जिपी कोइराला श्वासप्रश्वास केन्द्र हजार शय्याको बन्ने
काठमाडौं । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले तीन सय शय्याको केन्द्र निर्माण पूरा भएपछि अर्को चरणमा केन्द्रलाई एक हजार शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार केन्द्रको तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । भविष्यमा मुुलुकका निम्ति आवश्यकपर्ने चिकित्सा सेवा एवं अध्ययन अनुसन्धान तीन सय शय्याबाट पर्याप्त नहुने भएकाले त्यसलाई एक हजार शयमा स्तरोन्नति गर्न राष्ट्रपति पौडेलले विशेष जोड दिँदै आएका थिए । सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डिपीआरसम्बन्धी संरचना तयार गरी निर्माण पनि तदनुरुप हुनुपर्नेतर्फ उनले नेपाल सरकारका सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै आएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो । केन्द्रलाई देशको विशिष्ट अस्पताल तथा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य छ ।
भक्तपुर क्यान्सर अस्पतालमा ‘मोबाइल एप’ सुरु
काठमाडौं । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सहजै रूपमा अनलाइनबाट अपोइन्टमेन्ट लिएर अस्पतालका सेवाहरू लिन सकिने मिदासले जनाएको छ । यस एपमार्फत स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गरी आफ्नो बीमा प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । मिदासले विभिन्न अस्पतालका ओपीडी सेवाका लागि डाइनामिक क्यूआर भुक्तानीको विकास पनि गरेको छ । घरबाटै अनलाइन मेडिकल अपोइन्टमेन्ट लिन सकिने व्यवस्था भएकोले अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त बनाएको मिदासले जनाएको छ ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्यो कार्यालय सरसफाई अभियान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालयरघर सरसफाई अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो । शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटे । मन्त्रालयबाट सुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ । अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान सुुरु गरेको जानकारी दिए । उनले डेंगुको नियन्त्रण र न्युनिकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र ातहत रहेका कार्यालयमा शुक्रवार सरसफाई अभियान सुरु गरेको बताए । पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए । हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाउन आग्रह गरे । ‘अब हामी बिस्तारै हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाए डेंगुमात्र नभइ अन्य रोगहरु पनि रोक्न सकिने भएकाले शुक्रबारको दिनलाई सरसफाई गरिदिन आग्रह गरेका छौँ’, उनले भने । प्रवक्ता बुढाथोकीले सरसफाई अभियानले डेंगुमात्र नभइ अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरुको विश्वास छ ।