युद्ध समाप्त गर्ने ट्रम्पको घोषणा इरानले गर्‍यो अस्वीकार

काठमाडौं । एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताएअनुसार तेहरानले संयुक्त राज्य अमेरिकाबाट युद्धविरामको कुनै औपचारिक प्रस्ताव प्राप्त नगरेको बताएका छन् ।  इजरायल वा वाशिंगटनसँग शत्रुता रोक्ने कुनै कारण नदेखेको उनको भनाइ छ । विवादास्पद कामले कुनैपनि सम्भावित युद्धविरामको कार्यान्वयन र स्थायित्वको बारेमा प्रश्न उठाएको उनको भनाइ छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार साँझ घोषणा इजरायल र इरान पूर्ण युद्धविराम लागू गर्न औपचारिक सम्झौतामा पुगेका घोषणा गरेका थिए । जसलाई उनले १२–दिने युद्धको अन्त्य रुपमा वर्णन गरेका छन् ।   

इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

काठमाडौं । इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्राष्ट्रिय हवाई उडानहरूका लागि हवाई मार्ग पुनः खोलिएको घोषणा गरेको छ ।  प्राधिकरणले मङ्गलबार बिहान जारी गरेको विज्ञप्तिमा यो निर्णय सुरक्षाको व्यापक मूल्याङ्कन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँगको समन्वय पश्चात् गरिएको जनाएको छ  ।  प्राधिकरणका अध्यक्ष बाङ्गिन रेकार्नीका अनुसार, इराकको हालको सुरक्षा स्थिति हवाई उडान सञ्चालनका लागि पर्याप्त विश्वसनीय रहेको छ ।  उनले भने, ‘हवाई मार्ग पुनः सञ्चालनमा आएसँगै इराकको भौगोलिक महत्व थप मजबुत हुने विश्वास गरिएको छ, जसले पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो मार्गको रूपमा इराकको भूमिका बढाउनेछ । साथै, यसले वैश्विक उडानहरूको समय र इन्धन खर्च पनि घटाउनेछ ।’ इराकले यसअघि जुन १३ मा सुरु भएको इजरायल–इरान द्वन्द्वपछि सम्भावित जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरूका लागि हवाई मार्ग अस्थायी रूपमा बन्द गरेको थियो ।  हाल सुरक्षात्मक मूल्याङ्कनका आधारमा सकारात्मक सुधार देखिएको भन्दै प्राधिकरणले हवाई मार्ग पुनः सञ्चालनमा ल्याउने निर्णय लिएको हो ।

अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान

काठमाडौं । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि पश्चिमी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरू लगाए । विश्वमा सबैभन्दा बढी प्रतिबन्ध रुसमाथि नै छन् । तर यस्ता कडा प्रतिबन्धका बाबजुद पनि यसको अर्थतन्त्र अझै बलियो बनेको छ । सरकारी तथ्यांकअनुसार २०२४ मा रुसको अर्थतन्त्र ४.३ प्रतिशतले बढेको छ, जुन जी-७ समूहका सबै देशहरूभन्दा धेरै हो । जी-७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समावेश छन् । गत वर्ष बेलायतको अर्थतन्त्र १.१ प्रतिशत र अमेरिकाको अर्थतन्त्र २.८ प्रतिशतले मात्र वृद्धि भएको थियो । प्रश्न उठ्छ- पश्चिमी प्रतिबन्धहरूका बाबजुद रुसको अर्थतन्त्र कसरी चाँडो बढ्यो ?   रुसले युरोपतर्फ जाने तेलको आपूर्ति चीन र भारततर्फ मोडिदिएको छ । भारत र चीन दुबैले ठूलो परिमाणमा रुसबाट तेल आयात गरिरहेका छन् । पछिल्ला वर्षहरूमा रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । साथै रुसको मुद्रा ‘रुबल’ यस वर्ष विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बनेको छ । बैंक अफ अमेरिकाका अनुसार यसको मूल्यमा ४० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । तर बीबीसीको एउटा रिपोर्टअनुसार यस वर्ष रुसका लागि अवस्था त्यति राम्रो छैन । देशभित्र महँगी लगातार बढ्दो क्रममा छ । रुसमा महँगी दर ९.९ प्रतिशत पुगेको छ । साथै ब्याजदर बढेर २० प्रतिशतसम्म पुगेको छ ।  कम्पनीहरूले आवश्यक कर्मचारी पाउन सकेका छैनन् । रुसका वित्तमन्त्रीले चेतावनी दिएका छन् कि देश ओभरहीटिङ (अत्यधिक वृद्धि) पछि मन्दीको नजिक पुगेको छ । पश्चिमी प्रतिबन्धहरूले आयातको मूल्य बढाएको छ भने श्रमिकको अभावका कारण मजदुरी पनि महँगो भएको छ । सरकारी तथ्यांकअनुसार २०२४ को अन्त्यसम्म देशमा झण्डै २६ लाख श्रमिकको कमी थियो । यसको मुख्य कारण ठूलो संख्यामा मानिसहरू युक्रेनसँगको युद्धमा पठाइएका छन् वा युद्धबाट जोगिन विदेश भागेका छन् ।  केन्द्रीय बैंकले बढ्दो महँगीलाई नियन्त्रण गर्न यस वर्ष ब्याजदर रेकर्ड स्तरसम्म बढाएको छ । तर यसले कम्पनीहरूले लगानीका लागि आवश्यक पुँजी जुटाउन झन् महँगो बनाएको छ ।  प्रतिबन्ध र कमजोर मूल्यका कारण रुसको तेल र ग्यासबाट हुने आम्दानीमा गिरावट आएको छ । सरकारी तथ्यांकअनुसार मे महिनामा यो गत वर्षको तुलनामा ३५ प्रतिशत कम भएको छ ।