अस्ट्रेलियाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताएका छन् । यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिने तयारीबारे बताएका छन् । अल्बानिजका अनुसार प्यालेस्टाइन प्राधिकरण (पीए) ले अस्ट्रेलियासँग केही प्रतिबद्धता जनाएका छन्, जसमा सेना र हतियारको संख्यामा कमी ल्याउने, आम निर्वाचन गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने कुरा समावेश छ । उनीले सोमबार भने, ‘दुई देशलाई मान्यता दिनु यस्तो समाधान हो, जसले मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजा क्षेत्रमा भइरहेको द्वन्द्व, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा ठूलो आशालाई बल पुर्याउँछ ।’ त्यसैबीच गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु भनेको ‘आतंकवादलाई इनाम दिने’ जस्तो भएको टिप्पणी गरेको छ । शनिबारदेखि अहिलेसम्म गाजामा भोक र कुपोषणका कारण पाँच जनाको मृत्यु भइसकेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृतकको संख्या २१७ पुगेको छ । मन्त्रालयले यो पनि जनाएको छ कि २०२३ देखि अहिलेसम्म इजरायलको सैन्य अभियानमा ६१ हजारभन्दा बढी मानिस मारिएका छन् ।
अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै
काठमाडौं । मसयोसी सोनले सफ्टबैंक कृत्रिम बौद्धिकता (एआई) द्वारा सञ्चालित क्रान्तिको केन्द्र बन्ने विश्वास लिएका छन् । सोनको भनाइमा कृत्रिम सुपर इण्टेलिजेन्स (एएसआई) — जसको क्षमता मानिसभन्दा १० हजार गुणा बढी बुद्धिमान हुने बताइन्छ, १० वर्षभित्रै आउनेछ । यसका लागि उनले आजसम्मकै ठूलो जोखिम मोल्दैछन् । उनले विगतमा पनि ठूलो जोखिम लिएका छन्– जसको एक उदाहरण सन् २००० मा चिनियाँ ई–कमर्स कम्पनी अलीबाबामा गरेको २० मिलियन डलरको लगानी हो, जसबाट सफ्टबैंकले अर्बौं डलर कमाएको छ । अर्बपति उद्यमीले एआई क्षेत्रमा लगानी र अधिग्रहणमार्फत सोही सफलता दोहोर्याउने लक्ष्य लिएका छन्, जसले सफ्टबैंकलाई आधारभूत प्रविधि परिवर्तनको केन्द्रमा पुर्याउनेछ । गत वर्षदेखि उनले सार्वजनिक रूपमा एआईको दृष्टिकोण व्यक्त गर्दै आएको भए पनि सफ्टबैंकका दुई पूर्व कार्यकारीका अनुसार यो सोच धेरै पहिलेबाट नै थियो । सफ्टबैंकका पूर्व वित्त प्रमुख र पूर्वअध्यक्ष आलोक सामाले सन् २०१६ सम्मको अनुभव सुनाउँदै भने, ‘पहिलोपटक जब म उनको घरमा डिनरका लागि गएँ, वाइनको ग्लाससँगै उनको बरन्डामा बस्दा उनले ‘सिंगुल्यारिटी’ — अर्थात मेशिन इण्टेलिजेन्सले मानव बौद्धिकतालाई पार गर्ने क्षण बारे कुरा गर्न थाले ।’ सफ्टबैंकको एआई रणनीति सोनका लागि एआई व्यक्तिगत महत्त्वको विषय हो । ‘सफ्टबैंक किन स्थापना भएको हो ? म सोन किन जन्मेको हुँ ? अचम्म लाग्न सक्छ, तर म एएसआईलाई साकार गर्न जन्मिएको हुँ भन्ने लाग्छ,’ उनले गत वर्ष भनेका थिए । २०१६ मा सफ्टबैंकले करिब ३२ अर्ब डलरमा चिप डिजाइनर ‘आर्म’ किनेको थियो । आज ‘आर्म’को मूल्य १४५ अर्ब डलरभन्दा बढी छ । आर्मको डिजाइनले विश्वका अधिकांश स्मार्टफोनको आधार निर्माण गर्छ, तर हाल कम्पनी एआई पूर्वाधारको प्रमुख खेलाडी बन्न खोज्दैछ । यही मेसोमा सफ्टबैंकले अर्को चिप डिजाइनर ‘एम्पियर कम्प्युटिङ’लाई ६.५ अर्ब डलरमा किन्न योजना घोषणा गर्यो च्याटजीपीटी निर्माता ‘ओपनएआई’मा पनि सफ्टबैंकको ठूलो लगानी छ । कम्पनीले हालै ओपनएआईमा करिब ४.८ ट्रिलियन जापानी येन (३२.७ अर्ब डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ । रोबोटदेखि एआईसम्मको यात्रा २०१० मा ‘सफ्टबैंकको आगामी ३० वर्षको दृष्टि’ सार्वजनिक गर्दै सोनले ‘ब्रेन कम्प्युटर’ — आफै सिक्ने र प्रोग्राम गर्ने प्रणालीको अवधारणा राखेका थिए । २०१२ मा सफ्टबैंकले फ्रान्सेली कम्पनी ‘अल्डेबारेन’मा बहुमत हिस्सेदारी किन्यो । दुई वर्षपछि उनीहरूले ‘पेपर’ नामक मानवीय भाव बुझ्न सक्ने व्यक्तिगत रोबोट बजारमा ल्याए । तर पेपरको परियोजना सफल भएन । २०२० मा उत्पादन बन्द भयो र २०२२ मा सफ्टबैंकले अल्डेबारेनलाई जर्मन कम्पनीलाई बेच्यो । सोनको प्रारम्भिक रोबोट चासोले भविष्यका एआई एप्लिकेशनप्रति उनको गहिरो रुचि देखायो । भिजन फन्ड र ठूला जोखिमहरू २०१७ मा सोनले १०० अर्ब डलरको ‘भिजन फन्ड’ स्थापना गरे, जसले उबर, चिनियाँ ‘डिडी’ लगायतमा ठूलो लगानी गर्यो । तर वर्कस्पेस कम्पनी ‘वीवर्क’ जस्ता असफल लगानीले २०२३ सम्ममा अर्बौं डलर घाटा निम्त्यायो । पूर्व भिजन फन्ड साझेदारका अनुसार ती लगानीहरू पनि सोनको एआई दृष्टिकोणसँग जोडिएका थिए– जसमा पहिलो एआई एप्लिकेशन ‘स्व–चालित कार’ हुने विश्वास थियो । तर समयभन्दा अगाडि भएको कारण परिणाम सीमित रह्यो । जोखिम र अवसर आज अमेरिकी र चिनियाँ प्रविधि दिग्गजहरू ‘कृत्रिम साधारण बौद्धिकता’ (एजीआई) प्राप्त गर्न होडमा छन् । यस क्षेत्रमा लगानीको जोखिम उच्च छ, तर सम्भावित लाभ अझै उच्च हुनसक्छ । यो वर्ष चिनियाँ कम्पनी ‘डिपसीक’ ले अमेरिकी प्रतिस्पर्धीभन्दा सस्तोमा विकसित गरिएको ‘रिजिनिङ मोडेल’ सार्वजनिक गर्दा विश्व बजार हल्लिएको थियो । सोनको लक्ष्य सफ्टबैंकलाई ३०० वर्षसम्म टिक्ने ‘डीएनए’ दिने हो । उनका पूर्व सहकर्मीका शब्दमा ‘उनले केही गल्ती गरे, तर दिशा एउटै हो– उनी एआईमा वास्तविक खेलाडी बन्न चाहन्छन् र त्यो सम्भव बनाउन लागेका छन्।’ ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
ऋणको संकटमा फँस्दै अमेरिका, ३७ ट्रिलियन डलरको आँकडा पार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्रबारे ठूला-ठूला दाबी गर्दै आए पनि देशको बढ्दो ऋण रोक्न भने उनी असफल देखिएका छन् । अमेरिकाको ऋण पहिलो पटक आधिकारिक रूपमा ३७ ट्रिलियन डलर पार गरेको छ । ४ जुलाईमा ‘वन बिग ब्युटिफुल बिल एक्ट’ लागू भएपछि मात्र देशको ऋण ७८० अर्ब डलरले बढेको छ, जसको मतलब दैनिक २२ अर्ब डलरको वृद्धि हो । अमेरिका अहिले ऋणको संकटमा दिनप्रतिदिन अझै फँस्दै गएको छ। महामारीपछि मात्र अमेरिकाको कर्जा १४ ट्रिलियन डलरले बढेको छ । अहिलेको अवस्था यस्तो छ कि अमेरिका दैनिक ३ अर्ब डलर ब्याज तिर्नमै खर्च गरिरहेको छ । यसले देखाउँछ कि ट्रम्पले अर्थतन्त्रबारे जे दाबी गरे पनि देशको कर्जा स्थिति क्रमशः भयावह बन्दै गएको छ । यदि यसमा चाँडै सुधार भएन भने सरकारसँग विकासका अन्य कार्यका लागि रकम रहने छैन र सम्पूर्ण पैसा कर्जा तिर्नमै खर्च हुनेछ । गत हप्तामात्र सरकारले १० वटा लिलामीमार्फत ७२४ अर्ब डलरका बन्ड बेचेको थियो । अमेरिकाले विभिन्न देशबाट आउने सामानमा भारी मात्रामा ट्यारिफ लगाएको छ । भारत र ब्राजिलबाट आउने वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाइएको छ । ट्रम्पको दाबी छ कि यसबाट आउने आम्दानीले अमेरिका फेरि धनी बन्नेछ । मंगलबार ट्रम्पले भनेका थिए, ‘मैले गरिरहेको मुख्य उद्देश्य कर्जा तिर्नु हो । तर मलाई लाग्छ अर्को सम्भावना यो पनि छ कि हामी यति धेरै पैसा संकलन गर्दैछौं कि अमेरिकाका जनतालाई डिभिडेन्डसमेत दिन सक्छौं ।’ अमेरिकाको ऋण वृद्धि लामो समयदेखि जारी छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी संघीय ऋण स्थिर रूपमा बढ्दै आएको हो, तर खासगरी सन् १९८० को दशकदेखि यसको वृद्धि दर तीव्र हुन थाल्यो । राष्ट्रपति रोनाल्ड रेगनको पालामा कर कटौती र रक्षा खर्च बढेकाले संघीय घाटा र ऋण दुवै बढे । सन् २००० को दशकमा राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा अफगानिस्तान र इराक युद्धका साथै कर कटौतीका कारण ऋण अझ चुलियो । त्यसबेलासम्म अमेरिकी ऋण करिब ६ ट्रिलियन डलरको हाराहारीमा थियो। सन् २००९-०९ को वित्तीय सङ्कटपछि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ठूलो आर्थिक प्रोत्साहन प्याकेज ल्याइयो, जसले ऋण १० ट्रिलियन डलरभन्दा माथि पुर्यायो। डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल (२०१-२०२१) मा पनि कर कटौती र सरकारी खर्च बढेकाले ऋण वृद्धि तीव्र रह्यो । २०२० मा कोभिड-१९ महामारीपछि आर्थिक राहत प्याकेजहरूका कारण अमेरिकी ऋण छोटो समयमा नै २७ ट्रिलियन डलरभन्दा माथि पुगेको हो । जो बाइडेनको पालामा (२०२१ देखि) थप राहत कार्यक्रम, पूर्वाधार खर्च र सामाजिक सुरक्षा कार्यक्रमका कारण ऋण अहिले ३७ ट्रिलियन डलर नाघेको हो । ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास