काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद साउन २९ देखि खाली छ । कार्य सम्पादनमा चिक्त नबुझेपछि सरकारले तत्कालिन प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई बर्खास्त गरेपछि टेलिकम नेतृत्व बिहिन छ । दुरसञ्चार सेवाको ५० प्रतिशत बजार हिस्सा र १५ अर्ब भन्दा बढि मुनाफा गर्दै आईरहेको सरकारी स्वामित्वको टेलिकममा नेतृत्व चयनको प्रक्रिया समेत आरम्भ गरिएको छैन् ।
नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई नियुक्त गर्न हतार हतार प्रक्रिया अघि बढाएका मन्त्री बास्कोटाले टेलिकममा भने अझै चासो देखाएका छैनन् । सरकारले बर्खास्त गरेका झाले अदालतबाट अन्तरिम आदेश ल्याएका थिए तर उनले राजीनामा गरे । मन्त्रालयले तुरुन्तै नियुक्तीको प्रक्रिया अघि बढायो र झाले पनि आवेदन दिए । अन्ततः झा ३ जनामा सिफारिस भए र मन्त्रीपरिषदले उनलाई नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त गर्यो ।
तर साउन २९ गतेदेखि रिक्त रहेको टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्ने तर्फ भने बास्कोटाले कुनै चासो देखाएका छैनन् । संसदको विकास तथा प्रबिधि समितिले असोज १८ गते टेलिकममा प्रबन्ध निर्देशकको नियुक्ती खुला प्रतिष्पर्धाबाट गर्न निर्देशन दिन लाग्दा मन्त्री बास्कोटाले आपत्ति जनाएका थिए । उनले खुला प्रतिष्पर्धाबाटै नियुक्त गर्ने कानुनी व्यवस्था रहेको र सोही अनुसार चाँडै नियुक्ती प्रक्रिया अघि बढाउने बताएका थिए ।
नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई नियुक्ती गर्न हतारिएका सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा पुरै उदासिनता देखाईरहेका छन् । टेलिकमको सेवामा नागरिकहरुबाट गुनासाहरु आईरहेका छन् । फोरजीको विस्तारमा पनि टेलिकमले ढिलाई गरिरहेको छ । अप्टिकल फाइबर बिछ्याउने गरि टेलिकमले लिएको जिम्मेवारीको कामले पनि गति लिएको छैन । यस्तो अवस्थामा पनि टेलिकममा प्रबन्ध निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाउन बास्कोटाले चासो देखाएका छैनन् ।
बैठकमा एनसेलको कर प्रकरणबारे प्रश्न उठ्यो तर मन्त्री बास्कोटाले कुनै जवाफ दिएनन् । नेपाल टेलिकमको सेवाको गुणस्तरबारे सांसदहरुले प्रश्न गरे तर मन्त्रीले उल्टै ‘कति टेलिकमको मात्रै कुरा गरेको अरु कम्पनीले पनि सेवा दिईरहेका छन् । तिनका बारेमा पनि बोल्नुस‘ भन्ने जवाफ दिएका थिए ।
मन्त्री बास्कोटाले दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तीमा जस्तै तदारुकता देखाएका थिए भने यतिबेला नेपाल टेलिकममा पनि प्रबन्ध निर्देशकले आफ्नो बिजनेश योजना अनुसार धमाधम काम गरिरहेका हुन्थे । टेलिकममा नेतृत्व चयनबारे चासो नदेखाएका मन्त्री बास्कोटामाथी टेलिकम डुबाउने खेलमा सामेल भएको आरोप लागेको छ । त्यसो त बास्कोटाले प्राधिकरणको नेतृत्व सुम्पिएका झाले पनि टेलिकम प्रति नकारात्मक सोँच राख्दै आएका छन् ।
लामो समयसम्म टेलिकमलाई नेतृत्व बिहिन बनाएर एनसेल, स्मार्ट सेल लगायतका कम्पनीहरुको बजार प्रवद्र्धनमा सघाउने षडयन्त्र भैरहेको आरोप पनि लागेको छ ।‘टेलिकममा नयाँ नेतृत्व नआउँदा बजार विस्तार, गुणस्तर सुधार, नयाँ प्रडक्ट ल्याउने काम रोकिन्छ, त्यतिञ्जेल प्रतिष्पर्धी कम्पनी धेरै अघि बढिसकेको हुन्छ, यस्तै षडयन्त्रमा नेपाल टेलिकम फसेको अनुभूति गरेका छौं’, श्रोतले भन्यो ।
नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तीबारे प्रश्न उठ्यो तर उनले झाको पनि नाम उच्चारण गरेनन् । बरु नियुक्ती कानुन सम्बत भएको प्रष्टिकरण दिए । समितिले प्राधिकरणमा झालाई नियुक्त गर्नुको कारण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । तर मन्त्रालयले अझै समितिलाई कारण सहितको जवाफ दिएको छैन् ।