काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र आदिपुरुष प्रदर्शनमा रोक, निर्माण कम्पनीले माग्यो माफी

काठमाडौं । काठमाडौं र पोखरा महानगरले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएका छन् । उक्त चलचित्रमा रहेको विवादित संवाद नसच्चाइएको भन्दै सोमबार बिहानैदेखि दुई महानगरले प्रदर्शनमा रोक लगाएका हुन् । उक्त चलचित्रमा ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि काठमाडौं र पोखरा महानगरले फिल्म प्रदर्शनमा रोक लगाइएकाे बताएका छन् । पोखरा महानगर प्रमुख धनराज आचार्यले श्रीकृष्ण, विन्ध्यावासिनी, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र लेख्दै भारतीय फिल्म प्रसारणमा रोक लगाउन निर्देशन दिएका हुन् । पत्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ । रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ । निर्माण कम्पनीले माग्यो माफी नेपालमा चलचित्र प्रदर्शनीमा रोक लगाएपछि निर्माण कम्पनीले माफी मागेका छ । उक्त चलचित्र निर्माण कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेखेर माफी मागेको हो । निर्माण कम्पनी सुपर क्यासेट्सकी राधिका दासले फिल्मको संवादले नेपाली संवेदनामा पुगेको चोटप्रति माफी मागेकी हुन् । पत्रमा ‘जानकी भारतकी छोरी’ भन्ने संवाद सीताको जन्मस्थलबारे नभई आम महिला विशेषसँग जोडेर लेखिएको प्रष्टीकरण दिइएको छ ।

भारतीय चलचित्र प्रदर्शनमा निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन रोक लगाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका हुन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ । ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ, उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ, उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने । शाहले काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन् । उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको शाहले स्पष्ट गरेका छन् ।

बालेनको प्रतिक्रियाका कारण काठमाडौंमा रोकियो भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनी

काठमाडौं । काठमाडौं उपत्यका भित्रका चलचित्र हलमा भारतीय फिल्म ‘आदिपुरुष’को आज बिहानीको प्रदर्शनी रोकिएको छ । फिल्ममा जानकी भारतीय नारी हुन भन्ने विषयमा विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले आजको बिहानी शोलाई स्थगित गरेका छन्। फिल्म हलको छाता संस्था चलचित्र संघले काठमाडौंको हलमा प्रदर्शनी रोक्न र उपत्यका बाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले फिल्मको विषयमा दिएको प्रतिक्रियापछि उत्पन्न परिस्थितिलाई लिएर चलचित्र संघले आजै आकस्मिक बैठक समेत बोलाएको छ । बैठकमा बालेनको प्रतिक्रिया र आदिपुरुषको प्रदर्शनीको विषयमा छलफल हुने जनाइएको छ । महानगर प्रमुख शाहले विवादित अभिव्यक्ति भारतमा समेत नहटाएसम्म नेपालमा हिन्दी चलचित्र प्रदर्शन हुन नदिने बताएका छन् भने नेपालको सेन्सर बोर्डले भने विवादित अभिव्यक्ति हटाएर प्रदर्शनको अनुमति दिएको छ ।