सुशासनमा उत्कृष्ट सूर्योदय, पर्यटकको मुख्य रोजाइमा

काठमाडौं । पूर्वको रानी भनेर चिनिने इलाम जिल्ला पर्यटकीय हिसाबले प्रख्यात मानिन्छ । इलामको सूर्योदय नगरपालिका स्थित कन्याममा रहेको चियाबारीसँगैको मनोरम दृश्य, अन्तुबाट देखिने सूर्योदय, बौद्धधाममा रहेको बुद्ध पार्क लगायतका पर्यटकीय स्थानहरूले आन्तरित तथा बाह्य पर्यटकलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ । पर्यटकीय क्षेत्रले मात्रै होइन अन्य थुप्रै कारणहरूले पनि इलामको सूर्योदय नगरपालिका अगाडि रहेको छ । पर्यटकीय नगरी सूर्योदय नगरपालिका नेपाल नगरपालिका संघबाट सम्मानित भएकाे उत्कृष्ट नगरपालिका पनि हो । स्थानीय तहहरूले स्रोत, साधन र अधिकार आफूसँग छ भन्दैमा कतिपयले त्यसको दुरुपयोग गरिरहेका उदाहरणहरू प्रसस्तै सुन्ने गरिन्छ । तर, केही यस्ता स्थानीय तहहरू पनि छन् जसले कुनै पनि काम गर्नुपूर्व नै त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि तयार गर्छन् । यसको एक गतिलो उदाहरण हो सूर्योदय नगरपालिका । पालिकाले जुनसुकै योजना सञ्चालन गर्नुपूर्व त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउँछ र मात्रै काम सुरु गर्छ । यद्यपि ऐन बनाउन समय लाग्यो भयो भने पनि तत्कालै कार्यविधि बनाइहाल्छ । यसरी काम गर्दा आम जनताप्रति नगरपालिका जवाफदेही हुने र सुशासनमा पनि पारदर्शी हुने नगर उपप्रमुख दुर्गा कुमार बराल बताउँछन् । ‘हामी नियम कानुन भन्दा माथि हुनै सक्दैनौं । त्यसैले कुनै पनि काम गर्दा वा निर्णय गर्दा त्यससँग सम्बन्धित ऐन वा नियमावलि बनाइ हाल्छौं,’ उनी भन्छन्, ‘यसरी काम गरैकै कारण हामी शून्य बेरुजुमा छौं । यो हामी सम्पूर्ण नगरवासिको लागि गर्भको कुरा पनि हो ।’ उनका अनुसार कुनै पनि काम गर्नुपूर्व नै सम्बन्धित व्यक्तिहरूसँग बसेर छलफल गरेर त्यहीअनुसारको कार्यविधि तयार गरेर अनि मात्रै काम अघि बढाउने गरिएको छ । उनी भन्छन्, ‘यसले नागरिकप्रतिको जवाफदेहिता र सुशासनमा विशेष टेवा पुर्‍याएको छ ।’ सूर्योदय नगरपालिका गाई जोनको रुपमा पनि चिनिएको पालिका हो । पालिकाले हाल नगर क्षेत्रमा दैनिक ७५ हजार लिटर दूध उत्पादन गर्दै आएको छ । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लिटर पुर्‍याउने लक्ष्य राखेको उनी बताउँछन् । जसका लागि क्यानडाबाट उन्नत प्रजातिको बाच्छी उत्पादन गर्ने तीन सय वटा गाई ल्याइएको छ। ‘ती गाईबाट जन्मिएकामध्ये ९६ प्रतिशत बाच्छी छन्’, बराल भन्छन्, ‘दूधबाट पनि यहाँ समृद्धि ल्याउन सकिने सम्भावना प्रशस्त देखिएको छ।’ हाल गाईमा फैलिरहेको लम्पीस्क्रीन रोगका कारण क्षति ब्यहोरेका किसानहरूलाई नगरपालिकाले क्षतिपूर्ती समेत दिएको बरालले बताए । ‘हामीले एउटा ठूलो गाई मरेको २० हजार रुपैयाँ, बाछिको १० हजार रुपैयाँ र गोरु मरेको ७ हजार रुपैयाँ बराबरको क्षतिपूर्ती किसानहरूलाई दिएका छौं,’ उनी भन्छन्, ‘अहिले चाहीँ हामी लम्पीमुक्त गराउनको लागि खोपलाई निरन्तरता गरेका छौं ।’ इलाम ‘अ’ ले चिनिएको जिल्ला पनि हो । सूर्योदय नगरपालिकाले अदुवा, अलैची, अकबरे लगायतका नगदेबालीलाई विशेष प्राथमिक्तामा राखेको छ । नगरपालिकाको मुख्य नगदेबालीको रुपमा चिया पनि रहेको छ । इलामलाई चियाको राजधानी समेत भन्ने गरिएको छ । नगरपालिकाले चियालाई अर्गानिकिकरण गर्ने, विषादीरहित बनाउने लगायतका कार्यक्रमहरू अघि सारेको छ । ‘सूर्योदय नगरपालिकालाई विषादीमुक्त र गुणस्तरीय चिया उत्पादनको लागि भनेर सम्बन्धित सरोकारबालाहरूसँग छलफल चलाइरहेका छौं,’ उनी भन्छन्, ‘हामीले केही महिना अघि मात्रै पनि नगरपालिकालाई विषादीमुक्त बनाउनुपर्छ भनेर माइकिङ पनि गरेका थियो ।’ विषादीमुक्त गर्ने कुरा एकैपटक सम्भव नहुने भए पनि बिस्तारै परिवर्तन गर्दै जाने उनी बताउँछन् । त्यस्तै तरकारीमा पनि विषादीको प्रयोग न्यून गर्न एक वडा एक प्राविधिक कार्यक्रम अघि सारेको छ । उनी भन्छन्, ‘तरकारीमा त विषादी प्रयोग गर्नेपर्ने पनि हुन्छ त्यसैले हामीले विषादी प्रयोग गरेपनि कति गर्ने र कसरी गर्ने भन्ने बुझाउनको लागी र सही तरिकाले विषादीको प्रयोग गर्नको लागी एक वडा एक प्राविधिक कार्यक्रम अघि सारेका हौं ।’ सूर्योदय नगरपालिकामा उत्पादन हुँदै आएको चिज, छुर्पी, चिया लगायतका सामान अन्य देशहरूमा समेत निर्यात हुने गरेको छ । यद्यपि नगरपालिकाले यी सामानहरू कति मात्रामा निर्यात हुन्छन् भन्नेबारे भने यकिन तथ्याङ्क राखिसकेको अवस्था छैन । सोको तथ्याङ्क राख्नेगरी आवश्यक तयारी भइरहेको बराल बताउँछन् । पालिकाले कृषकहरूलाई अनुदान स्वरुप कृषि औजारहरू पनि बेला बेला वितरण गर्ने गरेको छ । कृषहरूको साझेदारीमा सो अनुदार वितरण गर्ने गरिएको उनको भनाइ छ । यस नगरपालिकाबाट प्रतिदिन करिब ६५ हजार मेट्रिक टन स्कुस (ठूलो करेला) र ४ देखि ५ वटा ठूला गाडीमा कुचो भारततर्फ निर्यात हुने गरेको व्यापारीहरू बताउँछन् । खुल्ला नाका भएका कारण कति निर्यात भए भन्नेबारे यसको पनि यकिन तथ्याङ्क नरहेको उनी बताउँछन् । ६५ उद्योगबाट वार्षिक ५० लाख किलो चियापत्ती उत्पादन हुन्छ । बरालका अनुसार नगरको वार्षिक आन्तरिक आय करिब ९ करोड रुपैयाँ छ । नयाँ(नयाँ खोजीका विषयमा अलि बढी चासो राख्ने उनी बताउँछन् । ‘वडा नम्बर ८ मा १ सय ५० मिटर लामो ग्लास ब्रिज अर्थात् सिसाको पुल बनाएका छौं,’ उनी भन्छन्, ‘कन्याम, अन्तु, बुद्ध पार्क लगायतका स्थापित पर्यटकिय क्षेत्रहरूलाई अझै व्यवस्थीत गर्ने काम पनि हामिले गरिरहेका छौं ।’ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नको लागी स्थानीय क्षेत्रका धार्मिक तथा सास्कृतिक क्षेत्रहरूको संरक्षण गर्ने, पदमार्ग निर्माण गर्ने लगायतका काम पर्यटन क्षेत्रमा गरिरहेको उनी बताउँछन् । नगरपालिकाले आफ्नो मुख्य आम्दानीको रुपमा पनि कृषि र पर्यटनलाई नै राखेको छ । पालिकाले शिक्षा, स्वास्थ्य र खानेपानिलाई विशेष प्राथमिक्तामा राखेर यसवर्षको बजेट सार्वजनीक गरेको छ । शिक्षातर्फ पनि उत्कृष्ट इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा पनि कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले सूर्योदयलाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनाेट गरेको हो । साे संघले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा सूर्योदयलाई छानेको जनाएको छ ।  एसोसीएसनको जेठ २६ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गरेको एसोसिएसनका अध्यक्ष सुदाम गौतमले बताएका छन् । शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो । सूर्योदयले १२ महिना १२ कार्यक्रम, छोरी बुहारी शिक्षा, गणित विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन, अभिभावक परिचयपत्र वितरण सहित विद्यालयलाई प्रविधिमैत्री बनाउने काम गरेको बराल बताउँछन् । नगरले विगतदेखि नै शिक्षकको तलब समेत मासिक रूपमा उपलब्ध गराउँदै आएको छ । नगर प्रमुख रणबहादुर राईका अनुसार नगरले नगरका सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब स्थापना गरेको छ । नगरले इ–हाजिरी जडान गरी डिजिटल डिस्प्ले मार्फत अध्ययन गराउने व्यवस्था विद्यालयमा गरेको छ । नगरका ६५ सामुदायिक विद्यालय र ३१ संस्थागत विद्यालयमा ११ हजार बढी विद्यार्थी अध्ययनरत रहेको पालिकाले बताएको छ । अहिले ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत विद्यार्थी संस्थागतमा अध्ययनरत रहेको तथ्याङ्कले देखाउँछ । नगरले संस्थागत विद्यालयमा समेत सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । बालमैत्री नगर घोषणा गरिएकोमा पछिल्लो समय नगरले पोषणमैत्री नगर घोषणाको तयारी गरिरहेको छ ।  

इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको छ । इस्माअन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार सबै विद्यार्थीले निःशुल्क रूपमा अब प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटेर सोही बमोजिम बजेट व्यवस्थापन गरी जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिने उनले जानकारी दिए । शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुने तर विद्यार्थीको खर्च बढी हुने हुँदा प्राविधिक शिक्षा पढ्न इच्छा भए पनि कतिपय विद्यार्थी पढ्नबाट वञ्चित हुनुपर्ने बाध्यता छ । उक्त समस्या अन्त्यका लागि आगामी आर्थिक वर्षदेखि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिएको अध्यक्ष खड्काले बताए। निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढ्ने र गाउँमै निःशुल्क तथा गुणस्तरीय प्राविधिक शिक्षाको सुनिश्चितता हुने विश्वास गाउँपालिकाले जनाएको छ । ‘प्राविधिक शिक्षा महँगो भएका कारण गरिबले पढ्न सक्दैनन् भन्ने बुझाइ छ । यस अवस्थामा सबैको समान पहुँच, गाउँमै गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने उद्देश्यले निःशुल्क प्राविधिक शिक्षा दिने नीति लिएका छौँ,’ अध्यक्ष खड्काले भने । जीवराज आश्रित बहुप्राविधिक शिक्षालय तीन वर्षअघि स्थापना गरिएको हो ।

तलब नपाउँदा स्वास्थ्यकर्मी समस्यामा, तलबभत्ताका लागि तीन करोड ४२ लाख आवश्यक पर्ने

 भजनी । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि संघीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा एक करोड १४ लाख रुपैयाँ रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताका लागि तीन करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने बताए । ‘आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलबभत्ता बुझेका थियौँ । यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा पनि अझै तलब आएको छैन’, उनले भने, ‘वर्षको अन्तिम महिनासम्म पनि तलब आएको छैन, कर्मचारी निकै समस्यामा रहनुभएको छ ।’ गत वर्ष पनि गाउँपालिकामा दुई महिनाका लागि कर्मचारीको तलब अपुग भएको थियो । यो रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आवका लागि पनि तलबभत्ता कम आएको स्वस्थ्य शाखाका चौधरीले बताए । संंघीय सरकारबाट समायोजन भएर गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले नौ महिनादेखि तलब नपाउँदा घरव्यवहार चलाउन निकै मुस्किल भएको बताए । ‘बैंकको किस्ता सापटी मागेर तिर्नुपरेको छ । बालबालिकाको स्कुलको शुल्क तिर्न सकिएको छैन । किनेर खानुपर्ने बाध्यता हुँदा व्यापारीले विश्वास गर्न छाडिसक्यो’, उनले भने, ‘आयस्रोतको आधार त्यहीँ जागिर हो । त्यहाँबाट पनि यत्रो लामो समयसम्म तलब नपाएपछि घरव्यवहार चलाउन कठिन भइसकेको छ ।’ जानकीजस्तै गोदावरी नगरपालिकामा पनि स्वास्थ्यकर्मीले तलबभत्ता पाएका छैनन् । त्यहाँ पनि दरबन्दीभन्दा ३९ जना कर्मचारी बढी छन् । गोदावरीमा ५२ जनाको दरबन्दी रहेकामा ९१ जना कर्मचारी कार्यरत छन् । चालु आवमा दरबन्दी भएकै कर्मचारीको पनि एक करोड १३ लाख रुपैयाँ रकम कम आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दीबिना कर्मचारी सरुवा गर्दा समस्या भएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउँछन् । ‘जनप्रतिनिधिले पहुँचका आधारमा आफ्ना मान्छेलाई घरपायक पार्न खोजेकै कारण समस्या भएको हो । कर्मचारी सरुवा गर्दा त्यो कर्मचारीको सबै सेवासुविधा व्यहोर्ने सम्झौताअनुसार कर्मचारी दरबन्दी छाडेर आएको हो’, उनी भन्छन्, ‘आज स्वास्थ्यको तलब जहाँ दरबन्दी छ त्यहाँ गइरहेको छ तर कर्मचारी नहुँदा त्यहाँ गएको रकम खर्च भइरहेको छैन । जहाँ कर्मचारी समायोजन भएर आएका छन्, त्यहाँ पैसा पुगेको छैन ।’ टीकापुर नगरपालिकामा पनि १० जना कर्मचारी बिनादरबन्दी कार्यरत छन् । १४ जनाको दरबन्दी रहेकामा २४ जना कार्यरत छन् । संघीय सरकारले स्वास्थ्यका कर्मचारीको तलब दिने स्थिति नभए स्थानीय तहले गरेको सम्झौताअनुरुप समायोजन भएर आएका कर्मचारीलाई तलबभत्ता दिनुपर्ने प्रमुख रावलले बताए । कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा यो समस्या देखिएको छ । एक–दुई महिनासम्मको तलब अपुग भएका सबै पालिका छन् । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारी समस्यामा परेको रावलले बताए । केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलबभत्ता व्यवस्थापन गरेको पाइएको छ । चालु आवमा भजनी नगरपालिकामा २८ लाख तलब रुपैयाँ भत्ताको बजेट कम आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । उनका अनुसार नगरपालिकामा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ३० जनाको मात्रै दरबन्दी छ । बाँकी १० जना समायोजन भएर आएका कर्मचारीको तलब यस वर्ष नगरपालिकाले आफ्नै स्रोतबाट भुक्तानी गरेको उनले बताए । ‘हामीलाई करिब तीन करोड रुपैयाँ बजेट चाहिथ्यो । संघबाट दुई करोड ७२ लाख रुपैयाँमात्र आयो, अपुग हुन आउने रकम नगरपालिकाले भुक्तानी गरेको छ’, उनले भने । रासस