मल्टिपल स्क्लेरोसिस रोग के हो ? यसको उपचार कसरी गर्ने
नेपाल सहित विश्वभर मे ३० अर्थात् आज ‘विश्व मल्टिपल स्क्लेरोसिस डे’ मनाउन लागिएको छ । मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धव्वा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यसलाई हामी डिमाईनेशन भन्छौँ । ब्रेन, स्पाइनल कर्ड र आँखाको नशालाई यसले असर गर्ने भएको कारणले अल्टाइजहरु मल्टिपल टाइममा हुने भएकाले यसलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यो रोगको कारण यो नै भनिएको छैन । शरिरमा बनेको एण्टिवडी निष्क्रिय हुन्छ र माइलेनसिथहरु रुखको बोक्रा उकिएझैँ उकिन्छ, त्यसकारण मानिसलाई अचानक हातखुटा लुलो हुने, बोलि लरबरिने हुन्छ । झण्डै झण्डै हामीले पक्षघातको जस्तो लक्षण देख्छौँ । पक्षघात हामी बुढो उमेर समूहका ६० र ७० वर्ष उमेर समूहलाई देख्छौँ भने मल्टिपल स्क्लेरोसिस २० र ३० वर्षको युवामा समेत देख्न सक्छौँ । ५-१० वर्ष उमेर समूहका बच्चामा समेत मल्टिपल स्क्लेरोसिस देख्न सकिन्छ । धेरैजसो युवा उमेरका मानिसमा देखिने भएकाले यसमा सचेतना अपनाउनु जरुरी छ । विरामी सुरुमै पहिचान भयो भने यसको उपचार सम्भव छ । मल्टिपल स्क्लेरोसिस कुनैपनि बच्चा वा युवामा हात लुलो भयो वा हात झमझम भयो, मुख बांगो भयो, आँखाको ज्योती अचानक कमजोर भयो, हेर्दाखेरी लरबराउने भयो, हातखुटा लुरो भयो, स्पाइनल कर्डलाई असर गरेको छ भने दिसापिसावमा रोकावट आउन सक्छ । माथि उल्लेखित लक्षणहरु भएमा तुरुन्त नजिकको अस्पताल गएर डाईग्नोसिस गर्ने वा उपचार गर्नु आवश्यक हुन्छ । उपचार विधि : शरिरको रोग प्रतिरोधात्मक शक्ति कम गराउने औषधीको प्रयोग गर्छौँ । जसलाई पल्स थेरापीसमेत भन्ने गर्छौँ । लामो समयसम्म यसको उपचार निरन्तर गर्नुपर्ने हुन्छ । घरीघरी बारम्बार आइरहेको छ र कडा रुपको छ भने हामीले मोनोकोलर एन्टिवडीहरु प्रयोग गर्ने गरेका छौँ । यस्तै, इन्जेक्सन दिन सकिन्छ । हप्तै पिच्छे दिने र ६ र ६ महिनामा इन्जेक्सन दिन सकिन्छ । यो सँगै देखिएका लक्षणको सोहीअनुसार उपचार गर्न सकिन्छ । आजको दिनमा मल्टिपल स्क्लेरोसिसको बारेमा सबैले पहिचान गरौँ र समयमै उपचार गर्न सके यो रोगको उपचार सम्भव छ । यो रोगको उपचारका लागि औषधीको समय समयमा अभाव हुने र महगों पर्ने हुँदा सरकारले यस किसिमका रोगका लागि विशेष व्यवस्था गर्नुपर्छ । (वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको न्यूरोलोजि विभाग प्रमुख समेत हुन्)
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
फाइल फाेटाे काठमाडौंं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाअभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए । ‘कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ । अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ’, उनले भने, ‘महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । अहिले नयाँ भेरियन्ट पनि देखिएको छ । त्यसैले खोप ल्याउन थालेका हौँ ।’ अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात रहेको छ । उनले छ–छ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेको तयारी रहेको बताए । उनका अनुसार ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गराउने छ । अहिले पनि विदेश जाने, ज्येष्ठ नागरिक र दीर्घरोगीले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउने गर्दछ । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ । रासस
स्वास्थ्यमा ४.६३ प्रतिशत मात्र बजेट, अधिकांश कार्यक्रम पुरानै दोहोरिए
काठमाडौं । अगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँमध्ये स्वास्थ्य क्षेत्रका लागि ८६ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको हो । जुन कुल बजेटकाे ४.६३ प्रतिशत हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेकाे बजेटमा समावेश गरिएका अधिकांश कार्यक्रम पुरानै दोहोर्याइएकाे छ । विज्ञहरूले स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट माग गर्दै आएको लामो समय भयो । तर, अर्थमन्त्रीले विनियोजन गरेको रकम ४.६३ प्रतिशत हो । नेपाल चिकित्सा संघका अध्यक्ष डा. अनिलविक्रम कार्की सरकारले स्वास्थयमा छुट्याएको बजेटले राज्य स्वास्थ्यप्रति कति जिम्मेवार छ भन्ने देखिने बताउँछन् । हरेक वर्ष बजेट आउनुपूर्व नै यो विषयमा घचघच्याउँदा पनि बजेट दिन नसकेको उनको भनाइ छ । स्वास्थ्य जीवन र विकासको मेरुदण्ड भए पनि राज्यले कहिल्यै प्राथमिकतामा नपारेको उनी बताउँछन् । ‘विश्व स्वास्थ्य संगठनको मान्यता पनि स्वास्थ्यमा कुल बजेटको कम्तीमा १० प्रतिशत छुट्याउनुपर्छ भन्ने छ, उनी भन्छन्, ‘हाम्रो माग पनि १० प्रतिशत नै हो, स्वास्थ्य क्षेत्रमा धेरै आवश्यक्ताहरू छन्, पर्याप्त जनशक्ति छैन, नागरिकलाई सेवा लिन सहज छैन, तर पनि यो समस्या राज्यको नजरमा पर्दैन ।’ अर्थमन्त्री पुनले बजेटमा सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोषमार्फत हुने व्यवस्था मिलाइने घोषणा गरे । यस्तै धनगढीमा अवस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने, पोखरा, बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाइने, उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने,आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताइएकाे छ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी स्वास्थ्यमा कुनै नयाँ कुरा नआएको र अधिंकाश पुरानै कार्यक्रमले निरन्तता पाएकाले खासै उत्साह नथपेकाे बताउँछन् । सरकारले अहिले प्रस्तुत गरेको आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधी तथा खोप र प्रजनन स्वास्थ्यसम्बन्धी सामाग्री निःशुल्क उपलब्ध गराउने घोषणा गरेका कार्यक्रम पुरानै हुन् । आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिने कार्यक्रम गत वर्षमा सञ्चालन हुँदै आएका कार्यक्रम हो । स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण, औषधी र दक्ष जनशक्तिको आपूर्ति सुनिश्चित गरिने, निर्माण सम्पन्न भएका पाँच, १० र १५ शैय्याका आधारभूत अस्पतालको विधि तय गरी सञ्चालन गरिने, आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रम सञ्चालन गरिने, संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइने,आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरणसम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने बजेट वक्तव्यमा भनिएको छ । यस्तै बजेटमा कर्णाली, पोखरा, पाटन, राप्ती र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा र गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिने, स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने उल्लेख गिरएकाे छ । कुन शीर्षका कति बजेट सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड, निर्माणधीन आधारभुत अस्पतालका लागि १५ अर्ब ४१ करोड, कडा रोगको उपचारमा सहुलियतका लागि ३ अर्ब रुपैयाँ छुट्याएको छ । यस्तै ९८ प्रकारका औषधीको लागि १ अर्ब ४३ करोड, आमा सुरक्षा, मातृशिशु र नवजात शिशु कार्यक्रमका लागि ३ अर्ब ६ करोड, वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन गरिएको छ ।