‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’, आजबाट ग्लाेबल आइएमई नेपालकाे सबैभन्दा ठूलाे बैंक

काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु सँगै बैंकले नयाँ इतिहास र नयाँ उचाइ प्राप्त गरेकाे हाे । कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यी सबै परिसूचकमा नेपालका अरु बैंकहरु भन्दा ग्लोबल आईएमई अगाडि छ । ‘केही वर्षअघि मात्र राष्ट्रिय वाणिज्य बैंकले १०० अर्ब निक्षेप पुर्याएको दिन मैले गभर्नरको हैसियतमा राष्ट्रिय वाणिज्य बैंक नेतृत्वलाई बधाई दिएको थिए । नेपालका बैंक पनि ठूलो भए भन्ने लागेको थियो’ अर्थमन्त्री युवराज खतिवडाले भने-‘अहिले ग्लोबल आइएमई बैंकको निक्षेप २१३ अर्ब भयो, कर्जा लगानी २०० अर्ब नजिक पुग्यो । प्राथमिक पुँजी २४ अर्ब पुग्यो भन्दा मलाई निकै खुशी लागेको छ ।’ मर्जसँगै शाखा तथा सेवा केन्द्रको आधारमा पनि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । ७७ वटै जिल्लामा सेवा दिन सक्ने ग्लोबल आइएमई बैंक नेपालको एक मात्र बैंक भएको मर्जपछि ग्लोबल आईएमई बैंकको सञ्चालक रहेका केशवबहादुर रायमाझिले बताए । कर्मचारीको संख्या, ग्राहक संख्या र सरकारलाई राजश्वमा बढी योगदान गर्ने बैंक पनि ग्लोबल आईएमई बैंक हुने अध्यक्ष ढकालले बताए । ‘बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । गत वर्ष दुई बैंकले सरकारलाई ३ अर्बभन्दा बढी राजश्व तिरेको छ । यी आधारमा हामी अग्रणी बैंक भएको छौं’ ढकालले भने । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार शुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । कुनै बेला ३२ वटा वाणिज्य बैंक रहेकोमा यो मर्जसँग वाणिज्य बैंकको संख्या २७ वटा भएको छ । ३ वटा स्वस्थ्य अवस्थाका वाणिज्य बैंकसहित १८ वटा बैंक वित्तीय संस्था मर्जपछि बनेकाे याे संस्थाले मर्जकाे मामिलामा पनि इतिहास नै बनाएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक ठूलाे भएसँगै जिम्मेवारी पनि ठूलाे भएकाे बताए ।

जब मृत्युलाई जितेर हस्तकलामा रमाएँ !

काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग लडिवुडी गर्दै मान्छे अगाडि बढिरहन्छ । चाहे ऊ दुःखमा होस् वा सुखमा बाँच्ने चेष्टा गर्छ । कतिले जीवन आफुले सोचेजस्तो भएन भनेर भगवानलाई सराप्छन् त कतिपयले भाग्यलाई । खाइलाग्दो ज्यान, चलायमान हातखुट्टा राम्ररी देख्न–सुन्न सक्ने मान्छे । प्रष्ट भनौं एउटा शारीरिक तन्दुरुस्त मान्छेले भगवान र आफ्नो भाग्यमा भर पर्नु उचित होला र ? हो हामी त्यही मान्छे भाग्यको भरमा चलिरहेका हुन्छौं । एकछिन सोचौं त जसको हिँडडुल गर्ने खुट्टा नै चल्दैन उसले के सोच्छ होला ? उसको दैनिकी कसरी चल्छ होला ? उसले जीवनलाई कसरी बुझ्छ होला ? १८ वर्षको उमेर । सायद यो उमेरमा सबैलाई बैँसको उन्माद हुन्छ । धेरैले सोच्छन् पनि सायद मलाई कहिल्यै कुनै दु.ख पनि पर्दैन । धादिङका विष्णु पुकार श्रेष्ठले पनि यस्तै सोचेका थिए १८ वर्षको उमेरमा । खाइलाग्दो ज्यान, सहयोगी भावना, छिमेकी र साथीहरुले सहयोग भनेपछि अगाडि लागि हाल्ने । भन्छन् नि ‘राम्रो मान्छे दैवको पनि प्यारो हुन्छ रे ।’ त्यहि खाइलाग्दो १८ वर्षको उमेरमा विष्णुको जीवनमा ठूलो बज्रपात आइलाग्यो । ‘छिमेकीको घरमा प्लास्टर गर्ने काम भइरहेको थियो, सहयोग भनेपछि म हुरुक्कै हुने, म पनि काममा सघाउन गइहालेँ । काम अलि हतारिएर गर्ने मेरो बानी ।’ गहभरी आँसु निकाल्दै विष्णु भन्छन्, चारतलाको त्यो घरबाट म खसेछु, मैले थाहै पाइनँ । म बेहोस थिएँ । साथीहरुले वीर अस्पतालमा लिएर आएछन् । एकदिन पछि मेरो होस आयो । दुबै खुट्टाले काम गर्न छोडि सकेका थिए । मलाई यो सब सपनाझैँ लाग्यो ।’ उनले भने । गहभरी थुपारिएका आँसु तप्प चुहाउँदै विष्णुले भने, ‘मेरो मेरुदण्ड भाँचिएछ ।’ डाक्टरले विस्तारै ठीक भइहाल्छ भनेका थिए । त्यति सम्म कि पहिले जस्तै खुट्टा पाउने आशा थियो । पहिलेको जसरी नै हिड्ने, साथीसंगीलाई सहयोग गर्ने उनकाे आश कायमै थियो ।’ तर एक वर्षसम्म अस्पताल बस्दा पनि उनको खुट्टा ठीक भएन । उपचारमै १२ लाख रुपैयाँ सकियो । अब त उनको आशा पनि मर्यो । अन्तिममा केही नलागे पछि पहिलेको जस्तै खुट्टा पाउने आश मार्दै धादिङ फर्केर गए, उनले सुनाए । उनको त्यतिखेर दैनिकी एकदमै कष्टकर रह्यो । उनी भन्छन्, ‘एक मनले भन्थ्यो बाँच्नु धिक्कार छ, अर्को मनले भन्थ्यो केही गरेर देखाउनु पर्छ, म मेरो जीवनको घनचक्करमा थिएँ ।’ दुई वर्ष जसोतसो धादिङमै कटाएर पछि फेरी काठमाडौं आएको उनी बताउँछन् । काठमाडौंमा आएपछि बीआईएमा उनको घरमा आमाबुवा र ३ दिदिबहिनी छन् । धादिङबाट काठमाडौं आएसँगै विष्णु बीआए फाउण्डेसनमा भर्ना भए । जब उनी बीआईए फाउण्डेसनमा पुगे उनले देखेको र भोगेको संसार भन्दा त्यहाँकाे वातावरण अलि पृथक पाए । किनकी उनी जस्तै अपाङ्गता भएका मानिसहरु त्यहाँ धेरै थिए जसले उनलाई म मात्र अपाङ्ग रहेनछु भन्ने बोध गरायो । म जस्ता धेरै रहेछन् भनेर मैले चित्त बुझाएँ । उनले भने । बीआईए फाउण्डेसनले जीवनदेखि हार खाएका, आफ्नो जीवन बेकार ठानेका र आफ्नै घरमा हेपिएर बसेका, काम नलाग्ने भनेर बसेकाहरुका लागि स्थापना भएको संस्था हो । हुन पनि बीआइए फाउण्डेसनमा अहिले विभिन्न किसिमका अपाङ्गता भएका पुरुष र महिलाहरु छन् ।  हाल फाउण्डेसनले त्यस्ता व्यक्तिलाई उनीहरु अनुसारको सिपमूलक काम सिकाउँदै आएको छ । सिप सिकाएर प्रमाणपत्र मात्र होइन उनीहरुलाई स्वावलम्वी बनाउने काम गरिरहेको छ । उनीहरुले आफ्नो सिप अनुसार पकेट खर्चदेखि मासिक पारिश्रमिक पनि पाउने गरेका छन् । त्यहाँ पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका अपाङ्गता भएका व्यक्ति छन् । ह्विल चेयर म्याराथुनमा तृतिय खेलकुदप्रतिको उनको लगाव सानै देखिको हो । सानैदेखि खेल खेल्न मन पराउने उनी जब शारीरिक रुपमा अशक्त भए तब उनको खेल खेल्ने चाहना अधुरै रह्यो । हुनत खाने मुखलाई जुँगाले  छेक्दैन भनेझैं उनले आफ्नो खेल खेल्ने सपना भने त्यसै मर्न दिएनन् । गत वर्ष फागुनमा बीआइए फाउण्डेसनले आयोजना गरेको तेस्रो ह्विल चेयर म्याराथुन प्रतियोगितामा उनी तेस्रो भए । २०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा विष्णु तृतिय भएका थिए । उनी भन्छन्, अहिले पनि सक्ने जति प्रतियोगिताकमा सहभागिता जनाउँदै आएको छु । धेरै पढेर  ठूलो मान्छे बन्ने सपना सबैको हुन्छ । त्यस्तै सपना उनले पनि बुनेका थिए । तर अशक्त भएकै कारण उनकाे कक्षा १० सम्ममा नै शैक्षिक योग्यता स्थगन हुन पुग्यो । बास्केट, क्रिकेट र स्विमिङ उनको फेवरेट खेल हुन् । राम्रो खेलाडी बनेर सेनामा जागिर खाने उनको इच्छा इच्छामै सीमित रह्यो ।  सेना बनेर देशको सेवा गर्ने मेरो सपना अधुरै रहेको उनी गुनासो गर्छन् । कोरेका चित्र विदेशमा निर्यात हाल उनी २७ वर्षका भए । अहिले बिआईएमा नै बसेर विभिन्न प्रकारका चित्रहरु कोर्ने काम गरिरहेका छन् । उनले विभिन्न प्रकारका चित्र थान्का पेन्टिङ गरेको पनि ६/७ वर्ष भइसकेको छ । उनीसँगै बीआईएमा धेरै साथीहरु बस्दै आएका छन् । उनी अहिले स्पाइनल (मेरुदण्ड)को समस्याले ग्रसित छन् । उनीहरुले कारेका चित्रहरु प्रायजसो विदेशमा निर्यात हुने गरेका छन् । उनले हालसम्म ५०/६० पेन्टिङ गरिसकेका छन् । विदेशीहरुले एउटा पेन्टिङको ५/६ लाख रुपैयाँ सम्म दिने गरेको उनी बताउँछन् । तर बेचेको चित्रको पैसा बीआईएले नै राख्ने गरेको छ । जसले गर्दा उनीहरुको पालनपोषणका लागि कसैसँग माग्नु नपरेको फाउण्डेसनले बताएको छ । उनले हालसम्म विभिन्न व्यक्तिका पेन्टिङ, बुद्धको चित्र तारा लगायत विभिन्न चित्रहरु कारेका छन् । पेन्टिङका लागि पेपर कलर, ब्रस लगायत सामानहरु चाहिने उनी बताउँछन् । एउटा राम्रो चित्र कोर्न ४/५ महिना सम्म पनि लाग्ने गरेको छ । उनी हाल फाउण्डेसनमानै बसेर थान्का पेन्टिङ सिक्दै र कोर्दै आएका छन् । जीवन सकियो भन्ने लागेको थियो उनी भन्छन्,‘अहिले पहिले जस्तो बोर लाग्दैन, चित्र कोर्नमै व्यस्त हुन्छु । अब त खुसी नै छु ।’ अहिले उनी जीन्दगी खुसीका साथ बाँच्ने अठोट गर्छन् । अहिले ह्विल चेयर नै उनकाे सारथी बनेकाे छ ।

खेलाडीको सम्पूर्ण बन्दोबस्त तारे होटलमा, ५ अर्ब खर्च हुँदा ५० करोड आम्दानीको अनुमान

काठमाडौं । आजबाट १३औं दक्षिण एशियाली खेल (साग) नेपालमा शुरु भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने २८ विधाका खेलमा प्रतिस्पर्धा गर्न सागमा ३ हजार २ सय २८ खेलाडी सहभागी हुँदैछन् । खेलाडी, प्रशिक्षक र खेलकुद सम्बन्धि विभिन्न संस्थाको पदाधिकारी समेत गरी करिब ५ हजार ४ सय जनालाई खेलकुल परिषदले तारे होटलमा बस्ने खाने बन्दोबस्त मिलाएको छ । राजधानीको पाँच तारे होटलदेखि विदेशी पर्यटकस्तरी १७५ वटा होटल उनीहरुलाई राखिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा १२५ वटा होटल बुक गरेको छ । त्यस्तै, पोखरामा ३५ वटा र जनकपुरमा १५ वटा होटल बुक गरेको छ । सिंगल र डबल गरेर ३२०० बेड बुक गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी दिए । धेरैजसो खेलाडी काठमाडौंमा नै रहने भएकाले पनि यहाँ धेरै होटलहरू बुक गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । परिषदका सदस्य सचिव रमेश सिलवालका अनुसार काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, कराँते, कबड्डी, खो-खो, पौडी, टेबल टेनिस, भलिबल, हुस्सु, जुडो खेल खेल्ने खेलाडीका लागि दुई हजार ४३१ खेलाडीका लागि काठमाडौंमा बस्ने व्यवस्था गरिएको छ । काठमाडौमा खेलाडी, रेफ्री, प्रशिक्षक, व्यवस्थापकसहित धेरैको आगमन हुने भएकाले काठमाडौं र ललितपुरमा गरी १२५ वटा होटलहरू बुक गरिएको हो । पहिलो पटक राजधानी बाहिर साग सञ्चालन हुने भएपछि काठमाडौंसँगै पोखरा र धनुषाका होटलहरू पनि खेलाडीले भरिभराउ भएका छन् । २८ मध्ये ८ वटा प्रतियोगिता पोखरामा हुँदैछ । त्यसमा पुरुष र महिला गरी ७ सय २२ खेलाडीको सहभागिता रहनेछन् । आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि ४ सय १ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने ३ सय २१ जना पुरुष खेलाडी रहेका १३औं साग प्राविधिक समितिले जनाएको छ । पोखरामा आयोजना हुने साग गेमका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल टोेली समेत रहने आयोजकले जनाएको छ । पोखरामा खेलाडी बस्नका लागि ३५ वटा स्टार होटलहरू बुकिङ गरिएका छन् । धनुषाको जनकपुरमा पहिलो पटक तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने भएपछि सार्क राष्ट्रका खेलाडीहरूको आगमनले जनकपुरका होटलका कारोबार बढेकोले होटल व्यवसायीहरू खुशी छन् । जनकपुरमा कुस्ती प्रतियोगिता हुँदैछ । कुस्ती जनकपुर क्षेत्रको मौलिक खेल हो । जनकपुरमा पहिलो पटक हुने प्रतियोगितालाई भव्य बनाउन सम्बन्धित निकायले कुनै कसर बाँकी राखेका छैनन् । जनकपुरका सिता शरन, अमन, नमस्कार लगायतका १५ वटा होटलहरू बुक गरि सकिएको जिल्ला खेलकुद विकास समिति धनुषाले जनाएको छ । मंसिर २० देखि २३ गतेसम्म कुस्ती प्रतियोगितामा सार्कमा पाँच राष्ट्रले कुस्तीमा भाग लिएका छन् । माल्दिभ्स र भुटानका खेलाडी भने कुस्तीमा सहभागी छैनन् । त्यस्तै उद्घाटन सम्य र भव्य बनाउनको लागि आयोजकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजार जनाको उद्घाटन र समापन समारोहमा प्रस्तुति राख्ने तयारी गरेको हुँदा स्टार होटलदेखि सामान्य होटल भरीभराउ हुने देखिन्छ । आयोजकका अनुसार सेना र प्रहरी बाहेक विद्यार्थी ३ हजार, झाँकी समूहका ४ हजार, व्यावसायिक कलाकार ३ सयको उपस्थिति उद्घाटन सत्रमा मात्र हुनेछ । त्यसबाहेक १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुने तयारी भएको छ । परिषद्ले खेलाडीलाई दैनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म भत्ता दिदै आएको छ । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सकिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्मचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरिएको छ । विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिएकाे छ । सागमा नेपालसहित ७ देशका खेलाडीले २८ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत तथा ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग आयोजना गर्न सरकारले ५ अर्ब बजेट छुट्याएको छ । उक्त रकम पूर्वाधार निर्माणदेखि खेलाडीकाे खानपान, बसाइ, यात्रा, भत्ता, प्रशिक्षकलाई दिने सुविधासमेतमा खर्च हुने उनले बताए । रमेश सिलवाल-सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् ‘यो पैसालाई खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ’ सिलवाल भन्छन्-‘हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । सागका सबै प्रतियोगिताहरु विदेशी च्यानलहरुमा प्रत्यक्ष प्रसारण गर्दैछौं । २ अर्ब भन्दा बढि मानिसले नेपालको बारेमा जानकारी पाउने छन् । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ ।’ साग समाचार सम्प्रेषणको विदेशी करिब २५० जना विदेशी पत्रकार नेपाल आउने भएकोले नेपालको प्रचार प्रसारमा ठूलो सहयोग हुने विश्वास गरिएको छ । विदेशी खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँने भएकोले उनीहरुले पनि होटलमा बस्छन्, घुम्छन् । नेपाली बजारमा किनमेल गर्छन् । सिलवालको अनुसार सागको लाइभ प्रसारण र भैन्यु ब्रान्डिङबाट न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । टिकटबाट करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यी शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका र्स्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं ।