सिन्दुर हाल्ने बेला बेहुलाको हात नउठेपछि चार लाख जरिवाना
झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् । मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो । बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुला पक्षलाई चार लाख जरिवाना तिराएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीरा भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ । बेहुलाले आफू डाक्टर भएको भन्दै बेहुली पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन्। उनले भनिन्, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन । विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।’ यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो । रासस
शौचालय नै बन्यो ७२ वर्षीया वृद्धाको घर
मयुरभञ्ज, ओडिशा । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ । उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । यसअघि यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए । अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् । ‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए । मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे । रासस/एएनआई
विदेशी कपडामा शोखिन नेपाली, ४ महिनामै साढे १३ अर्बको आयात
काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक आयातित कपडाको मात्रै हो । देशभित्र उत्पादन भएका कपडाको यसमा मूल्य समावेश गरिएको छैन । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको यो अवधिमा १३ अर्ब ६० करोड रुपैयाँको नेपालमा तयारी कपडा आयात भएकाे छ । नेपालीको आयमा आएको परिवर्तनसँगै यस्ता कपडा खरिदमा ८.४ प्रतिशतले वृद्धि भएको हाे । नेपालीको आयमा भएको वृद्धिसँगै उनीहरूको शोखमा पनि परिवर्तन आएको छ । सरकारी तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय औसतमा १ लाख १८ हजार ८ सय ८३ रुपैयाँ अर्थात १ हजार ४७ डलर हो । औसतमा एक नेपालीले लाखभन्दा केहीमात्रै बढी रकम कमाएपनि खर्च भने ठूलो देखिएको छ । यो खर्च त मात्रै तयारी पोशाकको हो । यदि प्रतिमेगावाट १६ करोड रुपैयाँमा विद्युत उत्पादन हुने हो भने तयारीको पोशाकमा छोटो अवधिमा बाहिरिएको सो रकमबाट ८५ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यी वाहेक हजारौ यस्तै वस्तु नेपालमा विदेशी बजारबाट भित्रने गरेका छन् । यसमा पनि ठूलो खर्च हुने गरेको छ । हाल नेपाली बजारमा चीनबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको छ भने त्यसपछि थाइल्याण्ड, भारत, जापान, अमेरिकालगायतका देशबाट तयारी कपडा आयात हुने गरेका छन् । नेपाली तयारी पोशाक उद्योग धरापमा परेपछि विदेशी कपडाको आयात वर्षैपिच्छे बढ्दै गएको छ । डेढ दशक अघिसम्म नेपाली तयारी पोशाक विश्व बजारमा उत्कृष्ट मानिन्थ्याे । आयातित कपडाभन्दा नेपाली ब्राण्डका कपडाको बजार मूल्य महँगाे भएकोले सस्ता कपडा खोज्दा आयात बढी हुने नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । कुनै कपडा भने अत्यन्त महँगा पनि छन् । नेपालीले आफ्नो हैसियत अनुसार बजार रोज्नु पर्ने उनको भनाइ छ । यो वर्ष त नेपालमै पनि कपडा उत्पादन हुन थालेका छन, आयात त घट्नु पर्ने हो, उनले भने । ‘विदेशी कपडाको तुलनामा हामी अति महँगाे छौं,’ उनले भने ‘जबसम्म सरकारले नेपाली उत्पादनलाई सस्तो बनाउने योजना कार्यान्वयनमा ल्याउँदैन, तबसम्म नेपालबाट यसरी नै कपडामै ठूलो रकम बाहिरिरहन्छ । ‘हामी जस्ता पनि कपडा उत्पादन गर्न सक्छौ,’ तर आयातित कपडाको कारण बजारमा टिक्न सक्ने अवस्था छैन । कच्चा पदार्थ आयात गरेर कपडा उत्पादन गर्दा अन्य देशले उत्पादन गरेका कपडाको तुलनामा नेपाली कपडा महँगाे पर्न जान्छ । सरकारले चालु आवको बजेटमार्फत कपडा उद्योगका लागि भन्सार महशुल घटाउनुका साथै उद्योगले खपत गर्ने विद्युत महशुलमा समेत ५० प्रतिशत छुट दिएको छ । सरकारले यस्ता फजुल आयातलाई नरोक्दा व्यापार घाटा बढेको उनले बताए । सरकार राजस्वमुखी मात्रै भयो,’ अर्यालले भने ‘ आन्तरिक उत्पादनले मात्रै देशलाई दिगो रुपमा आम्दानी दिने हो । ’ सरकारले यो बुझ्न जरुरी छ । ’