द्विपक्षीय नाका पुनः सञ्चालनमा आएपछि नेपाल र चीनको व्यापार बढेको छ : उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए । उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।’ नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताए । ‘यस्ता उच्चस्तरीय भ्रमणहरुका क्रममा व्यापार, ‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरु भएका छन्, यस्ता किसिमका भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरु थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु’, मन्त्री भण्डारीले भने । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उनले बताए । उनले भने, ‘व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो भने प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो, नेपालको भौतिक तथा व्यापार ‘लजिस्टिक्स’ पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले खलेको महत्वपूर्ण भूमिकाको सरहाना गर्न चाहन्छु ।’ मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गरे । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उनको भनाइ छ । ‘हामी हाम्रो व्यापार पूर्वाधार विकास गर्न, यातायात सञ्जालको स्तरवृद्धि गर्न, भन्सार सुविधाहरूमा सुधार गर्न र हाम्रो ‘लजिस्टिक्स’ प्रणालीलाई आधुनिकीकरण गर्न इच्छुक छौँ, यी क्षेत्रमा चीनको विशेषज्ञता र लगानीको लाभमार्फत हाम्रो औद्योगिक विकास र दुई देशीय व्यापारलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ’, उनले भने । चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरालामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने उल्लेख गरे । चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराए । उनले भने, ‘नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो, नेपालले यस क्षेत्रमा कानुन संशोधन र परिमार्जन गरी लगानीको वातावारण बनाएको छ, यसबाट नेपालमा थप चिनियाँ लगानी आकर्षित हुनेमा विश्वस्त छु ।’ मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न चीन सरकारसँग सहकार्य गर्न निकै उत्साही रहेको बताए । उनले भने, ‘यस सम्बन्धमा व्यापार मेला, व्यापार प्रतिनिधिमण्डल र द्विपक्षीय सम्झौता जस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’ भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताए । व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा चीनले काम गरिरहेको बताए । राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तरक्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ ।
पर्सामा एकै वर्ष २३२ साना तथा घरेलु उद्योग खारेज
फाइल फोटो वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा २३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक संकटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरू घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भने, ‘आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ, अर्कोतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौंदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन् ।’ उनले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्र्ने उद्यमीलाई सहज रूपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताए । ‘अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ, जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्,’ उनले भने, ‘राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ ।’ पर्सा जिल्लामा आव २०७९/८० मा भने एक १७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए ।
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको जानकारी दिए । यस्तै, उनले साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए । यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो कोशिस के छ भने तपाईहरुलाई उत्साहका साथमा आफ्नो पेशामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । त्यस उद्देश्यले हामी केही न केही गर्छौं’, उनले भने । उनले घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गरे ।