मान्ने वा यसअघिका घटकका महाधिवेशनको निरन्तरताका रूपमा लिने भन्ने विषय टुंगिएको छैन ।
प्रवक्ता ज्वालाका अनुसार यो विषय महाधिवेशनको बन्दसत्रमा छलफल गरेर टुंग्याइनेछ । महाधिवेशनका प्रतिनिधिहरूले गर्ने निर्णयअनुसार नै त्यसको क्रमसंख्या निर्धारण हुने उनले बताए ।
नेकपामा एकपछि अर्को घटक समाहित भइरहेका छन् । तर, एकता घोषणालाई पूर्ण संगठनात्मक एकीकरणमा रूपान्तरण गर्ने काम भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । सदस्यता व्यवस्थापनदेखि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनसम्मका काम बाँकी छन् ।
स्थानीय तहको निर्वाचनपछि मात्रै राष्ट्रिय महाधिवेशन गर्ने सहमतिले तत्कालका लागि महाधिवेशनको मिति अनिश्चित बनाएको छ । अब नेकपाको मुख्य चुनौती थपिएका कम्युनिस्ट घटकलाई एउटै सांगठनिक संरचनामा समेट्नु, नेतृत्व व्यवस्थापन गर्नु र तल्लो तहदेखि राष्ट्रिय महाधिवेशनसम्मको प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउनु हो ।
एकता विस्तार भइरहँदा संगठनात्मक एकीकरण र नेतृत्व चयनको प्रक्रिया भने कहिले टुंगिन्छ भन्ने प्रश्न नेकपाभित्र अझै अनुत्तरित छ ।