डा.अनिल भट्टराईले बचाए दुई आमा छोरा, अहिलेसम्मकै दुर्लभ ‘ओपन हार्ट सर्जरी’ गर्न सफल

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ उप-प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो । आमा र छोरा दुवैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराइले जानकारी दिए । अर्याललाई टाईप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो दुर्लभ रोग हो । यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ । तर, मनमोहनको यो ९ वर्षको ईतिहाँसमा पहिलोपटक हो यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा. भट्टराईले जानकारी दिए । उनले भने,“बच्चा जन्मिँदा बेहोस थियो । तीन घण्टापछि उसको होस आएको छ । आमालाईपनि अहिले भेन्टिलेटरबाट छुट्याएर आईसियूमा सारिएको छ ।” आमा र बच्चा दुवै बचाउन सफल भएकोमा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने,“मेरो करिअरको १३ वर्षको ईतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ । मेरो टिमलाई म धन्यवाद भन्न चाहन्छु ।” सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठलेपनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर र यसका डाक्टरहरुले सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने,‘‘म टिमप्रति आभारी छु । उहाँहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’ उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ सहभागी थिए । गाईनोकोलोजीमा भने डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना माष्के सहभागी थिए । त्यस्तै बाल रोग विशेषज्ञमा भने डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न थिए । परफ्युजन टिममा महेन्द्र भट्ट, पुर्ण मोक्तान र रविन्द्र शाह संलग्न थिए । नर्सिङ स्टाफहरुमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुची शाह र रबिना मानन्धर थिए । डा. भट्टराई सामाजिक सेवामासमेत सक्रिय छन् । उनको पहलमा सयौं असहाय, गरिब तथा दुर्गमका मुटुरोगीहरुको सफल उपचार भएको छ । अहिलेसम्म उनले ९० भन्दा बढि विरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन् । डा. भट्टराईले रुकुम, रोल्पा, कालिकोट, पर्वत, पाल्पालगायत ४० भन्दा जिल्लामा आफ्नो नेतृत्वमा निःशुल्क मुटु शिविर लिएर गएका छन् । शिविरको क्रममा भेटिएका गम्भिर प्रकृतिका मुटुरोगीहरुलाई आफ्नो पहलमा काठमाडौं ल्याई सफल उपचार गराएर घर पठाएका छन् । उनले ‘सेभ द हार्ट’ नामक सामाजिक संस्थामार्फत यस्तो कार्य गरिरहेका छन् ।

दुखाई कम गर्ने ट्रमाडोल औषधीमा प्रतिवन्ध, सिफारिशविना बिक्री गर्न नपाइने

काठमाडौ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ ।सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिशविना बिक्रीवितरणमा रोक लगाउन लागेको हो । औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ ।विभागका महानिर्देशक नारायण ढकालले चिकित्सकले सिफारिश गरेका ट्रमाडोलको सङ्ख्या औषधि पसलले भदौ १५ गतेदेखि अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए। सो औषधि वर्षेनी कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क छैन । अब औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्याङ्क विभागमा बुझाउन भनिएको छ । यसैबीच विभागले हालसम्म ११७ प्रकारका अत्यावश्यक औषधिको मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । ती औषधिमा प्यारासिटामोलदेखि अल्मिनाडोेलसम्मका छन् । विशेषगरी पछिल्लो समय मुटु, मिर्गौला, रक्तचापमा प्रयोग हुने औषधिको मूल्य निर्धारण भएको छ । नेपालमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । कार्यविधि बनाई औषधिको मूल्य निर्धारण गरिएको महानिर्देशक ढकालले जानकारी दिए । रासस

धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिक स्थलमा प्रदूषण मापन

काठमाडौँ। तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा परीक्षण गरेर जानकारी दिने उपमहानगरले जनाएको छ । तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ । पुराना गाडीबाट निस्कने धँुवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न ध्यान दिनुपर्ने सुझाव दिइएको छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा बिरुवा लगाउने गरेको तर नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको डा चिरञ्जीवि खड्काले बताए । वायुप्रदूषणका दृष्टिले नेपाल अछुतो नभएको बताउँदै चेक रिपब्लिकका प्राध्यापक पावेलले जनतालाई यसबारे सचेत गराउनु आवश्यक रहेको बताए। “विश्वमा प्रतिक्युविक ५० माइक्रोमिटरसम्मको वायु प्रदुषणलाई सामान्य मान्ने गरेकामा तुलसीपुरमा तीन सय माइक्रोमिटरसम्म वायुप्रदूषण भएको पाइएकाले बाटो र घर सफा हुँदैमा वायुप्रदूषणको अवस्था राम्रो छ भन्ने हुँदैन” उनले भने। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए। तुलसीपुर नगरलाई वायुप्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीमा बिरुवा लगाउने कामलाई निरन्तरता दिएको उनको भनाइ थियो । “हामीले गरेको फोहरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन,” नगरप्रमुख पाण्डेले भने। रासस –––