सुरु भयो क्यान इन्फोटेक एक्स्पो, सञ्चारमन्त्री बस्नेतले गरे उद्घाटन

काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए । उनले एक्स्पो उद्घाटनको क्रममा सूचना प्रविधिको विकासविन देशको विकास सम्भव नहुने बताए । मुलुकको विकास गर्न सूचना तथा प्रविधि क्षेत्रको ठूलो महत्व रहने उनको भनाइ छ । ‘सूचना तथा सञ्चार प्रविधिको विकास गर्न सरकारले के गर्न पर्ने हो, त्यसको निम्ति सहयोग गर्नेछ,’ उनले भने ‘सरकारले विद्यार्थीहरुमाझ सूचना प्रविधि पुर्याउन ईलाइब्रेरीको स्थापना गर्ने तयारी गरिरहेको छ ।’ उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थित थियो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको पछिल्लो नयाँ प्रबिधिहरु एकै छानामूनि राखिएको छ । आयोजनका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेको छ । ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलह १० गरी जम्मा २२२ स्टल राखिएको छ । त्यस्तै हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीसी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स लगायको प्रदर्शनी रहेका छन् । आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्याथीको लागि ५० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरेको  छ। प्रदर्शनी माघ १६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

६ सय मिटर लामो ट्रयाकको डर्ट बाइक रेसमा कार्कीले बाजी मारे

काठमाडौं। डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले बाजी मारेका छन् । ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा शनिबार सो रेस प्रतियोगिता सम्पन्न भएको थियो । विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भएका छन् । प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्कीले, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङले र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले जितेका छन् । मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एशोसिएशनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । १५० देखि २५० सिसीसम्मका डर्ट बाइकको रेस भएको थियो । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई लगायतका नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता रहेको थियो । आयेजनका अनुसाार प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो । मुख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको प्रतियोगिताको विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गियर ग्याजेट्स नेपालका इभेन्ट म्यानेजर विनोद तण्डुकारले जानकारी दिए ।    

आइएमई फाउन्डेशनद्धारा शितलहर प्रभावितलाई ब्ल्याङ्केट वितरण

तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि  ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेकाे हाे । आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका-०३, जम्दह रकल्याणपुर नगरपालिका-०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका-०९,मलेठ र खड्क नगरपालिका-०३, बानरझुलामा रहेका प्रभावित घरपरिवारलाई साे मात्राकाे ब्ल्याङ्केट वितरण गरेको हाे । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।