स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रूपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारदेखि नियमित रूपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । आज मडिया ब्रिफिङका क्रममा उनले भने, ‘साताभरिका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौं ।’ यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू दिँदै आएको छ । प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताए । मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा कूल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा बुढाथोकीले बताए । उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७ सय ८९ लाई खोप प्रदान गरिएको जानकारी दिए । हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरुलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । देशभरि ३० देखि ४९ वर्षसम्मका ९२ हजार दुई सय ७३ जना महिलाहरुले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा बुढाथोकीले जानकारी गराए । भिआइए विधिबाट ६० हजार ९३७ , एचपीभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् । प्रवक्ता डा बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको बताए । यही फागुन ५ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।

पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुषसम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेश्रो तथा मन्त्रालयहरूबीचको मूल्यांकनमा दोस्रो स्थानमा रहेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको छ । मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयले ८१ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको छ । यसैगरी, सुरु भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमा समेत मन्त्रालयले ७० अंक प्राप्त गरेको छ । जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयहरुमध्ये उच्च हो । यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलार्य ८१ दशमलव ८ अंक प्रदान गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

बालबालिकाको क्यान्सर उपचारका लागि ४ अस्पतालबाट निःशुल्क औषधि

काठमाडौं ।  क्यान्सरपीडित बालबालिकाहरू रुपमा निःशुल्क औषधि पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताएका हुन् ।  उनले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताए । उनले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी गराए । काठमाडौँको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने उनको भनाइ छ । ‘हामीले चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । अब हामीलाई थप सहज भएको छ,’ उनले भने, ‘डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्स रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढंगबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ। त्यसैले बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पु-याउने गरी प्रावधानको प्रबन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाइने बताए ।  ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि प्राप्त गरेको थियो । बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो ।