‘तीन महिनाभित्र नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आउँछ’ {अन्तर्वार्ता}
देशकै ठूलो र पहिलो सुरुङमार्ग हो नागढुङ्गा सुरुङमार्ग । जसलाई नेपाल सुरुङ प्रवेशको ढोकाका रुपमा लिन सकिन्छ । जसको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय उक्त सुरुङमार्ग आम नागरिकको चासोको विषय बनेको छ । जबकी हरेकको प्रश्न छ, सुरुङमार्गमा कहिलदेखि गाडी गुड्छन् ? उसो त जेनजी आन्दोलनपछि बनेको सरकारले चाडपर्वको समयमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै दशैंअघि परीक्षणको रूपमा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको थियो । जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि दशैंअघि सञ्चालन गर्न निर्देशन दिइएका थिए । तर, दशैं मात्रै होइन, तिहार र छठ सकिँदा पनि यो सुरुङमार्ग सञ्चालनमा आउन सकेन । सुरुङमार्गको प्रगति र सञ्चालनको तयारी लगायत विषयमा विकासन्युजका लागि नरेन्द्र विष्टले नागढुङ्गा सुरुङमार्गका आयोजना प्रमुख सौजन्य नेपालसँग कुराकानी गरेका छन् । नागढङ्गा सुरुङमार्ग कहिले सञ्चालन होला भन्ने चासो र प्रतिक्षा धेरैको छ, अहिलेसम्म किन सञ्चालन हुन सकेन, प्रगति के कस्तो भइरहेको छ ? अहिले नागढुङ्गा सुरुमार्गभित्रका सबै पूर्वाधारहरुको काम सम्पन्न भइसकेको अवस्था छ । पूर्वपट्टि बलम्बु फ्लाइओभरको काम पनि सम्पन्न भएर एप्रोच सडकमा ट्राफिक सेफ्टी लगायत सडक पार्किङका कामहरु सञ्चालन भइरहेका छन् । पश्चिमपट्टि दुइटा टोलबुथ निर्माण गर्ने काम सम्पन्न भएको छ । त्यहाँ मुख्य भूस्खलन (ल्यान्डस्लाइड) पश्चिमी प्रवेशद्धारभन्दा बाहिरपट्टि त्रिभुवन राजपथतर्फ पहिरो परेका कारण जोखिम घटाउने काम गरिसकेका थियौ । तर फेरी यस वर्षको वर्षादले पहिरो गएको थियो । उक्त पहिरोलाई नियन्त्रण गर्यौं । मनसुन र वर्षादको तीव्रता अनुसार ग्राउन्ड मुभमेन्ट कति छ भनेर मनिटरिङ गरिसकेपछि हाल थप केही सुरक्षा कामहरु गर्ने तयारी गर्दैछौं । हालसम्म ९८ प्रतिशतभन्दा बढी भौतिक प्रगति सम्पन्न भइसकेको छ भने पश्चिमपट्टिको पोर्टलमा तीन वटा सवारी लेन निर्माण गर्न बाँकी छ । त्यसमा अहिले काम भइरहेको छ । पहिरो गएको ठाउँमा पनि काम गर्न बाँकी छ । सुरुङ मार्गभित्र गर्नुपर्ने सुरक्षा, भौतिक र प्राविधिक काम सम्पन्न भइसकेको हो ? सुरुङमार्गमा २.३ किलोमिटरको एप्रोच सडक हो । पूर्वपट्टि बलम्बुबाट छिरेपछि २.३ किलोमिटरको एप्रोच सडक हुँदै पूर्वी पोर्टलमा पुग्छौं । पूर्वी पोर्टलबाट छिरेपछि २.६८८ किलोमिटरको सुरुङमार्गमा यात्रा गरिसकेपछि बाहिर पश्चिम पोर्टल धादिङको धुनिवेशी नगरपालिकामा पुगिन्छ । यसरी आयोजनाको करिब ५.५ किलोमिटर कार्यक्षेत्र रहेको छ । पश्चिमपट्टि ५०० मिटर थप एप्रोच सडक साविकको त्रिभुवन राजपथमा पनि सुरुङमार्गबाट निस्केपछि सवारी साधनका लागि थप काम गरेका छौं । त्रिभुवन राजपथमा सुरुङमार्ग २.६८८ र एप्रोच सडक करिब २.८ किलोमिटर सुरुङमार्गको कार्यक्षेत्र पर्दछ । नेपालमा सुरुङमार्ग निर्माण गर्न के-कस्तो चुनौती भोग्नु पर्यो ? टनेलिङ मेथोडोलोजी न्यू अस्ट्रियन टनेलिङ मेथड अथवा जसलाई प्राकृतिक भू–सामग्रीलाई आफ्नै संरचनात्मक क्षमता प्रयोग गरी सुरुङ निर्माण गर्ने आधुनिक टनेलिङ प्रविधि भनेर भनिन्छ । यो सामान्य हिसाबले ड्रिल गर्ने, ब्लास्ट गर्ने र अगाडि बढ्ने टनेलिङ मेथोडोलोजीमा आधारित रहेर टनेलिङ कार्य अगाडि बढाएका हौं । यसमा टनेल बोरिङ मेसिन जसरी सिंचाइ र हाइड्रोपावरमा प्रयोग हुन्छ । तर, यसमा लामो–लामो टनेलहरुमा प्रयोग हुने टनेल बोरिङ मेसिनको प्रयोग भएको छैन । जुन एनएटीएम प्रविधि न्यू अस्ट्रियन टनेलिङ मेथडबाट हामीले सुरुङ निर्माण कार्य अगाडि बढाएका हौं । मुख्य रूपमा नेपालको भौगोलिक भूगर्भीय अवस्थाले गर्दा डिजाइन गरेकोभन्दा केही फरक स्वेल टाइपहरु टनेलिङ क्रियाकलापहरु गर्दै जमिनभित्र केही फरक प्रकृतिका स्वेलहरु अथवा रकहरु आएको कारण हामीले डिजाइन गरेकोभन्दा फरक निर्माण संरचना प्रयोग गर्नुपर्ने अवस्था आयो । तर, केही मेथड चेन्ज भए पनि समग्रमा कठिनाई पार गरेर जानु पर्यो भन्ने अवस्था आएन । केही कठिनाई भए पनि त्यसलाई सुरुङको हिसाबबाट सहज रूपमा नै निर्माण सम्पन्न गरेका छौं । सुरुङमार्गको सुरक्षा मापदण्ड अन्तर्राष्ट्रियस्तरसँग हामीले कसरी तुलना गर्न सक्छौं ? अर्थात् भित्रतिर आपत्कालीन निस्कने बाटो र सुरक्षा उपकरणहरुको व्यवस्था कस्तो बनाइएको छ ? यो सुरुङमार्ग यस्तो सुरुङ हो जसबाट दुई दिशामा यातायात वा आवागमन सम्भव छ । मुख्य सुरुङमार्गमा सवारीसाधन गुड्ने दुई लेन छन् । दुई लेनमा पनि विपरीत दिशा आउने र जाने दुवै दिशामा यात्रा गर्न सकिनेछ । यदि सुरुङभित्र केही आपत्कालीन अवस्था सिर्जना भयो भने उद्धार कसरी गर्ने, सुरक्षित स्थानमा कसरी सार्ने, एकै पटक विभिन्न बाटोहरू कसरी प्रयोग गर्ने लगायत यी समस्याको समाधानका लागि हामीले सुरुङभित्र नै निर्माण गरेका छौं । त्यहाँ मुख्य सुरुङमार्गको जस्तो पूर्वाधारहरु छैन् । लाइटिङ पनि कम छ । भेन्टिलेसनको सिस्टम छैन । यसलाई पूर्ण रूपमा आपत्कालीन अवस्थामा मात्रै उद्धार कार्यका लागि प्रयोग गर्छौं । मुख्य सुरुङ दुई लेनको छ । टनेलभित्र दुई–दिशामा गाडी चल्ने र बाटो छुट्याउन वस्तु अर्थात डिभाइडर राखेका छौं । यो १.५ मिटर जति सानो छ । डिभाइडर रिजनमा उठेको हुँदैन । जहाँ खाली सर्फेस फ्लस भएर डिभाइडर हुन्छ । यसलाई निश्चित आधारमा छुट्याइएको छ । यसकारण आपतकालीन अवस्थामा यो सुरुङ प्रयोग गरेरभित्र केही उद्धार गर्नु पर्यो भने मात्रै प्रयोग गरिन्छ । स्थानीय बासिन्दाको पनि त्यहाँ विवाद छ, बीचमा निर्माण कार्य प्रभावित पनि भयो, स्थानीय बासिन्दाहरुको क्षतिपूर्तिको व्यवस्था कसरी गर्नुभयो ? सुरुङमार्ग वरिपरि रहेका स्थानीयहरुका केही मागहरुका कारण आयोजना केही समय प्रभावित हुन पुग्यो । यसमा स्थानीयहरुका विभिन्न मागहरु छन् । त्यस क्षेत्रमा बसोबास गर्ने स्थनीयहरुको मुख्य माग सुरुङमार्गका कारण पानीका मुहानहरु सुकेका र पानीको व्यवस्थापन गरिनुपर्ने थियो । जुन हाल त्यसका लागि आयोजनाले छुट्टै इनारहरु खनेर नियमित पम्पिङ सिस्टमबाट स्थानीयको घरघरमा पानी पुरÞ्याउने व्यवस्था गरिरहेको छ । यो अझै पनि सञ्चालनमा छ । आयोजना सम्पन्न भइसकेपछि त्यसलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा हामी छौं । यसैगरी त्यसमा थप राइट अफ वे अधिकरण गर्ने बेलामा सुरुङमार्गको ५० मिटर खण्डमा सम्पूर्ण लम्बाई हामीले जग्गा अधिकरण गर्नुपरेको अवस्था थियो । त्यसमा मुआब्जा वितरणको कार्यहरु लगभग सम्पन्न भइसकेका छन् । अब केही छिटपुट मात्रै बाँकी छन् । त्यो पनि बाँकी समस्या भएर रहेको होइन । केही जग्गा धनीहरुले कागजातहरु पेश नगरेको कारण रोकिएको हो । फ्लाइओभरतर्फ पनि सबै जग्गा अधिकरण लगायतको कार्यहरु सम्पन्न भइसकेको छ । कतिपय स्थानीयहरुको पश्चिमतर्फ र पूर्वतर्फ केही कृषि उपज जमिन क्षति भयो भनेर मागदाबी गरिएको थियो । त्यो विषयमा पनि नेपाल सरकारबाट निर्णय भएअनुसारले हामीले क्षतिपूर्ति वितरण गरिसकेका छौं । टनेलिङ गर्दागर्दै टनेलभन्दा माथि केही घरहरुमा क्षति भयो भनेर पनि स्थानीयहरुले केही समय अवरोध सिर्जना गरेका थिए । त्यसमा हामीले उहाँहरुको मागलाई सम्बोधन गर्ने प्रक्रियामा छौं । अहिले अधिकांश मागहरु सम्बोधन भइसकेको अवस्था छ । स्थानीयहरुले केही मागहरु फेरी राख्नुभएको छ । त्यसका लागि पनि नियमित छलफल गरिरहेका छौं । आयोजनाको तर्फबाट ती मागहरु पुरा गर्ने तर्फ नै हामी फोकस गरिरहेका छौं भने यसमा भौतिक मन्त्रालय र सडक विभागसँग पनि नियमित परामर्श र छलफलमा छौं । स्थानीयहरुले राखेका मागहरु के-के हुन् ? अहिले स्थानीयहरुले केही छिटपुट क्षतिपूर्तिहरु र मुआब्जा रकममा चित्त नबुझेका विषयहरुलाई लिएर विभिन्न माग गरिरहनुभएको छ । अर्को आयोजनाले बनाइदिएको वाटर सप्लाई आयोजना सम्पन्न भइसकेपछि त्यसलाई दिगो सञ्चालन गर्नका लागि मोडालिटी के कस्तो हुन्छ ? के कसरी कुन बाटोमा सञ्चालन हुन्छ, भन्ने विषय उहाँहरूको छ । यो विषयमा पनि हामी नगरपालिकासँग छलफलमा गरिरहेका छौं । मुआब्जा र क्षतिपूर्तिको विषयमा पनि नेपाल सरकारले गर्नुपर्ने निर्णयहरू सम्पन्न भइसकेका छन् । केही घरहरुमा क्षति भएको भन्ने थियो । क्षति भएको विषयमा हामीले उहाँहरुलाई दिनुपर्ने उचित क्षतीपूर्तिको विषयमा निर्णय गरिसकेका छौं । जुन त्यो वितरणको प्रक्रियामा छ । अधिकांश मागहरु समाधान उन्मुख छन् भने केही समाधान हुन बाँकी छन् । जुन नियमित छलफल गरेर समाधान गर्ने प्रयास गरिरहेका छौं । सुरुङमार्ग दशैंभन्दा अगाडि नै सञ्चालनमा आउने भनिएको थियो, तर आउन सकेन । अब कहिलेदेखि सञ्चालनमा आउँछ ? सुरुङमार्ग सम्पन्न भइसकेपछि सुरक्षित रूपमा यात्रुहरूलाई यहाँबाट पास गराउनका लागि योग्य, सक्षम, दक्ष तथा अनुभवी सेवा प्रदायक आवश्यक पर्ने हुन्छ । जहाँ आगो लाग्ने अवस्थालाई नियन्त्रण गर्ने, निभाउने, र आगोको फैलावट रोक्ने प्रक्रिया अर्थात् फायर फाइटिङको कामहरु गर्नुपर्ने हुन्छ । भेन्टिलेसनभित्र सञ्चार गर्ने अर्थात् इन्टरनल कम्युनिकेसन नेटवर्कहरु सञ्चालन गर्नुपर्ने हुन्छ । आपत्कालीन अवस्थामा उद्धारदेखि टोल संकलनसम्मका कार्यहरु गर्नका लागि हामीले अन्तर्राष्ट्रिय अनुभवी सर्भिस प्रोभाइडर सेवाप्रदायक छनोट गरेर सुरुङमार्ग सञ्चालन गर्नुपर्छ भन्ने निर्णयमा पुगेका छौं । त्यसको लागि बोलपत्र आह्वान भइसकेको छ । जसमा नेपाली कम्पनी, परामर्शदाता तथा निर्माण व्यवसायीसँग सुरुङमार्ग सञ्चालन गरेको अनुभव छैन । त्यसकारण सुरुङमार्ग सञ्चालन लागि ५ वर्षेको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् अनुभवी कम्पनीहरुको हामीले बोलपत्र आह्वान गरेका छौं । तर, यसमा नेपाली बोलपत्रदाताहरुसँग उहाँहरुले जोइन्ट भेन्चरमा बिड हाल्नपर्ने प्रावधान राखेको छौं । जसले गर्दा नेपाली जनशक्तिमा पनि सुरुङ सञ्चालनको अनुभव प्राप्त होस् । नेपाली बिडरहरु पनि त्यसमा अनुभवी हुन् भन्ने हाम्रो मनसाय हो । अब यसको प्रक्रिया करिब ४५ दिनको सूचना हुन्छ । सूचना हामीले गत हप्ताको आइतबार निकालेका छौं । अब डिसेम्बरको १७ मा बोलपत्र खोल्छौं । त्यसपश्चात् मूल्यांकन गरेर छनोट भएको योग्य सेवा प्रदायकलाई परिचालन गर्नलाई वर्कआउट दिन्छौं र त्यसपछि फुल्ली उहाँहरु मोबिलाइज भइसकेपछि मात्रै सार्वजनिक रुपमा सञ्चालन गर्ने तयारी छ । उसो त हाल सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भनेर आम जनताको चासोको विषय छ । सवारी साधनहरुलाई सुरुङ मार्गबाट सुरक्षित रूपमा आगमन हुने सुनिश्चित गर्नका लागि योग्य सेवा प्रदायक परिचालन गर्नुपर्ने हुन्छ । त्यसको हामी प्रक्रियामा छौं । योग्य सेवा प्रदायक परिचालन भइसकेपछि मात्रै सवारी साधनहरुलाई सार्वजनिक रूपमा सुरुङबाट पास गराउने तयारी रहको छ । यो बीचमा सुरुङभित्रका सबै सुविधाहरुले राम्ररी फङ्सन गरेका छन् कि छैनन् । सीमित मात्रामा ट्रायल गर्न सकिन्छ कि भनेर हाल छलफल गरिरहेका छौं । तर पब्लिक्ली ओपन हुने सेवाप्रदायक फुल्ली मोबिलाइज भइसकेपछि मात्रै हो । त्यो भनेको करिब अबको तीन महिना समय लाग्छ । यो सञ्चालनका लागि वार्षिक ३० करोड खर्च हुने अनुमान हाम्रो छ । यसका लागि छनोट प्रक्रिया कसरी गर्नुहुन्छ, योग्यता के-कस्तो राख्नु भएको छ ? हाम्रो मुख्य उद्देश्य भनेको सुरुङमार्ग सञ्चालन गरेको अनुभवी सेवा प्रदायक छनोट होस् भन्ने हो । जुन बोलपत्रमा स्पष्ट खुलाएका छौं । सेवा प्रदायक बिडरले यसअघि नै तीन वर्ष कुनै एउटा रोड टनेल सञ्चालन गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । जसमा हाम्रो सुरुङमार्गसँग मिल्दोजुल्दो करिब १६०० मिटर लम्बाइको सुरुङमार्ग १ वर्ष सञ्चालन गरिसकेको अनुभव हुनुपर्नेछ भनेर हामीले अनुभव क्राइटेरियामा त्यसलाई मेन्सन गरेका छौं । नेपाली बोलपत्रदाताहरुले पनि त्यसमा सहभागी हुन सक्नुहुन्छ । उहाँहरुलाई सुरुङमार्ग सञ्चालन गरेको अनुभव आवश्यक पर्ने छैन । उहाँहरुले न्यूनतम काम गरेको र यति बराबरको वार्षिक टर्नओभर भएको विवरण पेश गर्नुभयो भने उहाँहरु योग्य हुनुहुन्छ । यो बाट विभिन्न फर्महरुले जसले बोलपत्र पेश गर्नुहुन्छ, उहाँहरुको हामीले मूल्यांकन गर्छौं । त्योमध्येबाट हामी योग्य बोलपत्रदाता छनोट गर्छौँ । सुरुङमार्ग सञ्चालनका लागि कति जनशक्ति आवश्यक पर्छ ? सुरुङमार्ग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसकारण करिब १५० जनाको जनशक्ति हामीले इस्टिमेट गरेका छौं । यो भनेको २४ सै घण्टा कुनै एउटा काम गर्न पर्यो ८ घण्टाको शिफ्टमा भने त्यो एउटा पार्टिकुलर काम गर्नलाई ४ जना जनशक्ति आवश्यक पर्ने जस्तो देखिएको छ । किनभने श्रम लेबर एक्ट अनुसार पनि वार्षिक हप्तामा गर्नुपर्ने १ जना व्यक्तिले गर्ने वर्किङ आवरभन्दा बढी खटाउन नमिल्ने भएको भएर यसले गर्दा संख्या धेरै देखिएता पनि एक शिफ्टमा ८ घण्टाको एक शिफ्टमा काम गर्ने त्यहाँ परिचालित हुने जनशक्ति धेरै हुँदैनन् । त्यसकारण जम्मा जनशक्ति करिब १५० जना लाग्ने हामीले अनुमान गरेका छौं । आयोजनाले सडक जाम र वातावरण प्रदूषण घटाउन सुरुङमार्गले कस्तो प्रभाव पार्ने अपेक्षा गरिएको छ ? सुरुङमार्ग बनिसकेपछि नागढुङ्गा नौबिसे खण्डमा भोग्नुपरिरहेको सवारी जामको समस्या, प्रदूषण र भारी सवारी साधनहरु बीचमा बिग्रेर हुने लामो सवारी जामबाट मुक्त हुन्छौं, भन्ने हामीले अपेक्षा गरेका छौं । यसले साना सवारीसाधनहरुलाई १० देखि १५ मिनेट र ठूला सवारी साधनहरुमा करिब २७ मिनेटदेखि ३० मिनेटसम्मको समय बचत गर्छ भन्ने हाम्रो एक्सपेक्टेसन छ । त्यसैका आधारमा हामीले उहाँहरुलाई प्राप्त हुने मेन्टेनेन्स कस्ट, फ्यूल कस्ट र समयको बचतको आधारमा टोल पनि त्यसैको आधारमा हिसाब गरेर प्रस्ताव गरेका छौं । ठूला सवारीसाधनहरुको हकमा महँगो ६०० रुपैयाँ छ । पश्चिमबाट पूर्वतर्फ आउँदा भने साना सवारीसाधनको हकमा ६५ रुपैयाँ तोकेका छौं । जुन यो नेपाल सरकारबाट स्वीकृत भइसकेको छ । सुरुङमार्ग सञ्चालनमा आइसकेपछि यो दररेट लागु हुनेछ । नागढुङ्गा सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गर्ने सम्बन्धी निर्देशिका यातायात व्यवस्था विभागबाट स्वीकृत भइसकेको छ । त्यसमा उल्लेख भएअनुसार यो सुरक्षाको कारणले विशेषगरी दुईपाङ्ग्रे सवारी साधनलाई सुरुङमार्गबाट पास नगराउने भनेर निर्देशिकाले निषेध गरेको छ । त्यसमा पेट्रोलियम पदार्थ बोकेका र नियमानुसार बोक्नुपर्नेभन्दा ठुला सवारीसाधन बोकेर प्रवेश गर्न खोज्ने सवारी साधनहरुलाई हामीले निषेध गरेका छौं । त्योबाहेक अरु सबै सवारी साधन र चारपाङ्ग्रे ट्रकदेखि बस, माइक्रो भ्यानलगायत सबै सवारी साधनहरु सुरुङबाट पास गर्न पाउनेछन् । सुरुङमार्ग सञ्चालनमा आइसकेपछि व्यवस्थापन कसरी गर्ने योजना छ ? सुरुङमार्गको व्यवस्थापन बोलपत्रबाट छनोट गर्ने सेवाप्रदायकले नै अप्रेसन एन्ड मेन्टेनेन्स गर्नुहुन्छ भन्ने हाम्रो एक्सपेक्टेसन हो । त्यसको नियमित मनिटरिङ नेपाल सरकारको तर्फबाट सडक विभाग र नागढुङ्गा सुरुङमार्ग आयोजनाबाट हुनेछ । उहाँहरुले गर्नुपर्ने न्यूनतम दायित्व कसरी फुलफिल गरिरहनु भएको छ ? सवारी साधनहरु त्यहाँ सुरक्षित रूपमा आवतजावत भइरहेको छ की छैन ? ट्राफिक फ्यासिलिटिज कसरी फङ्सन गरिरहेको छ भन्ने सबै कुराहरु सडक विभागको तर्फबाट मनिटरिङ हुन्छ । टोल संकलनको सन्दर्भमा सडक बोर्ड नेपालबाट नियमित अनुगमन मनिटरिङ हुनेछ । सुरुङभित्र सञ्चालन र व्यवस्थापन गर्ने र मर्मत सम्भार गर्ने जिम्मा सञ्चालन गर्ने सेवाप्रदायकको हुन्छ । त्यसरी नै हामीले तयारी गरिरहेका छौं । यसलाई नेपालकै पहिलो र ठूलो सुरुङमार्ग भनिएको छ, आगामी दिनहरुमा बन्ने सुरुङमार्गका लागि नेपालका इन्जिनियरहरुका लागि के सिकाइ बन्यो ? पक्कै पनि यो नेपालकै पहिलो सुरुङमार्ग र सडक आधुनिक सुरुङमार्ग हो । यसबाट नेपालले सुरुङमार्गको युगमा प्रवेश गरेको भनेर भन्न सकिन्छ । यसले अन्य सुरुङहरुको निर्माण र सञ्चालनका लागि ढोका खोलेको छ । हाल सिद्धबाबा सुरुङमार्ग पनि ब्रेकथ्ररू भएर भित्र अन्य फ्यासिलिटिजहरु जडानको काम भइरहेको छ । फास्ट ट्रयाकमा ७ वटा सुरुङमार्गहरु निर्माण भइरहेका छन् । यसले पक्कै पनि नेपालमा सुरुङमार्ग सम्बन्धी विशेषज्ञहरु इन्जिनियरहरुलाई विशेष अनुभव प्रदान गरेको छ । जबकी नेपालीले विदेशी विज्ञहरुबाट कामहरु सिकेर सुरुङमार्ग निर्माण गर्न तथा छिट्टै भविष्यमा निर्माण गर्न सक्छौं । विदेशीहरुको मात्रै सहयोग लिएर मुख ताकेर बस्नुपर्ने अवस्था रहने छैन भन्ने अनुभव नागढुङ्गा सुरुङमार्गले आशा जगाएको छ । यसले नेपाली प्राविधिकलाई एउटा खुला किताब जस्तो अनुभव लिनका लागि ठूलो टेवा पुरÞ्याउनेछ भन्ने अपेक्षा लिएका छौं । तपाईंलाई आयोजना प्रमुखको हैसियतले यो परियोजनाको सबैभन्दा ठूलो उपलब्धि के हो जस्तो लाग्छ ? विशेषगरी राजधानी काठमाडौं छिर्ने नाका जहाँ ८ हजारदेखि १० हजार सवारी साधन दैनिक आवतजावत गर्छन्, त्यस्तो नाकामा एउटा सुरुङमार्ग निर्माण भएको छ । यसले काठमाडौं छिर्ने सवारी साधनहरुलाई केही सहजतासँगै समयको बचत उपलब्ध गराउनेछ । यसैगरी यसले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रमा केही टेवा पुरÞ्याउनेछ । मेन्टेनेन्स र फ्यूलको नाममा हुने खर्चमा केही रिडक्सन हुनेछ । नागढुङ्गा सुरुङमार्ग हुँदै कुनै तरकारीको बोकेको सवारी साधन पास भएका छन् भने तरकारीको रुपैयाँ दुई पैसामा पनि सस्तो हुनेछ भन्ने आशा दिएको छ । यसले अन्य ठाउँहरुमा पनि हामीले सुरुङमार्ग जस्ता पूर्वाधार बनाएर नेपालको सडक सञ्जाललाई दिगो, सुरक्षित र छोटो भरपर्दो मात्रै बनाउन सकिन्छ भन्ने एउटा योजनाको टूल प्लानिङको रुपमा पनि नागढुङ्गा सुरुङमार्गलाई लिन सकिन्छ । आयोजना निर्देशक तथा प्रमुखको हैसियतले म अब छिट्टै पब्लिकलाई ओपन हुनेछ भन्ने जानकारी सबै आम नागरिकहरुलाई गराउन चाहान्छु । अन्त्यमा नेपाली इन्जिनियरिङ र पूर्वाधार विकासका लागि यस परियोजनाले मुख्य दिन खोजेको सन्देश के हो ? यसमा नेपाली प्राविधिकहरु पनि धेरै जना जोडिनुभएको छ । विदेशी परामर्शदाता र विदेशी निर्माण व्यवसायीले निर्माण गरेको भएता पनि यहाँ सुरुङमार्गसँग निर्माण गर्ने अन्य सबकन्ट्र्याक्टरहरु विदेशी कम्पनीहरुमा काम गर्ने अन्य इन्जिनियरहरु पनि नेपाली प्राविधिक हुनुहुन्छ । यसले नेपाली सुरुङको क्षेत्रमा विशेषगरी रोड टनेलको निर्माण र अहिले मर्मत सम्भार सञ्चालनको क्षेत्रमा एउटा नयाँ अनुभव प्रदान गर्नेछ । यसले अरु टनेलहरुमा हामीलाई सहयोग हुनेछ भन्ने हामीले आशा लिएका छौं ।
नबिल एसएसईले दोहोर्याएको सफलताको बाटो
काठमाडौं । ‘यही कोठाबाट सुरु गरेको हो । यो कोठाको पनि आधा भागमात्रै प्रयोग गरेको थिएँ,’ नेपाकार्ट लजिस्टिक प्रालिका प्रबन्ध निर्देशक (एमडी) साजन ताम्राकारले एउटा कोठा देखाउँदै भने, ‘एकदमै कन्जस्टेड भएपछि अरू कोठाबाट डेलिभरी सेवा विस्तार गर्याैं । नबिल एसएसईमा सहभागीपछि भने अर्काे घरबाट पनि थप सेवा विस्तार गरिरहेका छौं ।’ उनले नयाँ बनेको घरतिर लैजाँदै भने, ‘आजबाट यो घरबाट पनि सेवा सुरु गरेका छौं । यसलाई हामीले पार्ट–पार्ट बनाएर राखेका छौं । यो डिस्प्याच सेन्टर हो । अनलाइनका सामान सबै ड्यासबोर्डमा हुन्छन् । राइडर हिरोजहरूले सामान लिएर आउनु हुन्छ । सामान कुन–कुन ठाउँ जानु पर्ने हो, त्यो डेस्टिनेसनअनुसार राखिएको हुन्छ ।’ कोठाभित्र सामानहरू छरिएका छन् । बौद्ध, जोरपाटी, बुढानीलकण्ठ, कपन, थानकोट, साँखु, भक्तपुर, ललितपुर लगायत विभिन्न ठाउँहरूको नाम भित्तामा टाँसिएका छन् । कर्मचारीहरूले सूची हेर्दै सामान कार्टुनमा प्याक गरिरहेका छन् । केही कर्मचारीहरू सामान ल्याइरहेका देखिन्छन् । ‘कुन-कुन ठाउँ जानुपर्ने हो, ती सामानहरू एउटा बोरा (झोला)मा राखिन्छन् । हामी २० जना छौं । केही साथीहरू सामान ल्याउन जानु भएको छ, उहाँहरूले सामान ल्याएपछि डेलिभरी हिरोहरूले सम्बन्धित ठाउँमा सामान पुर्याएर आउनु हुन्छ,’ ताम्राकारले भने, ‘भेण्डरबाट १२/१ बजेभित्र नेपाकार्टमा सामान आइपुग्छ भने २ बजेभित्र सम्बन्धित ग्राहक भएको ठाउँसम्म पुर्याउन डेलिभरीहरू निस्किन्छन् ।’ ताम्राकारका अनुसार ग्राहकहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत अनलाइन माध्यमबाट सामानहरू खरिद गर्छन् । पसलबाट ग्राहकले अर्डर गरेका सामानहरू डेलिभरी हिरोजले नेपाकार्ट लजिस्टिकमा ल्याउँछन् । र, नेपाकार्ट लजिस्टिकबाट ग्राहकहरूले भनेको ठाउँमा सामान पुर्याइदिन्छन् । ग्राहक र भेण्डरले अर्डरदेखि सामान पाउँदासम्म सबै अनलाइनमा लाइभ देख्न सकिने सिस्टमको विकास गरेको उनले बताए । यसरी सुरु भयो नेपाकार्ट लजिस्टिक ललितपुरस्थित लगनखेलको नेवारी समुदायमा जन्मे हुर्केका ताम्राकार थप अध्ययनका लागि भारतको बैंगलरमा थिए । त्यहाँ रहँदा उनले त्यहाँको डिजिटलाइजेशन देखे र अनुभव पनि गरे । भारतमा देखेको डिजिटल क्रान्तिलाई नेपालमा सुरु गर्नु पर्छ भन्ने सोचसहित उनी सन् २०१६ मा नेपाल फर्किए । उनले एउटा कोठाभित्रैबाट लजिस्टिक सेवा सुरु गरे । ‘म भारतको बैंगलरमा रहँदा त्यहाँको डिजिटाइजेसन देखेको थिएँ । तत्कालीन समयमा भारतमा फ्लिपकार्ड, ईकार्ड धेरै नै चलेको थियो । जबकि नेपालमा अनलाइनको सुरुवात नै भएको थिएन । त्यो अवधारणालाई नेपाल आएर अनलाइन र लजिस्टिक सुरु गरेको हुँ । कोभिडको बेलामा अनलाइन चलाउन सकिएन । तर, लजिस्टिकमा भने सम्भावना देखियो,’ उनले विगत सम्झिँदै भने । योजनाअनुसार डेलिभरि गर्ने भनेर नेपाल फर्किएका ताम्राकारले एउटा सानो कोठाको आधि कोठाबाट एक्सल फर्म्याटमा लजिस्टिक व्यवसाय सुरु गरे । जतिबेला उनीसँग आफ्नै कम्पनीको झोला पनि थिएन । सामान्य झोलामा राखेर डेलिभरी गर्थे । ‘लजिस्टिक कम्पनी एउटा डेलिभरी कम्पनी जस्तो मात्रै देखिन्छ । तर, यहाँ ठूलो माध्यम हुन्छ,’ उनले भने, ‘सुरुवाती दिनमा १२/१४ घण्टा खट्थे । आफै म्यानेजर, आफै डेलिभरी ब्वाई, आफै भेण्डरसँग कुरा गर्थे । तर, कोरोना महामारीका कारण त्यति धेरै विस्तार गर्न सकिनँ । कोरोनापछि भने लजिस्टिक व्यवसाय फस्टाउन थाल्यो । त्यसपछि नेपाकार्ट लजिस्टिक कम्पनी दर्ता गरेर वेवसाइट बनाएर व्यवसाय थालनी गरे ।’ नेपाकार्ट लजिस्टिकको माध्यमबाट ताम्राकारले बिक्रेता (साहुजी) र खरिदकर्ता (ग्राहक) हरूलाई जोडिरहेका छन् । अनलाइन कारोबारलाई पारदर्शी र विश्वसनीय बनाउन उनी प्रयत्न गरिरहेका छन् । नेपाकार्ट लजिस्टिकको सेवा काठमाडौंमा मात्रै सीमित नराखी उनले देशभर विस्तार गरिरहेका छन् । नबिल एसएसईले मनोबल बढायो परिवारको सुझाव सल्लाहमा लजिस्टिक व्यवसाय सञ्चालन गरिरहेका ताम्राकारलाई विज्ञहरुको सुझाव आवश्यक महसुस हुन्थ्यो । उनलाई आफ्नो व्यवसायलाई कसरी थप व्यवस्थित र विस्तार गर्ने भन्ने ज्ञानको कमी भइरहन्थ्यो । उनलाई व्यवसाय विस्तारका लागि थप मेन्टरिङको आवश्यकता थियो । उनी इनोभेसनको खोजीमा थिए । नबिल बैंकको फेशबुक पेज र लिंक्डइनमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)को बारेमा जानकारी पाएपछि उनले आवेदन दिए । नबिल एसएसईमा सहभागी भएपछि भने उनलाई व्यवसाय सञ्चालन गर्दा हुने ज्ञानको अभाव हुन छाडेको छ । ‘नबिल एसएसईमा सहभागिता जनाएपछि बिजनेश कन्सेप्टमा एउटा स्पष्ट चित्र नै पाएँ । व्यवसाय गर्दा कसरी गर्ने, कति बेला कस्तो निर्णय गर्ने भन्ने विषयमा स्पष्ट हुन पाएँ । विगतमा धेरै दुविधा हुने गरेको थियो । तर, अहिले केही समस्या आयो भने यसरी गर्नुपर्छ है भनेर जान्न पाइयो,’ उनले भने, ‘पहिलो आफ्नै घर परिवारले सिकाउँथे भने अहिले एक्सपर्टहरूले नै सिकाउनु भएको छ । नबिल एसएसईको तालिम एकदमै फलदायी बनेको छ ।’ नबिल एसएसईमा सहभागी भएपछि ताम्राकारले आफ्नो व्यवसायलाई विस्तार गर्दै नयाँ घरबाट पनि सेवा दिन थालेका छन् । नबिल एसएसईमा आवद्ध हुनुभन्दा व्यवसाय सञ्चालन, व्यवस्थापन लगायतका चुनौती खेपिरहेका साजन अहिले ठूला-ठूला बिजनेश पनि सहजै डिल गर्न सक्ने भएका छन् । नबिल एसएसईबाट कम्पनीको मार्केटिङ, ब्राण्डिङदेखि हरेकमा सहयोग पुगेको उनको भनाइ छ । साथै कहिलेकाहीँ केही दुविधा वा समस्या उत्पन्न भयो भने कन्सल्टिङका लागि मेन्टरबाट सहयोग भइरहेको ताम्राकारले बताए । नबिल एसएसईबाट व्यवसायको अवधारणदेखि दर्ता, अकाउण्टिङ, मार्केटिङ, ब्राण्डिङसम्मको ज्ञान चरणवद्ध रूपमा सिक्न सकिने उनले सुनाए । ‘नबिल एसएसईमा जोडिनुभन्दा अगाडिसम्म हामी १० जना मात्रै थियौं । नबिलसँग जोडिएपछि २० जना पुगेका छौं । बिजनेश कन्सेप्टमा एउटा स्पष्ट चित्र नै कोर्न पाएँ । उहाँहरू (नबिल एसएसई)सँग जोडिएपछि नयाँ–नयाँ ब्राण्डसँग पनि टचअप हुन पाएका छौं,’ उनले भने, ‘अप्रेसनका काममा सहज भइरहेको छ । मुख्य विषय लिडरसिपका विषयमा बुझ्न पाइयो ।’ आफूजस्ता युवा उद्यमीहरूका लागि नबिल एसएसई महत्त्वपूर्ण रहेको उनले बताए । साथै यस्ता कार्यक्रम अन्य सरकारी तथा निजी संस्थाहरूले पनि सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । आवेदन दिने अन्तिम दिन कात्तिक २८ गते नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलता मार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्ने बैंकले जनाएको छ । नबिल एसएसई अन्तर्गत २ वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंकका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौं समूहका लागि आवेदन खुलाइएको हो । ६ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा निःशुल्क सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भई ६२ उद्यम सञ्चालन भइरहेका छन् । त्यसैगरी, सर्टिफिकेट कोर्स ७ वटै प्रदेशमा सञ्चालित छ । ३ महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्ग्लिस बोर्डिङ स्कुल र बागमती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । साथै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भइ १ हजार ६९ जनाले लाभ लिइसकेका छन् । आवेदन दिने कसरी ? नबिल एसएसईका दुवै कार्यक्रमका लागि इच्छुकले नबिल बैंकको आधिकारिक वेबसाइट वा नबिल एसएसईका सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत आवेदन दिन सक्नेछन् । नबिल बैंकले नबिल एसएसईमार्फत हजारौं युवालाई उद्यमशील यात्रामा सहभागी गराउँदै देशको आर्थिक र सामाजिक संरचना सुदृढ बनाउने लक्ष्य लिएको छ। आवेदन याे लिङ्कमा क्लिक गरेर दिन सकिन्छ ।
‘मधुमेहले दृष्टि खोस्छ, वैदेशिक रोजगारीबाट फर्किएकालाई बढी समस्या’ {अन्तर्वार्ता}
मधुमेह अर्थात डायबिटीज आज भोलि नेपालमा प्रायः व्यक्तिलाई देखिने स्वास्थ्य समस्या हो । रगतमा ग्लोकुजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । यसलाई सामान्य भाषामा चिनी रोग पनि भनिन्छ । इन्सुलिन हर्मोनको अनियमितता हुँदा चिनी रोग लाग्छ । नेपालमा ४० वर्षमुनिका व्यक्तिमा यो रोग लाग्नेक्रम बढ्दै गएको छ । असन्तुलित खानपान, तनाव लगायत विभिन्न कारण व्यक्ति अस्वस्थ हुन्छ । मधुमेहले शरीरका मुटु, किड्नी लगायतका अरु भागलाई पनि असर गर्ने गर्छ । मधुमेह भएका व्यक्तिको आँखामा पनि उत्तिकै असर पर्ने हुन्छ । जसका कारण व्यक्तिले आफ्नो दृष्टि नै गुमाउनुपर्ने अवस्था आउँछ । डायबिटिजका कारण आँखामा कस्तो असर पर्छ ? यसबाट कसरी जोगिने हामीले तिलगङ्गा अस्पतालमा कार्यरत वरिष्ठ परामर्शदाता नेत्ररोग विशेषज्ञ डा. रबा थापासँग कुराकानी गरेका छौं । मधुमेहले आँखामा कस्तो असर पर्छ ? मधुमेहले आँखामा दुईथरीको असर पर्छ । एउटा अन्य मान्छेमा पनि हुने र मधुमेहको बिरामीमा धेरै देखिने समस्याहरू हुन्छन् भने कतिपय समस्या मधुमेहका बिरामीमात्र देखापर्ने हुन्छ । अन्य व्यक्तिमा पनि हुने तर मधुमेहका बिरामीमा पनि देखिने लक्षण भनेको आँखाको विभिन्न खालको संक्रमण हो । मोतिबिन्दुको समस्या, जलबिन्दुको समस्या छिटो देखा पर्ने, आँखाको नशा सम्बन्धि धेरै देखा पर्ने समस्या सुगर भएका व्यक्तिहरूमा धेरै देखिन्छ । तर, डायबिटिजका बिरामीमा मात्रै देखिने समस्या भनेको यसले आँखाको मुख्य देख्ने भाग जसलाई रेटिना भन्छौं, त्यसको रक्तनलीमा असर गरेर बिस्तारै रक्तस्राव हुने, नयाँ रक्त नसाहरू पलाउने हुन्छ । समयमै उपचार भएन भने आँखामा अत्यधिक रक्तस्राव भएर पर्दा खुम्चँदै जान्छ । त्यसपछि बिस्तारै व्यक्ति दृष्टिविहीन हुनुपर्ने अवस्था हुन्छ । धेरै ढिलो भयो भने उपचारले पनि फाइदा नहुन सक्छ । आँखाको समस्या अन्य व्यक्तिको तुलनामा मधुमेहका बिरामी दुई गुणा बढी हुन्छ भने अन्धोपनको समस्या ३० औं गुणा हुन्छ । यही मध्येको एउटा समस्या हो डायबिटिज रेटिनोप्याथी । डायबिटिज रेटिनोप्याथी के हो ? आँखाको रेटिना भनेको आँखाको भित्री भाग हो । जसलाई हामीले नांगो आँखाले देख्न सक्दैनौं । विशेषखालको माइक्रोस्कोप प्रयोग गरेर मेसिनबाट हेर्नुपर्ने हुन्छ । अर्थात् विशेषखालको फोटो खिचेर हेर्नुपर्ने हुन्छ । डायबिटिजले रेटिनाको रक्त नशामा असर गर्छ । त्यसपछि रक्तस्राव हुन थाल्छ, नयाँ रगतको नशा पलाउन थाल्छ, पर्दा सुन्निएर आउन थाल्छ । समयमै उपचार भएन भने पर्दा खुम्चिएर आँखान देख्ने समस्या आउँछ । जसलाई हामीलाई बाहिरी आँखाले हेर्न सक्दैनौं । आँखाको दृष्टिपर्दामा हुने असरलाई डायबिटिज रेटिनाप्योथी भनिन्छ । डायबिटिजले हुने आँखाको पर्दा सम्बन्धी समस्या नै डायबिटिज रेटिनाप्योथी हो । कुन उमेर समूह र कस्तो ठाउँका व्यक्तिमा यो समस्या बढी छ ? नेपालमा मात्र होइन अहिले विश्वमै सुगर प्रेसरका बिरामीहरू बढ्दै गएका छन् । नेपालको शहरी क्षेत्रका नागरिकहरूमा सुगरको समस्या अझ बढी देखिन थालेको छ । ग्रामीण भन्दा शहरी भेगमा खानपान, शारीरिक व्यायम तनाव यि सबै समस्याले यो समस्या बढ्दै गएको पाइन्छ । जति डायबिटिज भएकाहरूको संख्या बढ्दै जान्छ त्यस्तै रेटिनोप्योथीको संख्या पनि बढ्दै जान्छ । अन्य समस्याको उपचारपछि निको हुन्छ तर, यसको समयमा उपचार गरिएन भने यसले दृष्टिबिहीन गराउँछ । तर केही जोखिमका तत्व छन् । जसमा डायबिटिज रेटीनोप्याथी बढी हुनुगर्दछ । जसको सुगर नियन्त्रणमा हुँदैन त्यस्ता व्यक्तिलाई डाइबिटिज रेटिनोप्याथी बढी हुन्छ । जोखिमका कारण के हुन ? सुगर कन्ट्रोल नहुने, सुगरसँगै उच्च रक्तचाप हुने , कोलेस्ट्रोलको उपचार नगर्ने, रक्त अल्पता पनि धेरै हुँदा अवस्था जोखिम हुनसक्छ । विश्वमा करिब एकतिहाई डायबिटीज बिरामीमा रेटिनोप्याथीको समस्या हुन्छ । नेपालमा गरिएका विभिन्नखाले अध्ययनले पनि सयमा २० देखि २५ जनाको आँखामा असर भएको देखाएको छ । डायबिटीजको संख्या बढेअनुसार यो समस्या हुने बिरामीको संख्या पनि बढ्दै गएको छ । बिरामीको संख्या बढ्दै जानु त्यसमा पनि उपचारको लागि ढिला गरुी अस्पताल आउनुले पनि यो जोखिम हुँदै गएको छ । जसले गर्दा अन्धोपनको समस्या पनि बढ्दै गएको छ । कस्तो व्यक्तिलाई बढी हुन्छ ? मधुमेह भएको समयावधि बढ्दै जाँदा जस्तै २० वर्षको आँकडा हेर्यो भने मधुमेह भएको २० वर्षमा पहिलो र दोस्रो प्रकारको मधुमेह वर्गिकरण गरिन्छ । पहिलो प्रकारका करिब सबै बिरामीलाई रेटिनोप्याथी देखिन्छ भने दोस्रो प्कारको समस्या दुईतिहाइ बिरामीमा देखिसकिएको हुन्छ । यसो मतलब मधुमेहको समय बढ्दै जाँदा सुँगर नियन्त्रणमा भएपनि डायबेटिज रेटिनाप्याथी बढी देखिन्छ । डायबिटीजसँगै उच्च रक्तचाप छ यसको उपचार भएन त्यस्तै खराब चिल्लो भनेको कोल्स्ट्रोल ट्राइग्लिसराइड भन्ने गर्छौ । यस्तो रगतमा चिल्लोको मात्रा धेरै छ उपचार भएन भने यस्ता व्यक्तिलाई पनि बढी हुन्छ । जसले चुरोट खान्छ जसको किड्नीमा पहिले समस्या आइसकेको हुन्छ त्यस्तो व्यक्ति, रक्त अल्पतताका बिरामी र गर्भावस्थामा पनि यो समस्या धेरै देखिने गर्छ । कस्तो अवस्थामा बिरामी अस्पताल आइपुग्छन् ? आँखाको पर्दा बाहिरी रुपमा देखिँदैन । आँखा रातो पनि हुँदैन, चिप्रा आउने, आँखा पोल्ने जस्ता कुनै लक्षण देखिंदैन । कुनै लक्षण नदेखिने भएकाले पनि होला बिरामी धेरै पछाडी मात्र अस्पताल आइपुग्छन् । आँखा बिस्तारै धमिलो हुँदै जाने, कहिले सिधा चिज बांगो देखिने आँखा अगाडि केही छाया जस्तो हुने समस्या धेरैपछि देखिन्छ यतिञ्जेलसम्म धेरै ढिला भइसकेको हुन्छ । यसको पहिचानको लागि एकमात्र उपाय भनेको जाँच हो । कहिलेकाहिँ धेरै डायबिटिजका बिरामीको रोग पत्ता नै लागेको हुँदैन किन की बिरामीले जाँच गरेको हुँदैन । यसो हुँदा शरीरका अन्यभागमा पनि यसले ठूलो असर पारिरहेको हुन्छ । यो रोग पत्ता लगाउन पनि सबैभन्दा पहिले डायबिटिज पत्ता लागेको हुनुपर्छ । डायबिटिज पत्ता लाग्नेबित्तिकै रेटिनोप्याथीको पनि जाँच गर्नुपर्छ । जाँच कस्तो हुन्छ ? आँखाको जाँच भन्नेवित्तिकै धेरैजसोले चस्मा लगाउन पर्ने र नपर्ने भन्ने बुझ्छन् । धेरैजसो आएर पाओर जाँच गर्ने गर्छन् । धेरैलाई चस्मा लगाइसकेपछि अब बाँकी जाँच गर्न पर्दैन भन्ने भ्रम हुन्छ । यो जाँचले डायबिटिज रेटिनाप्योथी थाह हुँदैन । यसका लागि आँखाको पर्दा जाँच गर्नुपर्ने हुन्छ । त्यसका लागि विशेष प्रविधिबाट आखाँको नानी फुलाएर भित्रको रेनिा परिक्षण गर्नुपर्छ । त्यसपछि मात्र थाह हुन्छ । बिरामी आँखा धमिलो देख्ने भएपछि मात्र अस्पताल पुग्छन् तर सबै धमिलो रेटिनाप्योथीको कारण हुन्छ भन्ने पनि हुँदैन । अन्य रोगले पनि धमिलो देखिन्छ । रोग पत्ता लागिसकेपछि गम्भीरता अनुसार उपचार सुरु गरिन्छ । उपचार प्रक्रिया के हो ? पहिचान नै महत्वपूर्ण हुन्छ । उपचारको लागि ठूला आँखा अस्पतालमा पुग्नैपर्छ भन्ने छैन । अहिले धेरै ठाउँमा सामुदायिक आँखा केन्द्रमा पनि यो जाँच हुन्छ । यसको उपचार अवस्थाको आधारमा हुन्छ । पर्दा सुन्निएर नशा सुन्निएको अवस्था, पर्दा उप्किएको अवस्थामा विशेषखालको उपचार गर्नुपर्ने हुन्छ । यसको उपचार लेजर, इन्जेक्सन र सल्यक्रियामात्र होइन । सँगै प्रेसर सुँगर पनि कन्ट्रोल गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा गएकाहरूमा समस्या बढी हुन्छ भनिन्छ नि ? हो, डायबेटिज रेटिनोप्याथीको समस्या वैदेशिक रोजगारीमा गएर फर्केकाहरूमा बढी देखिने गरेको छ । ४० वर्षभन्दा कम उमेर जो लामो समयदेखि खाडीलगायतका विभिन्न देशमा गएर फर्केका हुन्छन् उहाँहरूमा यो समस्या अझ बढी देखिन्छ । विदेश गएका व्यक्तिहरूको स्वास्थ्य जाँचमा व्यक्ति, कम्पनी र सरकारले पनि कुनै चासो दिएको पाइँदैन । विदेशमा दिनरात काममा व्यस्त हुने युवाहरूमा स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने चेत हुँदैन, बिरामी भयोभनेमात्र अस्पताल जाने त्यो पनि विदेशमा धेरै पैसा खर्च गर्नुपर्ने भएकाले सामान्य समस्या लुकाएरै बसेका हुन्छन् । अहिले तिलगंगामा आउने अधिकांश बिरामी वैदेशिक रोजगारीबाट फर्केकाहरू रहेका छन् । धेरै जसो युवाहरू आँखा धमिलो भएको, दृष्टिमा केही समस्या भएको भन्दै उपचारका लागि आउने गर्छन् । यसरी जाँच गर्न आउनेहरूमा डायबिटिज रेटिनोप्याथीको समस्या बढी पाइन्छ । हामीले वैदेशिक रोजगारीबाट फर्केका कतिपय युवाहरूको आँखाको दृष्टि जोगाउन सकेका छैनौं यो निकै दुःखद कुरा हो । अब वैदेशिक रोजगारीमा जाने व्यक्ति पठाउने कम्पनीले यो कुरालाई गम्भीर रुपमा हेर्नुपर्ने देखिएको छ । आजभोलि व्यक्तिको जीवनशैली धेरै फेरिएको छ । फेरिएको जीवनशैलीले स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् । कतिपय नागरिकलाई रोगको बारेमा जानकारी नै नभइ यस्ता रोगको संक्रमणमा परेका छन् भने कतिपय थाह भएका शिक्षित व्यक्तिहरू पनि नियमित जाँचमा त्यति ध्यान दिएको पाइँदैन । विश्वमा जति स्वास्थ्यका उपकरण प्रविधि आविष्कार गरिरहेका छन् त्यत्ति नै नयाँ नयाँ रोगहरू पत्ता लाग्ने गरेको पाइन्छ । यस्ता रोगहरूको बारेमा सबै नागरिकले थाह पाउन आवश्यक हुन्छ । यसको लागि नेपाल सरकारले पनि ध्यान दिनुपर्ने देखिन्छ । प्रेसर सुगर यसबाट लाग्ने डायबिटिज रेटिनोप्याथी जस्ता रोग वा कुनै पनि रोग लाग्न नदिन सबैभन्दा पहिले व्यक्ति आफैले ध्यान दिनुपर्छ । यसका लागि हाम्रो खानपान देखि जीवनशैलीमा ध्यान दिनुपर्छ । हरियो सागपात फलफुल बढी खानुपर्छ । डब्लुएचओले एक दिनमा करिब पाँच सय ग्राम हरियो सागपात खानैपर्छ भनेको छ । यो प्राय कसैको खानामा पुगेको हुँदैन । फलफूल जुन हिसाबमा खानुपर्ने हो त्यो पनि पुगिरहेको हुँदैन । खानापछि नियमित व्यायाम पनि शरीरका लागि निकै आवश्यक हो भने आफ्नो तौल पनि नियन्त्रण गर्न सक्नुपर्छ । यति गर्दा पनि रोग लाग्यो भने हामीले नियमित चेकजाँच गर्न निकै आवश्यक छ । किनकि कुनै पनि रोग गम्भीर अवस्थामा पुग्नु अगावै जानकारी होस् । यसो हुँदा समय पैसा र स्वास्थ्य सबै स्वस्थ हुन्छ ।