नगरपालिकाले शुरु गर्यो निःशुल्क लोकसेवा तयारी कक्षा

वालिङ । शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा प्रशिक्षण शुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । उनले भने, “स्याङ्जा जिल्लाको यो पहिचानलाई जोगाउँदै आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित यो प्रशिक्षण सञ्चालन गरिएको छ ।” पहिलो चरणमा निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि तयारी गरिरहेको नगरप्रमुख खाँणले बताए । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगरउपप्रमुख कल्पना तिवारीले दाबी गरे । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ । नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको भनाइ छ । “तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निःशुल्क कक्षा सञ्चालन गर्छौं”, अधिकृत सुवेदीले भने, “लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान वालिङ नगरपालिकामै पहिलो पनि हो ।” नायब सुब्बा र खरिदारका लागि सञ्चालन भएको तयारी कक्षा तीन–तीन महिना अवधिका लागि हुने शिक्षा शाखाप्रमुख उपसचिव बाबुराम सापकोटाले बताए । लोक सेवा आयोगको तयारी कक्षाका लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष ननाघेका महिलालाई सहभागी बनाइएको शाखाप्रमुख सापकोटाले बताएका छन् । नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि १५ दिनको सूचना प्रकाशन गरेकामा ३ सय १५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट १५५ जना छनौट गरी निःशुल्क तयारी प्रशिक्षण कक्षामा सहभागी बनाइएको छ । सहभागी भएकाहरुलाई बिहान र बेलुकामा कक्षा सञ्चालन थालिएको शिक्षा शाखाप्रमुख सापकोटाले बताए । रासस

१५ वर्षको अनुभव संगालेर ५ करोडमा पशु फर्म स्थापना, अनुसन्धान केन्द्र बनाउने योजना

काठमाडौं । विदेश गएर रूखमै पैसा फल्छ भन्ने गलत मानसिकता धेरैकाे हुन्छ । स्वदेशमै साहु वा बैंकसँग ऋण निकालेर पनि विदेश जाने युवाहरूकाे संख्या कम छैन । तर विदेश गएर धेरै पैसा कमाउने र विदेशमा  रूखमै पैसा फल्छ भन्ने मानसिकता रूपन्देहीका शौरभ शेरचनलाई  कहिल्यै लागेन । बरू उनमा स्वदेशमै केही गरेर देखाउनु पर्छ भन्ने साेच सानैदेखि पलायाे । रूपन्देहीको तिलोत्तमा नगरपालिका  वडा नम्बर १० मैनहवा घर भएका शेरचनले अहिले आफ्नै जग्गामा पशु फर्म स्थापना गरेका छन् । उनले २३ कठ्ठा क्षेत्रफलमा नमुना भैंसी, गाई र बधिया कुखुरा पालन गर्ने फर्म स्थापना गरेका हुन् । उनले  पाँच कराेडकाे लगानीमा कामधेनु क्याटल व्रिड एण्ड रिसर्च सेन्टर प्रालि (फार्म) दर्ता गरी फर्म सुरुवात गरेका हुन  । सानैदेखि केही फरक किसिमले काम गर्न चाहने उनकाे पशुपालन क्षेत्रमै १५ वर्षको अनुभव भएकाे बताउँछन्। १५ वर्ष अगाडि कास्कीकाे विभिन्न स्थानमा पशुपालन व्यवसाय गर्दै अाएका शेरचनले त्यहाँकाे वातावरण र माैसम पशुअनुकुल नभएपछि त्यसलाई रूपन्देहीमा ल्याएकाे बताए । नेपालका विभिन्न ठाउँबाट मात्र हाेइन उनले अहिले  भारतबाट पनि हरियाणा जातका भैसी ल्याएर फर्ममा राखेका छन् ।  पहिलो चरणमा ५० वटा भैंसीबाट व्यवसाय सुरु गरेका उनले अब छिट्टै ३ सय  भैंसी, २ सय गाई र एक हजार बधिय जातका लोकल कुखुरा पालन गर्ने योजना बनाएकाे विकासन्युजसँग सुनाए । हाल उनले  पाँचदेखि १० लिटर दुध दिने भैंसी र ६ देखि १२ लिटर दुध दिने गाई पालन गरेका छन् । अझ बढी पशु राख्नका लागि उनी फर्मकाे स्तरोन्नति तथा निर्माणको काम खटिरहेका छन् । गाई र भैंसीलाई  बाँध्ने उनीहरूकाे पालन गर्ने साेचमा शेरचन छन् । हाल निर्माण भइरहेकाे फर्ममा आधुनिक ढंगबाट करिव ३ सय  भैंसी, ४ सय गाई र ३ हजार कुखुरा पालन गर्न सकिने गरी  निर्माण भइरहेकाे उनकाे भनाइ छ । हाल उनीक दैनि २ सय लिटर दूध डेरीमा पठाउने गरेका छन् । गाई भैंसीका लागि आवश्यक पर्ने घाँस खेती प्राविधिकहरूको सल्लाह अनुसार काम गरिरहेको उनले बताए । उनले गाई भैंसी लागि करिब सात बिघा क्षेत्रफलमा घाँस खेती समेत सुरुवात गरेका छन् । हरियो घाँसमा आधारित पशुपालनबाट उत्पादन समेत वृद्धि हुने भएको कारण घाँस खेतीलाई बढी जोड दिएको भनाइ छ । कम्पाेष्ट मल उत्पादन गरेर पाेकामा बेच्ने  कृषक शेरचन केही फरक काम गर्ने मानसिकता बाेकेका व्यवसायी हुन्र । उनले दुध मात्र हाेइन गाई भैंसीकाे गाेबरलाई पनि पाेका बनाएर बेच्ने साेच बनाएकाे बताए । उनले गाई भैंसीकाे मल बालीनाली उब्जनीका लागि महत्वपूर्ण भएका कारण त्यसलाई बेच्ने साेच बनाएकाे सुनाए । कम्पाेष्ट मल उत्पादन गरेर पाेका बनाएर बिक्री गर्ने उनकाे भनाइ छ। एउटा आधुनिक फर्म मात्र हाेइन नेपालमै सबैभन्दा धेरै भैंसी पालन गर्ने गरी अनुसन्धान र नमुना फर्म स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए । ‘आधुनिक फर्म निर्माणका लागि धेरै सामानकाे आवश्यकता पर्नेछ, जुन सामान विदेशबाट पनि आयात गर्नुपर्ने हुन्छ । यसलाई आधुनिक फर्म बनाएर अनुसन्धान केन्द्र बनाउने योजनामा छु ।’ उनले भने ।

वैदेशिक रोजगारमा जानेप्रति बीमाको सौतेलो व्यवहार- डा. भीष्मकुमार भुसाल

काठमाडाैं। प्रत्येक बर्ष ५ देखि ६ लाख व्यक्तिहरुले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने गर्छन्। श्रम स्वीकृति लिनुपूर्व म्यादी बीमा र कल्याणकारी कोषको तोकिएको रकम बुझाउनु पर्छ। कुनै एजेन्टलाई कमिशन नतिरीकन आफै बीमा गराउन आउने ग्राहक हुन् वैदेशिक रोजगारीमा जानेहरु। उनीहरुका लागि बीमा कम्पनीहरुले कुनै प्रवर्द्धनात्मक खर्च पनि तिर्नु पर्दैन। तर रोजगारीको लागि परिवार र देश छोडेर सुदूर देशहरुमा कठिनतम काम गर्न जाने नेपालीहरुप्रति बीमा समितिको दृष्टिकोण अचम्म लाग्ने गरी चीसो देखिन्छ। वैदेशिक रोजगारीमा जानुअघि इजाजतपत्रवालाले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारको वैदेशिक रोजगार ऐन, २०६४ को दफा २६ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १९ बमोजिम करार अवधिभर कायम रहने गरी न्यूनतम पाँच लाखको बीमा गराउनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी वैदेशिक रोजगार ऐनको दफा २१९२० बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जानका लागि समेत बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सामान्यतया २ वर्ष अवधिको श्रम स्वीकृति हुने भएतापनि कामदारहरुको बीमाको अवधि ३ वर्षको हुने व्यवस्था कार्यान्वयनमा रहेको पाइन्छ । त्यसैगरी विदामा घर आई लगत्तै दुई वर्षका लागि पुनः श्रम स्विकृति लिई सोही मुलुक तथा कम्पनीमा जाने वा कुनै विदा नै नलिई ऐनको व्यवस्था बमोजिम सम्बन्धित देशस्थित नेपाली कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृति प्राप्त गर्ने कामदारहरुले समेत पुनः ३ वर्ष अवधिको बीमा प्रिमियम बुझाउनुपर्दा पछिल्लो वर्षको अवधि दोहोरिन गई ४ बर्षको करार अवधिका लागि ६ बर्षको वीमा प्रिमियम बुझाउनु पर्दा श्रमिकलाई दोहोरो आर्थिक भार पर्न जाने देखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुको म्यादी बीमा गर्ने प्रयोजनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा धेरै बीमा कम्पनीहरु दर्ता भएको भएपनि बीमा समितिले पुल सिस्टम खडा गरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स लिमिटेड गरी ४ वटा बीमा कम्पनीबाट मात्र बीमा गराउने गरेको पाइएको छ । ती कम्पनीका पनि वैदेशिक रोजगार कार्यालय नजिकै एक एक शाखाहरु (धेरैजस्तो स्थानमा एउटा मात्र) बाट मात्र त्यो रकम तिर्न पाइन्छ। यसबाट दूरदराजमा रहेका कामदारहरुले आफ्नो अनुकुल वा नजिकमा कार्यालय रहेका प्रचलित नेपाल कानून बमोजिम दर्ता भै कार्यसञ्चालन गरीरहेका बीमा कम्पनी छनौट गरी सेवा प्राप्त गर्ने अधिकारको हनन मात्रै नभई विभागले सेवा प्रवाहका लागि लागू गरेका इ-टोकन, इ-स्टीकर सहितका अनलाइन सेवा र घरैबाट पुनः श्रम स्वीकृतिको आवेदन गर्न पाउने सुविधाबाट फाइदा लिन पाउने श्रमिकको अधिकार र स्वचालित प्रणालीबाट सेवा प्रदान गर्ने वैदेशिक रोजगार विभागको उद्देश्य प्राप्तिमा समेत अवरोध पुगेको छ । वैदेशिक रोजगार विभागबाट बीमा समितिलाई गरिएका पटकपटकका पत्राचारहरु, वीमा समितिका जिम्मेवार अधिकारीहरु र वैदेशिक रोजगार विभागका महानिर्देशिकबीच भएको छलफल, विभिन्न वीमा कम्पनीका प्राविधिक टोली सम्मिलित आधा दर्जन भन्दा बढी बैठकहरु पश्चात पुनः श्रम स्वीकृतिका लागि बीमा नवीकरण र प्रथमपटक म्यादी बीमा गर्दा बीमा प्रिमियम वापतको रकम समेत ई-बैङ्किङ्ग वा मोबाइलट बालेट लगायतका अनलाइन भुक्तानी प्रणालीमार्फत बुझाउन सकिने गरी विभागले प्राविधिक तयारी समेत पुरा गरिसकेको र सेवाप्रदायकसँग सम्झौताका लागि प्रतीक्षतारत रहेको भएतापनि बीमा समितिको उदासिनताले अनलाइन भुक्तानी प्रणाली कार्यान्वयनमा आउन बिलम्ब भई कामदारहरुले विदेशस्थित कुटनैतिक नियोगहरुबाट समेत पुनः श्रम स्वीकृति लिन पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था कार्यान्वयनमा ल्याउन जटिलता उत्पन्न भएको छ । शाखारहित बैङ्किग सेवा जस्तै शाखारहित बीमा सेवा सबै बीमा कम्पनीहरुका सबै शाखाहरुबाट लिन पाउनु पर्ने नागरिकको अधिकार वैदेशिक रोजगारीमा जानेहरुले पाउने कि नपाउनेरु अवधि दोहोरिने गरी बीमा प्रिमियम तिरिहनु पर्ने कारण के ? बीमाको रकम अनलाइन भुक्तानी प्रणालीबाट तिर्न कहिले पाउने ? के जागिरको लागि देश छोड्न बाध्य नेपालीहरु सौताका छोराछोरी हुन् ?