एनपीएलमा विश्व क्रिकेटका ४८ स्टारको जमघट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यसपटक विश्व क्रिकेटका चर्चित खेलाडीहरूको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनाउने भएको छ । यो समाचार पार्दासम्म यस पटककको एनपीएलमा ४८ जना विदेशी खेलाडी अनुबन्ध भएका छन् ।  अस्ट्रेलियाका विश्वकप विजेता ओपनर डेभिड वार्नरदेखि वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल, दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर र बंगलादेशका चर्चित अलराउन्डर शकिब अल हसनसम्मका खेलाडीले नेपाली मैदानमा आफ्नो क्षमता देखाउँदैछन् ।  कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोली प्रतिस्पर्धा गर्दैछन् । यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त हुनु र निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिनुले पनि प्रतियोगिताको महत्व बढाएको छ ।  विदेशी खेलाडीको अनुभवले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा नजिकबाट बुझ्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ ।  विदेशी खेलाडीको नाम र अनुभव हेर्दा कुनै टोली ब्याटिङमा, कुनै अलराउन्ड क्षमतामा र कुनै बलिङमा बलियो देखिन्छ । यद्यपि चर्चित खेलाडी टोलीमा हुनु मात्रै उपाधिको ग्यारेन्टी होइन । उनीहरूको उपलब्धता, नेपाली खेलाडीसँगको तालमेल, कीर्तिपुरको पिच र खेलको दबाब सम्हाल्ने क्षमताले नतिजा निर्धारण गर्नेछ ।  काठमाडौं गोर्खाजको वार्नरमाथि विश्वास  डेभिड वार्नर काठमाडौं गोर्खाजका सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् ।  उनी अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ को टी–२० विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।  पावरप्लेमा आक्रामक सुरुआत, तीव्र गतिमा रन बनाउने क्षमता र ठूला प्रतियोगिताको अनुभव उनीसँग छ । वार्नरले राम्रो सुरुआत दिलाएमा गोर्खाजको मध्यक्रममाथिको दबाब घट्न सक्छ । काठमाडौंको गोर्खाजले चार जना विदेशी खेलाडी भित्र्याएको छ ।  कर्णाली याक्स : मिलरको विस्फोटक ब्याटिङ र फरहानको रन बनाउने क्षमता डेभिड मिलर यस पटकको एनपीएलमा कर्णाली याक्सबाट खेल्दैछन् । मिलर टी-२० क्रिकेटका अनुभवी मध्यक्रमका ब्याटर हुन् । उनले ५८४ टी-२० खेलमा १२ हजारभन्दा बढी रन बनाएका छन् । दक्षिण अफ्रिकाका लागि उनले १८० एकदिवसीय र १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।  दबाबमा रन बनाउने, स्पिन र तीव्र गतिका बलरविरुद्ध आक्रामक खेल्ने तथा अन्तिम ओभरमा खेलको दिशा बदल्ने क्षमता उनीसँग छ । कर्णालीले पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलतलाई पनि अनुबन्ध गरेको छ । फरहानले १८६ टी–२० खेलमा ५ हजार ७७५ रन बनाएको विवरण छ। उनको स्ट्राइक रेट १४० भन्दा माथि छ । उनी रन बनाउने क्षमताका कारण टोलीका महत्वपूर्ण ब्याटर हुन सक्छन् ।  हुसेन तलत पाकिस्तानका अलराउन्डर हुन् ।  उनले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिन सक्छन् । मिलरको अनुभव, फरहानको रन बनाउने क्षमता र तलतको अलराउन्ड भूमिकाले कर्णालीको ब्याटिङलाई बलियो बनाउने सम्भावना छ । कर्णालीले ६ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।  विराटनगर किंग्स : रसेलको शक्ति र असलंकाको ब्याटिङ वेस्ट इन्डिजका आन्द्रे रसेल विराटनगरबाट खेल्दैछन् । रसेल विश्व क्रिकेटका चर्चित टी–२० अलराउन्डर हुन् । उनले वेस्ट इन्डिजलाई सन् २०१२ र २०१६ को टी–२० विश्वकप जिताउन योगदान दिएका थिए । उनले ६११ टी–२० खेलमा ९ हजार ९३३ रन बनाएका छन् र उनको स्ट्राइक रेट १६६ भन्दा माथि छ ।  छक्का प्रहार गर्ने क्षमता, तीव्र गतिका बलिङ, अन्तिम ओभरमा रन बनाउने र बलिङबाट विकेट लिने क्षमता उनीसँग छ । विराटनगरले श्रीलंकाका चरिथ असलंकालाई पनि टोलीमा भित्र्याएको छ । असलंका ब्याटिङमा भरपर्दा खेलाडी हुन् र आवश्यक पर्दा अलराउन्ड भूमिका पनि निभाउन सक्छन् ।  श्रीलंकाका पूर्व कप्तान एन्जेलो म्याथ्युजको अनुभव तथा अमेरिकी अलराउन्डर शुभम रञ्जने र श्रीलंकाली मूलका अमेरिकी ब्याटर शेहान जयसूर्याको उपस्थितिले टोलीमा विविधता थप्ने देखिन्छ ।     विराटनगरको मुख्य शक्ति ब्याटिङमा देखिन्छ। रसेलले मध्यक्रममा विस्फोटक रन बनाउन सके र असलंकाले इनिङ सम्हाले भने टोलीले ठूलो योगफल बनाउन सक्छ । तर, तीव्र गतिका बलर र स्पिनरविरुद्धको प्रदर्शनले यसको वास्तविक सन्तुलन निर्धारण गर्नेछ । विराटनगरले ८ जना विदेशी खेलाडी भित्र्याएको छ ।  शकिबको अलराउन्ड अनुभवमा पोखरा एभेन्जर्स बंगलादेशका शकिब अल हसन अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी अलराउन्डर हुन् । उनले ४८३ टी-२० खेलमा ७ हजार ८८४ रन बनाउनुका साथै ५२१ विकेट लिएका छन् । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले उनी टोलीका बहुउपयोगी खेलाडी हुन् ।  स्पिन बलिङ, मध्यक्रममा रन बनाउने क्षमता, खेलको गति नियन्त्रण र अनुभवका आधारमा रणनीति लागू गर्ने खुबी उनीमा छ । पोखराले बंगलादेशकै महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका धनञ्जय लक्षान र चमिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ ।  महेदी स्पिन बलिङका विकल्प हुन् भने सैफुद्दिन तीव्र गतिका बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन् । लक्षान र करुणारत्नेले अलराउन्ड क्षमता थप्छन् । यसले पोखरालाई ब्याटिङ र बलिङ दुवैमा खेलको परिस्थितिअनुसार टोली संयोजन बदल्ने अवसर दिन्छ । विदेशी खेलाडीले भरियो जनकपुर बोल्ट्स  जनकपुर बोल्ट्सले ११ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा सबैभन्दा प्रभावशाली खेलाडी हुन् इंग्ल्यान्डका मोइन अली । उनी इंग्ल्यान्डका अनुभवी अलराउन्डर हुन् । उनी सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी-२० विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए । बायाँहाते ब्याटिङ, अफ स्पिन, मध्यक्रममा रन बनाउने क्षमता र खेलको अवस्थाअनुसार भूमिका बदल्न सक्ने अनुभव उनीसँग छ । जनकपुरले न्युजिल्यान्डका जिमी निशम, पाकिस्तानका इफ्तिखार अहमद, अमेरिकी अलराउन्डर हरमित सिंह र पाकिस्तानका तीव्र गतिका बलर हुनेन शाहलाई पनि अनुबन्ध गरेको छ ।  निशम जनकपुरका लागि अपरिचित खेलाडी होइनन् । पहिलो संस्करणमा उनले नौ खेलमा २४७ रन बनाएका थिए र उनको स्ट्राइक रेट प्रतियोगिताकै उच्चमध्ये एक, करिब १९६ रहेको थियो । यसले उनलाई तीव्र गतिमा रन बनाउने क्षमताका लागि परिचित गराउँछ ।  इफ्तिखारको मध्यक्रमको ब्याटिङ, हरमितको अलराउन्ड क्षमता र हुनेनको तीव्र गतिका बलिङले जनकपुरलाई फरक परिस्थितिमा विकल्प दिन सक्छ । पहिलो संस्करणको उपाधि जितेको टोली भएकाले जनकपुरको लक्ष्य यसपटक पनि आफ्नो प्रतिस्पर्धात्मक क्षमता कायम राख्नु हुनेछ ।  रदरफोर्डको म्याच फिनिसिङ भरोसमा सुदूरपश्चिम रोयल्स रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले क्यारेबियन प्रिमियर लिग सन् २०२१ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स तथा पाकिस्तान सुपर लिगमा कराँची किंग्सको उपाधि जित्ने टोलीबाट खेलेका थिए । उनले २८३ टी–२० खेलमा ५ हजार ९० रन बनाएका छन् ।  मध्यक्रममा आक्रामक ब्याटिङ, छक्का प्रहार गर्ने क्षमता र कठिन अवस्थामा खेललाई अन्तिमसम्म पु¥याउने खुबी उनीसँग छ । सुदूरपश्चिमले न्युजिल्यान्डका स्कट कुगेलेन, इंग्ल्यान्डका सैफ जैब र स्कटल्यान्डका ब्रान्डन म्याकमुलनलाई पनि अनुबन्ध गरेको छ ।  कुगेलेन तीव्र गतिका बलर हुन् । जैब र म्याकमुलन अलराउन्डरका रूपमा ब्याटिङ तथा बलिङ दुवैमा योगदान दिन सक्छन् । पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमका लागि यो संयोजन उपाधिको दाबेदारी बलियो बनाउने आधार हुन सक्छ । तर, लगातार तेस्रो पटक फाइनल पुग्न टोलीले नेपाली खेलाडीसँग विदेशी खेलाडीको तालमेल राम्रो बनाउनुपर्नेछ । लुम्बिनी लायन्स : उपाधि जोगाउने लक्ष्य, विविध बलिङ विकल्प लुम्बिनी लायन्सको सबैभन्दा भरपर्दो र प्रभावशाली विदेशी खेलाडी हुन् नामिबियाका रुबेन ट्रम्पलम्यान । ट्रम्पलम्यान बायाँहाते तीव्र गतिका बलर हुन् । उनी अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये एक थिए र लुम्बिनीले उनलाई टोलीमा निरन्तरता दिएको छ ।  नयाँ बलबाट दबाब सिर्जना गर्ने, बायाँहाते कोणबाट बलिङ गर्ने र विपक्षी ब्याटरलाई नियन्त्रणमा राख्ने क्षमता उनीसँग छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनीले श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डार्सी सर्ट र नामिबियाका ट्रम्पलम्यानलाई निरन्तरता दिएको छ । टोलीमा बंगलादेशका अलराउन्डर शमिम हुसेन र अमेरिकी अलराउन्डर शेड्ली भान शाल्कविक पनि थपिएका छन् ।   डिकवेला विकेटकिप-ब्याटर हुन् भने सर्ट आक्रामक ब्याटिङ र अलराउन्ड क्षमताका लागि परिचित छन् । शमिम र शेड्लीको उपस्थितिले लुम्बिनीलाई थप अलराउन्ड विकल्प दिन्छ । अघिल्लो संस्करणको उपाधि जितिसकेको टोली भएकाले लुम्बिनीको मुख्य चुनौती आफ्नो सफल संयोजन कायम राख्दै प्रतिस्पर्धी टोलीको नयाँ रणनीतिसँग जुध्नु हुनेछ । चितवन राइनोजमा देखिनेछ सिकन्दर रजाको बहुआयामिक क्षमता जिम्बाब्वेका सिकन्दर रजा अन्तर्राष्ट्रिय क्रिकेटका स्थापित अलराउन्डर हुन् । उनी जिम्बाब्वेका लागि ब्याटिङ र बलिङ दुवैमा योगदान दिन्छन् र विश्वभरका विभिन्न टी-२० फ्रेन्चाइज प्रतियोगितामा खेलेका छन् ।  मध्यक्रमको ब्याटिङ, स्पिन बलिङ, खेलको परिस्थिति बुझेर प्रदर्शन गर्ने क्षमता र अन्तर्राष्ट्रिय अनुभव उनीसँग छ । चितवनले इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारा र क्यानडाका बायाँहाते तीव्र गतिका बलर कलीम सानालाई पनि टोलीमा राखेको छ ।  बोपराको अनुभवले मध्यक्रम र अलराउन्ड भूमिकामा विकल्प दिन सक्छ भने सानाले तीव्र गतिका बलिङमा योगदान दिन सक्छन् । रजाको ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने क्षमताले चितवनलाई खेलको परिस्थितिअनुसार रणनीति परिवर्तन गर्न मद्दत गर्नेछ । यसपटकको एनपीएलमा विदेशी खेलाडीको प्रभाव केवल उनीहरूले बनाउने रन वा लिने विकेटमा सीमित रहने छैन । विश्वस्तरीय खेलाडीको तयारी, दबाबमा निर्णय गर्ने शैली, बलिङमा विविधता र खेल रणनीतिबारे नेपाली खेलाडीले प्रत्यक्ष अनुभव लिन पाउनेछन् ।  यस संस्करणमा आईसीसीको आधिकारिक टी-२० मान्यता प्राप्त भएकाले खेलाडीको प्रदर्शन आधिकारिक टी–२० करिअर तथ्याङ्कमा पनि गणना हुनेछ । टोलीहरूले बढीमा आठ विदेशी खेलाडी दर्ता गर्न पाउने भए पनि एकै खेलमा प्लेइङ–११ मा बढीमा चार विदेशी खेलाडी मात्र राख्न सक्छन् । त्यसैले कुन विदेशी खेलाडीलाई कुन खेलमा उतार्ने भन्ने निर्णय पनि टोलीका लागि महत्वपूर्ण हुनेछ ।  कुन टिममा कुन खेलाडी ?  काठमाडौं गोर्खाज     १. डेभिड वार्नर–अस्ट्रेलिया २. केएस भरत–भारत ३. सहान आराच्चिगे–श्रीलंका ४. साम हेजलेट–अस्ट्रेलिया कर्णाली याक्स     १. डेभिड मिलर–दक्षिण अफ्रिका २. साहिबजादा फरहान–पाकिस्तान ३. हुसेन तलत–पाकिस्तान ४. मार्क वाट–स्कटल्यान्ड ५. अरिफुल इस्लाम–बंगलादेश ६. अकबर अली–बंगलादेश विराटनगर किंग्स     १. आन्द्रे रसेल–वेस्ट इन्डिज २. चरिथ असलांका–श्रीलंका ३. मार्टिन गप्टिल–न्युजिल्यान्ड ४. आकिब इलियास–ओमान ५. क्रिस सोल–कटल्यान्ड ६. निकोलस किर्टन–क्यानडा ७. इस्मत आलम–अफगानिस्तान ८. शुभम रञ्जने –अमेरिका पोखरा एभेन्जर्स १. शकिब अल हसन–बंगलादेश २. महेदी हसन–बंगलादेश ३. मोहम्मद सैफुद्दिन–बंगलादेश ४. धनञ्जय लक्षान–श्रीलंका ५. चमिका करुणारत्ने –श्रीलंका जनकपुर बोल्ट्स     १. मोइन अली–इंग्ल्यान्ड २. जिमी निशम–न्युजिल्यान्ड ३. इफ्तिखार अहमद–पाकिस्तान ४. हरमित सिंह–अमेरिका ५. हुनेन शाह–पाकिस्तान ६. इमरान ताहिर–दक्षिण अफ्रिका ७. वेन पार्नेल–दक्षिण अफ्रिका ८. सोहैब मकसुद–पाकिस्तान ९. निकोल लोफ्टी–इटन–नामिबिया १०. हर्ष ठाकर–क्यानडा ११. माज सदाकत–पाकिस्तान सुदूरपश्चिम रोयल्स     १. शेरफेन रदरफोर्ड–वेस्ट इन्डिज २. सैफ जैब    –इंग्ल्यान्ड ३. स्कट कुगेलेन–न्युजिल्यान्ड ४. ब्रान्डन म्याकमुलन–स्कटल्यान्ड लुम्बिनी लायन्स     १. निरोशन डिकवेला–श्रीलंका २. डार्सी सर्ट–अस्ट्रेलिया ३. रुबेन ट्रम्पलम्यान–नामिबिया ४. शमिम हुसेन–बंगलादेश ५. शेड्ली भान शाल्कविक–मेरिका चितवन राइनोज     १. सिकन्दर रजा– जिम्बाब्वे २. रवि बोपारा– इंग्ल्यान्ड ३. कलीम साना–क्यानडा ४. चमिका करुणारत्ने –श्रीलंका ५. उसामा मिर–पाकिस्तान

दोस्रो पटक च्याम्पियन बन्ने दाउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्स तेस्रो सिजनमा पनि च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । पहिलो पटक उपाधि जितेर आफ्नो क्षमता प्रमाणित गरिसकेको लुम्बिनी यसपटक पनि उपाधि जोगाउने योजनामा छ । त्यसका लागि उसले नेपाली खेलाडीको मुख्य समूहलाई निरन्तरता दिँदै विदेशी खेलाडीसमेत भित्र्याएको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमै लुम्बिनीले गत संस्करणको फाइनल प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । गत सिजनको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक उपाधि जितेको थियो । त्यसैले यसपटकको उद्घाटन खेल लुम्बिनीका लागि उपाधि रक्षाको अभियान सुरु गर्ने अवसर मात्रै नभई पुरानो प्रतिद्वन्द्वीसँग आफ्नो क्षमता पुनः प्रमाणित गर्ने परीक्षा पनि हुनेछ । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनीको सफलताको मुख्य आधार सामूहिक प्रदर्शन थियो । कप्तान रोहित पौडेलको नेतृत्व, बलरहरूको प्रभावकारी प्रदर्शन र दबाबपूर्ण अवस्थामा पनि सम्हालिएर खेल्ने क्षमताले टोलीलाई उपाधिसम्म पु¥याएको थियो । फाइनलमा सुदूरपश्चिमलाई केवल ८५ रनमा समेट्न रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान तीन विकेट लिएका थिए । त्यसपछि लुम्बिनीले नौ ओभरमै लक्ष्य पूरा गर्दै उपाधि जितेको थियो । फाइनलमा दिनेश अधिकारीले १३ बलमा ४२ रन बनाउँदै आक्रामक ब्याटिङ गरेका थिए ।  अघिल्लो संस्करणको यही प्रदर्शनले लुम्बिनीलाई यसपटक पनि बलियो दाबेदारका रूपमा उभ्याएको छ । तर उपाधि रक्षा गर्नु उपाधि जित्नुभन्दा कम चुनौतीपूर्ण हुँदैन । अन्य टोलीले पनि आफ्नो कमजोरी सुधार्दै अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी भित्र्याएकाले लुम्बिनीले पुरानो सफलतालाई दोहो¥याउन निरन्तर राम्रो प्रदर्शन गर्नुपर्नेछ । रोहित पौडेलको नेतृत्व लुम्बिनीको टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान रोहित पौडेल मुख्य खेलाडीका रूपमा छन् । ब्याटिङमा जिम्मेवारी सम्हाल्न सक्ने र आवश्यक पर्दा बलिङसमेत गर्न सक्ने रोहितको नेतृत्व टोलीका लागि महत्त्वपूर्ण हुनेछ । टोलीमा सन्दीप जोरा, आसिफ शेख, दिलीप नाथ, आकाश त्रिपाठी, शेर मल्ल, दिनेश अधिकारी, तिलक भण्डारी, अभिषेक गौतम, किशोर महतो, दुर्गेश गुप्ता, अर्निको यादव र अजय चौहानलगायत नेपाली खेलाडी छन् ।  आसिफ शेख र दिलीप नाथ विकेटकिपिङ तथा ब्याटिङका विकल्प हुन् । सन्दीप जोरा आक्रामक ब्याटिङका लागि उपयोगी हुन सक्छन् भने शेर मल्लले बलिङ र अलराउन्ड प्रदर्शनमार्फत टोलीलाई योगदान दिन सक्छन् । दिनेश अधिकारीले अघिल्लो संस्करणको फाइनलमा देखाएको आक्रामक ब्याटिङ पनि टोलीका लागि सकारात्मक पक्ष हो । नेपाली खेलाडीको प्रदर्शनमा निरन्तरता कायम रहन सके विदेशी खेलाडीमाथिको निर्भरता कम गर्न र टोलीको समग्र सन्तुलन कायम राख्न लुम्बिनीलाई सहज हुनेछ । आठ विदेशी खेलाडी भित्र्यायो लुम्बिनीले उपलब्ध गराइएको विदेशी खेलाडी सूचीअनुसार आठ खेलाडीलाई टोलीमा समावेश गरेको छ । यसमा ब्याटिङ, तीव्र बलिङ र अलराउन्ड प्रदर्शन गर्न सक्ने खेलाडी छन् । १. रुबेन ट्रम्पेलम्यान- नामिबिया   २. निरोशन डिकवेला- श्रीलङ्का   ३. डी’आर्सी शर्ट- अस्ट्रेलिया   ४. गुलबदिन नाइब- अफगानिस्तान   ५. थोमस ड्राका- इटाली   ६. शाड्ली भान शाल्कविक - अमेरिका   ७. जे जे स्मिट-  नामिबिया   ८. मोभिन सुबासिङ्घे- श्रीलङ्का   यी खेलाडीको भूमिका फरक-फरक भएकाले टोलीले परिस्थितिअनुसार ब्याटिङ र बलिङको संयोजन मिलाउन सक्नेछ । यद्यपि, आठै खेलाडीको अन्तिम दर्ता तथा उपलब्धता प्रतियोगिताको आधिकारिक विवरणबाट पुष्टि गर्नुपर्नेछ । अस्ट्रेलियाका डी’आर्सी शर्ट आक्रामक ओपनिङ ब्याटिङ र स्पिन बलिङ गर्न सक्ने खेलाडी हुन् । श्रीलङ्काका निरोशन डिकवेला विकेटकिपर ब्याटर हुन् । उनले शीर्षक्रममा आक्रामक ब्याटिङ गर्न सक्छन् । नामिबियाका रुबेन ट्रम्पेलम्यान बायाँहाते तीव्र गतिका बलर हुन् । उनले नयाँ बलबाट विकेट लिने र डेथ ओभरमा दबाब सिर्जना गर्ने क्षमता राख्छन् । नामिबियाकै जे जे स्मिट अलराउन्डर हुन् । अफगानिस्तानका गुलबदिन नाइब पनि ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन् । अमेरिकाको प्रतिनिधित्व गर्ने शाड्ली भान शाल्कविकले सन् २०२६ को टी–२० विश्वकपमा उत्कृष्ट बलिङ गरेका थिए । उनले चार इनिङ्समा १३ विकेट लिएका थिए । लुम्बिनीले उनलाई भित्र्याउनुको एउटा प्रमुख कारण उनको यही प्रभावकारी प्रदर्शन हो ।  थोमस ड्राका बलर हुन् भने श्रीलङ्काका मोभिन सुबासिङ्घे अलराउन्डर हुन् । यी खेलाडीले आफ्नो क्षमताअनुसार योगदान दिन सके लुम्बिनीको टोलीलाई थप विकल्प उपलब्ध हुनेछ । लुम्बिनीका सबल पक्ष लुम्बिनीको पहिलो सबल पक्ष अघिल्लो संस्करणको उपाधि जितेको अनुभव हो । दबाबपूर्ण अवस्थामा कसरी खेल्ने र निर्णायक खेलमा कसरी प्रदर्शन गर्ने भन्ने अनुभव टोलीसँग छ । दोस्रो पक्ष कप्तान रोहित पौडेलको नेतृत्व हो । नेपाली राष्ट्रिय टोलीको अनुभव भएका रोहितले ब्याटिङसँगै खेलको रणनीति र मैदानमा खेलाडी परिचालनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । तेस्रो पक्ष नेपाली र विदेशी खेलाडीबीचको संयोजन हो । डी’आर्सी शर्ट, निरोशन डिकवेला र गुलबदिन नाइबजस्ता ब्याटिङ गर्न सक्ने खेलाडी तथा ट्रम्पेलम्यान र शाड्लीजस्ता बलरले आफ्नो क्षमताअनुसार योगदान दिन सके टोलीको सन्तुलन बलियो हुन सक्छ । चौथो पक्ष बलिङ हो । अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले देखाएको प्रदर्शनले उसको बलिङ क्षमता प्रमाणित गरेको थियो । शेर मल्ल, ट्रम्पेलम्यान र रोहित पौडेलको प्रभावकारी बलिङले सुदूरपश्चिमलाई कम स्कोरमा रोकेको थियो । यसपटक पनि बलरहरूले त्यही लय कायम राख्न सके लुम्बिनीलाई फाइदा पुग्नेछ । कमजोरी र चुनौती पनि कम छैनन् उपाधि रक्षा गर्ने अभियानमा लुम्बिनीका लागि सबैभन्दा ठूलो चुनौती प्रदर्शनमा निरन्तरता कायम राख्नु हुनेछ । विदेशी खेलाडीको नाम र अनुभव मात्रले खेल जितिँदैन । उनीहरूले नेपाली खेलाडीको शैली बुझ्ने, मैदानको अवस्था अनुकूल खेल्ने र टोलीको योजनाअनुसार प्रदर्शन गर्ने क्षमता देखाउनुपर्छ । त्यस्तै, शीर्षक्रमको ब्याटिङमा सुरुआती विकेट छिटो गुमे टोली दबाबमा पर्न सक्छ । मध्यक्रमले जिम्मेवारी सम्हाल्नु र डेथ ओभरमा रन बनाउनु पनि उत्तिकै आवश्यक हुनेछ । बलिङमा सुरुआती विकेट लिनुका साथै अन्तिम ओभरमा रन नियन्त्रण गर्न सके लुम्बिनीको सम्भावना बलियो हुनेछ । आठ विदेशी खेलाडी टोलीमा रहे पनि प्लेइङ-११ मा सबैलाई खेलाउन पाइँदैन । त्यसैले उपलब्ध खेलाडीमध्ये परिस्थितिअनुसार उपयुक्त संयोजन छान्नु प्रशिक्षक र व्यवस्थापनका लागि महत्त्वपूर्ण निर्णय हुनेछ । पहिलो खेलमै पुरानो प्रतिद्वन्द्वीसँग परीक्षा कात्तिक ९ गते हुने उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । गत संस्करणको फाइनलमा पराजित सुदूरपश्चिम यसपटक बदला लिने लक्ष्यमा हुनेछ भने लुम्बिनी विजयी सुरुआत गर्दै उपाधि रक्षा अभियानलाई गति दिन चाहन्छ । सुदूरपश्चिमसँग पनि अनुभवी नेपाली र विदेशी खेलाडी छन् । त्यसैले उद्घाटन खेलमा दुवै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । लुम्बिनीका लागि ब्याटिङमा राम्रो सुरुआत, बलिङमा अनुशासित प्रदर्शन र फिल्डिङमा गल्ती कम गर्नु निर्णायक हुन सक्छ । एनपीएलको तेस्रो संस्करणमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदै गर्दा लुम्बिनीको लक्ष्य उपाधि जोगाउनु मात्रै होइन, अघिल्लो संस्करणको सफलता संयोग नभएको प्रमाणित गर्नु पनि हुनेछ । रोहित पौडेलको नेतृत्व, नेपाली खेलाडीको योगदान र विदेशी खेलाडीको अनुभव एकै ठाउँमा मिल्न सके लुम्बिनी फेरि उपाधिको बलियो दाबेदार बन्न सक्छ । तर, त्यो लक्ष्य पूरा गर्न टोलीले नाम चलेका खेलाडीको उपस्थितिलाई मैदानमा नतिजामा बदल्नुपर्नेछ । सुदूरपश्चिमविरुद्धको पहिलो खेलले लुम्बिनीको तयारी, टोलीको सन्तुलन र उपाधि रक्षा गर्ने सम्भावनाको प्रारम्भिक संकेत दिनेछ ।  

एनपीएल तेस्रो सिजन जित्नैपर्ने दबाबमा सुदूरपश्चिम रोयल्स

काठमाडौं । नेपाली क्रिकेट प्रशंसकहरूको लामो प्रतीक्षालाई अन्त्य गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भव्य रूपमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यसपटकको प्रतियोगिता नेपाली घरेलु क्रिकेट इतिहासकै सबैभन्दा आधुनिक, व्यावसायिक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएपछि प्रतियोगिताको पहिलो दिनदेखि नै क्रिकेट पारखीहरूले रोमाञ्चक खेलको आनन्द लिन पाउने भएका हुन् ।  अघिल्लो सिजनको सनसनीपूर्ण फाइनल भिडन्तमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको थियो । त्यसैले कात्तिक ९ गते हुने उद्घाटन भिडन्त केवल प्रतियोगिताको सुरुवात मात्र नभई सुदूरपश्चिमका लागि अघिल्लो सिजनको हारको बदला लिने र लुम्बिनीका लागि आफ्नो विजेताको साख जोगाउने प्रतिष्ठाको लडाइँ बन्नेछ ।  दुवै टोलीमा अन्तर्राष्ट्रिय स्तरका विदेशी स्टार र राष्ट्रिय टोलीका प्रभावशाली नेपाली खेलाडीहरूको उपस्थिति रहेकाले पहिलो खेल नै फाइनल सरह कडा र रोमान्चक हुने अनुमान गरिएको छ । यसपटकको एनपीएल क्रिकेटप्रेमीहरूका लागि थप खास हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दिएको औपचारिक मान्यता हो । आईसीसीको स्वीकृतिसँगै एनपीएलका सबै खेलहरूले आधिकारिक टी–२० हैसियत प्राप्त गरेका छन्, जसका कारण प्रतियोगितामा खेलाडीहरूले बनाउने व्यक्तिगत तथा टोलीगत कीर्तिमानहरू अब आइसीसीको आधिकारिक तथ्याङ्क मा दर्ता हुनेछन् । यस मान्यताले गर्दा विश्भरका स्थापित क्रिकेट बोर्डहरूबाट खेलाडीहरूलाई एनपीएल खेल्न नो अब्जेक्सन सर्टिफिकेट लिन सहज हुनुका साथै नेपाली घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान मिलेको छ ।  नेपाली क्रिकेट इतिहासमा अर्को ठूलो प्राविधिक फड्को मार्दै यस सिजनदेखि एनपीएलमा पहिलोपटक डिआरएस प्रविधिको प्रयोग गरिँदैछ । मैदानमा हुने अम्पायरिङका विवादित निर्णयहरूलाई सच्याउन र खेललाई पूर्ण रूपमा पारदर्शी तथा निष्पक्ष बनाउन डिआरएस सुविधा कोसेढुङ्गा साबित हुनेछ ।  विश्भरका ठूला लिगहरूमा प्रयोग हुने आधुनिक क्यामेरा, अल्ट्राएज र बल–ट्याकिङ प्रविधिसहितको डिआरएसले खेलको गुणस्तर बढाउनुका साथै नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरको खेल वातावरणसँग घुलमिल हुन ठूलो मद्दत पुर्याउनेछ ।  यसअघिका दुवै संस्करणमा सानदार प्रदर्शन गर्दै उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्स यसपटक भने कुनै पनि हालतमा ट्रफी चुम्ने दृढ सङ्कल्पका साथ मैदानमा उत्रिँदैछ । उद्यमी स्वतन्त्र प्रताप शाहको स्वामित्व र पूर्वराष्ट्रिय मुख्य प्रशिक्षक जगत टमाटाको अनुभवी मार्गदर्शनमा रहेको सुदूरपश्चिमले यस सिजनका लागि टोलीको सन्तुलनमा विशेष ध्यान दिएको छ ।  टोलीले विश्वप्रसिद्ध विदेशी स्टारहरूसँगै घरेलु क्रिकेटमा छाप छाडेका प्रतिभावान युवा खेलाडीहरूलाई समेटेर उपाधि जित्न सक्ने मजबुत सेट तयार पारेको छ । सुदूरपश्चिमको विदेशी खेलाडीको सूची निकै आक्रामक र सन्तुलित देखिन्छ । टोलीमा वेस्ट इन्डिजका विष्फोटक ब्याटर तथा म्याच फिनिसर शेरफेन रदरफोर्ड, अघिल्लो सिजनका सर्वश्रेष्ठ खेलाडी घोषित इङ्गल्याण्डका अलराउन्डर सैफ अली जेब, न्युजिल्याण्डका तीव्र गतिबलर स्कट कुगेलेन तथा स्कटल्याण्डका भरपर्दा अलराउन्डर ब्रान्डन म्याकमुलन जोडिएका छन् । यसका साथै शीर्ष क्रममा टोलीलाई आक्रामक सुरुवात दिलाउन अस्ट्रेलियाका क्रिस लिन र जोस ब्राउनजस्ता अन्तर्राष्ट्रिय टी–२० विशेषज्ञहरूको उपस्थितिले सुदूरपश्चिमको ब्याटिङ आक्रमणलाई निकै भरपर्दो बनाउने देखिन्छ ।  नेपाली खेलाडीहरूको उपस्थितिमा पनि सुदूरपश्चिम रोयल्स उत्तिकै बलियो र परिपक्व देखिएको छ । टोलीको नेतृत्व राष्ट्रिय टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन् भने मुख्य नेपाली खेलाडीका रूपमा अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, डेथ ओभर विशेषज्ञ अविनाश बोहरा, नरेन साउद र हेमन्त धामी रहेका छन् । यसका साथै अक्सन र ट्यालेन्ट हन्टमार्फत टोलीमा भित्रिएका अनिल खरेल, दीपक बोहरा, मिलन बोहरा, टेक रावत, दीपेन्द्र थापा, सचिन भट्ट, आयुव चन्द र हिक्मत महराजस्ता युवा प्रतिभाहरूले टोलीको बेन्च स्ट्रेन्थलाई थप मजबुत बनाएका छन् ।  सुदूरपश्चिम रोयल्स यस सिजनको सबैभन्दा सन्तुलित र उपाधिको बलियो दावेदार टोलीका रूपमा खडा भएको छ । दीपेन्द्र सिंह ऐरी र शेरफेन रदरफोर्डजस्ता खेलाडीको उपस्थितिले टोलीको फिनिसिङ लाइन-अप मजबुत छ भने स्कट कुगेलेन र अविनाश बोहराको पेस जोडीले पावरप्ले र डेथ ओभरमा विपक्षी ब्याटरहरूलाई दबाबमा राख्न सक्छ । यदि टोलीले अघिल्ला संस्करणहरूमा फाइनलमा भोगेको दबाबलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यो भने, आइसीसीको मान्यता र डिआरएस प्रविधिसहित सुरु हुन लागेको यो ऐतिहासिक एनपीएलको ट्रफी पहिलोपटक सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा लेख्ने सम्भावना निकै प्रबल छ ।