एड्भेन्चर सेग्मेन्टमा प्रतिस्पर्धा बढाउने सुजुकी भी–स्ट्रोम २५० का दुई नयाँ रङ बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सको दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ । बुधबार सुजुकीले सेतो र नीलो रङका नयाँ मोडलहरू सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो मोटरसाइकल २४९.९९ सीसी इन्जिन क्षमताको जापानी प्रविधिमा आधारित रहेको छ । भी–स्ट्रोम २५० एड्भेन्चर र सिटी राइड दुवैका लागि उपयुक्त मानिन्छ । नयाँ दुई रङसहित अब यो मोटरसाइकल बजारमा सेतो, नीलो, पहेँलो र कालो–रातो कम्बिनेसन गरी कुल ४ चार रङ विकल्पमा उपलब्ध हुने सुजुकी नेपालले बताएको छ ।  सुजुकी भी–स्ट्रोम २५० मा सुजुकी ओइल कुलिङ सिस्टम इन्जिन जडान गरिएको छ ।  सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले सन् १९९२ मा सुजुकीले नै मोटरसाइकलमा तेल कुलिङ प्रविधिको आविष्कार गरेको बताए ।  पारस जैन  उनले विकास न्युजसँग भने, ‘यो प्रविधिले इन्जिनलाई अत्यधिक तापक्रममा समेत चिसो राखी उत्कृष्ट कार्यक्षमता प्रदान गर्छ । यसले पानी कुलिङभन्दा कम वजन, कम मर्मत खर्च र तीव्र तापक्रम व्यवस्थापनजस्ता फाइदाहरू प्रदान गर्छ ।’ उनका अनुसार बाइकको बीएचपी २६.५ छ । यसको टप स्पिड १४० देखि १५० किलोमिटर प्रतिघण्टासम्म रहेको दाबी गरिएको छ । जैनले सामान्य रूपमा ४८ देखि ५० किलोमिटरसम्म र हार्श ड्राइभिङमा पनि ३५ किलोमिटर माइलेज दिने जानकारी दिए ।  यसको कर्भ वेट १६७ केजी मात्र छ । जुन यस सेगमेन्टका धेरै बाइकभन्दा हलुका हो । यसमा विन्ड सिल्ड, नकल गार्ड र एलइडी हेडलाइट जस्ता सुविधाहरू पनि समावेश छन् । भी–स्ट्रोम ६५०, ८५०, र १०५० सीसीका सुपरबाइकहरूको सानो संस्करणको रूपमा २५० सीसीको यो मोडल बजारमा ल्याइएको कम्पनीले जनाएको छ।  जैनका अनुसार नेपालका सडकका लागि एड्भेन्चर बाइक एक कम्प्लिट प्याकेज हो । यसलाई हाइवेमा चलाउँदा आरामदायी छ भने खराब सडक, ग्राभेल, हिलो वा पानीमा चलाउँदा पनि कुनै समस्या नआउने उनले बताए ।  नयाँ भी–स्ट्रोम २५० का सुरुमा टेष्ट गर्ने प्रयोगकर्ताहरूले यसको प्रशंसा गरेका छन् । डा. प्रसन्न खड्का जसले तीन दिनमा ६०० किलोमिटर यात्रा गरिसकेका छन् । उनले यसको इन्जिन बट्री स्मूथ र रेस्पोन्सिभ भएको बताए। सस्पेन्सन अलि सुधार गर्न सकिने भए पनि उनले ४८.४ किलोमिटर प्रति लिटरको माइलेज पाउनु सुखद भएको बताए । लामो दूरीको यात्रामा पनि कम्मर वा हातमा कुनै दुखाइ नभएको भन्दै उनले यसलाई बबाल बाइकको संज्ञा दिए ।  सिटको उचाइ र आरामदायीपन राम्रो भएको र यसलाई एक्स्ट्रिम र एड्भेन्चर किट प्रयोग गरी पूर्ण अफ–रोडर बनाउन सकिने सुविधा पनि रहेको उनले औंल्याए । विगत ७ सात वर्षदेखि सुजुकीको बाइक चलाइरहेका डा. प्रसन्नले सर्भिस खर्च पनि निकै कम भएको बताए ।  त्यस्तै, चितवनका उमेश राईले पनि आफ्नो तीन दिनको अनुभवमा बाइक निकै कम्फर्टेबल र पावरफुल पाएको बताए । यामाहा भी २ चलाइरहेका उनले भी–स्ट्रोम २५० आफूलाई निकै राम्रो लागेको र यसमा कुनै शंका नरहेको बताए ।  उनले लामो ड्राइभ नगरे पनि हाइवेमा चलाउँदा अहिलेसम्म सबै कुरा ठीक लागेको अनुभव सुनाए । तिहार अगाडि नै लिने योजना बनाए पनि सर्टेजका कारण २/३ महिना कुर्नुपरेको उनले बताए । सुजुकी भी–स्ट्रोम २५० को टेस्ट ड्राइभका लागि काठमाडौंमा टेकु, ग्वार्को भक्तपुर र बसुन्धारामा रहेका सुजुकीका आधिकारिक आउटलेटहरूमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालभरिका अन्य आधिकारिक सुजुकी सोरुमहरूमा पनि टेस्ट ड्राइभको सुविधा उपलब्ध रहेको छ।

विद्यार्थी-कम्पनी एउटै छानामुनि : आइएसएमटी जब फेयरमा रोजगारीको अवसर

काठमाडौं । सिराहका युवराज भण्डारीलाई मंगलबार दिनभरि भ्याइनभ्याइ थियो । हातमा बायोडाटा बोक्दै विभिन्न आइटी कम्पनीका प्रतिनिधिसँग उनी अन्तरवार्ता दिइरहेका थिए । आवश्यक जनशक्ति खोज्न काठमाडौंको तीनकुनेमा रहेको आइएसएमटी कलेजमा पुगेका विभिन्न कम्पनीमा उनी आफ्नो लागि काम खोज्दै थिए। कलेजको वातावरण सामान्य दिनभन्दा फरक थियो । परिसरमा प्रवेश गर्नेबित्तिकै विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास मिसिएको पाइन्थ्यो । हातहातमा बायोडाटा, अनुहारमा अपेक्षाको चमक र मनमा भविष्यका थुप्रै कल्पनाहरू सबै एकै ठाउँमा भेटिन्थ्यो ।  युवराज भण्डारी ब्याचलर्स तेस्रो वर्षमा अध्ययनरत भण्डारी एक पछि अर्को गर्दै कम्पनी चहारिरहेका थिए । आइटीमा भविष्य बनाउने सपनासहित उनी कलेज आएका हुन् ।  ठूलो आइटी कम्पनीमा काम गरिरहेको देख्ने इच्छा भण्डारीको मनमै थियो । कलेजले उही चाहना पूरा गरिदिने अवसर जुराइदियो । तीनवटा कम्पनीमा अन्तरवार्ता दिइसकेपछि उनले भने, ‘रोजीरोजी कम्पनीसँग अन्तवार्ता दिँन पाइयो । जागिर पाइन्छ कि जस्तो पनि छ । धेरै कुरा सिक्न पनि पाइयो ।’  तीनमध्ये दुईवटा कम्पनीले भण्डारीलाई दोस्रो चरणका लागि कम्पनीमै बोलाएको छ।  दाङकी प्रियन्सा गिरीका लागि पनि विशेष दिन थियो । होटल रेस्टुरेन्टमा आवश्यक जनशक्ति खोज्दै मक्र्योर होटेल र गोकर्ण रिसोर्टका प्रतिनिधिहरूसँग उनले आफ्नो क्षमता योग्यता र आफूले गर्नसक्ने कामका विषयमा भनिरहेकी थिइन् ।   आवश्यक कर्मचारीका जनशक्तिका लागि आइएसएमटी पुगेका गोकर्ण रिसोर्ट, मक्र्योर होटेलका प्रतिनिधले उनको अन्तरवार्ता लिए । आइएसएमटी कलेजमा बीएचएममा अध्ययनरत उनी कलेजले यस्ता कार्यक्रम गरिदिँदा विद्यार्थीलाई सहज हुने बताउँछिन्।  काठमाडौंकी स्नेहा डंगोल आइएसएमटीमै बीबीए छैटौं समेस्टरमा अध्ययनरत छिन् । उनलाई बैंकिङ क्षेत्रमा काम गर्ने रुचि छ । कामको खोजी कसरी गर्ने होला भन्ने चिन्तामा थिइन् उनी । तर उनलाई लामो समयसम्म दोधारमा बस्न परेन । किनकि आइएसएमटीले कलेजमै बैंकिङ लगायतका विभिन्न कम्पनीसँग कामको लागि भेट्ने अवसर मिलाइदियो ।    स्नेहा डंगोल  डंगोलले नेपाल एसबीआई बैंक, फोनपे, फोनपे एफवान सौर्य ग्रुपमा गएर उनीहरूलाई आवश्यक कामदार र आफूले खोजेको कामबारे कुराकानी गर्ने अवसर पाइन् । कलेजले एकैचोटी धेरै कम्पनीसँग भेट्ने बुझने अवसर दिएको भन्दै खुसी व्यक्ति गरिन् । बुढानीलकण्ठका आभास कार्की बीएचएम पढ्दै छन् । उनलाई फरक मान्छेहरूसँग भेटेर कुरा गर्न मन पर्छ । धेरै व्यक्तिसँग भेटेर कुरा हुने क्षेत्र होटल लाग्यो अनि उनले यही विषय राजे । स्नातक तहको अन्तिम सेमेष्टरमा अध्यनरत उनलाई अब आफै काम गर्दै पढ्न मन छ । पढाइ सकिएपछि कामको खोजीमा कता पुग्नुपर्ने हो भन्ने चिन्ता उनलाई कहिल्यै लागेन । किनकि उनलाई यो अवसर कलेजले नै उपलब्ध गराउँदै आएको थाह थियो ।  अहिले यो अवसर पाउँदा उनी निकै खुसी छन् । ‘सके जागिर पाइएला नभए अनुभव लिन पाइन्छ कलेजले यस्तो अवसर दिलाई दिनु नै ठूलो कुरा हो,’ उनले भने ।  आभास कार्की कम्पनीसँग भेट्नु अघि कसरी तयार गर्छ ? आइएसएमटीले हरेक वर्ष विद्यार्थीका लागि जबफेयरका कार्यक्रम गर्दै आएको छ । एक पटक गर्ने जवफेयरमा २ सय २५ जना विद्यार्थीले कम्पनीको बारेमा बुझ्न, मान्छे चिन्ने अवसर पाउँछन् । त्यसमध्ये करिब २० प्रतिशित विद्यार्थीले रोजगारको अवसर पाउने गरेका छन् ।  कलेजले विद्यार्थीलाई कम्पनीसँग अन्तरवार्ताका लागि त्यत्तिकै पठाउँदैन । त्योभन्दा अगाडि विद्यार्थीलाई बोल्न सक्ने बनाउँछ । कसरी बोल्ने, कसरी बस्ने, उठ्ने, शारीरिक हाउभाउ कसरी गर्ने भन्नेदेखि आफ्नो बायोडाटा कसरी बनाउने भन्ने विषयमा सिकाउने गरेको कलेजले जनाएको छ ।  यति कुरा सिकाइसकेपछि बल्ल कलेजले कम्पनीसँग जोडिदिन्छ । विद्यार्थीको रुचि, सीप दक्षता अनुसार  कुन विद्यार्थी कस्तो संस्थमा फिट हुन्छ भन्ने कुरा कलेज र शिक्षकले तयार गरिदिन्छ ।  ब्याचलर्समा हरेक विद्यार्थी अलमलमा पर्छन् । कहाँ जाने के गर्ने, कसरी काम खोज्ने भन्ने पीर हरेक विद्यार्थीलाई हुन्छ । यस्तो बेला कलेज नै अभिभावकको रूपमा उभिनुपर्ने विद्यार्थीहरू बताउँछन् ।  ‘म पनि यही कुरामा अलमल थिएँ, तर सरले सहयोग गर्नुभयो, मलाई अहिले सहज भयो । यस्तै भविष्यको योजनाका लागि विद्यार्थीलाई कलेज शिक्षकको आवश्यकता हुन्छ, जुन कलेजले पुरा गर्नुपर्छ,’ स्नेहाले भनिन् । उनी अन्य कलेजहरूले पनि यसको सिको गर्नुपर्ने बताउँछिन् ।  भन्छिन्, ‘अहिलेको जेनजी पुस्ता हामी निकै दोधारमा छौं, तर हामीसँग आत्मविश्वास पनि छ, त्यो अनुसारको सीप, क्षमता छ । कतिपय साथीभाइहरूमा यस्तो आत्म विश्वास छैन, यो बेला अभिभावकिय भूमिकाकलेज हुनुपर्छ ।’  के भन्छन् कम्पनीहरू ? आइएसएमटी कलेजले आयोजना गरेको जवफेयर कार्यक्रममा नाम चलेका १८ वटा कम्पनी कलेज पुगेका थिए । उनीहरू आफ्नो कम्पनीलाई आवश्यक जनशक्ति कलेजमै खोज्ने अवसर पाए । यो कम्पनीलाई लागि पनि ठूलो अवसर रहेको उनीहरूको भनाइ छ ।  मर्क्योर होटेल जुन नेपालमा भर्खरैमात्र सुरु भएको छ । सुकेधारामा पाँचतारे होटेलका रूपमा सेवा दिइरहेको मक्र्योरलाई विभिन्न विधामा कर्मचारी आवश्यक परेको छ । कलेजले दिएको अवसरमा कम्पनीलाई आवश्यक विद्यार्थी छानेर लिने अवसर पाएको होटलले जनाएको छ ।  ‘हामीलाई इन्टर्नदेखि विभिन्न विभाग प्रमुखसम्मको कर्मचारी आवश्यक छ,’ मर्क्योरको मानव संसाधन विभागका प्रमुख संघर्ष खड्का भन्छन्, ‘यसरी कलेजमा आएर धेरै विद्यार्थीसँग कुरा गर्न पाउँदा कामदार छनोट गर्न सहज हुन्छ ।’  संघर्ष खड्का  कामदार खोज्न प्रत्यक्ष आफै आएर धेरैजनासँग कुराकानी गर्न पाउँदा निकै सहज भएको उनले बताए । शौरभ ग्रुपको कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे आफ्नो कम्पनीका लागि आवश्यक कर्मचारी आइएसएमटीमै भेटिने सम्भावना रहेको बताउँछन् । ग्रुपलाई सेल्स, एकाउन्ट, कस्टुमर सर्भेस डिपार्टमेन्ट लगायत विभिन्न विद्यामा कर्मचारी आवश्यक परेकाले धेरै विद्यार्थी सोचेभन्दा राम्रो पाएको बताए ।  हेमन्त पाण्डे उनी भन्छन्, ‘सबै विद्यार्थी उत्तिकै क्षमतावान छन्, कुनैमा केही कमी छैन, यस्ता व्यक्ति लिँदा विद्यार्थीलाई मात्र नभइ कम्पनीलाई पनि राम्रो भएको छ ।’ उनी सूचना जारी गरी कर्मचारी छनोट गर्ने प्रक्रिया लामो हुने भएकाले कलेजको विशेष जवफेयरले सजिलो भएको बताए ।  गोकर्ण रिसोर्टलाई सर्भिस सेवामा कामदार आवश्यक परेको छ । रिसोर्टकी पुष्पा कोजु आइएसएमटीमा आइन्  । उनले सोचेजस्तो विद्यार्थी पाइएको जानकारी दिइन् । एकै ठाउँमा कर्मचारी पाइने अवसर दिएकोमा उनले कलेजलाई धन्यवाद पनि दिइन्। पुष्पा कोजु कम्पनी र कामदारको दूरी घट्ने डिसहोमको ट्यालेन्ट एकुजेशन एण्ड डेभलपमेन्ट हेड मेघना श्रेष्ठ  यस्ता कार्यक्रमले रोजगादाता र रोजगार खोजिरहेको जमातबीच सम्बन्ध नजिक हुने बताउँछिन् ।  मेघना श्रेष्ठ  ‘नेपालमा काम पाइएन, बेरोजगारको संख्या बढी भयो भनिन्छ तर यहाँ बेरोजगार र अवसरको कमी भन्दा पनि सही व्यक्तिलाई सही ठाउँ पाउन ठूलो खाडल रहेको छ,’ उनी भन्छिन्,‘ कतिपय ठाउँमा यस्तै कार्यक्रम हुँदा यो खाडल पुर्ने प्रयास भइरहेको भएपनि सही मान्छे सही ठाउँ पाउन सकेका छैनन् ।’  नेपालमा धेरै कलेजले विद्यार्थीलाई पढाएर सर्टिफिकेट दिएर छोडिदिन्छ । शौरभ ग्रुपका कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे भन्छन्, ‘हामीले पढ्दा यस्तो सुविधा थिएन । बल्ल बल्ल आफै भौतारिएर खोजी गर्दा म कर्पोरट क्षेत्रमा आएको हुँ, तर यस्ता कार्यक्रम सबै कलेजले गरिदिनेहो भने हामीले जस्तो अहिलेका विद्यार्थीले दुःख गर्न पर्दैन ।’  उनी यस्ता गतिविधिले विद्यार्थीले तत्काल जागिर नपाएपनि नेटर्वक विकास हुने बताउँछन् । ‘नेपालमा केके कम्पनी छन्, कुन कम्पनीले के काम गछन्, त्यहाँ कस्ता कामदार आवश्यक पर्दा रहेछन् भन्ने विषयमा थाहा हुन्छ त्यसपछि बल्ल विद्यार्थीले जबमार्केट राम्रोसँग बुझ्न सक्छन्,’ उनले भने ।  जवफेयर गर्नुको तीन कारण आइसएमटीले हरेक वर्ष दुई पटक जवफेयर कार्यक्रम गर्दै आएको छ । आइएसएमटीका  एकेडेमिक कोर्डिनेटर गिरिश दाहाल कलेजले जवफेयर कार्यक्रम गर्नुको तीनवटा कारण रहेको बताउँछन् ।  गिरिश दाहाल  उनका अनुसार पहिलो विद्यार्थीको भविष्यका लागि सहजता, दोस्रो नेपालका कम्पनीलाई पनि दक्ष जनशक्तिको सुविधा र तेस्रो शैक्षिक उद्योग र अन्य उद्योगबीचको दुरी कम गर्न । उनी यस्ता कार्यक्रमले देशलाईं नै फाइदा हुने बताउँछन् । कलेजले अभिभावकको भूमिका निभाएको उनी दावी गर्छन् । उनी विद्यार्थीलाई यस्ता धेरै कार्यक्रम कलेजले सिकाइरहेको बताउँछन् । उनी कलेजले पढाउनेकाम मात्र नभइ पढाएर कुन ठाउँमा जागिर लगाइदिने जिम्मेवारी भएकाले सैद्धान्तिक र प्रयोगात्मक कार्यक्रम गर्दै आइरहेको पनि बताउँछन्।

जसले विदेशबाट चिकित्सा विज्ञान पढेर आफ्नै ठाउँमा सेवा गरे, करारबाट हटाइए

काठमाडौं । ‘डाक्टरसाव जरो आयाको झिक्कै भैग, मलाई सुई लाइदेव, अघिल्लाचुटी बिरामी हुँदा पन सुई लायापछि निको भयाको हो,’)  डाक्टर साहेब ज्वरो आएको धेरै भइसक्यो सुई लगाइदिनुहोस् न, अघिल्लो पटक सुई लगाएर निको भएको हो ।  मानौं उनीहरू नै चिकित्सक हुन् । आफूलाई के भएको छ सबै थाहा छ, मात्र सुई लगाउन बाँकी छ । अधिकांश स्वास्थ्य संस्था पुगेका बिरामी आफूलाई के भएको छ भन्ने बुझ्नुभन्दा सुई लगाइदिन कर गर्छन् । पहिले के भएको जाँच गर्नुपर्छ भन्दा बरु मेडिकल रोज्छन् । ‘चेत भएर हो या नभएर व्यक्तिलाई आफ्नो स्वास्थ्यको जाँचभन्दा छिटो निको हुने बढी डोजको औषधि र सुईमा विश्वास बढेको छ,’ बाजुराको बुढीगङ्गा नगरपालिकास्थित हेल्थ पोष्ट  टाँटेमा काम गर्दाको अनुभव सुनाउँदै डा. किरण थापाले भने ।  ‘अहिले बाजुराका नागरिकमा स्वास्थ्य सम्बन्धी चेतना जागेको छ, अस्पताल जानुपर्छ, चेकजाँच गराउनुपर्छ भन्ने चेत बसिसकेको छ तर, औषधी के खाने, कसरी खाने, कुन औषधीले कस्तो असर गर्छ भन्ने बुझ्ने चेतना भने बस्न सकेको छैन,’ उनले भने ।  कतिपय दुर्गमका नागरिकलाई भने सामान्य स्वास्थ्य सुविधा लिन पनि सास्ती छ । आर्थिक अवस्था कमजोर हुँदा आधारभुत स्वास्थ्य सेवा बाहेक ठूलो उपचार गर्नुपर्यो भने सक्ने अवस्थामा छैनन् । आर्थिक अभावकै कारण नेपालगञ्ज धनगढी रिफर गर्नुपर्ने बिरामीहरू त्यहाँसम्म पुग्न सक्दैनन् ।  आर्थिक अवस्था कमजोर हुँदा धेरै जस्तो नागरिक अहिलेको स्वास्थ्य सेवा लिन सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । अहिले हरेक वडा–वडामा आधारभूत स्वास्थ्य संस्थाहरू छन् ।  तर, कहिलेकाहीँ भने सिटामोलदेखि जीवनजलसम्म पनि पाउन नसकिने अवस्था हुन्छ । सरकारले ९८ प्रकारका औषधी निःशुल्क दिने भनेको भए पनि सामान्य औषधी पाउन गाह्रो भएको दूरमा सेवा दिइरहेका चिकित्सकको अनुभव छ ।  डा . किरणले बाजुरामा डेढ वर्ष काम गर्दा सबैभन्दा भोग्नुपरेको समस्या नै औषधी नपाउनु हो ।  सरकारी अस्पतालमा गएर जाँच गर्दा औषधि पाइँदैन । औषधि किन्न निजी मेडिकलमै जानुपर्ने बाध्यताले पनि नागरिक जाँच गर्न स्वास्थ्य संस्था नआउने गरेको उनी बताउँछन् ।    ‘एक औषधि खरिदमै समस्या हुन्छ, अर्को पर्याप्त मात्रामा आउँदैन, आएको औषधीले वर्षभरि पुग्दैन, अझ एन्टिबायोटिक एकदम अभाव हुन्छ ’ उनी भन्छन्, ‘लिस्टमा ९८ प्रकारका औषधी निःशुल्क दिने भनिएको छ तर धेरै पाइँदैन, सरकारले भनेका सबै प्रकारका औषधी मात्र निःशुल्क र सहज पाउने भने धेरै कुरा मेनेज गर्न सकिन्छ ।’ रोजाइमा मेडिकल शहरमा मात्र होइन गाउँमा पनि बिरामीको पहिलो रोजाइ निजी मेडिकल पर्छ । सरकारी अस्पतालमा सबै सुविधा छ, सस्तो पर्छ भन्ने थाहा हुँदा पनि बिरामीले निजी मेडिकल नै रोज्छन् । जब कि मेडिकलमा न ल्याब हुन्छ, न कुनै उपकरण । गाउँघरमा सामान्य रुपमा सञ्चालन भइरहेका मेडिकल पैसा खर्च गरेर उपचार गर्न खोज्नेहरू किन सरकारी स्वास्थ्यसंस्थाप्रति आकर्षण छैनन्, उनलाई पनि अचम्म लाग्छ । ‘गाउँका नागरिकले पनि सरकारी स्वास्थ्य संस्था भन्दा मेडिकल विश्वास गर्छन्, किन यसो भइरहेको छ मलाई थाह छैन,’ उनी भन्छन्, ‘सरकारी स्वास्थ्य संस्थामा कहिले खोजेको औषधि पाइँदैन, त्यसैले पनि हुनसक्छ , पैसा खर्च गरेर भए पनि निजीमा जा भन्ने सोच अहिले धेरैमा छ ।’  दुर्गमका नागरिकमा स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेत आएपनि बिरामीहरू जथाभावी प्रयोग गरिरहेको एन्टिबायोटिकले स्वास्थ्यमा गम्भीर असर पार्ने आँकलन गर्छन् । निजी मेडिकल सञ्चालन गरेका व्यक्तिहरूले बिरामीको जाँच नगरी सिधै एन्टिबायोटिक  दिने गरेको पाइन्छ । एन्टिबायोटिकको गलत प्रयोगले स्वास्थमा नराम्रो असर गर्छ । यो कुरा बिरामी र मेडिकल सञ्चालकलाई पनि सम्झाउन आवश्यक रहेको उनी बताउँछन् । एन्टिबायोटिकको प्रयोगले पछिल्लो समय धेरै समस्या आइरहेका छन् । बिरामीलाई सामान्य रुघाखोकी लाग्दा ज्वरो आउँदा एन्टिबायोटिक दिनु स्वास्थ्यका लागि खतरा हो ।  रोगको राम्रोसँग पहिचान नगरी औषधि खान हुँदैन, यसले स्वास्थ्यलाई असर पार्छ । किरण बिरामीहरूलाई यस्ता विषयमा सल्लाह दिन्छन्  । सकेसम्म उनी मेडिकल सञ्चालकहरूलाई पनि बिरामीलाई एन्टिबायोटिक दिँदा ध्यानपर्ने कुराको जानकारी गराइराख्छन् । तर, उनले दुई/चार जनालाई दिएको सल्लाहले पुग्दैन । दुर्गमका नागरिकमा स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेत आएपनि बिरामीहरू जथाभावी प्रयोग गरिरहेको एन्टिबायोटिकले स्वास्थ्यमा गम्भीर असर पार्ने आँकलन गर्छन । सामान्य ज्वरो रुघाखोकीमा पनि एन्टिबायोटिक चलाउँदा व्याक्टेरियल रेजिस्टेन्स भयो भने पुरै समाजलाई असर पार्न सक्ने उनी बताउँछन् ।  करारको जागिर गुम्दा स्वास्थ्य क्षेत्र प्रभावित डा. किरणको घर बाजुराको बुढीगंगा नगरपालिका ९ हो । चीनमा एमबीबीएस गरेर नेपाल फर्केका उनी बाजुरामै गएर स्वास्थ्य सेवामा लागेका थिए । उनले बाजुरको बुढिगंगा नगरपालिका अन्तर्गत टाँटेमा रहेको हेल्थ पोस्टमा मेडिकल अधिकृतको रुपमा काम गरे । तर, अघिल्लो महिना कात्तिकमा करारका कर्मचारी हटाउने सरकारको निर्णयले उनी बाहिरिए ।  सेवाबाट बाहिरिए पनि चिकत्सकको हैसियतले त्यहाँका नागरिकको स्वास्थ्य अवस्थामा रुचि राख्छन् । दूरमा जन्मेर हुर्केबढेका उनलाई दुर्गमका नागरिकले पाउने सास्ती राम्रोसँग थाहा छ । स्थानीय तहले  नागरिकलाई स्वास्थ्य सेवा दिने हेतुले कम्तीमा एक जना चिकित्सक राखेर सेवा दिइरहेका छन् । यो सेवाले नागरिकलाई ठूलो राहत पुगेको छ । तर, अघिल्लो महिना सरकारले करारका कर्मचारी सबै हटाउन निर्देशन दिएसँगै उनी लगायत स्वास्थ्यका ४६ जना कर्मचारी हटाउँदा अहिले त्यहाँका नागरिकलाई समस्या परेको छ ।  बुढीगंगा नगरपालिकाले केन्द्रको निर्णयलाई आधार मान्दै बुढीगंगा नगरपालिकाले अघिल्लो महिना एकै पटक १ सय २० जना कर्मचारी निकाल्यो । जसमा स्वास्थ्य क्षेत्रमा ४६ जना कर्मचारी हटाइए । अहिले भएका स्वास्थ्य संस्था धान्नको लागि पालिकालाई मुस्किल परेको छ । साविकका तीन वटा गाविसका स्वास्थ्य संस्थामा स्थायी कर्मचारी छन् । उनीहरूले १४ वटा स्वास्थ्य संस्था हेर्न सकिने अवस्था छैन । १० वटा आधारभूत स्वास्थ्य संस्थामा हेरिराख्नुपरेको छ । केन्द्रको यो निर्णयले देशलाई संघीयता अगाडिको अवस्थामा फर्काएको महसुस गरिएको उनको भनाइ छ ।  ‘लोकप्रियताको आधारमा कुनै निर्णय गर्दा नागरिकलाई कति असर पर्छ भन्ने कुरा पनि हेरिनुपर्छ,’ उनी भन्छन्, ‘यसको असर बाजुराको बुढीगंगा नगरपालिकाको स्वास्थ्य सेवामा परेको छ , सामान्य सिटामोल लिनकै लागि डेढ/दुई घण्टा लगाएर जानुपर्छ भने यसको सन्देश राम्रो जाँदैन ।’ करारका कर्मचारी हटाउँदा  अहिले ती स्वास्थ्य संस्था एएनएमले चलाइरहेका छन् । एएनएम जसलाई औषधी प्रिस्काइव गर्ने अधिकार पनि हुँदैन । उनी भन्छन्, ‘कुनै वैकल्पिक व्यवस्था बिना यो निर्णय नै माथिबाट गरिनु राम्रो थिएन, अर्को पालिकाले पनि केही सुचबुझ निर्णय गर्न सकेको भए हुन्थ्यो ।’  मनोविज्ञानमा असर नगरपालिकाले कर्मचारी हटाउँदा बिरामीहरूलाई जति सास्ती परेको छ, त्यति मनोवैज्ञानिक असर कर्मचारीलाई पनि परेको छ । ८/९ वर्षदेखि काम गर्दै आएका कर्मचारीको जागिर जाँदा गाह्रो भएको छ ।  उनी भन्छन्, ‘म मेडिकल अधिकृतको काम जहाँ पनि पाउन सक्छु, मेरो गुनासो छैन, तर एक पटक स्वास्थ्य जस्तो संवेदनशील कुरामा यस्तो निर्णय राम्रो थिएन ।’ वर्षौंदेखि काम गरिरहेका विभिन्न क्षेत्रका करारका कर्मचारीले जागिर गुमाउनुपर्दा नागरिकलाई पनि सेवा लिन समस्या परेको छ । उनी भन्छन्, ‘डेढ वर्षदेखि गर्दै आएको जागिर गुम्दा केही सिकाइ मलाई पनि भयो, तर मलाई एमडी गर्नुपर्ने भएकाले काम गरेको अनुभव लिनु थियो । अब म एमडीको तयारीमा लाग्ने योजनामा छु ।’ एमडी पढ्न एमबिबीएस पास गरेको चिकित्सकले कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान छ । एमडी नगरी आयोगको तयारीमा लाग्दा आयोग कहिले खुल्छ, खुल्छ कि खुल्दैन भन्दैमा अल्झिनुपर्ने भएकाले पनि सरकारी चिकित्सकका लागि तयारी नगरेको बताउँछन् ।  चिकित्सक बन्न सजिलो छैन  धेरैको सपना चिकित्सक बन्ने हुन्छ । तर थोरै बन्न सक्छन् । कतिपयको आर्थिक अवस्था राम्रो नहुँदा सपना पूरा हुँदैन, कतिपयलाई नाम निकाल्नै गाह्रो हुन्छ । तर, सपना देखिसकेको मान्छेले मानसिक रुपमा पूर्ण तयारी गर्नैपर्छ । चिकित्सक बनेपछि के–के नहोला भन्ने मानसिकता धेरैको छ । धेरैले सेतो एप्रोन लगाएको र घाँटीमा स्टेथोस्कोप लगाएको देख्दा धेरैलाई यही बन्नुपर्छ जस्तो लाग्छ । तर उनी सोचे जस्तो छैन ।  एउटा सरकारी मेडिकल अफिसरले पाउने सुविधा भनेको अधिकृत सरह हो । जो ४८ हजार ७ सय ३७ रुपैयाँ हो । अहिले सरकारले एमबिबिएस पढ्नको लागि तोकेको शुल्क भनेको ४५ लाख छ । यो त कलेजको शुल्कमात्र हो व्यक्तिगत खर्च, कापी किताब खाना खाजाको लेखाजोखा गर्दा अझ बढी हुन्छ । यति पैसा लगानी गरेर पढेको एउटा अफिसर तहको चिकित्सकले आफ्नो परिवारलाई पाल्न सक्नेगरी सुविधा नै पाउन सक्दैन ।  ऋण काढेर पढेको व्यक्तिलाई ब्याज बुझाउन पनि त्यो पैसा पुग्दैन । त्यसमाथि चिकित्सकको खटाइ कस्तो हुन्छ धेरैजसोलाई थाहा भएकै कुरा हो । कतिपय चिकित्सक प्रेसर थेग्न नसकेर आत्महत्या गरेको घटना पनि हामीले देखेको बताउँदै किरण चिकित्सक बन्ने सपना देख्नु र बन्नुमा ठूलो अन्तर रहेको बताउँछन् ।   उनी नेपालमा चिकित्सकमाथि हातपात भएको, अस्पताल नै तोडफोड गरेको घटनाले पेशा नै असुरक्षित रहेको महसुस गर्छन् । ‘कतिखेर के घटना हुन्छ अलि तलमाथि हुँदा ज्यान नै सुरक्षित हुँदैन उनी भन्छन्, ‘छानविन गर्ने निकाय हुँदा हुँदै, सिधै चिकित्सकमाथि जाइलाग्ने प्रचलन बढ्दो छ । हिजोको दिनमा पैसा नभएपनि सम्मान छ भन्ने हुन्थ्यो तर अहिले न सम्मान छ, न सुरक्षा यस्तो अवस्थामा काम चुनौती छ ।’    चिकित्सकले बिरामीको ज्यान जोगाउन सतप्रतिशत प्रयास गरेको हुन्छ । यति हुँदाहुँदै पनि कहिलेकाँही बिरामी जोगाउन सकिँदैन । यस्ता घटनाहरू देख्दा चिकित्सा क्षेत्रमा लागिरहेका आफूहरूजस्ताको मनोविज्ञानमा ठूलो असर पर्ने उनको भनाइ छ ।  शिक्षण पेशामा लागेका किरण चिकित्सक बने किरण बाजुरामा जन्मे । कक्षा पाँचसम्म बाजुरामै पढे । कक्षा ६ पछि काठमाडौं आए । कक्षा १० सम्म विश्वनिकेतनमा पढे । सानैदेखि उनी पढाइमा अब्बल थिए । उनले कक्षा १० सम्म पढ्दा चिकित्सक बन्छु भन्ने सोचेका थिएनन् ।  त्यो बेलासम्म पनि उनलाई चिकित्सक बन्छु भन्ने लागेको थिएन ।  ‘मैले यो नै बन्छु, यही नै पढ्छु भन्ने लक्ष्य राखेको थिएन तर, केही न केही बन्नुपर्छ पढाइ राम्रो गर्नुपर्छ भन्ने सधैं लाग्थ्यो,’ उनी भन्छन्,‘ पाइला पाइलामा प्रयास गर्दा चिकित्सक बनेको हुँ ।’  उनलाई प्लस टु पढ्दै गर्दा उनलाई एमबीबीएसको तयारी गरौं भन्ने लाग्थ्यो । तर ,आर्थिक अवस्था राम्रो थिएन । ठाउँठाउँमा तयारी कक्षाहरू खुलिरहेका हुन्थे । साथीहरूले तयारी गरिरहेको देख्दा आफू पनि तयारी गरौं भन्ने लाग्थ्यो । तर, तीन/चार महिनाको शुल्क  १०÷१२ हजार रुपैयाँ तिर्नुपथ्र्यो, त्यो तिर्न सक्ने अवस्था थिएन । त्यसपछि उनले त्यो सपना छोडे । उनले अस्कल क्याम्पसबाट बिएस्सी पास गरे ।  उनले जिन्दगीको फरक बाटो रोजिसकेका थिए ।  आफ्नो जन्मथलो बाजुरा पुगेर शिक्षण पेशामा लागे । एक वर्ष शिक्षण गरिसकेपछि उनलाई यही पेशा रोज्नुपर्छ । शिक्षा क्षेत्रबाट समाजसेवा गर्नुपर्छ भन्ने लाग्यो ।  शिक्षामा कतिपय शिक्षक आफ्नो जिम्मेवारीबाट पन्छिरहेको उनले देखे । एउटा शिक्षकले विद्यार्थीलाई सतप्रतिशत दिन सक्दैन भने विद्यार्थीले उबाट लिने के उनलाई त्यहाँका शिक्षकहरूले आफ्नो कर्तव्य पालना नगरेको कुराले घोच्यो ।  उनलाई जिम्मेवार शिक्षक बन्न आफ्नो विषयमा विद्यार्थीलाई दक्ष बनाउन शिक्षण पेशा नै उपयुक्त हुन्छ भन्ने लाग्यो ।    उनी शिक्षण पेशामै रमाइरहेका थिए । तर, उनको इच्छा दाइलाई राम्ररी थाहा थियो । भाइको चिकित्सा शिक्षाप्रतिको रहरले सायद दाईलाई पनि घोचिरहेको थियो । उनी भाइलाई थाहै नदिई अवसर खोजिरहेका थिए । एक दिन दाइले त्यो अवसर देखे । बाजुरामा शिक्षण पेशा गरिरहेका किरणलाई खबर गरे । दाजुभाइको सल्लाहमा चीन सरकारले दिने छात्रवृत्तिमा किरणले अवसर पाए । त्यसपछि सुरु भयो किरणको चिकित्सक बन्ने सपना ।  ‘मान्छेले जहाँ पुग्नुछ, जे हुनुछ त्यो भएरै छोड्दो रहेछ,’ उनी भन्छन्, ‘मलाई विज्ञानमा विश्वास लाग्थ्यो, अध्यात्ममा त्यति विश्वास थिएन । तर अहिले अध्यात्ममा पनि विश्वास लाग्छ ।’ २०१४ मा छात्रवृत्तिमा नाम निकालेर  एमबिबिएस अध्ययनका लागि चीन गए । सानदोङ विश्वविद्यालयबाट एक वर्ष भाषा सिके । अर्को वर्ष बेहुआ विश्वविद्यालयमा मेडिकल अध्ययन सुरु गरे । पाँच वर्ष अध्ययन पछि किरण डा. किरण बनेर स्वदेश फर्किए । उनलाई अब एमडी सकेर भए बाजुरामै नभए नेपालमै स्वास्थ्य सेवा गर्ने रहर छ ।