फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा
काठमाडौं । स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास स्टेडियममा बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो । स्पेनका लागि मिकेल ओयारजाबालले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि पेड्रो पोरोले ५८ औं मिनेटमा अर्को गोल थप्दै स्पेनको जित सुनिश्चित गरे । प्रतियोगिताभर बलियो आक्रमणका लागि चर्चामा रहेको फ्रान्स स्पेनको संगठित रक्षापंक्तिलाई टुटाउन सकेन । निर्धारित ९० मिनेटमा फ्रान्सले गोल फर्काउन नसक्दा स्पेन सहज रूपमा फाइनलमा पुग्न सफल भयो । यो जितसँगै स्पेनले विश्वकप इतिहासमा दोस्रो पटक उपाधि जित्ने अवसर पाएको छ । स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै विश्वकप उपाधि जितेको थियो । अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स भने यसपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।
कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी
काठमाडौं । फिफा विश्वकप– २०२६ का १०० खेल पूरा भइसकेका छन् । लामो यात्रा, धेरै खेल र रोमाञ्चक क्षणपछि प्रतियोगिता अब अन्तिम चरणतर्फ अघि बढिरहेको छ । क्वार्टरफाइनलका चारै खेल निकै प्रतिस्पर्धात्मक रहे । फ्रान्सले अन्ततः मोरक्कोलाई पराजित गर्यो, स्पेनले सुपर–सब मिकेल मेरिनोको अन्तिम समयको गोलमा बेल्जियमलाई हरायो, जुड बेलिङ्घम इंग्ल्यान्डका लागि नायक बनेर नर्वेमाथि जित दिलाए भने अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अन्ततः तोड्न सफल भयो । अहिले घमण्ड गर्न खोजिएको होइन, तर अप्टा सुपरकम्प्युटरले अन्तिम चार टोलीको सही भविष्यवाणी गरेको थियो । प्रतियोगिता सुरु हुँदा विश्वकप जित्ने शीर्ष चार दाबेदार सबै टोली सेमिफाइनलमा पुगेका छन् । यही आधारमा अप्टा सुपरकम्प्युटरलाई फेरि सोधिएको छ, फिफा विश्वकप २०२६ को उपाधि अन्ततः कसले जित्ला ? पछिल्ला चार पुरुष विश्वकपमध्ये स्पेन, फ्रान्स र अर्जेन्टिनाले तीन उपाधि जितेका छन्। इंग्ल्यान्ड भने सन् १९६६ यता पहिलो पटक विश्वकप जित्दै ‘६० वर्षको प्रतीक्षा’ अन्त्य गर्ने लक्ष्यमा छ । फिफा विश्वकपको इतिहासमा यो तेस्रो पटक मात्र हो, जब सेमिफाइनलमा पुगेका चारै टोली पूर्व विश्वविजेता हुन् । यसअघि यस्तो सन् १९७० र १९९० मा भएको थियो । फ्रान्स सबैभन्दा बलियो दाबेदार अप्टा सुपरकम्प्युटरका अनुसार अहिलेको अवस्थामा विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावना फ्रान्सको छ । डीडीए डेसाँको टोलीले उत्तर अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तान किलियन एमबाप्पे आठ गोलसहित लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता छन् भने उस्मान डेम्बेलेले पाँच गोल गरेका छन् । मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा दुवैले एक–एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनल पुर्याएका थिए । पछिल्ला ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा सोभन्दा बढी गोल गर्ने दोस्रो टोली फ्रान्स बनेको छ । यसअघि सन् २००२ मा ब्राजिलका रोनाल्डो (८) र रिभाल्डो (५) ले यस्तो उपलब्धि हासिल गरेका थिए । यस विश्वकपमा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान रूपमा ६–६ गोल गरेका छन् । मोरक्कोमाथिको २–० को जितसँगै डेसाँले प्रशिक्षकका रूपमा विश्वकपमा २०औं जित निकाले । यो उपलब्धि हासिल गर्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । विश्वकपमा उनको यो २५औं खेल थियो, जसले हेल्मुट शोनको कीर्तिमान बराबरी गरेको छ । स्पेनविरुद्धको सेमिफाइनल उनको २६औं खेल हुनेछ, जसले नयाँ कीर्तिमान बनाउनेछ । यो डेसाँको प्रशिक्षकका रूपमा अन्तिम विश्वकप पनि हो । विश्वकपका बाँकी खेलका २५ हजार सिमुलेसनमा फ्रान्स ५७.७ प्रतिशत अवस्थामा स्पेनलाई हराएर लगातार तेस्रो पटक फाइनल पुग्ने देखिएको छ । समग्रमा उपाधि जित्ने सम्भावना ३४ प्रतिशत छ । स्पेन पनि बलियो चुनौती स्पेन यस विश्वकपको दोस्रो सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको छ । लुइस डे ला फुएन्तेको टोलीले बेल्जियमविरुद्धको क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन । फाबियन रुइजले अग्रता दिलाएपछि चाल्र्स डे केटेलारेले बराबरी गोल गरे । उनको हेडरले स्पेनको विश्वकपमा लगातार ६४९ मिनेटसम्म गोल नखाने श्रृंखला समाप्त गरेको थियो । तर पोर्चुगलविरुद्ध अन्तिम १६ मा जस्तै मिकेल मेरिनो फेरि बेन्चबाट आएर अन्तिम समयमा विजयी गोल गर्दै स्पेनलाई सेमिफाइनल पुर्याए । स्पेनको यो विश्वकप इतिहासको दोस्रो सेमिफाइनल हो । यसअघि सन् २०१० मा सेमिफाइनल पुगेर दक्षिण अफ्रिकामा पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि स्पेन मार्च २०२४ मा कोलम्बियासँग १–० ले पराजित भएयता लगातार ३६ खेल अपराजित छ । यस अवधिमा उसले २७ जित र ९ बराबरी खेलेको छ, जुन उसको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो । सुपरकम्प्युटरका अनुसार स्पेनको फाइनल पुग्ने सम्भावना ४२.३ प्रतिशत र उपाधि जित्ने सम्भावना २३.४ प्रतिशत छ । त्यसैले मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलका विजेताले विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । बेलिङ्घमको लयमा इंग्ल्यान्ड यस विश्वकपमा इंग्ल्यान्डले धेरै प्रभावशाली प्रदर्शन नगरे पनि टोली लगातार जित निकाल्न सफल भएको छ । प्रशिक्षक थोमस टुखेलले पनि नर्वेविरुद्ध टोलीले उत्कृष्ट खेल नखेलेको स्वीकार गरेका थिए । तर इंग्ल्यान्डलाई सेमिफाइनल पुर्याउन जुड बेलिङ्घमले निर्णायक भूमिका खेले । आन्द्रियास शेल्डेरुपले नर्वेलाई अग्रता दिलाएपछि बेलिङ्घमले पहिलो हाफमै बराबरी गोल गरे । अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान न्यालान्डले रोक्न नसक्दा रिबाउन्डमा बेलिङ्घमले दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । यसअघि अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल गरेका बेलिङ्घमले नर्वेविरुद्ध पनि दुई गोल गरे । एउटै विश्वकपको लगातार दुई नकआउट खेलमा दुई वा बढी गोल गर्ने उनी सन् १९८६ मा डिएगो माराडोना पछि पहिलो खेलाडी बने । सन् २०१८ यता इंग्ल्यान्ड विश्वकप वा युरोपियन च्याम्पियनसिप गरी चार प्रमुख प्रतियोगिताको सेमिफाइनल पुगेको छ । त्यसअघि आफ्नो सम्पूर्ण इतिहासमा पनि इंग्ल्यान्डले यसरी नै चार पटक मात्र अन्तिम चारमा स्थान बनाएको थियो । अप्टा सुपरकम्प्युटरले इंग्ल्यान्डलाई विश्वकप जित्ने तेस्रो ठूलो दाबेदार मानेको छ । उपाधि जित्ने सम्भावना २१.९ प्रतिशत र सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने सम्भावना ५०.९ प्रतिशत रहेको अनुमान छ । अर्जेन्टिना अझै पनि खतरनाक सेमिफाइनलमा इंग्ल्यान्डको सामना साविक विजेता अर्जेन्टिनासँग हुनेछ । यस विश्वकपमा पहिलो पटक लियोनेल मेसी गोल गर्न असफल भए । ३९ वर्षीय मेस्सीलाई गोल गर्न नदिने पहिलो टोली स्विट्जरल्यान्ड बन्यो । तर अर्जेन्टिनालाई त्यसले रोक्न सकेन । मेस्सीकै कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । दोस्रो हाफमा डान एनडोयेले बराबरी गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ग्राफिक्स : अप्टा एनालाइसिस ब्रिल एम्बोलोलाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि डाइभ गरेको ठहर गर्दै दोस्रो पहेँलो कार्डसहित रातो कार्ड दिइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट शानदार गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए । अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे । यो अर्जेन्टिनाको विश्वकप इतिहासको १३औं अतिरिक्त समयसम्म पुगेको खेल थियो । तीमध्ये ११ खेलमा (पेनाल्टी सुटआउटसहित) अर्जेन्टिना विजयी भएको छ । यससँगै अर्जेन्टिना र इंग्ल्यान्डबीच सन् २००२ पछि पहिलो पटक विश्वकपमा भेट हुने भएको छ । यद्यपि साविक विजेता भए पनि अप्टा सुपरकम्प्युटरले अर्जेन्टिनालाई बाँकी चार टोलीमध्ये सबैभन्दा कम सम्भावना भएको टोली मानेको छ । उपाधि जित्ने सम्भावना २०.६ प्रतिशत छ । तर इंग्ल्यान्डविरुद्धको सेमिफाइनल भने लगभग बराबरीको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २५ हजार सिमुलेसनमध्ये ४९.१ प्रतिशतमा अर्जेन्टिना फाइनल पुगेको देखिएको छ । अन्य सामग्रीहरू : इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा
काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा भएको क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । स्पेनका लागि फाबियन रुइजले ३० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर बेल्जियमका चाल्र्स डे केटेलाएरले ४१औं मिनेटमा बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ मा टुंग्याए । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८८औं मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । मेरिनोले यसअघि अन्तिम १६ मा पोर्चुगलविरुद्ध पनि निर्णायक गोल गरेका थिए । बेल्जियमले खेलको ७१औं मिनेटमा ठूलो धक्का बेहोर्नुपर्यो । अनुभवी गोलरक्षक थिबो कोर्टुवा तिघ्राको चोटका कारण मैदान छाड्न बाध्य भए । उनको स्थानमा आएका सेन्ने लामेन्सले अन्त्यतिर आएको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा गोल गरेका थिए । यो जितसँगै युरो २०२४ को विजेता स्पेनले विश्वकप उपाधितर्फको आफ्नो अभियानलाई थप मजबुत बनाएको छ । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम
काठमाडौं । तीन सातासम्म कडा संघर्ष, पुनरागमन र अन्तिम क्षणका रोमाञ्चक खेलपछि इङ्ल्यान्डले यस सप्ताहान्तमा २०२६ विश्वकपको क्वार्टरफाइनलमा नर्वेको सामना गर्दैछ । थोमस टुखेलको टोलीले प्रतियोगितामा तुलनात्मक रूपमा सहज यात्रा तय गरेको देखिए पनि त्यो यात्रा त्यति सजिलो भने थिएन । अब भने उनीहरूको अगाडि नर्वेजस्तो अझ कठिन चुनौती उभिएको छ । नर्वेको टोलीको मुख्य आकर्षण विश्व फुटबलका सुपरस्टार अर्लिङ हालान्ड हुन् । उनलाई कप्तान मार्टिन ओडेगार्ड, जुलियन रियरसनलगायत च्याम्पियन्स लिगमा अनुभवी खेलाडीहरूको साथ छ । नर्वे आफ्नो उत्कृष्ट दिनमा इङ्ल्यान्डलाई हराउन पूर्ण रूपमा सक्षम टोली हो । तर यदि ह्यारी केन नेतृत्वको इङ्ल्यान्डले यी ६ महत्त्वपूर्ण पक्षमा सफलता हासिल गर्न सक्यो भने सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो हुनेछ । १. हालान्डलाई रोक्नूहोस् इङ्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सले प्रि–म्याच पत्रकार सम्मेलनमा भनेका थिए, ‘के कसैले अर्लिङ हालान्डलाई साँच्चै रोक्न सकेको छ ? मलाई त लाग्दैन । तर हामी प्रयास गर्नेछौं ।’ इङ्ल्यान्डले हालान्डलाई पूर्ण रूपमा रोक्न सक्दैन भन्ने होइन, तर उनलाई नियन्त्रणमा राख्न निकै कठिन हुने कुरा खेलाडीहरूलाई राम्रोसँग थाहा छ । धेरै टोली त्यसमा असफल भएका छन् । म्यानचेस्टर सिटीका यी फरवार्डले नर्वेका लागि पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमा २७ गोल गरेका छन् । उनले ती सबै खेलमा गोल गरेका छन्, जसमा २०२६ विश्वकपका चारवटै खेल पनि समावेश छन् । यदि उनले इङ्ल्यान्डविरुद्ध पनि गोल गरे भने विश्वकपमा आफ्नो पहिलो पाँच खेलमै लगातार गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । यसअघि यस्तो उपलब्धि २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेज र युरोपेली खेलाडीमध्ये १९७० मा जर्मनीका गर्ड मुलरले हासिल गरेका थिए । हालान्डको विशेषता भनेको लामो समय खेलमा खासै सक्रिय नदेखिए पनि अवसर पाएलगत्तै घातक बन्नु हो । विश्वकपमा उनले प्रति ९० मिनेट औसत २४.८ पटक मात्र बल छोएका छन्, तर त्यसैबाट सात गोल गरिसकेका छन् । उनका १८ मध्ये १७ प्रहार पहिलो स्पर्शमै भएका छन् । त्यसैले उनी खेलभर शान्त देखिए पनि कुनै पनि क्षण निर्णायक बन्न सक्छन् । रोजर्सको भनाइमा हालान्डलाई रोक्नेभन्दा पनि उनसम्म बल पुग्ने बाटो बन्द गर्नु अझ प्रभावकारी रणनीति हुन सक्छ । २. ओडेगार्डलाई खेल बनाउन नदिनूहोस् हालान्डसम्म बल पुर्याउने नर्वेको सबैभन्दा ठूलो हतियार कप्तान मार्टिन ओडेगार्ड हुन् । ओडेगार्डले विश्वकपका पहिलो तीन खेलमा लगातार असिस्ट दिएका थिए । यस प्रतियोगितामा उनी सबैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने खेलाडीमध्ये एक हुन् । उनी केवल असिस्ट दिने खेलाडी मात्र होइनन्, विपक्षीको डिफेन्स चिर्दै बल अगाडि बढाउने जिम्मेवारी पनि उनकै काँधमा हुन्छ । क्वार्टरफाइनलअघि उच्च दबाबमा विपक्षीको रक्षापङ्क्ति तोड्ने पास दिने खेलाडीमा उनी संयुक्त रूपमा शीर्ष स्थानमा थिए । साथै उनले नर्वेका अन्य कुनै पनि खेलाडीभन्दा बढी पटक विपक्षीको पेनाल्टी क्षेत्रभित्र पास पुर्याएका छन् । त्यसैले इङ्ल्यान्डले ओडेगार्डलाई प्रभावहीन बनाउन सके हालान्डको प्रभाव पनि स्वतः कम हुनेछ । ३. नर्वेको दाहिने रक्षापट्टिबाट आक्रमण गर्नूहोस् इङ्ल्यान्डले हालान्ड र ओडेगार्डबाट आउने खतरा नियन्त्रण गर्नु त आवश्यक छ नै, त्यससँगै आक्रामक खेल पनि देखाउनुपर्नेछ । किनभने हालान्डले फेरि गोल गर्ने सम्भावना उच्च छ, त्यसैले जित्न कम्तीमा दुई गोल आवश्यक पर्न सक्छ । नर्वेको आक्रमण निकै बलियो भए पनि रक्षापङ्क्ति भने पूर्ण रूपमा भरपर्दो छैन । उनीहरूले विश्वकपका पहिलो पाँच खेलमा १२ गोल गरे पनि ९ गोल खाएका छन् । उनीहरू यहाँसम्म मुख्यतः आक्रमणको बलमा आइपुगेका हुन्, रक्षाको कारण होइन । विशेषगरी नर्वेले आफ्नो दाहिने रक्षापट्टिबाट आएका क्रसमा कमजोरी देखाएको छ । इराक, सेनेगल र फ्रान्सविरुद्ध यही क्षेत्रबाट खुला खेलमा तीन गोल खाएको तथ्याङ्क छ । साथै विश्वकपमा सबैभन्दा धेरै क्रसबाट प्रहार पनि नर्वेकै पोस्टतर्फ भएको छ । उता इङ्ल्यान्डले भने विश्वकपमा चार हेडर गोल गरिसकेको छ, जसमा तीन गोल लेफ्ट विङबाट आएको क्रसमा सम्भव भएको हो । त्यसैले एन्थोनी गोर्डनजस्ता खेलाडीले निर्णायक भूमिका खेल्न सक्छन् । ४. तीव्रता कायम राख्दै ऊर्जा पनि बचाउनुहोस् विश्वकपमा मौसम र खेलस्थलले पनि ठूलो प्रभाव पार्छ । मेक्सिको सिटीमा उचाइ चुनौती बनेको थियो भने यसपटक मियामीको अत्यधिक गर्मी इङ्ल्यान्डका लागि परीक्षा हुनेछ । स्थानीय समयअनुसार साँझ ५ बजे खेल सुरु हुँदा तापक्रम करिब ३३ डिग्री सेल्सियस रहने र आद्र्रताका कारण अनुभूत तापक्रम ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । टुखेलले सुरुदेखि नै आफ्नो टोलीलाई प्रिमियर लिग शैलीको तीव्र, शारीरिक र आक्रामक फुटबल खेलाउन चाहेको बताएका छन् । इङ्ल्यान्डले यस विश्वकपमा उच्च प्रेसिङमार्फत उत्कृष्ट प्रदर्शन पनि गरेको छ । तर यस्तो गर्मीमा निरन्तर प्रेसिङ गर्दा खेलाडीहरू चाँडै थाक्न सक्छन् । त्यसैले इङ्ल्यान्डले आवश्यक बेला बल आफ्नो नियन्त्रणमा राख्दै ऊर्जा बचाउन र विवेकपूर्ण रूपमा प्रेसिङ गर्नुपर्ने विश्लेषण गरिएको छ । ५. सेकेन्ड बलमा नियन्त्रण कायम राख्नूहोस् नर्वे प्राविधिक रूपमा कमजोर टोली होइन, तर उनीहरू लामो पासमार्फत छिट्टै आक्रमण निर्माण गर्न रुचाउँछन् । राइट विङमा ६ फिट ५ इन्च अग्ला अलेक्जान्डर सोर्लोथलाई खेलाउनु पनि यही रणनीतिको हिस्सा हो । यस विश्वकपमा नर्वेले आफ्नै गोलकिपरबाट विपक्षीको क्षेत्रमा लामो गोल–किक खेलाउने टोलीमध्ये अग्रस्थानमा रहेको छ । गोलकिपर ओर्जान नाइलान्डबाट सोर्लोथतर्फ जाने लामो पास उनीहरूको सबैभन्दा धेरै प्रयोग हुने आक्रमणको माध्यम बनेको छ । यदि इङ्ल्यान्डले उच्च प्रेसिङ गर्यो भने नर्वेले बल सिधै हालान्ड वा सोर्लोथतर्फ उछाल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो हेडर जित्नु मात्र पर्याप्त हुँदैन, त्यसपछि खस्ने ‘सेकेन्ड बल’ पनि आफ्नो नियन्त्रणमा लिनुपर्ने हुन्छ । यस पक्षमा इङ्ल्यान्ड बलियो देखिन्छ । विश्वकपमा टोलीको ड्युल जित्ने प्रतिशत ५४.५ रहेको छ, जबकि इलियट एन्डरसन, जुड बेलिङ्घम र डेक्लान राइसले बल पुनः कब्जामा लिन उत्कृष्ट प्रदर्शन गरेका छन् । यी तीन मिडफिल्डरको प्रदर्शन इङ्ल्यान्डको सफलताका लागि निर्णायक बन्न सक्छ । ६. ठूला प्रतियोगिताको अनुभवको फाइदा उठाउनूहोस् इङ्ल्यान्डसँग ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको प्रशस्त अनुभव छ । २०१६ को युरोकपमा आइसल्यान्डसँग अप्रत्याशित हार बेहोरेपछि प्रशिक्षक गारेथ साउथगेटको आगमनसँगै टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । साउथगेटको नेतृत्वमा इङ्ल्यान्ड २०१८ विश्वकपको सेमिफाइनल पुगेको थियो । २०२२ विश्वकपमा फ्रान्ससँग क्वार्टरफाइनलमा पराजित भए पनि त्यसअघि र त्यसपछि दुवै युरोकपको फाइनल खेलेको थियो । यसपटक क्वार्टरफाइनलमा पुगेसँगै इङ्ल्यान्ड विश्वकपको अन्तिम आठमा पुग्ने इतिहासमा ११औं पटक सफल भएको छ । ब्राजिल र जर्मनीमात्र यस मामिलामा इङ्ल्यान्डभन्दा अगाडि छन् । यता नर्वेका लागि भने यो नयाँ अनुभव हो । उनीहरू पहिलो पटक कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका हुन् । आइभरी कोस्ट र ब्राजिलमाथिको जित पनि नर्वेको नकआउट चरणमा पहिलो दुई जित हुन् । इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड, कप्तान ह्यारी केनलगायत खेलाडीहरू दबाबपूर्ण खेल खेल्न अभ्यस्त छन् । पिकफोर्ड मैदान उत्रिए विश्वकपमा इङ्ल्यान्डका लागि आफ्नो १८औं खेल खेल्नेछन् र यससँगै उनी पिटर शिल्टनलाई पछि पार्दै विश्वकपमा इङ्ल्यान्डका सबैभन्दा अनुभवी खेलाडी बन्नेछन् । यही अनुभवलाई सही रूपमा उपयोग गर्न सके इङ्ल्यान्डले नर्वेको चुनौती पार गर्न सक्ने विश्लेषण गरिएको छ । (अप्टा एनालाइसिसबाट अनुदित तथा सम्पादित) अन्य सान्दर्भिक सामग्रीहरू : हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ?
कृष्णा पौडेल उत्तरी अमेरिकी राष्ट्रमा फुटबलको महाकुम्भ मेला फिफा विश्वकपले विश्वकै ध्यान आकर्षित गरिरहेको छ । विश्वकपमा ४८ देशका १ हजार २ सय ४८ खेलाडीको प्रत्यक्ष सहभागिता रह्यो । सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिने फिफा विश्वकपमा विशेष त युवा वर्ग बढी आकर्षित छन् । विश्वभरका खेलाडीहरू हरेक युवाका आइकन पनि हुन् । विश्वकप फुटबलजस्तै अर्को चासोको विषय हो, जलवायु परिवर्तन । पृथ्वीको तापक्रम वृद्धिसँगै विश्वभरनै जलवायु जन्य विपद्का घटना बढ्दै गइरहेका बेला यो अभियानमा युवाहरुको सहभागीतालाई महत्वपूर्ण खम्बाको रुपमा हेरिएको छ । जलवायु परिवर्तनका अलराउण्डरका रूपमा युवालाई अघि बढाउनुपर्छ भन्ने अवधारणाअनुसार जलवायु कार्यमा कार्यरत संघसंस्था वर्गलाई प्राथमिकता दिएको पाइन्छ । अलराउण्ड भनेको सबै क्षेत्र र रणनीतिमा आफूलाई तयार बनाउनु हो । विश्वकप फुटबलका हरेक खेल र गोलमा चासो राखे जस्तै जलवायु कार्यमा पनि युवाको चासो आवश्यक छ । यसै सन्र्दभमा काठमाडौंमा जलवायु कार्य, विश्वकप र युवा सहभागीता विषयक कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी युवाहरुले फुटबल मैदानको रणनीतिलाई विश्व जलवायु कार्यसँग तुलना गरेर रोचक प्रश्तुती गरे । फुटबलको मैदानमा खेलाडीको भुमिका जस्तै विश्व जलवायु कार्यको मैदानमा त्यसका सरोकारवालाको भुमिका जोडेर गरिएको युवासमुहको प्रश्तुती प्रभावकारी र सिर्जनात्मक थियो । फुटबलको मैदानमा रक्षापंक्ति, मिडफिल्ड र फरवार्ड गरी तीन पक्षको महत्वपूर्ण भुमिका रहने गर्दछ । त्यसैगरी जलवायु कार्यका लागि पनि सरकार, विभिन्न अन्तर्राष्ट्रिय निकाय र संघसंस्थाले फरकफरक भुमिका निर्वाह गरिरहेका हुन्छन् । यी सरोकार पक्षको प्रत्यक्ष अनि प्रभावकारी सहभागितामा मात्र जलवायु कार्यमा सफलता मिल्छ । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दैै आएको प्रकृति रिसोर्सेस सेन्टरले गरेको कार्यक्रममा सहभागी युवाहरुले जलवायु कार्यका लागि रक्षापंक्ति, मिडफिल्ड, फरवार्ड एवं गोलकिपरको रुपमा विभिन्न संस्थाहरुलाई राखेर जलवायु परिवर्तनको विश्वव्यापी असरलाई नजरअन्दाज नगर्न चेतावनी दिए । पेरिस सम्झौतासँगै जलवायुकार्यका विभिन्न कोषहरुबाट अलग रहेको अमेरिकालाई जिम्मेवारीबाट बाहिर गएमा पराजित हुनुपर्ने सन्देश पनि दिए । एउटा समूहकी सहभागीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोलकिपरका रूपमा राखेर डिफेन्डर, मिडफिल्डर र फरवार्ड लाइनमा राम्रो संयोजन गर्दै गोल गरेर ढाल्ने प्रश्तुती दिइन् । विभिन्न समूहमा रहेका युवाहरूले सबै सरोकारवालालाई जलवायु कार्यका खेलाडीको रुपमा परिभाषित गर्दै जलवायु कार्यको रणनीतिक मैदानमा चित्रण गरेका थिए । केहीले कार्बन उत्सर्जनमा महत्वपूर्ण भुमिका खेलेका देशलाई बढी जिम्मेवार हुनुपर्नेमा जोड दिँदै मुख्य भुमिकामा राखे । केही युवाले आन्तरिक तयारीलाई प्राथमिकतामा राखि सबै सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, समुदाय लगायतलाई क्षमता र कार्यप्रकृतिअनुसारको भुमिकामा राखे । जलवायु कार्यमा कसरी गोल गर्न सकिन्छ ? अर्थात् जलवायु परिवर्तनमा कसको भुमिका कस्तो स्थानमा रहने ? केन्द्रिय सरकारको भुमिका कस्तो हुने ? नागरिक समाज, समाजिक संस्था, युवा र अन्तर्राष्ट्रिय निकायलाई पनि खेलाडीको रुपमा प्रश्तुत गरियो । सरकारको भुमिका फरवार्ड लाइनमा राखि जलवायु कार्यमा गोल हान्न सफल बनाउने ढंगको प्रश्तुती पनि युवाहरुले गरे । केही युवाले मिडफिल्डमा नीति निर्माण सम्बन्धि काम गर्ने संस्थालाई राखी समुदाय र अनुसन्धानकर्तालाई स्ट्राइकर बनाएर गोल हान्ने वातावरणको सिर्जना गरे । संयुक्त राष्ट्र संघ (युएन) मा १ सय ९५ राष्ट्र आवद्ध छन् । तर विश्व फुटबल महासंघ (फिफा)मा २ सय १२ राष्ट्र सदस्य छन् । प्रकृति रिसोर्सेस सेन्टरका कार्यक्रम व्यवस्थापक सन्तकुमार महर्जनले विश्वकपमा सहभागी हरेक राष्ट्रलाई क्लाइमेट एक्टरको रूपमा अगाडि बढाउन सके विश्वभर नै सकारात्मक सन्देश जाने उल्लेख गरे । संघीय, प्रादेशिक र स्थानीय सरकार, वित्तीय संस्था, समुदाय लगायत सरोकारवालाले महत्व र भुमिकाका आधारमा फुटबल मैदानका खेलाडीले जस्तै भुमिका निर्वाह गरे जलवायु कार्यमा सफलता प्राप्त गर्न सकिने उनको धारणा थियो । क्लाइमेट एक्टरको भुमिका स्पष्ट गर्नसक्दा मात्रै पनि जलवायुकार्यमा धेरै काम गर्न सकिने तर्क सहभागीको थियो । कार्यक्रममा सहभागी युवाहरुले आफ्नो मनपर्ने देशको जर्सी लगाएर फुटबल खेल्नुको साथै ती देशलाई जलवायु सन्देश पनि दिएका थिए । प्रकृति रिसोर्सेस सेन्टरकी कार्यक्रम संयोजक प्रज्ञा शेरचनले फुबटलको माध्यमबाट युवा जलवायु अभियन्तामार्फत विश्वका नेताहरूलाई जलवायु कार्यबाट बाहेक हुन नहुने सन्देश दिने प्रयास गरिएको बताए । कार्यक्रममार्फत युवाहरुले संयुक्तराष्ट्रसंघीय जलवायु महासन्धिका सदस्य राष्ट्रहरुले कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउन लिएको लक्ष्य हासिल गर्न जिम्मेवार बन्न र विश्वकप फुटबलको आयोजक फिफालाई जलवायुमैत्री प्रतियोगिता बनाउनुपर्ने सन्देश दिएका थिए । जलवायु परिवर्तन सम्बन्धी सयुक्त राष्ट्रसंघ महासन्धिका सदस्य राष्ट्रहरुको दुबईमा भएको २८ औँ विश्व जलवायु सम्मेलनले यो सताब्दीको मध्येसम्म विश्वमै कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउने लक्ष्य निर्धारण गरेको थियो । विश्वमै बढी कार्बन उत्सर्जन गर्ने देश चीनले विश्वको कुल कार्बन उत्सर्जनको करिव ३३ प्रतिशत हिस्सा ओगटेको छ । चीनले सन् २०६० सम्म कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी विश्वको कुल उत्सर्जनको ११ प्रतिशत हिस्सा ओगटेर दोस्रो स्थानमा रहेको मुलुक अमेरिकाले कुनैपनि लक्ष्य निर्धारण गरेको छैन । उसले जलवायु कार्यलाई नै वहिष्कार गरेको स्थिति छ । विश्वको कुल कार्बन उत्सर्जनको करिव ८ प्रतिशत हिस्सा ओगटेको भारतले सन् २०७० सम्म नेट जिरोमा पुग्ने लक्ष्य लिएको छ । युरोपले लिएको लक्ष्य सकारात्मक रुपमा अघि बढेको छ । कार्बन उत्सर्जन घटाउने सिद्धान्त अनुसारका भौतिक पूर्वाधारहरु निर्माण भएका छन् । पछिल्लो समयमा चर्किंदै गएको द्वन्द्वका कारण लक्ष्य प्राप्तिको मार्गमा केही अवरोध हुने देखिएपनि युरोप आफ्नो लक्ष्य प्राप्तिको दिशामा अघि बढेको देखिन्छ । फिफाले सन् २०३३ देखि २६ सम्मको बजेट ११ अर्ब डलर घोषणा गरेको थियो । यति ठूलो बजेट र प्रतियोगिताले उत्सर्जन गर्ने कार्बनको परिमाण कति हो ? त्यसले वहन गर्नुपर्ने जलवायु दायित्व कति हो ? कूल बजेटको कति प्रतिशत उत्सर्जन न्युनिकरणमा छुट्याउनुपर्छ ? ग्लोबल कार्बन एकाउन्टिङ प्लेटफर्म (ग्रीनली) काअनुसार यो प्रतियोगिता सञ्चालनका क्रममा लगभग ७७ लाख ६७ हजार ५ सय ४३ टक कार्बन उत्सर्जन हुनेछ । ग्रीनलीले दर्शकको यात्रा, होटल तथा आवास, शहरभित्रको यातायात, खाना, रंगशाला सञ्चालन, टिम तथा खेलाडीहरुको यात्रा लगायत शिर्षकमा छुट्टा छुट्टै उत्सर्जन परिमाण प्रक्षेपण गरेको छ । अहिले विश्वकप खेलाइएका १३ रंगशालाले विश्वकै प्रतिष्ठित हरित भवन मूल्यांकन प्रणाली ‘एलइइडी’को प्रमाणपत्र प्राप्त गरेका छन् । हरित भवन प्रविधिले विश्वकप २०२२ को तुलनामा रंगशालाबाट निस्कने उत्सर्जन घटेपनि अहिले खेलहरु भइरहेका स्थानको दूरी लामो भएका कारण सबै भन्दा बढी उत्सर्जन दर्शकहरुको यातायातबाट भएको छ । यसले सन् २०२२ को ३६ लाख टनलाई दुई गुणा बढाएर झन्डै ७८ लाख टन उत्सर्जन पुर्याएको हो । यद्यपि आयोजक राष्ट्रबाट केही राम्रा अभ्यास भने भएका छन् । फुटबल समर्थकले प्रयोग गर्ने हरेक पर्चा, पम्पलेटमा प्लास्टिकको प्रयोग निषेध गरिएको छ । विद्युतीय सवारी साधन प्रयोगमा जोड दिइएको छ । फिफाले हरेक प्रतियोगिताबाट उत्सर्जन गरेको कार्बनको परिमाणको तुलनामा उत्सर्जन कम गर्न गरेको प्रयास नगन्य छ । यसको मतलव विश्वकपका दर्शकहरुलाई निषेध गर्नु वा यो उत्साहको घेरालाई साँघुरो बनाउनु भन्ने होइन । सवाल वातावरणीय लागत स्वीकारको हो । फिफाले जलवायु कार्यका लागि कति खर्च गरेको छ भन्ने विश्लेषण हुनु जरुरी छ । ठूला कार्यक्रममा हुने कार्बन उत्सर्जनको मापन गरी न्युनिकरणका लागि लगानी गर्न आवश्यक छ । यस्ता इभेन्टलाई नेट निजोको अवधारणामा कसरी कार्यान्वयन गर्ने, उत्सर्जन घटाउन आयोजकले के गर्ने भन्नेमा प्रभावकारी बहस गरिनुपर्छ । विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? के २०३० को विश्वकप नेट जिरो हुन्छ त ? कहिलेदेखि फिफाले नेट जिरोको अवधारणाबाट प्रतियोगिता सञ्चालन गर्नसक्छ ? यस्ता सवालमा व्यापक छलफल आवश्यक छ ।
मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । पेनाल्टीमा चुकेका कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै आफ्नो गल्ती सच्याए भने उस्मान डेम्बेलेको गोलसँगै फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सका एम्बाप्पेले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे । जारी विश्वकपमा एम्बाप्पेले आफ्नो गोलसंख्या ८ पुर्याएका छन्, जुन अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरी हो । मोरक्कोले खेलभर संघर्ष गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन । खेलमा जित निकालेसँगै फ्रान्सले आफ्नो तेस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ । फ्रान्सले यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको थियो भने २०२२ को कतार विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले यसपटक पनि उत्कृष्ट यात्रा तय गर्दै अन्ततः क्वार्टरफाइनलबाट बिदा भयो ।
‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू
काठमाडौं । लियोनेल मेसीको अर्जेन्टिनाले इजिप्टमाथि विवादास्पद जित निकालेपछि विश्वकप अर्जेन्टिनाको पक्षमा ‘मिलाइएको’ भन्ने दाबीले व्यापक चर्चा पाएको छ । मंगलबार एटलान्टामा भएको अन्तिम–१६ को खेलमा इन्जो फर्नान्डेजको निर्णायक गोललाई रद्द नगरिनु तथा त्यसअघि मोस्तफा जिकोको गोल अमान्य ठहरिनुले विवाद चर्किएको हो । त्यसपछि जिकोले नै प्रतियोगितामा सेटिङ गरिएको आरोप लगाएका थिए । यस्तो आरोप पुष्टि गर्ने कुनै प्रमाण छैन । तर त्यसले षड्यन्त्रका सिद्धान्त फैलाउनेहरूलाई भने रोक्न सकेन । उनीहरूले अर्जेन्टिनाले विश्वकप बचाउने अभियान फिफाको संरक्षणमा अघि बढिरहेको दाबी गर्न थाले । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन आफूले हटाइदिएको दाबी गरेपछि पनि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो । यिनै विवादबीच टेलिग्राफ स्पोर्टले अर्जेन्टिनाको नाम पहिले नै ट्रफीमा लेखिसकिएको भन्ने दाबीका केही आधारहरू केलाएको छ । मेसी रेड कार्डबाट जोगिए अर्जेन्टिनाको पहिलो खेलमा मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे । तर धेरैको भनाइमा उनी त्यो ह्याट्रिक पूरा गर्न मैदानमै रहनु हुँदैनथ्यो । ३२औं मिनेटमा उनले अल्जेरियाका आइसा माण्डीको खुट्टामाथि स्टड्सले प्रहार गरेको देखिएको थियो । पोल्यान्डका रेफ्री सिज्मोन मार्सिनियाकले फाउल दिएनन् भने भिडियो सहायक रेफ्री (भीएआर) ले पनि त्यसलाई रातो कार्ड योग्य घटना मानेन । तर धेरै विश्लेषक असहमत थिए । म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर नेडुम ओनुओहाले ईएसपीएनसँग भने, ‘मेरो विचारमा त्यो सीधा रेड कार्ड हुनुपथ्र्यो ।’ भेनेजुएलाका पूर्वफरवार्ड आलेहान्द्रो मोरेनोले पनि ‘मेस्सीका लागि त्यो शतप्रतिशत रातो कार्ड रहेको’ बताए । यसपछि अमेरिकाका फोलारिन बालोगुनले बोस्निया–हर्जेगोभिनाका तारिक मुहारेमोभिचमाथि गरेको चुनौतीमा सीधा रातो कार्ड पाएपछि तुलना झन् बढ्यो । मेसी सजायबाट जोगिए पनि बालोगुन बेल्जियमविरुद्धको अन्तिम–१६ खेल गुमाउने अवस्थामा पुगेका थिए । पछि ट्रम्पको हस्तक्षेपपछि उनको निलम्बन हटेको दाबी गरिएको थियो । कम कार्ड, धेरै फाउल अल्जेरियाविरुद्ध अर्जेन्टिनाले १३ फाउल गर्दा एउटा पनि कार्ड पाएन । त्यस खेलमा अल्जेरियाले आठ फाउल गरेको थियो । जोर्डनविरुद्धको दोस्रो खेलमा पनि अर्जेन्टिनाले कुनै कार्ड पाएन, जबकि जोर्डनले लगभग आधा फाउल मात्र गरे पनि तीन पहेँलो कार्ड पायो । अस्ट्रिया र केप भर्डेविरुद्धका खेलमा अनुशासनको हिसाब लगभग बराबरी थियो । इजिप्टविरुद्धको अन्तिम–१६ खेलमा पनि फर्नान्डेजको इन्जुरी समयमा आएको विजयी गोलअघि कुनै टोलीले कार्ड पाएको थिएन । त्यसपछि भने इजिप्टका चार खेलाडी र प्रशिक्षक होसाम हसनलाई छोटो समयमा कार्ड देखाइयो । क्वार्टरफाइनल पुगेका आठ टोलीमध्ये अर्जेन्टिनाले जम्मा तीन कार्ड मात्र पाएको छ, जुन दोस्रो सबैभन्दा कम हो । तर उसले चौथो धेरै फाउल गरेको टोली हो । प्रति कार्ड १९.७ फाउल गर्ने औसत केवल नर्वे (२४) भन्दा मात्र कम छ । त्यसको विपरीत थोमस टुखेलको टोलीले आठ कार्ड पाएको छ र प्रति कार्ड ६.८ फाउलको अनुपात छ । इन्फान्टिनोको टिप्पणी केप भर्डेविरुद्ध अर्जेन्टिना संघर्षपूर्ण अवस्थामा पुगेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै टोलीलाई बधाई दिए र आफू पनि खेलभर अर्जेन्टिनासँगै ‘तनावमा रहेको’ बताए । पछि उनले आफूले ‘दुवै टोलीलाई समर्थन गर्ने तटस्थ समर्थक’ को तर्फबाट त्यो कुरा भनेको स्पष्ट पारे । तर यसले अर्जेन्टिनाप्रति विशेष झुकाव रहेको आरोपलाई थप बल दियो । फ्रान्सको खेलमा सबै अफिसियल अर्जेन्टिनाकै फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनलका लागि फिफाले मैदानका पाँचै अधिकारी अर्जेन्टिनाका हुने घोषणा गरेपछि सामाजिक सञ्जालमा नयाँ षड्यन्त्रका चर्चा सुरु भए । फ्रान्सलाई मेस्सीको लगातार दोस्रो विश्वकप जित्ने अभियानको सबैभन्दा ठूलो चुनौती मानिएको थियो । यस्तो अवस्थामा भएको नियुक्तिप्रति धेरैले आशंका व्यक्त गरे । एक्स (ट्विटर) मा गरिएको उक्त पोस्ट ३ करोड २० लाखभन्दा बढी पटक हेरिएको थियो । ड्र पनि अर्जेन्टिनाको पक्षमा ? विश्वकप सुरु हुनुअघि नै अर्जेन्टिनालाई अनुकूल ड्र मिलाइएको आरोप लागेको थियो । फिफाले उपाधि रक्षक अर्जेन्टिना, युरो २०२४ विजेता स्पेन तथा फ्रान्स र इंग्ल्यान्डलाई सेमिफाइनलअघि एकअर्कासँग नपर्ने गरी शीर्ष वरीयतामा राखेको थियो । अर्जेन्टिना सजिलै जित्ने अनुमान गरिएको समूहमा परेको थियो । त्यसपछि अन्तिम–३२ मा उरुग्वे, साउदी अरेबिया वा केप भर्डेमध्ये कुनै एकसँग खेल्नुपर्ने सम्भावना थियो, जसलाई धेरैले सहज बाटो माने । २०२२ मै पनि उठेको थियो यस्तै आरोप मोस्तफा जिकोको आरोप नयाँ होइन । २०२२ मा मेसीले पहिलो पटक विश्वकप जित्दा पनि यस्तै विवाद उठेको थियो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । त्यस खेलपछि पूर्व डच प्रशिक्षक लुइस भान गालले सन् २०२३ मा एनओएससँग भनेका थिए, ‘अर्जेन्टिनाले कसरी गोल गर्यो, हामीले कसरी गर्यौं अनि उनीहरूका केही खेलाडीले सीमा नाघ्दा पनि सजाय पाएनन् । मलाई लाग्छ सबै पहिले नै तय गरिएको थियो ।’ मेस्सीलाई विश्व च्याम्पियन बनाउन खोजिएको हो भन्ने प्रश्नमा उनले, ‘मलाई त्यही लाग्छ’ भनेका थिए । तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन । १९७८ को विश्वकपदेखि नै आशंका अर्जेन्टिनाले सन् १९७८ मा घरेलु मैदानमा सैन्य शासनको समयमा पहिलो विश्वकप जित्दा पनि विवाद उठेको थियो । फाइनल पुग्न उसलाई पेरूमाथि कम्तीमा चार गोलको अन्तरले जित्नुपर्ने थियो । अर्जेन्टिनाले ६–० को सहज जित निकाल्यो, जसपछि खेल मिलाइएको आरोप लाग्यो । सन् २०१२ मा पेरुका पूर्व सिनेटर जेनेरो लेदेस्माले ब्युनस आयर्सको अदालतमा तत्कालीन अर्जेन्टिनी शासक जोर्ज राफाएल भिडेला र पेरुका राष्ट्रपति फ्रान्सिस्को मोरालेस बर्मुडेजबीच गोप्य सहमति भएको दाबी गरेका थिए । उनका अनुसार अर्जेन्टिनाको अन्तर्राष्ट्रिय छवि सुधार्न विश्वकप जित आवश्यक भएकाले पेरुले सहयोग गरेको थियो । यद्यपि यी आरोप पनि प्रमाणित भएका छैनन् । १९९० मा माराडोनामाथि पनि आरोप सन् १९९० को विश्वकपमा अर्जेन्टिना र ब्राजिलबीच अन्तिम–१६ को खेलमा ब्राजिलका खेलाडी ब्रान्कोले अर्जेन्टिनी फिजियोथेरापिस्टले दिएको पानी पिएपछि आफूलाई चक्कर लागेको दाबी गरेका थिए । केही समयपछि क्लाउडियो कानिजियाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । करिब १५ वर्षपछि अर्जेन्टिनाका तत्कालीन प्रशिक्षक कार्लोस बिलार्डोले एक अन्तर्वार्तामा उक्त घटनाबारे ‘त्यो नभएको भन्न सक्दिनँ’ भनेका थिए । यसपछि ब्राजिल फुटबल महासंघले फिफासँग अनुसन्धानको माग गर्ने जनाएको थियो । तर त्यस विषयमा फिफाले कुनै कारबाही गरेको अभिलेख छैन । अन्य सान्दर्भिक सामग्रीहरू : विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा
काठमाडौं । साढे तीन वर्षअघि फर्कौं । सन् २०२२ को कतार विश्वकपलाई आधुनिक फुटबलका धेरै महान खेलाडीहरूको अन्तिम विश्वकपका रूपमा हेरिएको थियो । यो धारणा विशेषगरी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीसँग जोडिएको थियो । रोनाल्डोका हकमा पोर्चुगल उनको अनुपस्थितिमा अझ राम्रो टोली बन्न सक्ने बहस चलिरहेको थियो भने मेसीले अर्जेन्टिनालाई कतारमा विश्वकप जिताएपछि उनले ‘फुटबललाई पूर्णता दिएको’ र इतिहासकै महान खेलाडीको रूपमा आफ्नो विरासत स्थापित गरिसकेकाले अब अर्को विश्वकप खेल्न आवश्यक नरहेको चर्चा सर्वत्र थियो । यसबाहेक लुका मोड्रिच, इभान पेरिसिच र मानुएल नोयर जस्ता अनुभवी खेलाडीहरू पनि फेरि विश्वकपमा देखिने सम्भावना कम मानिएको थियो । विशेषगरी चोटका कारण नोयरको करिअर अन्त्यतिर पुगेको अनुमान गरिएको थियो भने ३० वर्ष नाघेका धेरै खेलाडी टोलीको प्राथमिकताबाट बाहिरिने अपेक्षा गरिएको थियो । तर धेरैको हकमा त्यस्तो भएन । कम्तीमा पनि उनीहरूलाई राष्ट्रिय टोलीबाट बाहिर राख्ने अवस्था आएन । माथि उल्लेख गरिएका पाँचै जना खेलाडीले सन् २०२६ को विश्वकप खेले । यद्यपि सबै अनुभवी खेलाडीले उत्तर अमेरिकामा भएको यस संस्करणमा मैदानमा निर्णायक भूमिका खेलेका भने होइनन् । तर धेरै टोलीहरूले अनुभवलाई अत्यन्तै महत्त्व दिएको स्पष्ट देखियो । क्लब फुटबलमा भविष्यलाई ध्यानमा राख्दै युवा प्रतिभालाई प्राथमिकता दिने र उनीहरूकै वरिपरि टोली निर्माण गर्ने प्रवृत्ति सामान्य भए पनि अन्तर्राष्ट्रिय फुटबल, विशेषगरी विश्वकपजस्ता ठूलो प्रतियोगितामा भने तत्काल सफलता दिलाउने संयोजन खोज्ने गरिन्छ । कतिपयका लागि त्यो युवा खेलाडीमार्फत सम्भव हुन सक्छ, तर अधिकांश टोलीका लागि अनुभवले थप लाभ दिन्छ । ‘अनुभव’ फुटबलमा अचानक मूल्यवान बनेको होइन । तर पछिल्ला वर्षहरूमा यसको महत्त्व झन् बढ्दै गएको संकेतहरू मजाले देख्न सकिन्छ । यसको प्रमाण विश्वकपमा टोली र सुरुआती ११ खेलाडीहरूको औसत उमेरबाट पनि देखिन्छ । सन् २०२६ विश्वकपमा सुरुआती ११ खेलाडीहरूको औसत उमेर २८ वर्ष ११७ दिन पुगेको छ, जुन सन् १९६६ यताकै विश्वकप इतिहासमा सबैभन्दा बढी हो । यो अघिल्लो कीर्तिमानभन्दा १०६ दिन बढी हो । यसअघि यो कीर्तिमान २०१८ विश्वकप (२८ वर्ष ११ दिन) को नाममा थियो । त्यही संस्करण पहिलो पटक औसत उमेर २८ वर्ष नाघेको विश्वकप बनेको थियो । सन् १९८२ देखि २०१४ सम्म सुरुआती टोलीहरूको औसत उमेर २७ वर्ष १८ दिनदेखि २७ वर्ष २४८ दिनसम्म सीमित थियो । तर पछिल्ला केही संस्करणमा यो संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । यसपटकको विश्वकपले नयाँ कीर्तिमान बनाएकोमा धेरैलाई अचम्म नलाग्न सक्छ, किनकि ३० को उत्तरार्ध वा ४० वर्ष नजिकका खेलाडीहरूको उपस्थिति धेरै छ । विश्वकप इतिहासका सबैभन्दा बढी उमेरमा खेल्ने शीर्ष १० खेलाडीमध्ये चार जना यही संस्करणमा खेलेका छन् । अन्य कुनै पनि विश्वकपमा शीर्ष १० मा एकभन्दा बढी खेलाडी परेका छैनन् । शीर्ष १० बाहिर पनि मानुएल नोयर (४० वर्ष ९४ दिन), भोजिन्हा (४० वर्ष ३० दिन), फर्नान्डो मुसलेरा (४० वर्ष ११ दिन), युटो नागाटोमा (३९ वर्ष २८७ दिन) र हर्नान गालिन्डेज (३९ वर्ष ९३ दिन) सबै इतिहासका शीर्ष २५ सबैभन्दा बढी उमेरका विश्वकप खेलाडीमा परेका छन् । यस विश्वकपमा उमेरसँग सम्बन्धित धेरै नयाँ कीर्तिमान बने । उदाहरणका लागि ड्यान बर्नले ३४ वर्ष ५८ दिनको उमेरमा मेक्सिकोविरुद्ध अन्तिम १६ को खेल खेल्दै सन् १९५० पछि इंग्ल्यान्डका सबैभन्दा बढी उमेरमा विश्वकप डेब्यु गर्ने आउटफिल्ड खेलाडी बने । सन् १९६६ यताका विश्वकप नकआउट खेलमा सहभागी भएका चार सबैभन्दा बढी उमेरका खेलाडीमध्ये तीन जनाले यही संस्करणमा खेले । त्यस्तै, केप भर्डे (औसत ३१ वर्ष १९७ दिन) र कोलम्बिया (३० वर्ष ३४४ दिन) ले क्रमशः अर्जेन्टिना र घानाविरुद्ध विश्वकप नकआउट इतिहासकै पहिलो र दोस्रो सबैभन्दा बढी उमेर भएका सुरुआती टोली उतारे । त्यसैगरी, इरानले बेल्जियमसँग ०–० को बराबरी खेलेको समूह चरणको खेलमा सन् १९६६ यताकै सबैभन्दा बढी औसत उमेर (३२ वर्ष १८१ दिन) भएको सुरुआती टोली मैदानमा उतारेको थियो । यी तथ्यहरूले सन् २०२६ को संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ‘अनुभवमैत्री’ विश्वकप बनाएका छन् । यसलाई यस्तो युगको अन्तिम चरणका रूपमा पनि हेर्न सकिन्छ, जहाँ असाधारण प्रतिभाशाली खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन लामो समयसम्म कायम राख्दै ३० वर्ष पार गरेपछि पनि विश्वस्तरमा प्रभावशाली प्रदर्शन गर्न सफल भए । तर भविष्यमा पनि विश्वकप खेलाडीहरूको औसत उमेर बढ्ने सम्भावना देखिन्छ । सन् १९६६ यताका विश्वकप तथ्यांक हेर्दा औसत उमेर क्रमशः बढ्दै गएको स्पष्ट हुन्छ । यसको मुख्य कारण खेल विज्ञानमा भएको प्रगति हो । पोषण, शरीर विज्ञान, खेल विज्ञान, आधुनिक प्रविधि तथा तथ्यांक विश्लेषणमा भएको सुधारले खेलाडीहरूको करिअर लम्ब्याउन सहयोग गरिरहेको छ, जसका कारण उनीहरूले धेरै विश्वकप खेल्न पाएका छन् । यद्यपि यस प्रवृत्तिका लागि एउटा चुनौती पनि छ—अहिलेका खेलाडीहरूले पहिलेभन्दा धेरै खेल खेलिरहेका छन् । खेलाडीको स्वास्थ्यबारे बहस भइरहे पनि शीर्षस्तरका प्रतियोगितामा खेल संख्या घटेको छैन । यूईएफए च्याम्पियन्स लिगको नयाँ ढाँचा, विस्तारित फिफा क्लब वर्ल्ड कप, ३२ बाट ४८ टोली पुगेको विश्वकप र १६ बाट २४ टोली पुगेको यूईएफए यूरोपियन च्याम्पियनसिपले खेलहरूको संख्या अझ बढाएका छन् । यति धेरै आर्थिक स्वार्थ जोडिएकाले निकट भविष्यमा प्रतियोगिताहरूले खेल संख्या घटाउने सम्भावना कम छ । यद्यपि अतिरिक्त खेलाडी परिवर्तन (सब्स्टिच्युट) को सुविधाले केही शारीरिक दबाब कम गरेको छ, तर १६, १७ वा १८ वर्षकै उमेरमा शीर्ष टोलीमा स्थापित हुने खेलाडीहरूको दीर्घकालीन स्वास्थ्य जोगाउन त्यो मात्र पर्याप्त नहुन सक्छ । तथापि, एउटा कुरा स्पष्ट छ—सन् २०२६ को विश्वकपलाई धेरैले अपेक्षा गरेभन्दा धेरै लामो समयसम्म शीर्ष स्तरमा प्रभाव जमाइरहेका अनुभवी खेलाडीहरूले परिभाषित गरे । यसले फुटबल समर्थकलाई पुराना सम्झना दिलाएको मात्र होइन, खेलका केही महान खेलाडीहरूको योगदानलाई फेरि एकपटक सम्मान गर्ने अवसर पनि दिएको छ । क्लब फुटबलमा प्रायः भनिन्छ, ‘यदि तपाईं पर्याप्त राम्रो हुनुहुन्छ भने, तपाईं पर्याप्त उमेर पुगेको मानिनुहुन्छ ।’ तर विश्वकपमा भने यसको उल्टो सत्य देखियो—‘यदि तपाईं पर्याप्त रूपमा राम्रो हुनुहुन्छ भने तपाईं अझै पनि पर्याप्त युवा हुनुहुन्छ ।’ सान्दर्भिक सामग्रीहरू : विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
विश्वकपको उपाधि होड थप रोमाञ्चक
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको सन् २०२६ को फिफा विश्वकप फुटबल अन्तिम आठ टोलीमा सीमित भएको छ । राउन्ड अफ १६ का रोमाञ्चक खेलपछि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, बेल्जियम, इङ्ग्ल्यान्ड, नर्वे, मोरक्को र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । तस्बिर : फिफा विश्वकप साविक च्याम्पियन अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब अर्जेन्टिनाले अन्तिम आठमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्डले भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । यस्तै, स्पेनले छिमेकी राष्ट्र पोर्चुगललाई कठिन प्रतिस्पर्धामा १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो भने फ्रान्सले पनि पाराग्वेलाई १–० ले हराउँदै आफ्नो यात्रा निरन्तर राखेको छ । बेल्जियम, मोरक्को, इङ्ग्ल्यान्ड र नर्वेले पनि नकआउट चरणमा प्रभावशाली जित निकाल्दै उपाधि होडलाई थप प्रतिस्पर्धात्मक बनाएका छन् । बेल्जियमले अमेरिकालाई ४–१ ले हराएको हो भने मोरक्कोले आयोजक राष्ट्र क्यानडालाई ३–० ले हराएको हो । त्यस्तै, इङ्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराउँदा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्यो। क्वार्टरफाइनलमा पहिलो खेल फ्रान्स र मोरक्कोबीच जुलाई ९ (नेपाली समयअनुसार पर्सि शुक्रबार बिहान पौने २ बजे) हुनेछ । त्यसपछि स्पेन र बेल्जियमबीच नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे अर्को रोमाञ्चक भिडन्त हुनेछ । जुलाई ११ मा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच (नेपाली समयअनुसार आगामी आइतबार बिहान पौने ७ बजे) खेल हुनेछ भने इङ्ग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने ३ बजे क्वार्टरफाइनल खेलिने तालिका छ । यी चार खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। गोल्डेनबुटको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित प्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यस्तै, फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे र नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ७ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन् । त्यस्तै, इङ्ग्ल्यान्डका ह्यारी केनले ६ गोल गरेका छन् । यस संस्करणको विश्वकपमा धेरै ठूला टोली बाहिरिँदा केही नयाँ टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । विशेषगरी मोरक्को र नर्वेको प्रभावशाली प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । अबको प्रत्येक खेल ‘गर वा मर’ को अवस्थामा हुने भएकाले सानो गल्तीले पनि उपाधि यात्रामा पूर्णविराम लाग्न सक्छ । विश्व फुटबलका समर्थकहरूको नजर अहिले क्वार्टरफाइनलतर्फ केन्द्रित छ । उपाधि दाबेदार टोलीबीच हुने कडा प्रतिस्पर्धाले यसपटकको विश्वकप झन् रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । सान्दर्भिक सामग्रीहरू : क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्
काठमाडौं । क्यामेराहरू जब क्रिस्टियानो रोनाल्डोको अनुहारमा केन्द्रित भए, उनका भावनाहरू स्पष्ट देखिन्थे । त्यतिबेला वातावरणमा एउटा कुरा लगभग निश्चितजस्तै महसुस भइरहेको थियो । सन् २०२६ को विश्वकपमा रोनाल्डोको यात्रा यस्तै एउटा भावुक दृश्यमा टुंगिने लगभग तय थियो । केवल उनी खुसीका आँसु बगाउँदै बिदा लिनेछन् कि निराशाका त्यो मात्रै अनिश्चित थियो । यद्यपि सुरुदेखि नै यो पोर्चुगल टोलीलाई विश्वकप जित्ने प्रमुख दाबेदारका रूपमा हेरिएको थिएन । त्यसैले धेरैले रोनाल्डोका लागि यो प्रतियोगिता अन्ततः निराशामै समाप्त हुने अनुमान गरेका थिए । कतिपयको तर्क छ कि यदि प्रशिक्षक रोबर्टो मार्टिनेजले साहस देखाउँदै रोनाल्डोलाई सुरुआती टोलीबाट बाहिर राखेका भए पोर्चुगल अझ आक्रामक र खतरनाक टोलीका रूपमा अघि बढ्न सक्थ्यो । ४१ वर्ष पुगेका रोनाल्डोको सीमित क्षमताबारे पछिल्ला केही वर्षदेखि लगातार बहस हुँदै आएको छ । कतारमा भएको २०२२ विश्वकपका बेला पनि यही विषय प्रमुख चर्चाको केन्द्र बनेको थियो । सोमबार २०२६ विश्वकपको अन्तिम १६ चरणमा स्पेनसँग पराजित भएर बाहिरिएपछि यो बहस फेरि चर्किने सम्भावना छ । तर अहिलेका लागि त्यो बहसभन्दा पनि पोर्चुगलको जर्सीमा रोनाल्डोले पुर्याएको असाधारण योगदानको सम्मान गर्नुपर्ने समय हो । डलास स्टेडियममा भएको उक्त खेल रोनाल्डोको करिअरको २३३औं अन्तर्राष्ट्रिय खेल थियो । पुरुष फुटबल इतिहासमै यो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान हो । साथै उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४६ गोल गर्ने विश्व कीर्तिमान पनि आफ्नो नाममा राखेका छन् । यी दुवै कीर्तिमानमा अझै थप हुनेछ कि हुँदैन भन्ने निश्चित छैन । तर सातौं विश्वकप खेल्ने सपना भने अब समाप्त भएको छ । उनले खेलेका छ विश्वकप पुरुष फुटबलको संयुक्त कीर्तिमान हो । खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले भनेका थिए, ‘यो मेरो अन्तिम विश्वकप हुनेछ । तर आशा छ, भोलिको खेल मेरो अन्तिम खेल नहोस् ।’ आलोचनाका बाबजुद पनि डलासमा भएको स्पेनविरुद्धको खेलमा गोल गर्ने सम्भावना भएका खेलाडीमध्ये रोनाल्डो नै अगाडि देखिएका थिए । निकै सतर्क र कम अवसर सिर्जना भएको खेलमा उनले पहिलो हाफमै दुई पटक स्पेनका गोलरक्षक युनाई सिमोनलाई कठिन बचाउ गर्न बाध्य पारे । पहिलो अवसरमा साँघुरो एंगलबाट प्रहार गर्दा सिमोनले बल रोक्न सफल भए भने दोस्रो पटक रिबाउन्डबाट आएको गोलतर्फ उन्मुख प्रहारलाई पनि उनले उत्कृष्ट बचाउ गरे । यद्यपि रोनाल्डोले आफ्नो विश्वकप गोल संख्या ११ बाट बढाउन सकेनन् । उनले तीन प्रहार गरे पनि त्यसबाहेक खेलमा धेरै प्रभाव जमाउन सकेनन् । अन्ततः इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले पोर्चुगलको आक्रामक कमजोरीलाई महँगो साबित गर्यो । अन्तिम सिटी बज्नेबित्तिकै सबैको नजर फेरि रोनाल्डोमै थियो । वर्षौंदेखि विश्व फुटबलको केन्द्रमा रहेका उनी भावुक हुने क्षणको प्रतीक्षामा क्यामेरा टोलीहरू उनको पछि लागिरहेका थिए । रोनाल्डोको महानताको एउटा मुख्य कारण उनको अविश्वसनीय लामो करिअर पनि हो । उनी पुरुष विश्वकपमा छ संस्करण खेल्ने केवल दुई खेलाडीमध्ये एक हुन् । साथै सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट सुरु गरेर लगातार छ विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी पनि उनी नै हुन् । २००६ का युवा रोनाल्डो र अहिलेका रोनाल्डोबीच धेरै परिवर्तन आइसकेको छ । उनले समयअनुसार आफ्नो खेल शैली परिवर्तन गर्दै आफूलाई नयाँ भूमिकामा ढाल्दै लगे, जुन उपलब्धि धेरै खेलाडीका लागि सम्भव हुँदैन । उनले खेलेका छ विश्वकपमा औसत प्रत्येक २०१ मिनेटमा एक गोल गरेका छन् । साथै पोर्चुगलका लागि सबै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा ५७ खेल खेल्दै २५ गोल गरेका छन् । विश्वकपमा उनका २७ खेल लियोनल मेसी (३० खेल) पछि दोस्रो सर्वाधिक हुन् । विश्वकपमा उनका ११ गोल पोर्चुगलका अन्य कुनै पनि खेलाडीले बनाएको गोलभन्दा दुई बढी छन् । यस विश्वकपमा उनले एउटा व्यक्तिगत अभिशाप पनि तोडे । नकआउट चरणमा पेनाल्टीबाट गरेको गोल उनको विश्वकप नकआउट चरणको पहिलो गोल थियो । साथै ४१ वर्ष १४७ दिनको उमेरमा समूह चरणपछिको खेलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बने । तर अन्ततः विश्वकप उपाधि भने रोनाल्डोको चम्किलो करिअरमा अधुरै रहने देखिएको छ । सन् २०३० को विश्वकप आयोजना हुँदा उनी ४५ वर्ष पार गरिसकेका हुनेछन् । आफ्नै देश पोर्चुगलमा हुने विश्वकप खेल्ने कल्पना आकर्षक भए पनि ४५ वर्षको उमेरमा विश्वकप खेल्नु सम्भव नदेखिएकाले उनले आइतबार नै यो आफ्नो अन्तिम विश्वकप भएको स्वीकार गरेका थिए । यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा उनले बनाएका कीर्तिमान र योगदानलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न सकिँदैन । उनका धेरै कीर्तिमान दशकौंसम्म अटुट रहन सक्छन्, कतिपय त कहिल्यै नटुट्ने सम्भावना पनि छ। रोनाल्डोको अन्तिम विश्वकपसँगै विश्व फुटबलको एउटा स्वर्णिम युगको अन्त्य भएको छ । तर त्यति नै स्पष्ट रूपमा पोर्चुगल अब नयाँ पुस्ता र नयाँ यात्रातर्फ अघि बढ्न तयार देखिएको छ । अन्य सान्दर्भिक सामग्रीहरू : हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को रोमाञ्चक भिडन्तमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । सियाटल स्टेडियममा आज बिहान सम्पन्न खेलमा बेल्जियमका चार फरक समयमा आएका गोलले अमेरिकाको यात्रा अन्त्य गरिदियो । खेलको नवौं मिनेटमै चाल्र्स डी केटेलाएरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि अमेरिकाका मलिक टिलम्यानले ३१औं मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए । तर अमेरिकाको खुसी धेरैबेर टिकेन । केटेलाएरले ३३औं मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए । दोस्रो हाफको ५७औं मिनेटमा हान्स भानाकेनले गोल थपेपछि बेल्जियम ३–१ ले अघि बढ्यो । इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको शानदार ४–१ को जित पक्का गरे । बेल्जियमले खेलभर आक्रामक प्रदर्शन गर्दै अवसरहरूलाई राम्रोसँग सदुपयोग गर्यो भने अमेरिका निर्णायक क्षणमा रक्षात्मक कमजोरीको सिकार बन्यो । चाल्र्स डी केटेलाएर दुई गोलसहित खेलका उत्कृष्ट खेलाडी बने । यस जितसँगै बेल्जियम विश्वकप २०२६ को अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने सहआयोजक अमेरिका भने नकआउट चरणबाटै बाहिरिएको छ ।
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै सनसनीपूर्ण रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए । खेल अतिरिक्त समयमा जाने अनुमान भइरहेका बेला उनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यससँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याएका छन् । ब्राजिलले खेलको इन्ज्युरी नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि त्यसअघि नर्वेले बनाएको अग्रता जोगाउन सफल भयो । नेयमार दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलले खेलभर बलमा नियन्त्रण राखे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । नर्वेका गोलरक्षक ओर्यान न्यालान्डले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे । यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल भने लगातार छैटौं विश्वकपमा युरोपेली टोलीसँग नकआउट चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
नकआउट ब्राकेटः यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी
काठमाडौं । विश्वकप २०२६ को फाइनल अब नजिकिँदै गएको छ । अन्त्यहीन जस्तो लागेको समूह चरण समाप्त भएपछि प्रतियोगिता अब पूर्ण रूपमा रोमाञ्चक नकआउट चरणमा प्रवेश गरिसकेको छ । यस क्रममा केही शक्तिशाली टोलीहरू अप्रत्याशित रूपमा बाहिरिएका छन् । जर्मनी र नेदरल्यान्ड्स अपेक्षाकृत चाँडै प्रतियोगिताबाट बाहिरिए भने उदाउँदो शक्ति मोरक्कोले आफ्नो क्षमता प्रमाणित गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिलले आफ्नो यात्रा अघि बढाएको छ भने बलियो फ्रान्स उपाधिको सबैभन्दा दाबेदार टोलीका रूपमा उभिएको छ । मेक्सिको र संयुक्त राज्य अमेरिका अन्तिम १६ मा पुग्न सफल भए । तर सह–आयोजक क्यानडाले भने मोरक्कोसँग ३–० ले पराजित हुँदै त्यही चरणबाट प्रतियोगितालाई बिदाइ गर्यो । इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई र बेल्जियमले सेनेगललाई कठिन संघर्षपछि पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियालाई झिनो अन्तरले हरायो । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा काबो भेर्डेमाथि कठिन जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो । तर विश्वकपको नकआउट चरणमा केवल तत्कालको प्रतिद्वन्द्वीलाई मात्र हेरेर पुग्दैन । फाइनलसम्म पुग्ने सम्भावित यात्राको अनुमान गर्नु पनि प्रतियोगिताको रोमाञ्चक पक्ष हो । त्यसका लागि अप्टा विश्वकप २०२६ ब्राकेट उपयोगी बन्न सक्छ । तल प्रस्तुत गरिएको विश्वकप २०२६ ब्राकेटले नकआउट चरणको सम्पूर्ण संरचना देखाउनुका साथै फाइनलअघि र फाइनलसम्म कुन–कुन टोलीबीच भेट हुन सक्छ भन्ने सम्भावित मार्ग पनि देखाउँछ । यो सबै अप्टा सुपरकम्प्युटरको विश्लेषणमा आधारित छ, जसले बाँकी रहेका सबै टोलीका खेलहरू २५ हजार पटक सिमुलेसन गरेर प्रत्येक चरणमा सफलता हासिल गर्ने सम्भाव्यता (प्रतिशत) गणना गरेको छ । नकआउट चरणका प्रत्येक गोल र खेलको अन्तिम नतिजापछि ब्राकेट तथा अप्टा सुपरकम्प्युटरको सम्भाव्यता प्रतिशत अद्यावधिक हुँदै जानेछ । त्यसैले यसलाई बुकमार्क गरेर विश्वकपको नकआउट चरण अघि बढ्दै जाँदा नियमित रूपमा हेर्न सकिन्छ । सान्दर्भिक सामग्रीहरू : चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
चम्किँदै भिनिसियस जुनियर
काठमाडौं । विगतका केही वर्षमा भिनिसियस जुनियरले आफू विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक भएको प्रमाणित गरिसकेका छन् । ब्राजिलियन क्लब फ्लामेङ्गोको एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका भिनिसियस धेरै समय नबित्दै युरोपका ठूला क्लबहरूको नजरमा परे । उनी त्यतिबेलाका सबैभन्दा रोमाञ्चक युवा प्रतिभामध्ये एक थिए। भिनिसियस केवल १६ वर्षको हुँदा नै स्पेनिस महारथी रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्न पहल गर्यो । तत्काल स्पेन जान उमेर नपुगे पनि उनले १८ वर्ष पूरा गरेपछि २०१८ मा क्लबमा आबद्ध हुने सहमतिसहित रियलले उनको लागि ३ करोड ८० लाख पाउन्ड ट्रान्सफर शुल्क तिरेको थियो । त्यो स्थानान्तरण निकै चर्चित बन्यो । त्यसबेला भिनिसियस ब्राजिलका इतिहासकै दोस्रो सबैभन्दा महँगा फुटबलर बने । उनीभन्दा महँगो ट्रान्सफर केवल नेयमारको थियो, जो आफ्नो बाल्यकालको क्लब सान्तोसबाट करिब ४ करोड ८६ लाख पाउन्डमा बार्सिलोना पुगेका थिए । त्यसबाहेक १९ वर्षभन्दा कम उमेरका खेलाडीका लागि कुनै क्लबले तिरेको त्यो त्यतिबेलासम्मकै सबैभन्दा ठूलो ट्रान्सफर रकम पनि थियो । रियल म्याड्रिडलाई उनी भविष्यका सुपरस्टार बन्नेमा गहिरो विश्वास थियो । रियलको त्यो विश्वास सही सावित भयो । भिनिसियसले अहिलेसम्म ला लिगामा २४२ खेल खेल्दै ७७ गोल गरेका छन् भने ४१ गोलका लागि अवसर सिर्जना गरेका छन् । यसअनुसार उनले प्रत्येक ९० मिनेटमा औसत ०.६४ गोल योगदान दिएका छन् । उपाधिको हिसाबले पनि उनको उपलब्धि प्रभावशाली छ । उनले तीन ला लिगा उपाधि, दुई कोपा डेल रे, दुई युइएफए च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । साथै व्यक्तिगत रूपमा पनि उनले थुप्रै सम्मान प्राप्त गरेका छन् । उनले खेलेका दुवै च्याम्पियन्स लिग फाइनलमा निर्णायक प्रदर्शन गरेका छन् । २०२१–२२ मा लिभरपुलविरुद्ध र २०२३–२४ मा बोरुसिया डर्टमन्डविरुद्ध उनले विजयी गोल गर्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । सन् २०२४ को बालोन डीओर जित्ने होडमा पनि उनी निकै नजिक पुगेका थिए । उत्कृष्ट सिजन बिताए पनि अन्ततः उक्त प्रतिष्ठित अवार्ड म्यानचेस्टर सिटीका रोड्रीले जितेका थिए । तर २०२६ को फिफा विश्वकपमा भने भिनिसियस उत्कृष्ट लयमा देखिएका छन् । यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा उनको यात्रा सधैं यति सहज थिएन । यसअघि भएका प्रमुख प्रतियोगिताहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि ब्राजिलका समर्थकहरू उनीप्रति निराश बन्दै गएका थिए । क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट राष्ट्रिय टोलीमा पनि त्यस्तै योगदानको अपेक्षा गरिएको थियो, तर त्यो पूरा हुन सकेको थिएन । ब्राजिलियन फुटबल विश्लेषक मार्कस आल्भेसका अनुसार अहिलेसम्म भिनिसियस ब्राजिल राष्ट्रिय टोलीको सबैभन्दा प्रभावशाली खेलाडी बनिसक्नुपर्ने अपेक्षा गरिएको थियो । ‘तर २०२२ को विश्वकप क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएको चार वर्ष बितिसक्दा पनि उनीबारेका शंका पूर्ण रूपमा हटेका छैनन्,’ उनले भने । पूर्व ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि रियल म्याड्रिडमा देखिने उत्कृष्ट प्रदर्शन राष्ट्रिय टोलीमा दोहोर्याउन नसकेको भन्दै सार्वजनिक रूपमा उनको आलोचना गरेका थिए । सन् २००३ मा ब्राजिलका लागि एक खेल खेलेका फाबियो लुसियानोले भनेका थिए, ‘भिनीसँग एउटा समस्या छ । दुर्भाग्यवश, नेयमार टोलीमा नहुँदा उनी आफैले नेयमार बन्नुपर्छ भन्ने सोच्न थाल्छन् । त्यो उनको काँधमा धेरै ठूलो जिम्मेवारी हो ।’ ‘त्यो बोझ उनले आफ्नो काँधबाट हटाउनुपर्छ र राष्ट्रिय टोलीले पनि त्यो जिम्मेवारी बाँड्नुपर्छ । तपाईं नेयमार हुनुहुन्न । सबै कुरा एक्लैले समाधान गर्न सक्नुहुन्न । हामी सबैले तपाईंलाई सहयोग गर्नेछौं । तपाईंले सबैभन्दा राम्रो गर्न सक्ने काममा ध्यान दिनुहोस् र आफ्नै शैलीमा खेल्नुहोस् ।’ भिनिसियसले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न पनि निकै समय कुर्नुपरेको थियो । उनले सन् २०२२ मा चिलीविरुद्धको विश्वकप छनोट खेलमा आफ्नो १९औं अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेका थिए । २०२१ को कोपा अमेरिका, २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिकासहित तीन प्रमुख प्रतियोगितामा उनले कुल ६१७ मिनेट खेल्दै मात्र तीन गोल र दुई असिस्टमात्र गरेका थिए । ठूला प्रतियोगिताबाहेक पनि ब्राजिलका लागि उनको समग्र प्रदर्शन समर्थकहरूले राखेको उच्च अपेक्षाअनुसार थिएन । यस विश्वकपअघि उनले खेलेका ४९ अन्तर्राष्ट्रिय खेलमा औसत प्रत्येक दुई खेलमा एकपटक मात्र गोलमा प्रत्यक्ष योगदान दिएका थिए । तथ्याङ्कका हिसाबले हेर्दा पनि उनले प्रत्येक ९० मिनेटमा औसत २.५ पटक शट सिर्जना गर्ने अवस्थासम्म बल पुर्याएका थिए भने १.५ स्पष्ट गोल अवसर सिर्जना गरेका थिए । तर २०२६ विश्वकपमा लगभग हरेक तथ्याङ्कमा उल्लेखनीय सुधार देखिएको छ । यसपटक उनले आफ्नो देशका लागि निर्णायक भूमिका खेल्न थालेका छन् । ब्राजिलका लागि विश्वकपका सुरुआती चार खेलमै उनले चार गोल र एक असिस्ट गरेका छन् । यससँगै उनी विश्वकप गोल्डेन बुटको बलियो दाबेदार बनेका छन् । यो लेख तयार पार्दासम्म केवल केलियन एम्बाप्पे (६), लियोनल मेसी (६), अर्लिङ हालान्ड (५) र ह्यारी केनले (५) ले मात्र उनीभन्दा बढी गोल गरेका छन् । अन्य पठनीय सामग्रीहरू : गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
घानालाई पराजित गर्दै कोलम्बिया फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १-० ले पराजित गर्दै कोलम्बियाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त गोल नै खेलको निर्णायक बन्यो । यससँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रो पटक नकआउट चरणमा जित निकालेको हो । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो । कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकसहित समूह ‘के’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।
कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप
फिफा विश्वकप फुटबल प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेपछि हालसम्म देखिएको नतिजाले कुनै पनि टिम सुरक्षित नरहेको स्पष्ट सङ्केत देखिएको छ । समूह चरणको खेलहरुको समाप्तिसँगै सुरु भएको नकआउट प्रतिस्पर्धामा देखिएको नतिजाले जुनसुकै सहभागी टिम पनि प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था देखिएको छ । विगतको विश्वकपका इतिहासलाई ओझेलमा पार्दै नयाँ इतिहास कोर्ने होडमा सहभागी टिमहरु रहेका छन् । यसपटक अनुमान नगरिएका नतिजाहरु पनि देखिएका छन् । विश्वकपको दाबी गर्दै प्रतियोगितामा भिडेका प्रतिस्पर्धी टिमहरुले समेत क्वाटरफाइनलसम्म पनि नपुग्दै घर फर्कनुपरेको स्थितिको सामना गर्नुपरेको छ । युरोपका दुईवटा शक्तिशाली टिम जर्मनी र नेदरल्याण्डस् एकैदिन पेनाल्टी सुट आउटबाट पराजित भएको घटनालाई विश्वकपको इतिहासमा सामान्य मान्न सकिँदैन । दर्शकहरुले आफ्ना प्रिय टिमलाई गुमाउनुपरेको क्षण पनि पिडादायी रहेको छ । साना राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपको मैदानमा उत्रिएका केही टिमले विशिष्ठ पहिचान बनाइसकेका टिमलाई दिएको चुनौतीलाई पनि कम आँक्न सकिँदैन । समूह चरणबाट विजयी भएर अघिल्लो चरणमा पुगेका बत्तीस टिमहरुको पहिलो नकआउट चरणमा तीव्र प्रतिस्पर्धा भएकाले दाबेदार टिमहरुले आफ्नो पहिलो रोजाइका खेलाडीहरुलाई मैदानमा उतारेको देखियो । खेलको गति पनि छिटो तथा बढी आक्रामक भएकाले दर्शकहरुले पनि खेलाडीहरुको खेलकौशलबाट रोमान्चित हुने अवसर पाइरहेका छन् । विशेषगरी बरोबर पेनाल्टी सुटआउट तथा कल्पना पनि गर्न नसकिने खालका आकर्षक गोलहरु राउण्ड अफ बत्तीस चरणका विशेषता बनेका छन् । रेफ्रीले विभिन्न खेलका दौरान गरेका निर्णय समेत भिडियो एसिष्टेण्ट रेफ्रीले उल्टाएर नतिजालाई समेत प्रभावित गरेको प्रसङ्ग पनि उल्लेखनीय मानिएका छन् । अकल्पनीय पराजय विगतका वर्षहरुमा जस्तै यसपालि पनि विश्वकपको दाबी गर्दै आएको जर्मनी टिमले छिट्टै घर फर्कनुपर्ने स्थिति आउला भनेर कल्पना समेत गरेको थिएन । जितेर विजय उत्सब मनाउने लक्ष्य राखेको जर्मन खेलाडीहरुले पराजित भएपछि आफ्नै घरमा समेत विरोधको सामना गर्नु प¥यो । चारपटक विश्वकप जितिसकेको जर्मनी गत विश्वकपमा जस्तै यसपटक पनि पहिलो नकआउट चरणमै असफल हुनु दुर्भाग्य ठानिएको छ । विश्वका सफल पुरुष फुटबल टिममध्ये एक मानिएको जर्मनीले विश्वकपमा चार चार पटक दोस्रो र तेस्रो स्थान पनि प्राप्त गरेको इतिहास छ । पराग्वे र जर्मनीबीच एक–एक गोल भई खेल बराबरीको स्थितिमा भएपछि गराइएको पेनाल्टी प्रहारमा पराग्वे तीन गोलका विरुद्ध चार गोलले विजयी हुन पुग्यो । जर्मनीले विश्वकपका खेलहरुमा आजसम्म पेनाल्टी सुटआउटबाट पराजित हुनु परेको थिएन । जर्मनी पराजित हुनुमा पहिलो गोल पराग्वेका तर्फबाट प्रहार हुनु, शसक्त आक्रमण निरन्तर गर्न नसक्नु तथा गरिसकेको गोल पनि भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णयले गुम्नुजस्ता मुख्य कारण मान्न सकिन्छ । खेलको निर्धारित समय बराबरमा टुङ्गिएपछि थपिएको अतिरिक्त समयमा जर्मनीका लागि जोनाथनले हेडद्वारा गरेको गोल रेफ्रीले दिन अस्वीकार गरिएपछि जर्मनीले पेनाल्टी सुटआउटको सामना गर्नुपरेको थियो । वाल्डेमार एन्टोनले पराग्वेको गोलकिपर ओर्लाण्डोगिललाई फल गरेको जनाउँदै गोल दिइएन । अर्को युरोपेली टिम नेदरल्याण्डस् पनि पेनाल्टी सुटआउटमै हार्न पुग्यो । मोरक्को र नेदरल्याण्डबीच एक–एक गोल भई खेल बराबरीको स्थितिमा भएपछि गराइएको पेनाल्टी प्रहारमा मोरक्को दुई गोलका विरुद्ध तीन गोलको अन्तरले बिजयी हुन पुगेको थियो । टिमको पराजयपछि नेदरल्याण्डसका प्रशिक्षक रोनाल्ड कोम्यानले तत्काल राजिनामा दिएर पराजयको जिम्मेवारी लिनु परेको थियो । बेल्जियमसँगको खेलमा दुई गोल प्रहार गर्नु सफल भइसकेको सेनेगलले आफ्नो अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुप¥यो । बेल्जियमले अतिरिक्त समयमा देखाएको चमत्कारले सेनेगललाई दुई गोलका विरुद्ध तीन गोलको अन्तरले हराएको थियो । पहिलो नकआउट चरणमा क्यानडाले दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध एक गोलले हराएर अर्को चरण प्रवेशको ढोका खोल्यो । ब्राजिलले एसियाली टिम जापानलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । नर्वेले आइभरी कोष्टलाई एक गोलका विरुद्ध दुई गोलले तथा फ्रान्सले स्वीडेनलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै अर्को यात्राको बाटो तय गरेको छ । मेक्सिकोले पनि इक्वेडरलाई शून्यका विरुद्ध दुई गोलले हराएर राउण्ड अफ बत्तीस पार गरेको छ । प्रतियोगिताको सहआयोजक क्यानडाले कठिन परिस्थितिका बाबजुद दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध एक गोलले हराएर अर्को चरणका लागि स्थान निश्चित गरिसकेको छ । मेक्सिकोले इक्वेडरलाई शून्यका विरुद्ध दई गोलले हराएको थियो । अमेरिकाले दश जना खेलाडीहरुमा सिमित रहेको स्थितिमा पनि बोस्निया हर्जगोभिनालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आगामी यात्रा सुनिश्चित गर्न सफल भयो । स्पेन पनि सशक्त रुपमा प्रस्तुत हुँदै अष्ट्रियालाई शून्यका विरुद्ध तिन गोलले सजिलैसँग हराउन सफल भयो । यसमा मिकेल ओयारबालले महत्वपूर्ण दुई गोल गरेका थिए भने पेड्रो पोरोले एक गोल थपेका थिए । पोर्चुगलले क्रोयसियालाई एक गोलका विरुद्ध दुई गोलले हराएर आगामी यात्रा सुनिश्चित गरेको छ । एक गोलले पछि परिसकेको पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोल तथा र गोलकालो रामोसको खेल समाप्तिको चरणमा रहेको अवस्थाको गोलको मद्दतले जित हासिल गरेको थियो । केही उत्कृष्ट गोलहरु नकआउट चरणमामा विश्वास गर्न नसकिने खालका कयौं गोलहरु भएका छन् । यसमध्ये पाराग्वेका जुलियो एन्सिसोले जर्मनीविरुद्ध हेड गरेर गरेको गोल उत्कृष्ठ मानिएको छ । नर्वेका एण्टोनियो नुसाले आइभोरी कोष्टका रक्षापङ्तिका खेलाडीहरुलाई छक्याउँदै टाढाको दूरीबाटै गोल गर्न सफलता प्राप्त गरेका थिए । यो गोल यसपालिको प्रतियोगिताकै हालसम्मकै उत्कृष्ट गोलमा पर्दथ्यो । सेनेगलका इस्माइला सारले बेल्जियमविरुद्ध गरेको गोल पनि प्रशंसनीय थियो । नर्वेका एन्टोनियो नुसाले घुमाउरो प्रहार गर्दै गरेको अनपेक्षित गोलले आइभोरी कोष्ट टिमलाई स्तब्ध बनाएको थियो । फ्रान्सका स्ट्राईकर एम्बाप्पेले स्विडेनविरुद्ध गरेको दुई गोल पनि निक्कै चर्चित हुन पुग्यो । इङ्गल्याण्डलाई कङ्गोले कडा चुनौती दिएर एक गोलले पछाडि पारिरहेको अवस्थामा कप्तान ह्यारी केनले लगातार गरेको दुईवटा आकर्षक गोलले इङ्गल्याण्डका समर्थकहरुलाई निरास हुनबाट जोगायो । फुटबलमा भिडियो हाबी शुक्रबार पोर्चुगल र क्रोयसियाबीच भएको खेलको अन्तिम समयमा क्रोयसियाको तर्फबाट भएको गोल भिडियो एसिष्टेण्ट रेफ्रीले अफसाइड जनाएपछि क्रोयसियाले पराजय भोग्नुपरेको थियो । बिगतका दुई विश्वकपदेखि लागू गरिएको भिडियो एसिष्टेण्ट रेफ्रीको व्यवस्थाले यसपालि खेलको नतिजालाई नै प्रभावित गरिरहेको देखिएको छ । खेलमा गोल भएको वा नभएको, फाउल, ह्याण्ड अथवा अफसाइडको अवस्थामा भिडियो एसिष्टेण्ट रेफ्रीले हस्तक्षेप गर्नसक्ने नियम रहेको छ । तर अन्तिम निर्णय गर्ने अधिकार मैदानमा कार्यरत रेफ्रीकै हुने गरेको छ । पेनाल्टी गराउने वा नगराउने, रातो कार्ड देखाएर खेलाडीलाई निष्काशित गर्नसक्ने अवस्थासम्म भिडियो एसिष्टेण्ट रेफ्रीले समीक्षा गर्न सक्दछ । जर्मनीले पाराग्वेविरुद्ध गरिसकेको गोल पनि भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णयको कारण गुम्न पुगेको थियो । खेलको निर्धारित समय बराबरमा टुङ्गिएपछि थपिएको अतिरिक्त समयमा जर्मनीका लागि जोनाथनले हेडद्वारा गरेको गोल रेफ्रीले दिन अस्वीकार गरिएपछि जर्मनीले पेनाल्टी सुट आउटको सामना गर्नुपरेको थियो । वाल्डेमार एन्टोनले पराग्वेको गोलकिपर ओर्लाण्डोगिललाई फल गरेको जनाउँदै गोल दिइएको थिएन । अमेरिका र बोस्निया हर्जगोभिनाबीचको खेलमा अमेरिकी फरवार्ड फोलारिन बालोगनलाई रातो कार्ड देखाई मैदानबाट निकालिएको कारणनै भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णय थियो । उनलाई रेफ्रीले पहिले देखाएको पहेंलो कार्डको पुन समीक्षा गरिएपछि रातो कार्ड देखाइएको थियो । मेक्सिकोसँग भएको खेलमा भिडियो एसिष्टेण्ट रेफ्रीको समीक्षापछि इक्वेडर टिम १० खेलाडीमा सीमित भएको थियो । इक्वेडरका रक्षा पङ्तिका खेलाडी पिइरो हिनकेपीलाई रातो कार्ड देखाएर निष्काशित गरेपछि इक्वेडर पराजयको बाटोमा पुगेको थियो । खेलले जन्माएको द्वन्द्व विश्वकपको प्रतिस्पर्धाबाट बाहिरिएका विभिन्न मुलुकका सहरहरुमा समर्थकहरुले पराजित टिमको विरोध भएका छन् । जर्मन फुटबल टिमले तीब्र बिरोधको सामना गर्नु परेता पनि जर्मनीमा भने ठूला हिंसात्मक घटना घटेनन् तर युरोपका विभिन्न सहरमा झडपका घटना घटेका छन् । मोरक्कोसँग पेनाल्टी सुटआउटमा नेदरल्याण्डस् पराजित भएपछि हेग, रोटरडमजस्ता सहरमा हिंसात्मक झडप भएका थिए । समूह चरणबाट बाहिरिएपछि स्वदेश फर्केको दक्षिण कोरिया टिमको पनि विरोध गरिएको थियो । यसैक्रममा नाराबाजी समेत गरिएको थियो । प्रतियोगिता स्थल अमेरिकामा पनि खेलका क्रममा केही हिंसात्मक घटना घटन पुगे । उदाहरणीय टिम जापानले विश्वकप पाँच पटक जितिसकेको ब्राजिल जस्तो प्रमुख टिमलाई कडा चुनौती दिँदादिँदै पनि विश्वकपको यात्रा टुङ्ग्यायतापछि यसपालिको विश्वकपमा सम्झिरहने टिमका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । जापानले खेलेका खेलहरु समाप्त भएपछि रङ्गशालाका प्याराफिटमा भएका फोहर सफा गरेर जापानी युवायुवतीले उदाहरणीय कार्य गरेका थिए । विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताबाट बाहिरिनु भनेको त्यति सहज परिस्थिति होइन । यस्तो अवस्थामा विपक्षी टिमसँग आक्रामक हुनु, रेफ्री वा अन्य अफिसियलप्रति नकारात्मक व्यवहार देखाउनु वा रिस प्रकट गर्नेजस्ता कार्य बेलाबखत फुटबलमा देखिनु सामान्य हो । जापान नकआउट चरणमा प्रवेश गरेसँगै ब्राजिलसँग पराजित हुनु परे पनि जापानी प्रशिक्षक, खेलाडी तथा जापानी दर्शकहरुले प्रदर्शन गरेको विनम्रता भने साँच्चिकै सम्झनलायक थियो । जापानी प्रशिक्षक हाजिमे मोरियासुले उच्च खेल संस्कारको प्रदर्शन गर्दै रङ्गशालामा उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । जापानी टिमका खेलाडीहरु रोइरहेको अवस्थामा पनि शरीर झुकाएर आभार व्यक्त गरिरहेका थिए । प्रतियोगिता सम्पन्न भएको रङ्गशालामा खेल हेर्न उपस्थित भएका जापानी दर्शकहरुले पनि रोएरै सहज रुपमा पराजयलाई स्वीकारेको दृष्यले धेरैको आँखा रसाएको थियो । विश्वकप फुटबलको राउण्ड अफ बत्तीसको समापन सँगसँगै अब अझ कठिन मोडअर्थात् उत्कृष्ट १६ मा प्रवेश गर्दैछ । केही दाबेदार टिम बाहिरिनु तथा अनुमान नगरिएका टिमले विगतमा इतिहास बनाएका टिमहरुलाई दिएको सानदार चुनौतीले फुटबलप्रेमीहरुलाई चकित बनाइदिएको छ । अबका खेलहरु अझ प्रतिस्पर्धात्मक तथा रोचक हुँदै जाने आकलन गरिएको छ । विश्वकपका खेलहरु टिमहरुबीचको आपसी भीडन्तमा मात्र सीमित रही नयाँ इतिहास बनाउने महत्वपूर्ण अवसर भएकाले आगामी खेलहरुका प्रत्येक पल निर्णायक हुने अपेक्षा गरिएको छ । रासस
विश्वकपबाट लुका मोड्रिकलाई बिदाइ
काठमाडौं । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन् । पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका मानिएको छ । खेलपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच लामो आत्मीय संवाद भएको थियो । रियल म्याड्रिडमा छ सिजन सँगै बिताउँदै चार पटक च्याम्पियन्स लिग जितेका यी दुई महान् खेलाडी अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम चरणमा पुगेका मानिन्छन् । क्रोएसियाका प्रशिक्षक डालिचले मोड्रिकको बिदाइ यसरी हुनुपरेकोमा दुःख व्यक्त गर्दै उनले अन्तिम क्षणसम्म पनि आफ्नो नेतृत्व, चरित्र र उत्कृष्ट खेल प्रदर्शन कायम राखेको बताए । उनका अनुसार मोड्रिक सधैँ क्रोएसियाका प्रमुख खेलाडीमध्ये एक रहेका छन् । पोर्चुगलका प्रशिक्षक मार्टिनेजले मोड्रिकले लाखौँ बालबालिकालाई प्रेरणा दिएको उल्लेख गर्दै उहाँको खेल्ने शैली फुटबल इतिहासमा सधैँ सम्झिने खालको रहेको बताए । बल आफ्नो नियन्त्रणमा लिएपछि सही निर्णय गर्ने क्षमता, खेलको गति बुझ्ने शैली र खाली स्थान सिर्जना गर्ने कौशलका कारण मोड्रिक अझै पनि युवा खेलाडीजस्तै प्रभावशाली देखिएको उनको भनाइ थियो । सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता तथा २०२२ मा तेस्रो स्थानसम्म पुर्याउने यात्रामा मोड्रिकले निर्णायक भूमिका खेलेका थिए । हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए । जुन २३ मा पानामामाथिको जितपछि टोलीका खेलाडीहरूले उनलाई सम्मानस्वरूप काँधमा उचालेर बिदाइको सङ्केत दिएका थिए । यता समूह चरणमा आलोचना खेपेका रोनाल्डोले पोर्चुगलको यस जितमा महत्त्वपूर्ण योगदान दिँदै दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । रासस
विश्वकप फुटबल : अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा
काठमाडौं । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गरेको हो । स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक/एक गोल गरे । ब्रिलले खेलको १०औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै गोल थप्यो । खेलको ४६औँ मिनेटमा डानले गोल गर्दै स्विट्जरल्याण्डलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
विश्वकपमा स्पेनको दबदबा, अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा
काठमाडौं । युरोपियन च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियालाई ३–० ले पराजित गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा सहज जित निकाल्दै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । स्पेनको जितमा कप्तान मिकेल ओयारजाबाल नायक बने । उनले ३६औं र ८९औं मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । अर्को गोल डिफेन्डर पेड्रो पोरोले ६६औं मिनेटमा हेडमार्फत गरेका थिए । पहिलो हाफमा खेलमाथि नियन्त्रण कायम गरेको स्पेनले दोस्रो हाफमा थप आक्रामक प्रदर्शन गर्दै अस्ट्रियालाई कुनै अवसर नै दिन सकेन । गोलरक्षक उनाई सिमोन र स्पेनको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै लगातार अर्को क्लिन सिटसमेत कायम राखे । स्पेनका लागि यो जित विशेष रह्यो, किनभने विश्वकप नकआउट चरणमा सन् २०१० मा उपाधि जितेपछि यो पहिलो जित हो । यससँगै उपाधि दाबेदारका रूपमा स्पेनले बलियो सन्देश दिएको छ । अब स्पेनले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन
काठमाडौं । डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले रोमाञ्चक पुनरागमन जित निकालेपछि डेक्लन राइसले ह्यारी केनबारे एउटा वाक्यमा सबै कुरा समेटे । उनले भने, ‘ह्यारी केन त अपरिहार्य छन् ।’ वास्तवमै ह्यारी केन गोल गर्ने मामिलामा लगभग सुनिश्चित खेलाडी हुन् । त्यसैले त इंग्ल्यान्डको टोली लगभग पूर्ण रूपमा कप्तान केनकै वरिपरि निर्माण गरिएको छ । ‘यो ह्यारी केनको टोली हो’ भन्ने टिप्पणी पनि अतिशयोक्ति जस्तो लाग्दैन । डीआर कङ्गोविरुद्धको खेलमै उनले आफ्नो खेलको सम्पूर्ण विविधता देखाए । सन् १९६६ यता विश्वकपको नकआउट चरणमा पछाडि परेको अवस्थामा इंग्ल्यान्डले पहिलो पटक पुनरागमन गर्दै जित निकाल्दा त्यसका मुख्य नायक केन नै बने । पहिलो गोल, अर्थात खेल बराबरीमा ल्याउने गोल, उत्कृष्ट स्ट्राइकरको व्यक्तिगत क्षमताको उत्कृष्ट उदाहरण थियो । केही क्षणका लागि खाली स्थान पाउनेबित्तिकै केनले आफ्नै सहज प्रवृत्तिका आधारमा त्यसको पूरा फाइदा उठाउँदै एन्थोनी गोर्डोनको क्रसलाई जाली चुमाए । तर दोस्रो गोल अझ विशेष थियो । त्यो आधा अवसरलाई सदुपयोग गर्ने सामान्य स्ट्राइकरको गोल थिएन, बरु खेललाई आफ्नो नियन्त्रणमा लिने विश्वस्तरीय खेलाडीको प्रदर्शन थियो । यो पनि संयोग थिएन कि निर्णायक गोल आउनुभन्दा केही सेकेन्डअघि जुड बेलिंघमले एक्लै अवसर सिर्जना गर्ने प्रयास गरेका थिए । रियल मड्रिडका स्टार बेलिंघमले यसअघि नै यस्तै दुई निर्णायक गोल गरिसकेका थिए र भविष्यमा यो टोली उनको वरिपरि घुम्ने संकेत पनि दिएका छन् । तर डीआर कङ्गोविरुद्ध उनको प्रदर्शन उत्कृष्ट रहेन । कतिपय अवस्थामा उनले बुकायो साकालाई पास दिनुपर्ने ठाउँमा आफै प्रहार गर्ने निर्णय गरे । त्यस बेला इंग्ल्यान्डलाई अर्को नायकको आवश्यकता थियो । र अगाडि आए केन । बल उनको खुट्टामा पुग्यो र उनले कुनै गल्ती गरेनन् । यसअघि यस्तै अवस्थाहरूमा उनले बल पास गर्ने वा तुरुन्तै प्रहार गर्ने गरेका थिए । तर यसपटक उनले बल नियन्त्रणमा राखे, कङ्गोका रक्षकहरूलाई छल्दै आफूलाई आवश्यक खाली स्थान बनाए र शक्तिशाली प्रहार गर्दै बललाई पोस्टको माथिल्लो भागमा जाली चुमाए । यो गोल सुन्दर फिनिस मात्र नभई केनको दृढ इच्छाशक्ति र आत्मविश्वासको प्रतिविम्ब पनि थियो । खेलपछि प्रशिक्षक थोमस टुचेलले भने झैं, ‘केनले खेललाई आफूमाथि हावी हुन दिएनन् ।’ केनको फिनिसिङ केही हदसम्म एलन सियररको झल्को दिलाउने खालको थियो, तर केन आफ्नै शैलीका फरवार्ड हुन् । बार्यन म्युनिखका स्ट्राइकर केनले लगातार नयाँ कीर्तिमान बनाइरहेका छन् । यस विश्वकपमा उनका पाँच गोल भइसकेका छन् । समग्र विश्वकप करिअरमा उनले १३ गोल गरेका छन् । यस सिजन मात्र उनको गोल संख्या ७२ पुगेको छ भने इंग्ल्यान्डका लागि उनले ८४ गोल गरिसकेका छन् । लामो समयसम्म यस्तो निरन्तर गोल गर्ने क्षमता असाधारण मानिन्छ । यही कारणले उनीमाथि सबैले भरोसा गर्छन् । तर केनको महानता केवल शारीरिक क्षमतामा सीमित छैन । यसको मनोवैज्ञानिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। बायर्न म्युनिखबाट अन्ततः उपाधि जितेपछि उनको आत्मविश्वास अझ बलियो बनेको छ । उपाधि जित्नुले खेलाडीलाई बदलिदिन्छ र त्यसले केनलाई आफूलाई अझ पूर्ण रूपमा बुझ्ने अवसर दिएको छ । अब उनीभित्रको शंका लगभग समाप्त भइसकेको छ । यसको प्रभाव खेलमा पनि स्पष्ट देखिन्छ । इंग्ल्यान्ड एक घण्टाभन्दा बढी समयसम्म १–० ले पछाडि पर्दा टोलीका खेलाडीहरू दबाबमा थिए । खेलभरि चर्चा भइरहेको थियो कि यो पराजय १० वर्षअघिको आइसल्यान्डविरुद्धको निराशाजनक हारभन्दा पनि खराब बन्न सक्थ्यो । संयोगले यस टोलीमा रहेका चार खेलाडीमध्ये केन पनि त्यही हार भोगेका खेलाडी हुन् । त्यतिबेला उनी उत्कृष्ट गोलकर्ता बन्ने क्रममा थिए, तर अहिले उनी पूर्ण खेलाडीमा रूपान्तरित भइसकेका छन् । उनको फुटबल बौद्धिकताले पनि त्यो अनुभवलाई टोलीको हितमा प्रयोग गर्न सिकाएको छ । केनलाई थाहा थियो—आत्तिनु हुँदैन । उनी यस्ता क्षणहरूबाट पहिले नै गुज्रिसकेका थिए, जबकि धेरै युवा खेलाडीका लागि यो नयाँ अनुभव थियो । यूरो २०२४ मा स्लोभाकियाविरुद्धको २–१ को जितबाहेक इंग्ल्यान्डले विगत १० वर्षमा यस्तो दबाबपूर्ण अवस्था खासै भोगेको थिएन । सुरुआती २२ मिनेटमा खेलाडीहरूले बल नियन्त्रण गर्न नसक्ने, गलत पास दिने र सामान्य गल्ती गर्ने दृश्य देखिएको थियो । तर कप्तान केन भने शान्त रहे। उनले आफ्ना सहकर्मीलाई संयमित रहन र खेलमा केन्द्रित हुन निरन्तर प्रेरित गरिरहे । खेलपछि उनले टोलीलाई अर्को सन्देश पनि दिए— ‘अब यो क्षणको आनन्द लिनुपर्छ ।’ हो, टोली हारको निकै नजिक पुगेको थियो । तर त्यसैमा अल्झिरहनुको अर्थ छैन । कठिन परिस्थितिमै टोलीको भावना बलियो बन्छ र लक्ष्यप्रतिको एकाग्रता अझ तीक्ष्ण हुन्छ । केनको आफ्नै एउटा विशेष लक्ष्य पनि छ । यदि उनी स्वाभाविक रूपमा इंग्ल्यान्डलाई विश्वकप जिताउने एकमात्र लक्ष्यमा केन्द्रित छन् भने उनी विश्व फुटबलको ठूलो तस्वीरप्रति पनि उत्तिकै सचेत छन् । खेलपछि प्रशिक्षक टुहेलले भने, ‘केनजस्ता खेलाडीले आफ्ना प्रतिस्पर्धीहरूले के गरिरहेका छन् भन्ने सधैं नियालिरहेका हुन्छन् । केलिएन एम्बाप्पेले कति गोल गरिरहेका छन्, अर्लिङ हालान्डले कस्तो प्रदर्शन गरिरहेका छन्, यी सबै कुराले उनीहरूलाई थप प्रेरित गर्छ । प्रतिस्पर्धी भावना उनीहरूको प्रेरणाको एउटा हिस्सा हो, तर त्यो मात्र होइन । टुहेलले भने, ‘उनीहरू सबै शार्कजस्ता हुन् । रगतको गन्ध पाउनासाथ गोल गर्छन् । उनीहरू शार्क हुन् ।’ ह्यारी केनले यही मानसिकता इंग्ल्यान्डको टोलीमा पनि ल्याएका छन् । उनी केवल गोल गर्दै खेल जिताइरहेका छैनन्, बरु आफ्नै नेतृत्व र विजयी मानसिकतामार्फत इंग्ल्यान्डको विश्वकप यात्रालाई अगाडि बढाइरहेका छन् ।