नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी, छेन्दु– भैरहवा सीधा उडानमा अभिप्रेरित
बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् । प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिए । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ । मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिए । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गरे । सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिएकाे भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ । राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गरेका छन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गरे । लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छन् । रासस
बल्ल बले ट्राफिक लाईट, १२ ठाउँका लाइट मर्मत गर्न साढे ९७ लाख खर्चियो
काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका लाइटहरुले काम गर्न थालेका हुन् । २०५७ सालमा जापान सरकारले जडान गरिदिएको ट्राफिक लाइट बिग्रिएपछि काम गर्न छोडेको थियो । जापान सरकारले लाइट जडान गरेको १० वर्ष चलेपछि बन्द भएका थिए । २०६८ सालदेखि ट्राफिक लाइट बन्द थिए । बन्द भएका लाइट नेपाल सरकारले मर्मत गर्न उत्सुकता देखाएको थिएन । तर, हाल ती सबै ठाउँमा लाइटहरु मर्मत गर्ने काम थालिएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मूख्य कारण पाइएपछि धमाधम बनाइकाे हाे । सडक विभागका सुचना अधिकारी शिबहरी सापकोटाले विभागले धमाधम रुपमा लाइटको मर्मत कार्य गरिरहेकाे बताए । ‘गत वर्ष लाइट मर्मत गर्ने ठेक्का प्रक्रियाकाे कार्य सम्पन्न गरेर यो वर्षदेखि लाइट मर्मत गर्न शुरु गरिएको हो, त्यतिखेर डेढ करोड रुपैयाँको अनुमान आएपनि २७ प्रतिशत बिगोमा ठेक्का लगाएर काम शुरु गरिएको हो,’ उनले भने । १२ वटा ठाउँको ट्राफिक लाइट मर्मत गर्न ९७ लाख ५० हजार रुपैयाँको ठेक्का दिएको उनले बताए । लाइटको अवस्था हरेर त्यसको लागत लाग्ने उनकाे भनाइ छ । ११ ठाउँकाे बत्ती बलेपनि एक ठाउँमा अझै बलेकाे छैन । कुन कुन ठाउँमा बले ट्राफिक लाइट ? हाल काठमाडौं उपत्यकाको ११ ठाउँमा ट्राफिक लाइट बलेका छन् । उपत्यकाको पुतली सडक, पद्मोदयमोड, सिँहदरबार, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तिनकुने (बानेश्वर तर्फ), तिनकुने (एयरपोर्ट तर्फ), मुनिभैरव, ठिमी चोक र महापाल चोकका ट्राफिक लाइटहरु काम गरिरहेका छन् । यी सबै लाइटको व्यवस्थापन ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा ‘कनेक्सन’ गरिएको छ । यस्तै, केशरमहल, संग्रहालय दक्षिण गेट, माईतीघर, थापाथली, कालिमाटी, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, कौशलटार, सल्लाघारी र नारायण गोपाल चोकका लाइटहरुले काम गर्न सकेका छैनन् । उपत्यकामा दिनानुदिन सवारी साधनको चाप बढ्दो छ । यही बढ्दो चापलाई नियन्त्रण गर्न र उपत्यकाको ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन विभागले लाइट मर्मतको काम थालेको हो । ट्राफिक लाइट मर्मतको ठेक्का यार्सा टेक्नोलोजीले पाएको छ । यस्तै, काठमाडौं महानगरपालिको लगानीमा महाराजगन्ज चोक र शिक्षण अस्पताल अगाडि जेब्राक्रसमा पैदल यात्रुका लागि लाइट व्यवस्थापन गरिएको छ । साताभित्र थापाथली, कालिमाटी र मित्रपार्कमा पनि लाइट बनाइसक्ने बताइएको छ । इन्टरनेटको माध्यमबाट कुन चोकमा कुन लाइट कति समय थपघट गर्ने भन्ने चलाउन सकिन्छ । ‘कति मिनेटपछि लाइट रिभर्स हुने अर्थात् काउन्टिङ डिस्प्ले बनाउने भन्ने अब ट्राफिक प्रहरी कक्षबाटै गर्न सकिने भएकाे छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदम बहादुर बिष्टले भने । उनले उपत्यकाका विभिन्न एक सय ३९ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको बताए । यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ । उनका अनुसार, चोक चोकमा ट्राफिक लाइटको अभावमा प्रत्येक चोकमा चारदेखि छ जना ट्राफिक प्रहरी खटाउनु परेको छ । यी सबै स्थानमा ट्राफिक लाइट हुने हो भने जनशक्ति पनि कम लाग्छ र ट्राफिक व्यवस्थापन पनि प्रविधिमा आधारित भएर चल्ने उनकाे भनाइ छ । ‘ट्राफिक लाइट जडान भए पछि सम्पूर्ण ट्राफिक व्यवस्थापन सिस्टममा चल्छ, सडकमा सवारीको चाप र जामको समस्या आफैँ समाधान हुन्छ, ट्राफिक नै उभिएर ट्राफिक व्यवस्थापन गर्दा एकातिर पाँच मिनेट रोक्न सक्छ र अर्कोतिर आठ मिनेट रोक्न सक्छ । यसले गर्दा पनि जाममा परेका सर्वसाधारण रुष्ट हुन सक्छन्,’ उनले भने । यो प्रविधि नेपाली इन्जिनियरहरुले नै विकास गरेका हुन् । बिग्रेको अवस्थामा उनीहरुले नै मर्मत गर्ने सहमति भएको छ ।
१ लाख लगानीबाट १६ करोडकाे सम्पत्ति जाेडिन् सबिताले, अब ‘कीर्तिपुर होजियरी’काे ब्राण्डिङ गर्ने
काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक किसिमका हुन्छन् । तिनै पाटा र बाटाहरुलाई आत्मसाथ गरी आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने यो भनाई सबिताको जीवनमा पनि लागू हुन्छ । २०३६ सालमा काठमाडौंको कीर्तिपुरमा जन्मिएकी सबिताका संघर्षका भित्रिपाटाहरु अनगिन्ती छन् । अहिले सबिता ४० वर्षकी भइन्। तर, उनमा आफ्नो कामप्रतिको लगाव झुकाव भने निरन्तर बढ्दै गइरहेको छ । कामप्रति जति लगाव झुकाव छ त्यति नै शालिनता, भद्रता छ सबितामा । उनी आफ्नै व्यापार व्यवसाय गरेर जति उदाहरणीय बनेकी छिन् , त्यति नै गाउँलेहरुलाई सहयोग गरी नाम कमाउन सफल भएकी छिन् । हाल उनी कीर्तिपुर नगरपालिकाको महिला उद्यमी समितिकी उपाध्यक्षको रुपमा काम गरिरहेकी छिन् । सबिता महर्जनको जीवनमा समस्या, चुनौती र अवरोधहरु आए । तर, ती समस्या र चुनौतीहरुलाई उनले एउटा अवसर र सिकाईका रुपमा लिँदै अगाडि बढ्दै गइन् । डेढ लाखमा होजियरी उद्योग समिता महर्जनले वि.सं २०६७ साल चैत महिनामा ‘कीर्तिपुर होजियरी इन्डस्ट्री’ शुरु गरिन् । त्यो समय सबिताको लागि निकै चुनौतिपूर्ण थियो । उनी भन्छिन् ‘म त्यो समय सम्झन पनि चाहँदैन, न घरपरिवारले साथ दिए, न बैंकले ऋण पत्यायो । तर, मैले आँट गरें र अहिले यो अवस्थामा पुगेँ ।’ उनले शुरुमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर होजियरी उद्योग सञ्चालन गरिन् । अहिले उनले व्यवसाय गरेको पनि ९ वर्ष बितिसक्यो । हाल उनले त्यही व्यवसायबाट करौडौंको सम्पत्ति जोडेकी छिन् । मैले हालसम्म १६ करोड रुपैयाँ आम्दानी गरिसकेकी छु, गार्मेन्ट फ्याक्ट्रीमा ४० जना नियमित काम गर्ने कामदार छन्, घरमै बसेर बुनाइको काम गर्ने ३ सय जना छन्’ उनले भनिन् । भनिन्छ नि- ‘जो घोडा चढ्छ उही लड्छ ।’ हो, यस्तै सबिताले पनि आफ्नो जीवनमा धेरै हण्टर ठक्करहरु खाईन् । लामो समयको संघर्षपछि हाल उनी आफ्नो समाजमा एक सफल उद्यमीका रुपले चिनिएकी छिन् । उनी उद्योगमा उत्पादित सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गरिरहेकी छिन् । उनी हाल विभिन्न ब्राण्डका कपडा उत्पादन गर्दै आएकी छन् । बजारमा चर्चित शेर्पा ब्राण्ड उनकै उद्योगबाट उत्पादित ब्राण्ड हो । आफ्नै ब्राण्ड बजारमा ल्याउनका लागि आर्थिक समस्याका कारण पछाडि परेकी सबितामा आजभोली एक किसिमको उत्साह थपिएको छ । कीर्तिपुर होजियरी ब्राण्ड ल्याउने योजनामा गायक भक्तराज आचार्यले आफ्नो गीतमार्फत भनेका छन्- ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ कति सन्देश दिन खोजेको छ यी हरफहरुमा । यस्तै, उद्यमी सबिता महर्जनसँग पनि धेरै सपना छन् । जसलाई उनी पुरा गरेरै छोड्ने प्रतिज्ञा गर्छिन् । सबिताको एउटा ठूलो सपना छ । त्यो सपना हो कीर्तिपुर होजियरीको ब्राण्ड बजारमा ल्याउने । उनी आफ्नै होजियरीको ब्राण्ड बजारमा स्थापित गर्ने सोचमा छिन् । हाल उनको उद्योगमा महिनाको कम्तिमा ५ हजार स्विटर उत्पादन हुन्छन् । धेरै युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने उनको अर्को सपना छ । यसै होजियरीलाई ठूलो उद्योग बनाएर धेरै मानिसकाे माग अनुसारकाे ब्राण्ड नेपाली बजारमा ल्याउने उनकाे सपना छ । विभिन्न डिजाइनका कपडाको अर्डरअनुसार उत्पादन गर्दै आएको उक्त उद्योगमा हातले बुनेका सामानको माग बजारमा पनि बढ्दै गएको उनी बताउँछिन् । सिलाई बुनाइले फेरिएको जीवन सबिता महर्जन घरकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । मध्यम परिवारमा जन्मेकी उनी सानैदेखि केही गर्नु, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने भावनाकी थिइन् । कीर्तिपुरकै जनसेवा माद्यामिक विद्यालयबाट वि.स २०५० सालमा एसएलसी दिएकी उनले सानै उमेर देखिनै सिलाई बुनाइको काम गर्ने गर्थिन् । कक्षा ७ मा पढ्दै उनले घरमा सिलाइ बुनाइको काम गर्ने गरेको सुनाइन् । ‘म सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने मानसिकतामा थिएँ, त्यति बेलै गाउँघरका दिदीबहिनीहरुलाई सिलाइ बुनाइ सिकाउँथेँ ’ उनले भनिन् । महर्जनले यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो । त्यो समयमा छोरीलाई पढाउनुहुन्न, राम्रो घरकेटालाई रोजेर विवाह गराइदिने चलन थियो, त्यतिबेला म आफ्नो लागि खर्च आफै जुटाउने हुँदा घरबाट विवाहको दबाब नआएको उनले बताइन् । एसएलसी पास गरेलगत्तै उनले घरेलु तथा साना उद्योगबाट दिईने तालिम लिइन् । उनी काम गर्दै सिक्दै गइन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्ष श्रमिकको सम्मानसहित पाइन् । यो सम्मानले पनि उनको जीवनका एउटा इँटा थपियो । उनको कामप्रति लगाव झुकाव बढ्दै गयो । कामसँगै उनले पढाईमा पनि निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसमा आईए अध्ययन शुरु गरिन् । पढाईसँगसँगै उनले कलंकीको एक निट वयरमा काम शुरु गरिन् । २०५७ सालमा स्नातक तहको अन्तिम वर्षको परीक्षा सकिएसँगै उनको विवाह पनि भयो । जतिखेर उनी २१ वर्षको थिइन् । उनको जीवन अब कीर्तिपुरकै विकास महर्जनसँग जोडियो । हरेक महिलाले आफ्नो श्रीमान आफ्नो काममा साथ दिओस् । आफूलाई सहयोग गरोस् भन्ने नै हुन्छ । सबिताले पनि त्यस्तै सोचेकी थिइन् । तर उनलाई परिवारबाट सहयाेग भएन । घर परिवारको सहयोग विना नै उनले आफ्नो सिलाई, बुनाईको काममा निरन्तरता दिइन् । आफ्नो काम सँगसँगै उनले सामाजिक काममा पनि हात हालिन् । समाजमा असाय मानिसहरुलाई सहयोग गर्ने, सीप सिकाउने काम पनि गरिन् । महिलाले घर तथा खेतीपाती र घरलाई व्यवस्थित बनाउने हो भन्ने गलत मानसिकता बोकेको समाजमा महिलालाई आफूले चाहे बमोजिकको कार्य क्षेत्रमा स्थापित गर्न असाध्यै गाह्रो हुने उनको भनाइ छ । आफ्नो कामका साथै लक्ष्य चुम्नका लागि उनी निरन्तर लागि रहिन् । महिलालाई हरेक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । सानो रकमका लागि कर्जा लिन बैंक जाँदा पनि उद्यमी महिलाको मात्र नभई सहायको हस्ताक्षरको खोजी बैंकिङ्ग क्षेत्रमा नै हुँदा एकल महिला उद्यमीलाई कर्जा लिनका लागि गाह्रो भईरहेको उनको भनाई छ । अझै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजले असहज वातावरण सिर्जना गरेको छ ।