उच्चस्तरीय स्वास्थ्य नीति समन्वय समिति गठन, समितिको अध्यक्ष मन्त्री आफै

काठमाडौँ, १९ कात्तिक । सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गरेका छन् । आफूले बनाएको समितिको अध्यक्ष पदमा भने आफै बसे बसेका छन् । मन्त्री थापाले बिहीबार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति गठन गरेका हुन् । समितिले दुई महिनाभित्र स्वास्थ्य मन्त्रालयको संरचना कस्तो हुने, विद्यमान स्वास्थ्य कानुन समयानुकूल बनाउन केके गर्ने र संविधानमा उल्लेखित स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रुपमा विस्तार गर्न कसरी अगाडि बढ्नेलगायतका विषयमा अध्ययन, अनुसन्धान र सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरी खाका तयार गर्ने मन्त्री थापाले जानकारी दिए । मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्द सदस्य सचिव रहेको सो समितिमा पूर्वस्वास्थ्य सचिव डा प्रवीण मिश्र, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशकद्वय डा लक्ष्मीराज पाठक र डा यशोवद्र्धन प्रधान, जनस्वास्थ्य विज्ञ डा रिता थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनका पूर्वउपकुलपति डा अर्जुन कार्की, वरिष्ठ सर्जन डा सरोज धिताल, आयुर्वेद विज्ञ डा चन्द्रराज सापकोटा, कर विज्ञ डा रुप खड्का, कानुनविद् डा रमेश बडाल र पुनःसंरचना विज्ञ त्रिलोचन पोखरेल सदस्य रहेका छन् । यही कात्तिक २३ गते बस्ने समितिको पहिलो बैठकले कार्यतालिका बनाई काम अगाडि बढाउने बताइएको छ । मुलुकको समग्र पुनःसंरचनाको प्रक्रिया चलिरहेका बेला स्वास्थ्य क्षेत्रको नीतिगत, संरचनागत र सेवा प्रवाहको प्रणालीमा सुधार गर्न समिति गठन गरिएको स्वास्थ्यमन्त्री थापाले बताएका छन् । उनले खाका बनाउँदा सङ्घीयतालाई मुख्य आधार बनाइने जानकारी दिए । रासस

दाँत किराले खाएर हैरान हुनु भयो ? अपनाउनुस यी ४ घरेलु उपाय

काठमाडौं, १९ कात्तिक । आम नेपालीका लागि दाँत किराले खानु सामान्य जस्तै भैसकेको छ । नियमित ब्रस नगर्नाले अन्नका स साना कणहरु दाँतका किनारामा बस्छन जसमा किराले संक्रमण गरेपछि दाँतमा पनि किरा लाग्छ । यसरी दाँतमा लागेको किराको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ । १) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँत माझ्दा गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ । २) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ । ३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । ४) किरा लागेको दाँतमा बरको चोप लागाउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

मापदण्ड पालना गर्न सवै स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौं, १३ कात्तिक । स्वास्थ्य मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड संवन्धी निर्देशीका, २०७० ले तय गरेका मापदण्डहरु पुरा गर्न आग्रह गरेको हो । निर्देशिकामा व्यवस्था भएका अनुसार नीजि स्वास्थ्य संस्थामा कम्तीमा दश प्रतिशत शैयामा निःशुल्क उपचारगर्न मन्त्रालयले आग्रह गरेको छ । त्यस्तो दश प्रतिशत शैयामा विपन्न, असहाय, बेबारिसे विरामीहरुलाई उपचार गराउनु पर्ने निर्देशिकामा उल्लेख छ ।निःशुल्क उपचार प्राप्त गर्नका लागि विपन्न, असहाय, बेबारिसे बिरामीहरुलाई स्वयं घोषणा फाराम भर्न लगाई उनीहरुको फोटो सहितको विवरण अस्पतालको परिसरमा सर्वसाधारण सवैले देख्नेगरी टाँस्न आग्रह गरिएको छ। साथै निःशुल्क उपचार प्राप्त गर्नेहरुको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा जस्ता संवन्धित निकायहरुमा मासिक रुपमा विवरण पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले निर्देशिकामा भएका व्यवस्थाहरु कार्यान्वयन भए नभएको बारेमा विभिन्न संयन्त्रहरु परिचालन गरी अनुगमन तथा नियमन गर्ने जनाएको छ । अनुगमनका क्रममा मापदण्डहरु पुरा नभएको पाइएमा कानुन अनुसार कारवाही हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ