बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन २६ रोपनी जग्गा पास, २५ करोडमा भवन बनाउने तयारी
बाघखोर । नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन केन्द्रीय सरकारले करिव २६ रोपनी जग्गा दिएको छ । फागुन १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बेलकोटगढी वडा नम्बर ८ बाघखोरस्थित नेपाल सरकारको नाममा रहेको २५ रोपनी १२ एक दाम जग्गा नगरपालिकाको नाममा कायम गर्ने गरी निर्णय भएको छ । उक्त जग्गामा नगरपालिका कार्यालय प्रयोजनको लागि धेरैवटा भवनहरु बनाउने तयारी भईरहेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए । ‘केन्द्रीय सरकारबाट हामीले करिव २६ रोपनी जग्गा पाएका छौं । यसमा नगरपालिकाको कार्यपालिका कार्यालय, सुरक्षा निकायको कार्यालय, कृषि कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, वर्कशप लगायतका भवनहरु बनाउने तयारीमा छौं’ उनले भने–‘यस परियोजनाको डीपीआर बनाउँदैछौं । मेरो कार्यकालमा कम्तिमा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।’ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल १५ महिना मात्र बाँकी छ । यस अवधिमा डीपीआर तयार गर्ने, ठेक्का लगाउने र निर्माणको कार्य आधाआधी सक्ने उनको योजना छ । यी संरचना बनाउने २० देखि २५ करोड रुपैयाँ आवश्यक हुने मेयर खनालको अनुमान छ । उक्त रकम केन्द्रीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट जुटाउन लागेको उनले बताए । उक्त स्थानमा हाल स्थायी प्रकृतिको संरचनाहरु बनाई कार्यसञ्चालन हुँदै आएको छ । समुन्द्री सतहबाट १६ मिटर अग्लोस्थानमा भएकोले खानेपानीको व्यवस्था गर्न कठिन भएको उनले बताए । ‘खाली डाँडो भएकाले अरु समस्या छैन । मोटर बाटो पुगेको छ । बाटो पीच गर्न बाँकी छ । खानेपानीको व्यवस्था गर्न कठिन छ’ उनले भने ।
क्यान्सर, मुटु तथा मिर्गौला रोगीहरुलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ – अध्यक्ष आचार्यसँगको कुराकानी
बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो ‘थाक्रे गाउँपालिका’ । ९६ दसमलव ४१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । स्थानिय तह पुर्न संरचना हुँदा धादिङ जिल्लाको साविक केवलपुर, थाक्रे, तसर्पु, भूमेस्थान र गोगनपानिका वडा नं. ५, ६, ७ र ८ मिलाएर थाक्रे गाउँपालिका निर्माण भएको छ भने हाल यस गाउँपालिकामा ११ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको पूर्वी सिमानामा धुनिबेशी नगरपालिका, पश्चिममा गल्छी गाउँपालिका, उत्तरमा गल्छी गाउँपालिकाका साथै नुवाकोट जिल्ला र त्यसैगरी दक्षिणमा भने मकवानपुर जिल्ला रहेको छ । काठमाडांैबाट यो गाउँपालिका साढे ३२ किलोमिटरको दूरीमा रहेको छ । राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३२ हजार ९ सय १४ रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, तपाईंको गाउँपालिकाले कृषिको विकास तर्फ के–कसरी काम गर्दै आएको छ ? हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । कृषि विकासको लागि नै भनेर विउ अनुदानको कार्यक्रम राखेका छौं । गाउँपालिकामा गाई पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ७ र १० लाई बाख्राको खोर सुधार पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । वडा नं. ६, ९, ११ र ८ लाई तरकारी पकेट क्षेत्रका रुपमा छुट्याएका छौं भने वडा नं. ४ र ५ लाई चाहिँ मसलाबाली र कागती पकेट क्षेत्र भनी छुट्याएका छौं । त्यसैगरी वडा नं. ३ लाई हामीले फलफुल पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । विरुवा वितरणको कार्यक्रम पनि राखेका छौं । हामीले कृषकको लागि अनुदानमा गाई, बोयर जातिका बाख्रा तथा तरकारीका बिउहरु दिने गरेका छौं । यतिमात्र होइन कृषकहरुलाई हामीले हाते ट्रयाक्टर तथा कृषि औजारका सामान पनि वितरण गर्र्दै आइरहेका छौं । गाउँपालिकामा सिँचाईंको पनि कार्यक्रम रहेको छ । सिँचाईको लागि ट्याङ्की निर्माण पनि भइरहेको छ । प्राकृतिक पोखरी निर्माण पनि गरेका छौं । सो पोखरीले गाउँपालिकाको सुन्दरता थप्ने काम गरेको छ । गाउँपालिकामा कति प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका होलान् ? थाक्रे गाउँपालिका एउटा ग्रामीण क्षेत्रका रुपमा रहेको हुनाले यहाँका धेरैजसो नागरीकहरु कृषि पेशामा नै आवद्ध छन् भन्न सकिन्छ । प्रतिशतमै भन्नुपर्दा त करीब ६० प्रतिशत भन्दाबढि मानिसहरु सो पेशामा आबद्ध छन् भन्दा फरक पर्दैन । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ? गौरवको आयोजनाको रुपमा रानिघर क्यनानुङ भन्ने योजना रहेको छ । यस ठाउँमा टे«निङ्ग सेन्टरको पनि निर्माण भइरहेको छ । थाक्रेको ९ नं. सेरापाखा भन्ने ठाउँमा नेपालको सबैभन्दा अग्लो ४० फिट उचाइ भएको सरस्वतीको मुर्ती बनिरहेको छ । ९३ लाख रुपैयाँको लागतमा यो मुर्तीको निर्माण भइरहेको छ । लेखमा शिवजीले ध्यान गर्दै गरेको मुर्ती बनाउने योजना बनाएका छौं । यस ठाउँभन्दा ५ सय मिटर तलसम्म हामीले सडक पनि पुर्याइसकेका छौं । खानेपानीका योजनाहरु पनि बनाएका छौं । सडक निर्माणका लागि हामीले धेरै बजेट विनियोजन गरेका छौं । भौतिक निर्माण र पुर्वाधारको विकासमा पनि हामीले जोड दिएका छौं । स्वास्थ्य क्षेत्रको विकासका लागि के कसरी काम गर्दै आइरहनुभएको छ ? हाम्रो गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी छन् । बाँकी रहेका वडामा ६ ओटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । स्वास्थ्य चौकीमा आवश्यकता अनुसारकै स्वास्थ्यकर्मीहरु छन् । राज्यले दिने निःशुल्क औषधी बाहेक हामीले मानशिक रोगिहरुका लागि निःशुल्क रुपमै औषधी दिने व्यवस्था मिलाएका छौं । क्यान्सर, मुटु तथा मिर्गौला रोगीहरुलाई १ लाख रुपैयाँसम्म केन्द्र सरकारबाट सहयोग हुन्छ भने यसका अलावा गाउँपालिकाको तर्फबाट पनि १ं० देखि १५ हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्दै आएका छौं । १५ सय बेडको अस्पताल शिलान्यास गरेका छौं । यिनै तथ्यहरुबाट नै थाहा हुन्छ की हामीले स्वास्थ्य क्षेत्रतर्फ उल्लेखनीय काम गरेका छौं भनेर । शैक्षिक विकासका लागि गाउँपालिकाले के कस्ता काम गर्दै आईरहेको छ ? हामीले सवैभन्दा उत्कृष्ट काम नै शैक्षिक क्षेत्रमा गरेका छौं । हामी निर्वाचित भएर आइसकेपछि शिक्षा क्षेत्रको उन्नतीका लागि भन्दै १ करोड रुपैयाँ अनुदान दिने निर्णय ग¥यौं । गत वर्ष हामीले ९३ ओटा दरबन्दी खुलाएका थियौं । आधारभुत पढाउने शिक्षकलाई १३ हजार ४ सय रुपैयाँ, निमावी विद्यालय पढाउने शिक्षकलाई १४ हजार ५ सय रुपैयाँ, मा. वि पढाउने शिक्षकलाई २५ हजार रुपैयाँ तलबको व्यवस्था गरेका छौं । २ ओटा बाहेक अरु सवै विद्यालयहरुमा भूकम्प प्रतिरोधी भवनको निर्माण गरेका छौं । विद्यालयमा लाइबे्ररी सञ्चालन भएको छ भने गुणस्तरीय शिक्षा र प्राविधिक ज्ञान कसरी विद्ययार्थीलाई दिन सकिन्छ भन्नेतर्फ प्रयासरत छौं । ‘एक विद्यालय एक प्राविधिक’ भन्ने नारालाई मध्यनजर गर्दै अघि बढेका छौं । कक्षा ११ र १२ मा परीक्षा शुल्क नलाग्ने व्यवस्था मिलाएका छौं । भर्ना र परीक्षाको नाममा कुनैपनि किसिमको शुल्क लिन नपाइने भन्दै विद्यार्थीहरुका लागि कापी, कलम लगायतको व्यवस्था पनि बरु गाउँपालिकाले नै गरिदिएको छ । हामी यसपाली महाकाली वहुमुखी क्याम्पसमा विद्यार्थीहरुलाई निःशुल्क रुपमै भर्ना गर्ने अभियान चलाएका छौं । कोरोना महामारीले गर्दा एसईई परीक्षा त भएन तर पनि सो परीक्षालाई मध्यनजर राख्दै एसईई पाठशाला सञ्चालन गरेका थियौं । त्यसैगरी रेडियोबाट पनि एसईई पाठशाला सञ्चालन गरेका थियौं । हामीले गाउँपालिकामा बाल शिक्षाकोे पनि व्यवस्था मिलाएका छौं । गरीव तथा विपन्न बालबालिकाको पनि शिक्षामा पहुँच पुगोस् भन्ने हेतुले विभिन्न किसिमका प्रयास गरिरहेका छौं । मलाई त यस्तो लाग्छ कि शिक्षामा यती धेरै परिवर्तन ल्याउने हाम्रै गाउँपालिका नै पहिलो होला । अनि खेलकुद विकासका क्षेत्रमा चाहिँ के कस्ता कार्यहरु गरिरहनुभएको छ नि ? खेलकुद क्षेत्रको विकासका लागि भनेर हामीले केही बजेट छुट्याउँदै आएका छौं । यहाँका धेरै युवाहरु खेलकुदतर्फ उत्सुक छन् । हरेक वडामा एउटा भएपनि खेल मैदानको निर्माण गर्ने अभियान रहेको छ । धेरै ठाउँमा त खेल मैदान पनि निर्माण भइसकेको छ । विद्यालयस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छौं । बक्सीङ्ग, भलिवल, टेबल टेनिश, कराते, फुटवल लगायतका खेलहरु गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएका परिर्वतन बारे बताईदिनुस् न जनप्रतिनिधिको रुपमा म गाउँपालिकामा आइसकेपछि यहाँ धेरै परिवर्तन आएको छ । सडक निर्माण सम्बन्धी व्यापक काम भएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आएका परिर्वतन त अघिनै पनि भनिहालेँ । ‘एक घर एक धारा’ को अभियान चलाएका छौं । ६० प्रतिशत घरधुरीमा खानेपानीको व्यवस्था गरेका छौं । सामाजिक संरचनाहरुको निर्माण भएको छ । गाउँपालिकाको हरेक घरमा सडक पुर्याएका छौं । स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका छौं । गाउँपालिकाको अवस्था बारे प्रोफाईल तयार गरेका छौं । २५ वर्षिय गुरुयोजना तयार भएको छ । ३३ प्रतिशत महिलाको सहभागिता गर्ने गरी विकास निर्माणको काममा महिला सहभागी गराएका छौं । हरेक वडाको एउटा सडकलाई राजमार्गमा जोडिने अवस्थामा पुर्याएका छौं । गाउँगाउँमा बिजुली बत्ति पुर्याउन सफल भएका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? यहाँ २१ ओटा क्रशर उद्योग रहेका छन् । ३ ओटा गाउँपालिकामा व्यवस्थीत रिसोर्ट सञ्चालन भएका छन् । फलाम पगाल्ने उद्योग सञ्चालन हुँदैछ । गाउँपालिका भित्र ढुङ्गा, गिट्टी लगायतका उद्योग रहेका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सबै भन्दा बढि कर त क्रशर उद्योगले नै तिर्ने गरेको छ । वर्षमा २ लाख रुपैयाँसम्म कर तिर्ने गरेको छ । १४ करोड रुपैयाँ बराबर हाम्रो आन्तरीक आय हुने गरेको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । यहाँ मन लोभ्याउने पर्यटकीयस्थलहरु प्रशस्त छन् । त्यस्ता पर्यटनस्थल सम्म पुग्नका लागि हामीले सडकको निर्माण गरिरहेका छौं । यसका साथै मठमन्दिरको निर्माण पनि भइरहेको छ । पर्यटकलाई सुविधा होस् भन्ने हेतुले यहाँ होमस्टेको पनि सञ्चालन गरेका छौं । स्थानीय तहमा काम गर्दा के–के समस्याहरु आइपर्छन् नि ? हामी एउटा एकात्मक राज्य प्रणलीबाट संघात्मकमा आयौं । कानुन बनाउनु पर्ने, कानुनका नियमावली, कार्यविधि हामी आफैंले बनाउनु पर्ने । त्यसका लागि त झन् मेनपावरको कमी हुने । हामी सुरुवाति चरणमा आएको कारण जग बसाल्नु पर्ने अवस्थामा थियौं र छौं पनि । पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी सबै काम गर्नैपर्ने । धेरै काम गर्नुपर्ने हुँदा अलिअलि त समस्याहरु देखा परिनै हाल्छन् । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? बेला बेलामा छलफल तथा अन्तरकृया हुन्छ । प्रदेश सरकारको बैठकमा गएर हाम्रा कुराहरु राखिन्छ पनि । त्यसैले सम्बन्ध राम्रै छ भन्नुपर्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? केन्द्र सरकारबाट पनि हामीलाई सहयोग मिलेको छ । केन्द्र सरकारबाट गाउँपालिकाको भवन निर्माणको लागि भनेर ३ करोड ९१ लाख रुपैयाँ आएको थियो । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? जनताको बिचमा बसेर जनताको आवश्यकतालाई मध्यनजर गर्दै उनिहरुबाट नै प्राप्त सल्लाह सुझावको आधारमा हामी योजना छनोट गर्छौं । योजनाबारे हामीले भितेपात्रो पनि तयार गरेका छौं । कार्यान्वयनको चरणमा पनि जनताको व्यापक सहभागितामा योजनाहरु सञ्चालन गरेको हुँदा विकास निर्माणको काम पनि प्रभावकारी नै हुन पुगेका छन् । गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । शिक्षामा पनि समस्या आउने गरेको छ । बेला बेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तरपनि विशेष गरेर नागरिकको गुनासो चाहिँ सडकलाई पिच गर्नुप¥यो भन्ने नै आउँछ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? विदेशबाट फर्किएर गाउँमै केही गर्न चाहने युवाहरुलाई बैंकसँग समझौता गरी ब्याज मिनाहा गर्ने र २ देखि ३ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । करिव ५ सय जना युवालाई उद्यमशिल विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । कतिपय युवाहरुलाई भने विकास निर्माणको काममा लगाएका छौं । तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरु के के होलान् नि ? कम्तीमा एउटा सडकलाई पिच गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । हाम्रो आर्थिक स्थितीले धान्न गाह्रो हुन्छ । सडक सबै ठाउँमा पुर्याइयो तर त्यसको उचित व्यवस्थापन गर्न समस्या भएको छ । भनौं न, आवश्यकता अनुसारको ग्राबेल, पिच चाहिँ हामीले चाहेर पनि गर्न सकेका छैनौं । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हाम्रो एउटा नारा रहेको छ ‘सम्वृद्ध थाक्रे र सुखी थाक्रेबासी’ । ‘सम्वृद्ध’ भन्नाले सबै थोक पुरा हुनुपर्यो । ‘सुखी’ भन्नाले सबैले आफ्नो हैसियत अनुसार सुखी भएर बाँच्न पाउनुपर्यो । यसका साथै लैङ्गीक समानता र सामाजिक न्याय सहितको हाम्रो अभियान पनि छ । यो अभियानको उद्देश्य भनेको सबै थाक्रेबासीहरुमा यो गाउँपालिका मेरो हो, यहाँ भएका कामहरु मेरो लागि भएको हो भन्ने सोचको विकास गर्नु रहेको छ । कुनै पनि नागरिकले न्याय नपाएर भौंतारिनु नपरोस् अनि जात, धर्म, लिङ्गका नाममा विवाद नगरुन् भन्नेतर्फ सचेत छौं । अनि त्यसैगरी, सबै नागरीकहरुको सडक, स्वास्थ्य, खानेपानी, शिक्षा लगायतमा पहुँच पु¥याउने पनि मेरो योजना रहेको छ ।
बैदेशिक रोजगारबाट फर्केको युवाले व्यवसाय गर्न चाहेमा सिँचाई, बिजुली अनि सडकको व्यवस्था गरिदिन्छौं – अध्यक्ष पौडेल
नेपालको गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा पर्ने ‘आँधिखोला गाउँपालिका’ कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिकरुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । पोखरा–स्याङ्जा सडकको नागडाँडाबाट करीव साढे ७ किलोमिटरको दुरीमा अवस्थित यस गाउँपालिकामा ६ ओटा वडा रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वतर्फ पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिका, पश्चिममा अर्जुनचौपरी गाउँपालिका, पर्वत जिल्लाको फलेबास नगरपालिका र कुश्मा नगरपालिका, त्यसैगरी उत्तरमा फेदीखोला गाउँपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका र कास्की जिल्लाको पोखरा महानगरपालिका सम्म फैलिएको छ भने दक्षिणमा चाहिँ अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिकासम्म फैलिएको छ । जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आए, गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहँदै सो गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? धेरै काम भइरहेको छ । हाम्रो गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । मल वितरण कार्यक्रम सञ्चालनमा छ । कृषिमा अनुदान देखि लिएर तरकारीका विउ वितरण कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन हुने गरेको छ । यसका साथै व्यवसायीक कृषि प्रणालिमा हामीले विशेष जोड पनि दिँदै आएका छौं । किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्ने काम गरेका छौं । पकेट क्षेत्रहरु पनि छुट्याएका छौं । फलफुलको विरुवाहरु कृषकलाई वितरण गरेका छौं । तरकारीका विउ र फलफुलका विउ हामीले ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराएका छौं । बाख्रा पालन, माछा पालन, फलफुल, तरकारी, धान, कोदो, काउली, गोलभेडा, बोडि लगायतका खेति गाउँपालिका भित्र हुने गरेको छ । हामीले माटोको परिक्षण गरेर तरकारीको विउ लगाउने काम पनि गरेका छौं । कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर पनि वितरण गर्दै आइरहेका छौं । गाउँपालिकामा कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका होलान् ? हाम्रो गाउँपालिकाको धेरै भुभाग ग्रामिण क्षेत्र रहेको छ । गाउँपालिका भित्रका अधिकांश नागरिकहरु कृषि पेशामा नै आवद्ध रहेका छन् । हाम्रो गाउँपालिकाको मुख्य पेशा भनेको नै खेति किसानी हो । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कारको व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई वर्षमा ५० देखि ६० हजार रुपैयाँसम्म पुरस्कार दिने गरेका छौं । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के छन् त ? गाउँपालिकाकै ठुलो योजनाको रुपमा सडक निर्माणको कामलाई लिन सकिन्छ । ११ कारोड रुपैयाँ बराबरको बजेटमा हामीले सडक निर्माणको काम गरिरहेका छौं । ‘एक घर एक धारा’ को अभियान चलाएका छौं । गाउँपालिका भित्रका धेरै घरमा खानेपानी पुग्न लागेको छ । सिँचाई सम्बन्धि कामहरु भइरहेको छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिएका छौं । गाउँपालिकामा पुल निर्माण सम्बन्धि काम पनि भइरहेको छ । गाउँपालिकाका सम्पूर्ण वडामा सडक अनि बिजुली पुर्याउनको लागि हामी कम्मर कसेर लागिपरेकाछौं । यसका साथै अस्पताल र विद्यालय भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु मात्र छन् । कृषि उद्योग धेरै संख्यामा रहेका छन् । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम पनि गर्दै आएका छन् । तपाईं निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? पहिलाको तुलानमा त अहिले धेरै परिवर्तन आइसकेको छ । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । केही सडक पिच पनि भएका छन् । खानेपानीको राम्रो व्यवस्था हुन थालेको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकास तर्फ पनि हामीले जोड दिएका छौं । विद्यालय भवन निर्माण भएका छन् भने गुणस्तरिय शिक्षा लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढाई रहेका छौं । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनु पर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिन्छु । गाउँपालिकामा धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् त्यसैले म कृषि र पशुपालनलाई नै जोड दिन्छु । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? यहाँका धेरैजसो युवा कृषि पेशामा आवद्ध छन् । कृषि पेशामा आधारित भएर युवाहरु स्वरोजगार बनि रहेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । बैदेशिक रोजगारबाट फर्केका युवाहरुले यदी कुनै व्यवसाय गर्न चाहन्छन् भने सिँचाई, बिजुली, सडकको व्यवस्था गरिदिन्छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? हाम्रो प्रदेश सरकारसँग सामान्य समन्वय भई रहेको छ । प्रदेशको कार्यक्रमहरु प्रदेशकौ कर्मचारीहरुले चलाएका छन् भने हाम्रो स्थानीय तह कर्यक्रमहरु हामीले चलाएका छौं । प्रदेश सरकारले गाउँपालिकाको विकास निर्माणको काममा पनि सहयोग पुर्याएको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दै धेरै समस्याहरु आई पर्छ । नागरिकको अपेक्षा धेरै हुन्छ । नागरिकहरु सडक चाहियो भन्छन् । उनिहरुको जमिनबाट सडक निर्माण गर्ने लाग्यो भने विरोध गर्छन् । कहिलेकाहिँ खानेपानीको समस्या पनि आई पर्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट हामीलाई सहयोग मिलेको छ । गाउँपालिकाको आन्तरिक आय धेरै रहेको छैन । केन्द्र सरकारको नै सहयोगमा हामीले गाउँपालिकाको विकास निर्माणको कामहरु गर्नुपर्ने हुन्छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गरेको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिकामा भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरी रहेका छौं । पर्यटन सम्बन्धि व्यवसायमा पनि हामीले जोड दिएका छौं । पर्यटन पूर्वधार तथा पर्यटन उपजको विकास र गर्ने उदेश्यले हामीले ३ करोड बजेट पनि विनियोजन पनि गरेका छौं । गाउँपालिकाले खोलकुद विकासको लागि के कस्ता योजना बनाएको छ ? विद्यलयस्तरको खेलकुद प्रतियोगिता गाउँपालिकामा धेरै हुने गरेको छ । खेलकुद विकासको लागि हामीले बजेट छुटाएका छौं । गाउँपालिकामा खेल मैदान निर्माण भइरहेको छ । युवा क्लवलाई खेलकुदका सामाग्रीहरु पनि दिँदै आएका छौं । धेरै युवाहरु खेलकुदमा उत्सुक पनि छन् । वडा स्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु नगरपालिकामा आयोजना गर्छौं । गाउँपालिकाको स्वास्थ्य विकासको लागि कसरी काम गर्दै आइरहनु भएको छ ? ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं । गाउँपालिकामा महिनामा एक चोटि स्वास्थ्य कर्मीहरुले स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन पनि गरेका छौं । गाउँपालिकाको सबै नागरिकलाई प्राथमिक स्वास्थ्य सेवासम्म पहुँच पुगेको छ । गाउँपालिका सबै वडामा स्वास्थ्य भवन छन् भने बाकि रहेको १ ओटा वडामा स्वाथ्य भवनको निर्माण भई रहेको छ । शैक्षिक विकासको लागि गाउँपालिका कसरी काम गर्दै आईरहेको छ ? गाउँपालिकाको शैक्षिक विकासका लागि धेरै काम हुँदै आएको छ । विद्यालयको भवनहरु निर्माण भएका छन् । ५ कक्षा सम्मका किताबहरु वितरण गरेका छौं । बेलाबेलामा शिक्षकलाई तालिम दिइरहेका छौं । ५ कक्षासम्मका विद्ययार्थीलाई खाजाको व्यवस्था मिलाएका छौं । ३२ ओटा विद्यालयहरु गाउँपालिका भित्र रहेका छन् । गुणस्तरीय शिक्षा सिकाई तर्फ पनि हामीले विशेष जोड दिएका छौं ।